site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नोट
Ghorahi CementGhorahi Cement

किशोर सापकोटा


आरतीको धुनले बिउँझायो । हरेक बिहान धर्तीमा उज्यालो र पियानोमा प्रेक्षाका औंलाहरु सँगसँगै पर्ने गर्छन् । अगरवत्तीको सुगन्ध घरभरि फैलिएको थियो । हुत्तिएर उठेँ, जसरी समुद्रका छालहरु बिनाप्रयोजन किनारातिर हुतिन्छन् । वुद्धमन्त्रहरु बज्न थाले । सायद, प्रेक्षा भान्सातर्फ लागी । हतारहतार तयार भएँ । डाइनिङ टेबलमा प्रेक्षा ब्रेकफास्टसहित पर्खिरहेकी थिई । 
शुभप्रभात प्रिय,
प्रेक्षाले उठेर सम्मान देखाई । 
प्रेक्षाको निधारमा मायाले चुमेँ । उसको शरीरको सुगन्धले सधैंझैं मलाई रोमाञ्चित बनायो । डाइनिङ टेबलमा हामी एकैतिरका मेचमा बस्यौं । यो प्रेक्षाले बनाएको नियम हो । सजिलै स्पर्श गर्न पाइयोस् भन्ने चाहनामा । माया दर्शाउन पाइओस् भनेर ।
साह्रै राम्री देखिएकी छौ ।
गफको सुरुवात गरे ।
प्रेक्षा मेरो प्लेटमा ब्रेकफास्ट हाल्दै थिई । रातो टिसर्ट र खैरो ट्राउजर चिटिक्क देखिएको थियो । कपाल सुम्सुम्याएँ । स्याम्पुको बास्ना अझै आइरहेको थियो ।  अनुहार हेराहेर ग¥यौं । शरीरमा ताजापन महसुस भयो । थोरै मुस्कुराई । मेरा नजरलाई केहीबेर उसमा अडिन बाध्य बनाई । भनी– हरेक दिन एउटै कुरा दोहोर्‍याउँछौ, केही त नयाँ भन ।
हरेक रात तिमीमा कसैले सुन्दरता थपिदिन्छ हो ?
ऊ केहीछिन मेरो छातीमा टाँसिइरही । अनि विस्तारै आँखा उठाएर मलाई हेरी ।

म त सधैं तिम्रो छातीमा यसैगरी निदाएकी हुन्छु । 
मेरो प्रश्नको आधामात्रै उत्तर दिई । फेरि मेरो कुममा ढल्किएर निदाएको अभिनय गरी । केहीबेर चुपचाप रहेर आँखा खोली ।
सोधी– म निदाएपछि तिमीले मेरो लागि सुन्दरता थपिदिन्छौ हो ?
मैले पनि उत्तर दिइनँ ।
केहीबेर एकले अर्कालाई खुवायौं । प्रेक्षाका आँखा ऐनामा परे । यो ऐना विगत चार वर्षदेखि हाम्रा दुःखसुखको साक्षी भएर डाइनिङ टेबलको भित्तामा रहेको छ । अलिक गम्भीर जस्ती भई । उसको गम्भीर अनुहार देखेर मेरो ढुकढुकी बढ्यो ।
अब त कपाल पनि फुल्न लागिसकेछ । गाला पनि अलिअलि त चाउरी परे । मलाई फुर्काउन कहिले छाड्छौ ?
कुरा जटिल त रहेनछ । यत्तिकै म डराएको । 
जीवनभर यसैगरी फुक्र्याइरहन पाउँ ।
मनैदेखि भनेँ ।
ऊ मुस्कुराईमात्र । 
ब्रेकफास्ट सकिनै लाग्दा आजको कार्यसूचीबारे सोधेँ । 
नोट हेरेको छैनौ प्रिय ? प्रेक्षाले मेरो अनुहारमा आँखा गाडी । 
अचेल झन्झन् भुलक्कड हुँदै गएको छु । प्रेक्षा व्यावहारिक छे । हरेक दिन मेरो कार्यसूची पकेटमा, टेबलमा, मोबाइलको इन्बक्समा र इमेलमा समेत हुने गर्छ । 

Agni Group

कहिलेकाहीँ सम्झन्छु एउटा चिकित्सकको जिम्मेवारी पूरा गर्नुभन्दा पनि प्रेक्षालाई मेरो जिम्मेवारी पूरा गर्न गाह्रो भएको होला । तर कहिल्यै यसको छनकसमेत दिन्न ।
प्रेक्षासँगका पाँच वर्ष सम्झिरहन मन लाग्ने एक पलझैं बिते । हामी मिल्ने साथीजस्ता छौं । दिनहरु यसरी बिताएका छौं कि, यो दुनियाँमा हामी दुई जनाबाहेक कोही पनि छैन । अमेरिकी सहर लुइभेल डाउनटाउनभन्दा केही टाढा उड हेभन कन्ट्री क्लबको ठीक सामुन्नेमा बस्छौं हामी ।
सर्सर्ती आजको नोट हेरेँ । 

.........................
उड हेभन कन्ट्री क्लबको पार्किङमा कार रोक्दै गर्दा छेउबाटै अर्को स्पोर्ट्स कार हुइँकियो । अचानक, डढेलोको लप्काले भेटेका रुखका पातहरुझैँ म ओइलाएँ । प्रेक्षालाई पुलुक्क हेरेँ । ऊ ऐनामा आफ्नो अनुहार मिलाउँदै थिई । कारपट्टि उसको नजर परेको थिएन । केही राहत भयो । तर बेचैनीको चट्याङ मनको भित्रपट्टि परिरह्यो । मेरो मनलाई बल्छीमा पारेर त्यो कार मेरो आँखाबाट पर भाग्यो ।

Global Ime bank

स्पोर्ट्स कारमा एउटी खेलाडी सबार थिई, जो मेरो मनको स्टेडियममा धोकाको खेल खेलेर बेपत्ता भएकी थिई । मेरी पूर्वप्रेमिका स्मारिका । अचानक स्मारिका कसरी मेरो सामु आइपुगी ? यत्रो वर्षसम्म ऊ किन हराई ? किन मलाई याद गरिन ? प्रश्नहरुका शृङ्खला मनमा ठडिए । अहँ मैले तिनलाई पगाल्नै सकिनँ । 

वसन्त ऋतु । क्लबको वरिपरि ढकमक्क फुलहरु फुल्न थालेका थिए । सङ्गीतको धुनसँगै पानीका फोहोराहरु नाच्दै थिए । परपरसम्म हरियो गल्फ कोर्स फैलिएको थियो । शौखिनहरु गल्फ खेल्न मस्त । म भने घरि शिशिरको तुषारोले झैं कठाङ्ग्रिए त घरि ग्रिष्मको चर्को घामले डढेझैँ भए ।

मैले प्रेक्षासँग आँखा जुधाउन सकिनँ । अन्तै आँखा डुलाएँ । स्विमिङपुलमा युवायुवतीहरु जलपरीझैं पानीमा खेलिरहेका थिए । आफैंलाई छामैँ । शरीर तातोतातो भयो । सायद मनले शरीरलाई डढायो ।

शौचायल जाने बहानामा फ्रन्ट डेस्कमा पुगेँ । थाहा भयो, स्मारिका गेस्ट प्लेयर रहिछे । मेरो शरीर प्रेक्षालाई पछ्याउँदै फ्यामिली गल्फ कोर्सतिर जाँदै थियो । मन स्मारिकालाई पछ्याउँदै अनन्ततर्पm जाँदै थियो । खेलमा मन लागेन । मन उल्टो बाटो हिँड्यो विगततिर ।
सञ्चो भएन कि के हो ?
प्रेक्षाले अघि नै अनुहार नोटिस गरिसकिछे । 
धन्य उसलाई किन सञ्चो भएन भन्नेचाहिँ थाहा भएन ।
प्रेक्षाले सप्ताहन्तका सबै कार्यक्रम रद्ध गरी । रद्ध गरिएका कार्यक्रममा विहान गल्फ अभ्यास, डाउनटाउनमा लन्च, दिउँसो ओहायो नदीको किनारैकिनार साइक्लिङ, साँझमा ओहायो नदीमा क्रुज यात्रा र चन्द्रोदय दृश्यवलोकन थिए । 

घर फर्कियौं । प्रेक्षा मेरो स्याहारमा जुटी । वरीपरी प्रेक्षा थिई, मनभरि स्मारिका । प्रेक्षा मेरो वरीपरी नै रहन चाहन्थी । म एक्लै हुन चाहन्थेँ । एकैछिनमा हाम्रा चाहनाहरु अलग हुन सुरु गर्दै थिए । प्रेक्षा घरायसी काममा व्यस्त भएको बेला पटकपटक फेसबुकमा स्मारिकालाई खोजिरहेँ, तर भेट्टाउन सकिनँ ।

मन तुलो भयो । घरि प्रेक्षालाई त घरि स्मारिकालाई तौलिरह्यो । मनको डिस्प्लेमा स्मारिका र प्रेक्षा आलोपालो झुल्किरहे । हराइरहे । मन थिलथिलो भयो ।

अघिल्लो शनिबार । हामीले टेलर्स भिल लेकमा बितायाैं । लेकको किनारैकिनार घोडा दौडायाैँ । केहीबेर डुङ्गा दौड प्रतिष्पर्धा ग¥यौं । रमाइलोमा नै बल्छीमा थुप्रै माछा पनि पा¥यौं । पत्तै नपाई झमक्कै साँझ परेछ । साँझमा क्याम्प फायर गर्‍यौं । सेकुवा पोल्यौं । तलाउको किनारमा नेपाली लोकगीत बजाएर दुईजनामात्रै नथाकुञ्जेल नाचिरह्यौं । सप्ताहन्तलाई एउटा पूर्ण प्याकेजको रुपमा सेलिब्रेट गर्ने प्रेक्षाको सूची हुने गर्छ ।
आजको रमाइलो भने स्मारिकाले गायब बनाइदिई । 
तिमी कता हरायौ ?
प्रेक्षाले नै मेरो ध्यान भङ्ग गरिदिई । ऊ सुप लिएर मेरो सामुन्ने उभिएकी रहिछे ।
उसको अनुहारमा केहीबेर हेरो । ऊ मेरो छेऊमा बसेर सुप खुवाइदिन थाली ।
तिमी कसरी यति धेरै अपडेट रहन्छ्यौ ? मेरो चम्चाले उसलाई सुप खुवाइदिँदै सोधेँ– कसरी मेरा कामहरु सम्झिएर सधैं नोट तयार गरिदिन सक्छ्यौ ?
केहीक्षण उसले खाइरही । मैले हेरिरहँे ।
म प्रायः अनकल ड्युटीमा हुन्छु । जुनसुकै बेला पनि कल लिनुपर्ने हुन सक्छ । हस्पिटल जानुपर्ने पनि हुन सक्छ । मेरो अनुपस्थितिमा कुनै पनि काम अधुरो नहोस भनेर म हरेक दिन तिम्रो लागि नोट बनाइदिन्छु– ऊ केहीबेर रोकिई र मलाई नियाली । भनी– म साँच्चिनै जीवनसँग कुनै गुनासो नहुने गरी एउटा पर्फेक्ट लाइफ बाँच्न चाहन्छु प्रिय ।  

प्रेक्षाको सक्रियता देख्दा कहिलेकाहीँ अचम्म लाग्थ्यो । कहिलेकाहीँ भने कताकता डर लाग्थ्यो, कतै म सर्टटम मेमोरी लसको विरामी त भएको छैन ? नत्र किन यति धेरै मेरो चासो गर्छे ? किन हरेक दिन प्रत्येक ठाउँमा मेरा लागि नोटहरु ?
मलाई सुप खुवाएर प्रेक्षा किचनतिर गई । मनको डिस्प्लेमा स्मारिका फेरि देखिई ।
प्रेम कहिले निको नहुने घाउजस्तै रहेछ । यस्तै सोचेँ ।
विगतले पनि सुनामीझैं आएर मनको तटबन्ध भत्काउने रहेछ ।

दिन त जसोतसो ढल्यो । अहँ तनाव ढलेन । आकासबाट सूर्य अस्तायो । मनबाट स्मारिकाको तस्बिर अस्ताएन । पटकपटक मनलाई सोधिरहेँ– अहिले प्रेक्षा महत्वपूर्ण हो कि स्मारिका ? प्रेक्षासँग रमाइला पल बिताउने कि स्मारिकाको यादमा तड्पिने ?

मनले मौनव्रत लियो । जवाफ नै पाइनँ । मनको तुलोमा दुवैजना बराबर भइरहे । मन नै बिग्रिएछ ।
छाडेर जाने निष्ठुरीहरुले पनि किन जीवनभरि साथ दिन तयार भएका मायालुहरुको जत्तिकै स्थान यो मनमा लिन्छन् ? बुझ्नै सकिनँ । 
साँझमा प्रेक्षाले घर वरिपरिका बत्ती बाली । उज्यालोमा फूलहरु मुस्कुराए । रुखहरुको वरिपरि साना–ठूला कलात्मक छायाँहरु बने । घरको पूर्वपट्टि रहेको स्विमिङपुलको पानीलाई सिरिसिरी हावाले हल्लायो । पानीमा बन्ने अमूर्त चित्रहरु बदलिइरहे । स्विमिङपुलको पल्लो छेऊको छहरामा इन्द्रेणी रङ्गहरु फेरिइररहे । सबै कुरा बदलिइरहँदा पनि मन बदलिएन । एउटी निष्ठुरीको बल्छीमा अड्किएर मन भट्याकभट्याक गरिह्यो ।
मान्छेले आफ्नो मनलाई उद्धार गर्न सक्दो रहेनछ ।
रात चढ्दै जाँदा सनरुमको पियानोमा प्रेक्षाका औंला चल्न थाले । घरमा मधुर सङ्गीत गुञ्जियो । सधैझैं, प्रेक्षा पियानोमा बसेपछि म पनि छेऊमा गएँ । मलाई थाहा छ, म नगएको भए उसले अर्को धुन बजाउने थिइन ।

सङ्गीत त बज्यो, तर मनको तार बजेन । सधैझैं वातावरण बनेन । किनकिन अरु साँझ र यो साँझ फरकफरक जस्तो भयो । सधैंझैँ प्रेमिल गफ पनि भएन । कुनै धुनको अनुरोध पनि गरिनँ । सिङ्गो बोतल घुट्क्याएर मनमा बसेकी स्मारिकालाई डुबाइदिऊँ कि जस्तो लाग्यो । बारमा गएर ह्विस्की लिएर आउँदै गर्दा प्रेक्षाको स्वर सुनेँ ।
तिमीले संशोधित नोट हेरेनौ प्रिय ?    
पाइला रोकिए । 
संशोधित नोट हेरेँ । साँझमा सुपसँगै सङ्गीत लेखिएको रहेछ । ह्विस्की थन्काएँ । किचेनमा हेरेँ । राजकीय भोजको जस्तै तयारी गरेकी रहिछे । उसले हरेक कुरालाई यसरी सजाइदिन्छे कि त्यो संसारकै उत्कृष्ट जस्तो लाग्छ । यति मायालु पत्नीलाई छाडेर भाग्न खोज्ने मनलाई तर्कको निकै लामो डोरी बाटेर बाँध्न खोजे । 

मनमनै प्रण गरेँ– अब फेरि स्मारिकालाई कहिल्यै सम्झन्नँ । 
तातोतातो सुप भरेँ । सनरुममा जाँदै गर्दा लिभिङरुमको भित्तामा आँखा पर्‍यो । त्यहाँ नेपालका हिमालय र काठमाडौंका मन्दिरका तस्बिर थिए । तिनीहरुले पनि स्मारिकाकै याद दिलाइदिए । सोचेँ– कहिलेकाहीँ यो मन पनि घेराबन्दीमा पर्दोरहेछ ।

सुप खाइरहेको बहानामा चुपचाप स्मारिकाको अर्कोपट्टि बसेँ । मनमा कुनै अनुरोध थिएन । प्रेक्षाका औंलाहरु ‘सी यु अगेन’को धुन बजाउन व्यस्त थिए । तर धुनसँगै मेरो मुटु चिरिएको थियो । उसका आँखा छलेर आँखा पुछेँ । तर केहीबेरमा रोमान्टिक धुन बज्दै गए । मन अलि शान्त भयो । अन्तमा मलाई अलि रोमाञ्चित बनाउन होला उसले ‘टोभ लोको टकिङ बडी’को धुन बजाई । सुप र सङ्गीत सँगसँगै सकिए । प्रेक्षाले के सम्झिई कुन्नि, रोकिइसकेका औंलाहरु फेरि पियानोमा चलाउन थाली र चार्ली पथको ‘मार्भिन गे’ को धुनले बिट मारी । 
सायद म अलि फ्रेस देखिएछु क्यार । 
मेरो हात समाएर उसले थियटर हलमा लगी ।

स्टेजमा रङ्गीन लाइट बल्न थाले  । मधुरो सङ्गीतको धुन बज्यो । एउटा रोमाञ्चक वातावरण वन्यो । ऊ पनि मेरो हात समाएर नाच्न लागी । प्रेक्षाको हात समाउँदा म हरेकपटक त्यसैगरी लजाउँछु जसरी पहिलो भेटमा लजाएको थिएँ । हामी पहिलोपटक भेट भएका प्रेमी–प्रेमिकाझैं निकैबेर नाचिरह्यौं । प्रेक्षा झन् स्लिम र राम्री भएकी थिई । यो बेला मैले स्मारिकालाई बिर्सिएँ क्यारे, जिन्दगी निकै सुन्दर महसुस भयो ।
अब जुनेली रात हेर्न जाउँ प्रिय– नाचेर थाकेपछि प्रेक्षाले भनी । 
एउटा बालकलाई जसरी प्रेक्षालाई बोकेर बाहिर लगेँ । 
चन्द्रमा उदाएको थिएन । अलि चाँडो बाहिर आएछौं ।
कार्पेटझैं नरम चौरमा हामी केहीबेर खाली खुट्टा हिड्यौं । हरेक पाइला चाल्दा ख्याल ग¥यौं– हाम्रो घरपरिसरमा गुँड बनाएर बसेका थुप्र्रै चराको शान्ति भङ्ग नहोस् ।

हामीले घर वरिपरि चराहरुलाई गुँड बनाइदिएका छौं । प्रेक्षाले हरेक दिन उनीहरुका लागि भाँडोमा चारो र पानी थपिदिन्छे । 
प्रेक्षाको सबैभन्दा प्रिय हुमिङ बर्ड त्यहाँ छ । उसलाई  गुलियो पानी भरिदिन्छे । झुण्ड्याइएको भाँडाबाट उसले उडीउडी पानी पिउँछ । पखेटाहरुलाई तीव्र गतिमा फट्फट् पार्दै एकैठाउँ अडिरहने सानो चरा हुमिड बर्डले हामीलाई सधैं आकर्षित गरिरहन्छ ।

उस्तै गतिमा स्विमिङपुलमा पुग्दा चन्द्रमा उदाउन लागेको थियो । स्विमिङपुलको डिलमा बसेर हामीले अँगालो मारेर उदाउँदै गरेको चन्द्रमा हेर्‍याैं । रातमा अँगालोमा रहेका जोडीलाई देखेर होला, चन्द्रमा लजाएर केहीबेरमा वादलमा पस्यो । हामीले स्विमिङपुलको पानीमा खुट्टा चोबल्यौं । पानी हल्लायौं । पानीमा हाम्रो र चन्द्रमाको हल्लिएको प्रतिबिम्ब देखियो । चन्द्रमा वादलबाट फुत्किएछ जसरी स्मारिका मेरो जीवनबाट फुत्किई । हामी पनि फर्किएर डेकमा रहेको झोलुङ्गेमा केहीबेर झुल्यौं । लाउन्जरमा पल्टियौं र चन्द्रमालाई एकतमासले हेरिरह्यौं । पे्रक्षाले चन्द्रमालाई किन त्यति नियालेर हेरी कुन्नि ! मैलेचाहिँ चन्द्रमामा पनि यतिबेला स्मारिकालाई देखिरहेको थिएँ । 

दिनहरु बित्दै थिए । घर र युनिभर्सिटीमा केही व्यस्त भएँ । तर व्यस्तताको बीचमा पनि स्मारिका मनमा आइरही । कहिले स्मारिका मेरो जीवनबाट गइसकी, अब मेरो लागि केही होइन भन्ने लाग्यो । कहिले स्मारिका मेरो पहिलो प्रेम हो, त्यसैले सबैथोक हो भन्ने लाग्यो । मन दुविधाको दलदलमा भासिँदैभासिँदै जाँदै थियो । 

त्रिचन्द्र क्याम्पसमा बीएस्सी पढाइ सुरु भएको पहिलो दिनमा नै स्मारिकालाई कक्षामा नोटिस गरेको थिएँ । राम्री भएका कारण । बोलचाल भएन । बोलाउन आँट नआएका कारण । अर्को साता उसलाई म बस्ने टोलको पसलमा देखेँ । सामान्य हालचालमात्रै सोधियो । सहपाठी भएका कारण । विस्तारै कलेजमा उसलाई यी आँखाले खोज्न थाले । उसको व्यवहार मित्रवत् हुँदै गएका कारण । अलिपछि उसलाई अकस्मात म बस्ने घरमा नै देखेँ अनि त लामोलामो कुरा हुन थाल्यो । संयोगले ऊ पनि एकै घरमा डेरा बस्न आइपुगेका कारण ।

अब त, कलेजमा र घरमा सँगसँगै हुन थाल्यौं । ऊ भारतको दार्जिलिङबाट बीएस्सी पढ्न काठमाडौं आएकी रहिछे । पुर्खाहरुको थातथलोमा नै पढौं भन्ने लागेर नेपाल पढ्न आएकी भन्थी । अभिभावक टाढा भएर हो वा आदत नै त्यस्तो हो, चरीझैं स्वतन्त्र देखिन्थी । 

सायद, महिना दिन नबित्दै मैले उसलाई यो मनमा नोटिस गरेको थिएँ । मन हिमालझैं पग्लिएर हरपल उसैतिर पो बग्न थालेका कारण । यहीबीच नै, मैले खर्च जुटाउनका लागि एउटा स्कुलमा पढाउन पनि थालेँ । एकदिन साँझ स्कुलबाट डेरामा पुग्दा मेरो कोठामा मेरा कुनै सामान नै थिएनन् । कोठाको स्वरुप पूरै बदलिएको थियो । मेरो डेरा कोठामा पहिले एउटा मट्टीतेलवाला स्टोभ, काम चलाउ पलङ, निगालोको एउटा सानो दराज र केही खत्र्याङखुत्रुङ थिए । तर त्यो दिन भने कोठामा महँगा फर्निचर सजाइएका थिए । आश्चर्यचकित भएर हतारहतार जब उसको कोठा ढक्ढक्याएँ, उसको कोठा भने भान्सामा परिणत भएको रहेछ । ऊ खाना पकाउँदै थिई ।
यो के गरेको ? मैले आश्चर्य मानेर सोधेँ । 

एउटा भान्छा र एउटा बेडरुम बनाएको– उसको सोझो जवाफ थियो । 
तिम्रो कोठामा भान्छा बनाएर कहाँ सुत्छ्यौ ?
तिमीसँग– उसको जवाफ सोझै थियो ।
चुपचाप बसेँ । उसको प्रस्ताव मन परेका कारण । 
म मनमनै जे कल्पिँदै थिए, उसले त एकक्षणमै यथार्थमा बदलिदिई । 
पहिला मनमा बसेकी थिई, अब जीवनमा आइदिई । दुई जीवन गाँसिए । जीवन सुन्दर बन्यो । 

बीएस्सी बित्यो । एमएस्सी बित्यो । 
विवाहबिना नै हामीले त्यो समय एकअर्काका भएर बितायौं । एमएस्सी सकिएपछि म कलेजमा पढाउन लागेँ, तर स्मारिका पीएचडीको लागि अमेरिका उडी । उड्नुअघि पीएचडी सकिएपछि विवाह गर्ने योजना बनाइयो । अमेरिका आएको केही समयसम्म त कुराकानी पनि भयो, तर एकाएक ऊ बेपत्ता भई झर्दै गरेको ताराझैं ।

मेरो जीवनलाई जसरी अकस्मात हराभरा बनाइदिएकी थिई, त्यसैगरी उजाडेर बेपत्ता भई । मैले कुनै माध्यमबाट पनि फेला पार्न सकिनँ । उसैलाई खोज्न अमेरिकासम्म आएँ, तर कहीँ फेला पार्न सकिनँ । अन्ततः प्रेक्षासँग जीवन सुरु गरेँ । जीवनको त्यो कालखण्डलाई मानसपटलबाट पूरै हटाउन चाहँे, तर ऊ भने हस्तक्षेप गरेर दिमागमा आइरही । हरेक दिन उसलाई फेसबुकमा खोज्न बाध्य बनाइरही ।

बीचमा आक्कलझुक्कल एकदुईपटक स्मारिका सामु परी, तर तत्कालै बिलाई । दिमागमा भने हरेक दिन आइरही । कोहीकोहीे त केही पल साथमा रहेर सदाका लागि दिलमा राज गर्दा रहेछन् !

एकदिन युनिभर्सिटीबाट घर आइपुग्दा माहोल नै फरक थियो । परिकारहरुको बास्ना घरभरि फैलिएको थियो । बेसमेन्टको थियटर हलमा बजेको म्युजिकको आवाज चर्को थियो । घरलाई राजकीय भोजमा झैं सजावट गरिएको थियो । प्रेक्षालाई खोज्दै म बेसमेन्टस्थित थियटर हल पुगेँ । प्रेक्षा कसैसँग गफ गरेर काउचमा बसिरहेकी थिई । प्रेक्षा र मेरा आँखा जुधे । ऊ सदाझैं मप्रति सम्मान जनाउन आफ्नो ठाउँबाट उठी । प्रेक्षासँगै रहेकी अर्की महिला पनि उठेर मपट्टि फर्की ।
ऊ स्मारिका थिई । 
आउ प्रिय– मेरो छेउमा आइपुगेर मलाई तानेर लैजाँदै प्रेक्षाले भनी– म मेरी साथीसँग चिनजान गराउँछु । 
ऊ मेरी साथी स्मारिका– प्रेक्षाले चिनजान गराई ।
नमस्ते– एकदमै नयाँ मान्छे भेटेको जस्तो व्यवहार स्मारिकाले गरी ।
मैले नमस्ते पनि फर्काएँ कि फर्काइनँ हेक्का भएन । उसले एकदमै अपरिचितको जस्तो व्यवहार देखाएपछि मैले पनि त्यसै गर्नुपथ्र्यो । पूरा गरेँ ।

मेरी पुरानी साथी स्मारिकालाई आज मेरो घरमा स्वागत गर्न पाउँदा म हर्षले गद्गद् भएकी छु– प्रेक्षाले भनी । हामी तिम्रो प्रतीक्षामा थियांै, आज अलनाइट पार्टी जम्छ ।
प्रेक्षाले सबैभन्दा पहिला मलाई वाइनको ग्लास थमाई अनि स्मारिकालाई । अन्तमा आफ्नै लागि ग्लास उठाई ।
चियर्स– प्रेक्षाको प्रस्ताव थियो ।
प्रेक्षाले पिएको मलाई थाहा थिएन । आज पहिलो पटक पिउँदै थिई ।

सुरुमा केही असजिलो लागे पनि स्मारिकासँग भेट भएकोमा म भित्रभित्रै गद्गद् थिएँ । मेरो मनले हरपल उसलाई खोजेको थियो । हामीले पियौं । नाच्यौं । झुम्यौं । समय चढ्दै गयो ।
नशाले मलाइ आँट दियो ।
मलाई आधाबाटोमा छाडेर कहाँ हरायौ स्मारिका ? मैले स्मारिकाका हात समाएर सोधेँ ।
सत्य भनौ ? उसले आँखा नजुधाई पर भित्तातर्फ हेर्दै सोधी ।
भन, म यही दिनको प्रतीक्षामा थिएँ । 
म तिमीलाई त ढाँट्न सक्थेँ, तर आफैंलाई ढाँट्न नसकेर बेपत्ता भएँ– उसका आँखाबाट तरर आंसु बगे । उसले आँसु पूरै बग्न दिन पनि पाइन, किनकि प्रेक्षा नजिकै आइसकेकी थिई ।
प्रेक्षा बाथरुम गएको मौकामा छोटो कुराकानी गर्दै थियाैं ।
हतारहतार आँसु पुछी । मैले उत्तर सुन्नै पाइनँ । 
पार्टी निरन्तर चलिरह्यो । 

शुभप्रभात प्रिय ।
प्रेक्षाले बिहान मेरो सिरक हटाइदिई । 
नुहाइधुवाइ सिध्याएर सजावटसहित चिटिक्क परेकी प्रेक्षा मेरो बेडछेउमा उभिएकी थिई । सायद जीवनमा सबैभन्दा सुन्दर देखिएकी थिई ।
शुभप्रभात– मैले आङ तान्दै भनेँ, एकैछिन बढी सुत्न दिएको भए ... । 
बोली नसक्दै एकाएक मेरो शरीर चिसो भएर आयो जब मेरो छेउमा स्मारिका सुतिरहेको थाहा पाएँ ।
ल चाँडो तयार भएर आऊ, म नास्ताको लागि कुरिरहेकी छु– सहज बनाइदिनका लागि प्रेक्षा कोठाबाट बाहिरिई । 
म हतारहतार भुइँभरि छरिएका कपडा टिपेर बाथरुम छिरेँ । नुहाएर निस्किँदा प्रेक्षा र स्मारिका नास्ताका लागि तयार थिए । 
मलाई लिन प्रेक्षा अलि वरैसम्म आई र मलाई लगेर कुर्सीमा बसाइ । मलाई स्मारिकासँग एउटै ओछ्यानमा रात बिताएकोमा अपराधबोध भएको थियो । यो धेरै पिउनुको परिणाम थियो ।
काठमाडौंमा वर्षांै स्मारिका र म एउटै कोठामा पति–पत्नीकै हैसियतमा थियांै । एउटै ओछ्यानमा सयौं रात बिताएका थियौं, तर आजको एक रातले भने मलाई विचलित बनाएको थियो । साँच्चै भनाैं भने प्रेक्षासँग कसरी आँखा जुधाउने भन्ने हिम्मतसम्म जुटाउन पाएको थिइनँ । 
हिजो अलि बढी नै भएछ, म कहाँ निदाएँ, कुन हालतमा निदाएँ, केही थाहा नै पाइनँ– म अञ्जानझैं प्रस्तुत भएँ ।
दुवैले मुखामुख गरे ।
केहीबेर पिएर प्रेक्षा सुत्न गई, तपाइं र म धेरैबेर पिइरह्यौं– स्मारिकाले प्रेक्षा र मेरो अनुहार पालैपालो हेर्दै भनी– मैले पनि धेरै पिएकी थिएँ, तपाईंले मलाई बोकेर बेडसम्म लानुभयो, मैले रोक्नै सकिनँ ।
सत्य, यति सुन्दा म आत्तिइसकेको थिएँ । भर्खरै नुहाएर निस्किएको मेरो अनुहारमा पसिना आएको थियो ।
अप्ठेरो नमान प्रिय– यसपटक प्रेक्षा बोली– स्मारिकाले तिमीलाई अत्याएको मात्रै हो । म पनि त्यही बेडमा तिमीहरुको बीचमा सुतेकी थिएँ । केही मिनेट चाँडो मात्रै उठेकी हुँ । 
मनमा अलिकति शान्ति छायो । 
मैले त ठट्टा गरेको– स्मारिका अलिकति मात्रै बोली ।
स्मारिकासँग कुनै अप्ठेरो नमाने हुन्छ प्रिय– प्रेक्षाले मलाई सम्झाइ– ऊ मेरो प्लस टु पढ्दाकी रुममेट समेत हो । हामी धेरै नजिक छौं । ऊ हाँसो ठट्टा मन पराउँछे, अरुसँग पनि त्यस्तै व्यवहार गर्छे । 

स्मारिकाको व्यवहारसँग तिमीभन्दा म धेरै परिचित छु प्रेक्षा– मनमा त्यस्तै लागेको थियो, तर भन्न सकिनँ ।
केहीबेरमा प्रेक्षा अस्पतालको लागि निस्किई । घरमा स्मारिका र म मात्रै रह्यौं । 
अधुरो कुरा पूरा गर न त स्मारिका– मैले भनेँ ।
त्यही अधुरो कुरा पूरा गर्न त आएकी– उसले भनी– कुरा त धेरै लामो छैन, तर पीडा कहिले नपुरिने गरी गहिरो छ ।
स्मारिकाले आँखावाट पुनः आँसु झारी । यो पटक रोकिन । 
जब म पढ्न अमेरिका आएँ, कलेजको शुल्क तिर्न र बस्नका लागि त यति महँगो थियो कि आमाबुवाले पठाएको पैसाले सम्भवै थिएन । तिमी पनि त निजी कलेजहरुमा पढाउँथ्यौ र त्यति धेरै कमाइ पनि थिएन । तिमीसँग धेरै अपेक्षा गर्नु उचित पनि थिएन । एकातिर पढाइको चाप, अर्कोतिर पैसाको अभाव । नियमअनुसार गरेको पार्टटाइम जबले खर्चको एक छेउ पनि पुग्ने अवस्था थिएन ।

स्मारिका केहीबेर रोकिई । सायद ती दिनहरु सम्झँदै थिई होला । मैले चुपचाप उसको अनुहार हेरिरहेँ । 
मसँग तीनवटा मात्रै विकल्प थिए । या त मैले हार खाएर फर्कनुपथ्र्यो, या केही नेपाली विद्यार्थीहरुले झैं आत्महत्या गर्नुपथ्र्यो या जसरी पनि अमेरिकामा टिक्नुपथ्र्यो । म हार्ने खालकी केटी होइन भन्ने तिमीलाई थाहा छ नि ?
ऊ केहीबेर रोकिई । जिज्ञासु आँखाले मलाई हेरी । तर म चुपचाप नै बसेँ । 

मैले मेरो समस्याको बारेमा मेरो प्रोफेसरलाई भनेँ– लामो स्वास तानेपछि उसले भनी– उसको एउटा प्रस्ताव र मेरो बाध्यात्मक स्वीकृति नै तिमी र मेरो विछोडको एउटा कारण बन्यो । 
म केही बोलिनँ । उसलाई सुन्न पर्खिरहेँ । 

बुढो प्रोफेसरले तिम्रो पढाइ पूरा नहुञ्जेल मसँग बस, तिम्रो सम्पूर्ण खर्च म व्यहोर्छु भनेर प्रस्ताव ग¥यो– स्मारिका आफ्ना कथा भन्दै गई– सत्य, पहिला त मैले पहिलो समस्यालाई टार्ने कुरा मात्रै सोचेँ । म सेक्सको सवालमा त्यस्तो कन्जरभेटिभ सोचको केटी थिइनँ । सेक्स र माया फरकफरक कुरा हुन् भन्ने सोच्थेँ । जोसँग सेक्स हुन्छ नि, माया पनि त्यसैसँग हुनुपर्छ भन्ने जरुरी पनि ठान्दिनथेँ । मैले त्यो बुढो प्रोफेसरसँग बसेर पढाइ सकेर फेरि तिमीसँगै जान्छु भन्ने सोचेकी थिएँ, तर जब त्यो प्रोफेसरसँग मेरो शारीरिक सम्पर्क भयो, मेरो विश्वासको धरातल नै भत्कियो । म यति कमजोर भएँ कि तिमीलाई सामना गर्न सकौंला भन्ने नै लागेन । त्यसैले तिमीबाट सदाका लागि भागेँ । 

अनि अझै त्यही प्रोफेसरसँग छौ ? मेरो बोली बल्ल फुट्यो । 
अहँ– ऊ केहीबेर रोकिई र भनी– प्रोफेसरसँग त एउटा सम्झौता थियो, पढाइ सकिएपछि टु्टयो, सायद उसले अरु कसैसँग अर्को नयाँ सम्झौता ग¥यो होला । 
अझै अविवाहित छ्यौ ?
स्मारिका केहीबेर बोलिन । मलाई नियाली । के भनौं के भनौंको अवस्थामा थिई । म उत्तर सुन्न पर्खिरहेँ ।
केही क्षणमा बिस्तारै बोली– पछि विवाह गरेँ । सधैं एक्लै बसेर पनि त भएन । 

स्मारिकाले अहिले ऊ र उसको पति दुबईमा बस्ने जानकारी दिई । 
उसले केही समयका लागि तालिममा अमेरिका आएको बताई । केहीबेर हामीले आफ्नै फुटेका सपनाहरुको चिहानमाथि उभिएर कुराकानी गर्‍याैं । अलि वातावरण सहज बनाउन मैले उसलाई घर देखाएँ र वरिपरि घुमाएँ पनि ।
काठमाडौंमा एउटा कोठामा बस्थ्याैं, अहिले त पूरै राजामहाराजा शैलीमा दरवारमा बसेका छौ त– बैठक कक्षमा फर्किएपछि उसले अलि सहज महसुस गरेर जिस्क्याउँदै भनी ।
म उसको छेउमै बसेँ । यतिबेला मलाई पहिलाकी स्मारिका नै जस्तो लागिरहेको थियो । उसलाई नियालेर हेरेँ । ऊसँग जीवन बिताउन देखेका सपना सम्झिएँ । बिछोडपछि टुटेको दिल सम्झिएँ । हरदिन तड्पिएको सम्झिएँ । हरेक दिन उसलाई फेसबुकमा खोजिरहेको सम्भिmएँ । छाती भारी भएर आयो । कति धेरै माया लाग्यो ।

आफ्नी रानी नै गुमाएपछि यो दरवारको के महत्व स्मारिका ? मैले भरिएका आँखाहरुबीच अवरुद्ध स्वरमा भनेँ । 
स्मारिकाका आँखामा पनि आँसु भरिँदै थिए । 
प्रेक्षा छँदैछे नि– ऊ रुँलारुँलाको अवस्थामा बोली । 
रानी गुमाएपछि विक्षिप्त भएको थिएँ– मैले आँसु पुछ्दै भनेँ– त्यस्तो अवस्थामा मलाई सम्हाल्ने ऊ त एन्जेल हो । 
मेरो बोली नटुङ्गिदै ऊ ममा अडिएर घुँक्कघुँक्क रोई । म पनि सँगै रोएँ । कसैले कसैका आँसु पुछेनौं । पछि आफैं सम्हालियौं । 

जे भए पनि दिनहरु रमाइला बिते । तालिम अवधिभर स्मारिका हामीसँगै बसी । दिनदिनै पार्टी भइरहे । पार्टीहरु पछि तीनैजना एउटै ओछ्यानमा निदाउनु सामान्य हुँदै गयो । मलाई कहिलेकाहीँ निद्रामा उत्तेजित गराइरहेको जस्तो महसुस हुन्थ्यो । यसबारे प्रेक्षा र स्मारिकाले कहिले पनि केही भनेनन् । सायद यो अधिक पिएको परिणाम थियो ।
केही दिनमा स्मारिका फर्किई । मन खालीखाली झैं भयो । आफ्नै पत्नी नभए पनि सँगै बस्दा धेरै रमाइलो भएको थियो । जीवन पूर्णजस्तो लागेको थियो । तर जीवनमा एक झल्को पनि भेट्न पाउँदिनँ कि भन्ने लागेको बेला केही समय साथमा बस्न पाइयो । अब फोनमा र टेक्स्टमा भेट्न सक्ने आधार बन्यो । ऊ गएपछि घर र मन नै सुनसान लागे पनि खुसी नै भएँ । 
समय बिती नै रह्यो । 

६ महिनापछि फेरि स्मारिका अचानक डोरबेल बजाउन आइपुगी । ढोका खोलेँ । उसको हाउभाउ देखेर आश्चर्यचकित भएँ । पहिला त्यस्तो स्लिम थिई, अहिे मोटाइछे । अझ पेट पनि पुटुक्क उठेको रहेछ । प्रष्ट थाहा भयो– गर्भवती रहिछे । 
भित्र बोलाएँ । सञ्चोबिसञ्चोको कुरा भयो । 
अनि अकस्मात आयौ त ? खबरै नगरी !
यो हुर्कंदै गरेको बच्चाले जन्मिएपछि बाउ खोई भनेर खोज्यो भने के गर्ने ? मैले त लिएर आएँ नि ।
मेरो आँखामा आँखा मिलाएर उसले भनी । 
मेरो अनुहार पहेँलो भयो । बोली रोकिएला जस्तो भयो । 
हामीबीच त्यस्तो केही... 
हामीबीचमा त्यस्तो केही भएको छ र भनेर सोध्न चाहेको थिएँ, तर बोली पूरा गर्न पनि सकिनँ । प्रेक्षाले के भन्छे होला भन्ने चिन्ताले सताउन थाल्यो । 

तिमी नशामा भएको बेला दर्जनौं पटक– स्मारिकाले नै जवाफ दिई । मेरो सातो गयो । 
अकस्मात प्रेक्षाको हाँसो सुनेँ । प्रेक्षा हाम्रो पछाडि नै उभिएकी रहिछे । म आत्तिएँ । 
स्मारिका कति सताउँछ्यौ उसलाई, यता आउ– प्रेक्षाले स्मारिकालाई समाएर अगाडि लगी । 
म उनीहरुलाई पछ्याउँदै गएँ । खुट्टा अझै काम्दै थिए ।
माफ पाउँ, जिस्किएको– स्मारिका फेरि मतिर फर्किएर मेरो आँखामा आँखा जुधाएर भनी– हामीले त्यत्रो समय एउटै ओछ्यानमा रात काट्यौं, तपाईंले एकपटक पनि मतिर हात बढाउनुभएन । प्रेक्षाप्रतिको तपाईंको इमानदारिता प्रमाणित गनुभयो । 
मैले राहत महसुस गरेँ । 
प्रेक्षा स्मारिकाको स्वागतमा जुटी । 
मेरो दुर्भाग्य– त्यही साँझ प्रेक्षा हाम्रोछेऊ नभएको मौकामा स्मारिकाले मलाई भनी– मैले यस्तो मान्छेलाई गुमाएँ है ! 

प्रेक्षाले मलाई साँझमा सबै कुरा बताई । स्मारिकाले आफ्नो बच्चालाई अमेरिकामा नै जन्म दिन चाहेकी रहिछे र प्रेक्षाले उसलाई आफ्नै घरमा बस्न आग्रह गरेकी रहिछ ।
स्मारिकाले ठट्टामा उसको पेटमा मेरो बच्चा छ भन्दा पनि मेरो मन पोल्यो । अहिले यथार्थमा उसको पेटमा मेरो नभएर अर्कोको बच्चा छ भन्दा पनि मन पोल्दैछ । यो मनको वरिपरि खुर्सानीको झाङ हुन्छ कि जस्तो पो लाग्छ !

स्मारिका आएपछि पहिलाझैं पार्टी होला, मस्ती होला भन्ने अपेक्षा गरेको थिएँ । तर माहोल बदलियो । बारमा पूरै ताला लाग्यो । थिएटर रुममा अब हरेक रात डान्स होइन, भजन कीर्तन हुन थाल्यो । घरका भित्ताका प्रेमिल तस्बिरहरु हटे, कृष्णका बाल्यकालका तस्बिरहरु टाँगिए । म हरेक परिवर्तनमा अभ्यस्त हुँदै गएँ । म आफ्नो विवेक प्रयोग गर्ने भन्दा पनि प्रेक्षाले बनाइदिएको नोटमा चल्न अभ्यस्त भइसकेको थिएँ । जे भए पनि स्मारिका आएदेखि अझ रमाइलो भयो । प्रेक्षाले स्मारिकाको खुब ख्याल गरी । 
तिम्रो साथीले त बच्चा पाउन लागिसकिन्, तिमी नपाउने ? एकदिन ठट्टैठट्टामा प्रेक्षालाई सोधेँ । 
उसले पाएपछि मैले किन पाउनुपर्‍यो ? प्रेक्षाले तत्कालै जवाफ दिई । मैले उसको अनुहार आश्चर्यले हेरिरहेँ । फेरि हाँस्दै भनी– केहीदिन स्मारिकालाई हाम्रो सहयोग चाहिएको छ, उसको बच्चा जन्मिइसकेपछि हामी सुरु गरौंला नि । पीर नगर न म तिमीलाई निसन्तान बनाएरै त मर्दिनँ नि । 


दिनहरु त बिते, तर क्रमशः मैले नचाहेका दिनहरु आउन थाले !
बिस्तारैबिस्तारै प्रेक्षाको ध्यान मभन्दा पनि स्मारिकामा केन्द्रित हुन थाल्यो । ऊ हरक्षण स्मारिकाको स्याहार सुसारमा व्यस्त रहन थाली । उसले मलाई बेवास्ता गरेकै हो भन्ने त होइन, तर मलाई भन्दा बढी वास्ता अरुलाई गरेको मलाई सह्य भइरहेको थिएन । अस्पतालबाट बिदा नै लिएर प्रेक्षा स्मारिकाको स्याहार सुसारमा केन्द्रित भई ।

प्रिय, म राति जुनसुकै बेला स्मारिकालाई सहयोग गर्न उठ्नुपर्ने हुन्छ, पटकपटक उठ्दा तिमीलाई डिस्टर्ब हुन्छ, त्यसैले अलगअलग कोठामा सुतौं ल– एकदिन प्रेक्षाले भनी । सायद दिउँसो युनिभर्सिटी जानुपर्ने हुनाले अनिँदो हुँदा मलाई गाह्रो हुन्छ भन्ने उसको चिन्ता हुन सक्छ, तर मलाई प्रिय लागेन । 

मैले केहीबेर उसको अनुहार हेरेँ । उसको अनुहारमा दृढता थियो । उनको मलाई थाहा छ । त्यसैले मैले प्रतिवाद गरिनँ । हामीले विवाहपूर्व नै एकले अर्काको इच्छालाई पूर्ण रुपमा सम्मान गर्ने सहमति गरेका थियौं । हामीले त्यही समय कुनै कुरामा असहमति भए बरु पारपाचुके गर्ने, तर कहिल्यै पनि झगडा नगर्ने सहमति गरेका थियौं ।

सोमबारदेखि शुक्रबारसम्म म दिउँसो युनिर्भिर्सटीमा हुन्थेँ । घरमा भएको समयमा प्रेक्षाले बनाएको नोटलाई पछ्याउँदै कहिले स्मारिकालाई हिडाउँन लैजानुपथ्र्यो त कहिले फलोअपको लागि चिकित्सककोमा लैजानुपथ्र्यो । किन हो किन बिस्तारैबिस्तारै प्रेक्षा मभन्दा टाढाटाढा गइरहेको महसुस भइरहेको थियो । तैपनि उसले भनेको मानेर म कहिले स्मारिकालाई योगा गराउँथे त कहिले किनमेलमा लैजान्थेँ । तर वदलिँदै गएकी प्रेक्षाको बारेमा स्मारिकासँग कहिले पनि गुनासो गरिनँ । आफ्नै पत्नीको बारेमा पराइ स्मारिकासँग गुनासो गर्नुको के अर्थ ?
मैले नोटिस गरिरहेको थिएँ, कहिलेकाहीँ रातमा अचानक प्रेक्षा गाडी लिएर घरबाट बाहिरिन्थी । एकमनले हस्पिटलमा इमर्जेन्सी केस आयो होला भन्ने सोच्थेँ, अर्को मनले फेरि बिदामा भएको बेला हस्पिटल त के गई होला र भन्ने लाग्थ्यो । मन मर्दैमर्दै गएका कारण कहाँ गएको भनेर सोध्न पनि मन लाग्दैनथ्यो । सोधौं कि जस्तो लागेको बेला फेरि हस्तक्षेप गरेको ठान्छे कि भन्ने पनि लाग्थ्यो ।

एक्लै हुँदा सोच्थेँ– कुनै समय स्मारिका सबैभन्दा नजिक थिई, तर ऊ अकस्मात टाढिई । समय बित्दै जाँदा प्रेक्षा सबैभन्दा नजिक भई, तर ऊ क्रमशः टाढिँदै जाँदैछे । अचेल मलाई यी सम्बन्धहरु बोझिलाबोझिला महसुस भइरहेका छन् ।

एकदिन म युनिर्भिर्सटीबाट फर्कंदै गर्दा प्रेक्षा सबैभन्दा खुसी देखिएकी थिई । ऊ मलाई लिन ढोकासम्म आइपुगी । मलाई अँगालो हाली । यसरी मलाई अँगालो नहालेको र ढोकासम्म लिन आइनपुगेके पनि निकै समय भइसकेको थियो ।
म धेरै खुसी छु प्रिय– प्रेक्षाले भनी– आज छोरा जन्मियो । तयार भइहाल स्मारिकालाई भेट्न जाउँ ।
प्रेक्षाको खुसीमा म खुसी हुन सकिनँ ।
केही दिनमा स्मारिका हस्पिटलबाट डिस्चार्ज भई । घर आउँदा स्मारिकाको छोरा प्रेक्षाले नै बोकेकी थिई । मैले स्मारिका र प्रेक्षा दुवैको अनुहार हेरँे । स्मारिकाको अनुहारमा भन्दा प्रेक्षाको अनुहारमा खुसी बढी थियो । प्रेक्षाको व्यस्तता अझ थपियो । उसले हरेक पल बच्चासँग बिताउन थाली ।

एकदिन प्रेक्षासँग गुनासो गरेँ– स्मारिकालाई उसको छोरा हुर्काउन देऊ न, तिमी त्यति धेरै किन संलग्न हुन्छ्यौ, बरु अब काममा जान थाल । 

स्मारिकासँग त जीवनभर हुन्छ नि ऊ, मसँग त अब केही दिनमात्रै हुन्छ– प्रेक्षाको जवाफ थियो । 
सायद, अब स्मारिकाको जाने दिन नजिकै रहेछ क्यारे । पहिला ऊ नजिक हुँदा खुसी हुन्थँ, अब टाढा हुन्छे भन्ने सुन्दा खुसी लाग्न थाल्यो । 
अब कति दिन स्मारिका हामीसँग बस्ने ?
ऊ त अस्ति नै जाने भन्दै थिई, मैले नै तिम्रो जन्मदिनसम्म यहाँ बस्न अनुरोध गरेकी छु– उसको जवाफ थियो ।
मलाई मेरो बर्थडेको बारेमा प्रेक्षाले चर्चा गरेको सुन्दा दुई कारणले खुसी लाग्यो । पहिलो खुसी त प्रेक्षालाई मेरो चासो अझै रहेछ भन्ने लाग्यो । अर्को खुसी अब चाँडै स्मारिका मेरो जीवनबाट गएपछि प्रेक्षा र म पहिलाझंै खुसी हुन्छांै भनेर लागेको थियो । म अर्को कारणले पनि खुसी भएको थिएँ । अब मेरो मनले पहिलाझैं स्मारिकालाई खोजेर मलाई दुःख दिने छैन भन्ने कुरामा विश्वस्त भएको थिएँ । 

म क्रमशः स्मारिकालाई घृणा गर्न लागेको थिएँ । पहिलो चोटले नपुगेर मलाई दोश्रो चोट दिन आएकी जस्तो लाग्न थालेको थियो ।

एकदिन म युनिभर्सिटीबाट फर्कंदा प्रेक्षा घरमा थिइन । स्मारिकालाई सोधेँ । दुई दिनपछि मात्रै फर्कने रे भन्ने जानकारी दिई । फोन गरँे । स्विच अफ थियो । अस्पतालमा कल गरेँ । अझै अर्को महिनासम्म बिदामै भएको जानकारी पाएँ । कोठामा गएँ । त्यहाँ मेरा लागि अरु दुई दिनको नोट थियो । उसको केही पत्ता लागेन । यसअघि नभनी यति लामो समयका लागि कहीँ पनि गएकी थिइन ।

कतिपय प्रतिकूलताहरुको आँधी यसरी आउँदो रहेछ कि, आफूलाई बचाउन सकिँदो रहेनछ । प्रेक्षालाई प्रतीक्षा गर्नुको विकल्प भएन ।

नभन्दै दुई दिनपछि ऊ घर फर्किई । थकित देखिन्थी ।
कहाँ गएकी थियौ प्रेक्षा ?
काम थियो । 
अनि मलाई नभनी ? के काम थियो ?
अब तिमीले ममाथि शङ्का गर्न लाग्यौ प्रिय ?
उत्तर चाहेको समयमा प्रतिप्रश्न आउन थालेपछि स्थिति ठीक छैन भन्ने लाग्यो । संवाद अगाडि बढाउन चाहिनँ । यत्तिकैमा टुङ्गियो । तर यो क्रम रोकिएन । प्रेक्षा कहिले मध्यरातमा कसैलाई नभनी घर छाड्थी र दुई–तीन दिनमा फर्कन्थी । कहिले त हप्ता दिनसम्म कहाँ हुन्छे भन्ने थाहा हुँदैनथ्यो । तर हरेक पटक कहिले फर्कने भन्ने सूचना र नफर्किने दिनसम्मको लागि नोट छाडिएको हुन्थ्यो ।

कताकता प्रेक्षा मसँग खुसी छैन कि भन्ने आशङ्का जन्मन थाल्यो । स्मारिकाले हाम्रो विगतबारे बताई कि भन्ने लागेर सोधेँ । उसले पनि केही बताएकी रहिनछे । 
तिमी मसँग खुसी छैनौ भने बरु पारपाचुके गरौं, यसरी अजनवीजस्तो व्यवहार गरेर नबसांै– एकदिन मैले उसलाई घुक्र्याउने शैलीमा भनेँ ।

हुन्छ– उसले स्वाभाविक रुपमा भनी– म मेरो वकिललाई प्रक्रिया पूरा गर्नका लागि भन्छु । कागजात पूरा भएपछि प्रक्रिया पूरा गर्न अदालतमा जाउँला ।
सत्य, म आत्तिएँ । 
मैले त त्यति गम्भीर रुपमा भनेको होइन, केवल घुक्र्याएको हुँ– म गिडगिडाएँ ।
तर तिम्रो मनमा पारपाचुके आइसक्यो, अब अगाडि बढ्नु नै ठीक हुन्छ– फेरि पनि उसले दृढता देखाई । 
मैले नचाहँदानचाहँदै त्योे दिन आयो । हाम्रा राम्रा दिनदेखि खराब दिनसम्मको साक्षी बनी स्मारिका । अदालतमा पारपाचुकेको कागजमा हस्ताक्षर गरेर बाहिर निस्कँदासम्म पनि हामी चुपचाप थियौं । हामीले घरलगायत अन्य सम्पत्ति बाँडफाँटबारे केही पनि चर्चा गरेनौं ।
घरमा तिमी बस– बाहिर निस्कँदै गर्दा मैले उसको अनुहार पनि नहेरी भनेँ ।
यी सबै सम्पत्ति मैले बाँड्नलाई जोडेकी हैन प्रिय– उसले मेरो आँखामा आँखा जुधाउँदै भनी– घरसहित सबै सम्पत्ति तिम्रा लागि हुन् । तिमीलाई एउटा समृद्ध मान्छे बनाउने मेरो सपना थियो, सकेसम्म पूरा गरँे । अब आफ्नु ख्याल गर्नु । 
प्रेक्षाले स्मारिकाबाट जन्मिएको छोरो लिई । केहीबेर छातीमा टाँसीरही । प्रेक्षाका आँखा भरिएर आँसु गालाबाट बगेर बच्चामाथि झरे । उसले आँसु पुछ्दै बच्चालाई पटकपटक चुम्बन गरी । मलाई आफूलाई सम्हाल्न एकदमै गाह्रो भयो ।
तिमी यहाँ हुञ्जेल मेरो प्रियको ख्याल गर है स्मारिका– स्मारिकालाई छोरो दिने क्रममा प्रेक्षाले भनी– छोरालाई यति धेरै माया देऊ कि संसारको सबैभन्दा भाग्यमानी छोरो बनोस् ।
ऊ मेरो छेउमा आई । मलाई अँगाली र माया गरी । 
आफ्नो ख्याल गर्नु प्रिय– मबाट छुटिँदै गर्दा प्रेक्षाले भनी ।
स्ट्यान्डबाइ रहेको एउटा गाडीमा चढेर हुइँकिई । मेरो मन पनि हुइँकियो उसैसँग जसरी पहिला स्मारिकासँग हुइकिने गथ्र्यो । तर ज्यान यतै छुट्यो । स्मारिका र उसको छोरामात्रै साथमा थिए । 

अब जिन्दगी पूरै खाली भयो । घर पुगँे । टेबलमा त्यसदिन गर्नुपर्ने कामहरुको लागि अर्को नोट थियो ।
सायद मेरो लागि यही अन्तिम नोट होला प्रेक्षाको– मनमनै सोचँे ।

स्मारिकाको पनि कुनै वास्ता गरिनँ । पहिला स्मारिकाले छाडेकी थिई । अहिले प्रेक्षाले छाडी । सायद यी केटीहरु छाड्नकै लागि जन्मिन्छन् क्यारे । 

मैले मन बुझाउन खोजेँ । बारमा गएँ । कहिले पनि छाडेर नजाने ह्विस्की थियो । टन्न पिइदिएँ । प्रेक्षासँग विवाह गरेपछि पहिलो पटक मैले उसको नोटमा उल्लेख नभएको काम गरेको थिएँ । कति पिएँ, कतिबेला ओछ्यानमा गएँ, पत्तै भएन । जब भोलिपल्ट बिउँझिएर टेबलमा हेरेँ, त्यहाँ सधैंझैं त्यो दिनको लागि पनि नोट थियो । मैले कपडा लगाएँ, सटको गोजीमा पनि नोट थियो ।

स्मारिकालाई नोट कसले बनायो भनेर सोधेँ । प्रेक्षाले नै इमेलमा पठाएको र आफूले प्रिन्ट गरेर राखिदिएको बताई ।
छाडेर गएर पनि किन चासो राख्नुपरेको होला ? आफ्नै मनलाई सोधेँ । उत्तर पाइनँ । नोटलाई नजिकैको ट्रयासक्यानमा फालिदिएँ । एकछिन मौन बसँे । 
अब मलाई चाहिँदैन तिम्रो नोट, आफ्नोबारे सबै आफैं निर्णय लिन्छु– आफैंलाई घुर्की लगाएँ । मन मानेन । फेरि नोट उठाएँ । छातीमा टाँसेँ । मन अलि शीतल भयो । आँसुले आँखा भरिइसकेछन् ।

मान्छे आफू रुँदै जन्मन्छ र अरुलाई रुवाउँदै मर्छ भन्थे, तर मचाहिँ सधैं आफैं रुनमात्रै जन्मिएछु । त्यतिबेला यस्तै सोचेँ ।
यो क्रमले निरन्तरता पाइरह्यो । मसँग सम्पर्कमा नरहे पनि मेरा लागि हरेक दिनका नोटहरु प्रेक्षाले पठाइरही । हरेक दिन बिहान प्रेक्षाले बनाएको नोट हेर्नका लागि पनि अलि चाँडो बिउँझिन थालेँ । अलि चाँडै बिउँझिँदा नोट आइपुगेको हुँदैनथ्यो, त्यसकै लागि पनि स्मारिकाको कोठासम्म जानुपथ्र्यो । सुनसान घरमा कोही नभएपछि बाध्य भएर स्मारिकासँग केही कुराकानी गर्नुपथ्र्यो । यो क्रमले स्मारिका र उसको छोरासँग केही नजिक्यायो ।

एकदिन भर्खर बिउँझिँदै थिएँ । स्मारिका कोठामा प्रवेश गरेको थाहा पाएँ । सायद नोट राखेर फर्कने होला भनेर थाहा नपाएको जस्तो गरेँ । तर ऊ उभिरही । बाध्य भएर मैले बिउँझिएजस्तो अभिनय गरेँ । 
रातो गुलाफको फूलको बुके र कार्ड मलाई दिँदै भनी– ह्याप्पी बर्थडे ।

थ्याङ्क यु– मैले भनेँ– यो पटक त मैले मेरो बर्थडेको वास्ता गरेको थिइनँ । तिमीले अझै मेरो बर्थडे बिर्सिएकी रहिनछ्यौ है?
मैले फूल र कार्ड टेबलमा राखेँ ।

मैले सम्झिएको होइन, प्रेक्षाले भनेको । यो फूल र कार्ड प्रेक्षाले नै पठाएको हो– स्मारिकाले भनी ।

टेबलमा राखिसकेका फूल र कार्ड हातमा लिएँ । चित्त बुझेन । बिस्तारै छातीमा टाँसेँ । प्रेक्षा नै छातीमा टाँसिएजस्तो भयो । मनमा निकै शीतल भयो । 

प्रेक्षाले बर्थडेमा मलाई फूल, कार्ड र उपहार दिने गर्थी । तर यो पटक उपहार थिएन । प्रश्नवाचक आँखा स्मारिकामा अडिए । सायद उसले बुझिछे क्यारे । 

आफैं दिने रे– उसको छोटो उत्तर थियो । 
सम्बन्धविच्छेद भएको दिनदेखि भेट भएको थिएन । मैले भेट्नलाई कति पटक फोन गरे, तर उसको फोन सधैं अफ हुन्थ्यो । म्यासेज पठाउँथेँ, तर कहिल्यै जवाफ आएन । आज ऊसँग भेट हुने कुराले मन रमायो । 
प्रेक्षा यहीँ आउँछिन् ?
नोटमा हेर्नु न ।
साँझमा हिमालयन रेस्टुराँमा बर्थडे पार्टी लेखिएको रहेछ । वर्ड्सटाउन रोडमा भर्खरै मात्रै यो नेपाली रेस्टुरँ खुलेको थाहा पाएको थिएँ, तर म पुगेको थिइनँ ।
म स्मारिका र उनको छोरालाई लिएर समयमा नै रेस्टुराँ पुगेँ । त्यहाँ अँध्यारो नै अँध्यारो थियो । हामी अल्मलियौं । त्यहीबेला चारैतिर अकस्मात बत्ती बल्यो । ह्याप्पी बर्थडे टु युको सङ्गीत गुञ्जियो । मलाई केही युवतीले फूल दिए र अगाडि लिएर गए जहाँ प्रेक्षा मेरो प्रतीक्षामा थिई । म आइरहेको देखेपछि सम्मान जनाउन ऊ आफ्नो कुर्सीबाट उठी, जसरी पहिलापहिला हरेक दिन मेरो आगमनमा ऊ सम्मानमा घरमा उठ्ने गर्थी ।

मलाई हार्दिकताका साथ अँगालो हालेर ह्याप्पी बर्थडे विस गरी । मैले सम्बन्धविच्छेद भएकी पत्नी भन्ने पनि बिर्सिएँ । उसलाई निधारमा चुम्बन गरेँ । प्रेक्षा आज झन् सुन्दर लाग्यो । 
मसँग छुट्टिएर उसले स्मारिकालाई अङ्कमाल गरी र छोरो आफूसँग लिई । मलाई एकापटि र स्मारिकालाई अर्कोपटि राखेपछि प्रेक्षाले बर्थडे सेलिब्रेसन सुरु गर्न इशारा गरी । 

वाद्यवादकहरुले ह्याप्पी बर्थडे को लाइभ म्युजिक बजाए । हामी कहिल्यै पनि बर्थडेमा बलेका बत्तीहरु निभाउँदैनाैँ र यो पटक पनि निभाएनाैँ । सबैले जन्मदिनको शुभकामना गीत गाइसकेपछि मैले केक काटेँ । केकको पहिलो टुक्रा प्रेक्षालाई खुवाएँ र प्रेक्षाले मलाई खुवाई । केकको अर्को टुक्रा भने स्मारिकालाई खुवाउन प्रेक्षाले मलाई इशारा गरी र मैले मन नलाग्दानलाग्दै इच्छा पूरा गरिदिएँ ।

भव्य सेलिब्रेसेनमा जब पाहुनाहरु रमाइरहेका थिए । प्रेक्षाले सबैको ध्यानाकर्षण गराई ।

उसले मेरो बर्थडेमा आइदिएकोमा सवैलाई आभार व्यक्त गरी । 
ऊ मेरो लागि हिजो जति प्रिय थियो आज पनि उति नै प्रिय छ– उसले भनी– सबैलाई थाहा छ अचेल हामी सँगै छैनौं, तर म जहाँ भए पनि मेरो हरेक धड्कनमा ऊ छ । हामी पति–पत्नी मात्रै थिएनौं, सबैभन्दा नजिकका साथी थियौं । यो मित्रता सदाका लागि बाँचिरहने छ ।
यति भन्दासम्ममा उसका आँखा भरिएका थिए । अवरुद्ध गलाको वावजुद पनि उसले भनी– ऊ मेरो लागि एउटा रोलमोडल थियो । म जतिबेलासम्म उसकी पत्नी थिएँ, त्यतिबेलासम्म सधैं ऊप्रति मलाई गर्व भइरह्यो र जीवनभर गर्व गर्न पाउने छु । 
मैले उसका आँसु पुछिदिएँ । उसले केहीबेर आफूलाई मेरो काँधमा छाडिदिई । तालीको गड्गडाहट भयो ।
उसको बर्थडेमा हरेक वर्ष यसैगरी उपस्थित हुनुभयो भने म खुसी हुनेछु ।

उसले आफ्नो बोल्ने क्रम टुङ्ग्याइ । मेरा आँखाबाट लगातार आँसु बगिरहेका थिए । म कसैप्रति पनि आभार व्यक्तण् गर्न सक्ने अवस्थामा थिइनँ । केहीबेर चुपचाप हेरिरह्यौं हामीले एकअर्कालाई । जन्मदिनको सेलिब्रेसनभन्दा पनि मन रुवाउने दिन जस्तो भयो । तर खुसी भएँ, प्रेक्षासँग भेट भयो ।
पार्टी सकिन लागेपछि प्रेक्षाले मलाई स्मारिका र छोरोलाई लिएर जाऊ भनी । 

मैले उसलाई हेरिरहेँ । के भनौं के नभनौंको अवस्था भयो । साँच्चै भन्दा किङ्कर्तव्यविमुढको अवस्था थियो त्यो ।
भोलि बिहानै स्मारिकाको फ्लाइट छ, फेरि छोराको सुत्ने बेला भयो लैजाउ– उसले आदेशात्मक शैलीमा भनी– तिम्रो जन्मदिनको उपहार मैले स्मारिकालाई दिइसकेकी छु ।
केही समयअघिसम्म स्मारिका कहिले जान्छे भन्ने भएको थियो । अब भोलि बिहानै जान्छे भन्दा पनि नरमाइलो लाग्यो । स्मारिकाको माया लागेर होइन । घर झन् सुनसान हुने भयो भनेर । 

प्रेक्षा जति समय मसँग रही, असल पत्नी भएर रही । कुनै दिन गुनासो गरिन । उसका हरेक शब्द मेरा लागि सल्लाह वा निर्देशनजत्तिकै महत्वपूर्ण हुन्थे । भारी मनका साथ प्रेक्षालाई छाडेर म घरतर्फ लागेँ । गाडीमा केहीबेर स्मारिकासँग पनि बोलिनँ । 
प्रेक्षाले दिएको उपहार हेर्न मन त हतारिएको थियो, किनकि जहिले पनि उसको छनोट उत्कृष्ट हुने गथ्र्यो । तर के भन्ने के नभन्नेको अवस्थाबाट म गुज्रिरहेको थिएँ ।
स्मारिकातर्फ हेर्न पनि असजिलो लागिरहेको थियो । कुनै दिन स्मारिका मबाट हराएकी थिई, आज प्रेक्षा हराई । उसको मनस्थिति कस्तो भएको होला भन्ने लाग्यो । त्यसैले स्मारिकाले नै केही कुरा सुरु गरोस् अनि गिफ्टको कुरा गर्छु भन्ने चाहेको थिएँ । तर स्मारिका पटक्कै बोलिन । गाडी चलाउँदै गर्दा केहीबेरमा बाध्य भएर ऊपटि फर्किएँ । काखमा छोरो च्यापेर रोइरहेकी रहिछे । नाबालक शिशुलाई अमेरिकी कानुन अनुसार बेबीसिटमा राख्नुपर्ने हो, तर काखमा नै बोकेकी रहिछे । सायद उसको पनि दिमाग ठेगानमा छैन ।
प्रेक्षाले मलाई के उपहार दिएकी छिन् ? मैले नै सोधेँ ।
गाडी रोक्नु त– बल्ल स्मारिका बोली । 
मैले इमर्जेन्सी लाइट बालेर गाडीलाई सडक किनारमा पार्क गरेँ । 
स्मारिकाले छोरोलाई काखबाट बिस्तारै उठाई र मेरो काखमा राखिदिई । 
म अन्योलमा परेर स्मारिकाको मुख हेरिरहेँ ।
यही छोरा हो, प्रेक्षाले तपाईंलाई दिएको जन्मदिनको उपहार ।
ऊ आवाज निकालेरै घुँक्कघुँक्क रुन थाली । 
म भक्कानिएँ । तरर आँसु त्यो बच्चामाथि झरे । केही बोल्न सकिनँ । बच्चालाई फेरि स्मारिकालाई नै दिएँ ।
गाडी युटर्न गरेँ । फेरि हुइँकिएँ रेस्टुराँतिरै । 
म पुग्दा प्रेक्षा गइसकेकी रहिछे । निराश भएँ । स्मारिका पनि छोरो बोकेर पछिपछि आएकी रहिछे । रेस्टुराँबाट बाहिरिनै लाग्दा म्यानेजरले मलाई रोक्यो । उसले एउटा कागज दियो । रेस्टुराँ बन्द गर्न लागेकोले त्यहाँ पढ्न मिलेन । गाडीमा हामी दुवैजना मौन थियाैँ । घर पुग्नासाथ हतारहतार हेरेँ । प्रेक्षाले मलाई नै सम्बोधन गरेर लेखेको चिठी रहेछ ।

प्रिय, तिमी घर पनि नपुगी यहाँ फर्कन्छौ भन्ने मलाई थाहा छ । त्यसैले म यो नोट लेख्दैछु । जीवनका यस्ता पलहरु पनि थिए जुन पलमा हामी एकजस्ता थियौं । तिम्रा र मेराबीच गोपनीयता भन्ने केही कुरा हुँदैनथे । तर तिमीले तिम्रो जीवनको एक कालखण्ड मसँग लुकाएका थियौ र त्यसैगरी मेरो जीवनको एक कालखण्ड मैले तिमीसँग लुकाएर हिसाब बराबर गरेँ । आज ती सबै सत्य तिमीलाई अवगत गराउँदैछु । सत्य के हो भने, स्मारिका मेरो सहपाठी साथी होइन । हामी अमेरिका आउनुअघि चिनजान पनि थिएन । हाम्रो विवाह भइसकेपछि पनि हरेक पल तिमीले स्मारिकालाई खोजिरहेका छौ भन्ने मैले थाहा पाइसकेकी थिएँ, तर कहिले पनि वास्ता गरिनँ किनकि तिमीले एउटा पतिको दायित्व सदैव पूरा गरेका थियौ । पास्ट इज पास्ट । हामीले विवाहपूर्व नै एकअर्काको व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्ने भनेका थियाैँ र कसैलाई खोज्नु त्यो तिम्रो व्यक्तिगत स्वतन्त्रता थियो । अचानक हाम्रो जीवनमा यस्तो क्षण आइपुग्यो, तिमीले भेट्न नसकेकी स्मारिकालाई मैले खोज्न थालेँ र अन्ततः तिम्रो सामुन्नेमा लिएर आएँ ।

मैले स्मारिकापटि हेरे । ऊ चुपचाप छोरोको कपडा फेरिदिन व्यस्त थिई । यतिबेला उसलाई त्यो चिठीतिर कुनै चासो थिएन किनकि ऊ यी सबै विषयमा जानकार थिई, केवल म मात्रै अँध्यारोमा थिए । 
फेरि चिठी पढ्न थालेँ ।

उड हेभन कन्ट्री क्लबमा पहिलो पटक र अरु केही ठाउँमा मैले नै स्मारिकालाई तिम्रो सामुन्ने पारेकी थिएँ । तिमीले मैले केही थाहा पाइनजस्तो महसुस ग¥यौ, तर म तिम्रो प्रतिक्रिया हेरिरहेकी थिएँ । फेरि एकदिन स्मारिकालाई घरमा लिएर आएँ । स्मारिकालाई मैले नै तिमीसँग नचिनेको अभिनय गर्न भनेकी थिएँ, तर तिमीले पनि मेरो सामु साँच्चिकै नचिनेको अभिनय ग¥यौ । सायद स्मारिकालाई सजिलो बनाइदिन तिमीले त्यसो गरेको हुनुपर्छ वा जीवनमा तिमीले मलाई पहिला नबताएको कुरा भएकोले त्यसलाई गोप्य नै राखिरहन त्यसो गरेको हुनुपर्छ ।  तिमीलाई एउटा कुरा भन्न मलाई हतार लागेको छ । त्यो के भने, स्मारिकाले अहिलेसम्म कोहीसँग पनि विवाह गरेकी छैन । ऊ त अझै पनि तिमीलाई अलपत्र छाडेर बेपत्ता भएकोमा आत्मग्लानिले जलिरहेकी छे ।
मैले चिठी पढ्न छाडेर एकपटक स्मारिकालाई हेर्न फर्किएँ । ऊ अघिदेखि मेरो पछाडि उभिएर रोइरहेकी रहिछे । 
फेरि चिठी पढ्न थालेँ । 

मैले किन स्मारिकालाई खोजेँ भन्ने तिमीलाई बताउन चाहन्छु । तिमीसँग आनन्दमय जीवन बाँचिरहेको बेला अचानक यस्तो मोड आयो, मैले तिमीसँगका सारा बाचा तोड्नुपर्ने भयो । मैले तिमीप्रति निर्वाह गरिरहेको दायित्व कसैलाई सुम्पनुपर्ने भयो । मैले पहिलो प्राथमिकतामा स्मारिकालाई राखेँ, किनकि ऊ तिम्रो पनि खोजीमा थिई । मैले जब स्मारिकालाई भेटँे र ऊ पनि विवाह नगरी बसिरहेको थाहा पाएँ, मेरो खुसीको सीमा रहेन । स्मारिकाले मेरो प्रस्तावलाई स्वीकार गरिदिएर जुन गुन लगाइ, त्यो गुन कुनै जुनीमा पनि तिर्न सक्दिनँ होला ।

स्मारिका आएपछि हामीले हरेक दिन राति अबेरसम्म पियांै, रमाइलो ग¥यौं र एउटै बेड सेयर ग¥यांै तर तिमीले एकदिन पनि मर्यादा नाघेनौ । तिम्रो जीवनको एक कालखण्डमा पत्नीको हैसियतमा बसिसकेकी स्मारिकापट्टि एकपटक पनि हात बढाएनौ । तिम्रो त्यस्तो कामले एकातिर मलाई तिमीप्रति गर्व अनुभूति भयो भने अर्कोतिर मेरो मिसन फेल भयो । यस्तो अवस्थामा स्मारिकाले नै यस्तो प्रस्ताव गरी कि म त आफंै आश्चर्यचकित भएँ । म, तिमी र स्मारिकाको सम्बन्ध सुचारु होस् र तिमीहरुको बच्चा होस् भन्ने चाहन्थँे, तर स्मारिका हाम्रो बच्चा होस् भन्ने चाहन्थी । तिमीलाई स्मरण गराउन चाहन्छु, स्मारिका हाम्रो घरमा आएपछि आयोजना भएका पार्टीहरु कुनै रमाइलो थिएनन्, ती केवल तिमीलाई बेहोस बनाएपछि चिकित्सक बोलाएर तिम्रो बीर्य निकाल्नका लागि थिए । अन्ततः हामी सफल भयौं, तिम्रो र मेरो छोराले आकार ग्रहण गरेपछि त्यसलाई स्मारिकामा राख्यौ । यतिबेला तिमीसँग भएको बच्चा तिम्रो र मेरो छोरा हो, स्मारिका त केवल हाम्रो छोरालाई आफ्नो गर्भमा हुर्काइदिने महान् आमामात्रै हो । स्मारिकाले हाम्रो छोरालाई नौ महिना कोखमा बोकेर जन्माइदिई । मेरो र स्मारिकाको तर्फबाट तिमीलाई जन्मदिनको उपहार हो यो छोरा । 

हेरेँ, छोरो काउचमा निधाइरहेको थियो । छोरोलाई बिस्तारै उठाएँ । उसलाई पहिलो पटक चुम्बन गरेँ । उसलाई चुम्बन गर्दा प्रेक्षालाई नै चुम्बन गरेको आभास भयो । फेरि सुताएँ । चिठी पढ्नु थियो ।

तिमीलाई मैले यो सब किन गरेँ भन्ने लागिरहेको होला हैन ? मसँग जीवनका केही पल मात्रै बाँकी थिए । म क्यान्सरको लास्ट स्टेजमा थिएँ । तिमीलाई एक्लै छाडेर म कसरी मर्न सक्छु भन्ने सोच्थेँ । सायद तिमीले यो पत्र पढिरहँदा म यो संसारबाट बिदा भइसक्नेछु । म खुसी छु, आनन्दले मर्छु, अब तिमीलाई एक्लै छाडेकी छैन ।

म कहालिएर रोएँ । संसार पूरै अँध्यारो देखँ । भुइँमा ढल्न लाग्दा स्मारिकाले मलाइ सम्हालेर काउचमा बसाइ । पानी पिउन दिई । रुवाइका बीचमा मैले फेरि पढ्न थालेँ । 

तिम्रो लागि सन्तान नजन्माइ मर्दिनँ भनेर मैले तिमीसँग बाचा गरेकी थिएँ है । मैले मेरो बाचा पूरा गरेँ । तर अझै केही प्रष्ट पार्न बाँकी छ । म अचानक कुनै जानकारी नदिई पटकपटक घर छाडेर बाहिर जानुको कारण मेरो विराम नै थियो । कहिलेकाहीँ पेन किलर औषधिले पनि काम गर्दैनथ्यो र म पीडा बढेर छटपटाउन थालेपछि हतारहतार हस्पिटल जान्थेँ । जब राति पीडा सुरु हुन्थ्यो, अचानक घरबाट बाहिरिन्थेँ । एकदिन तिमीले घुक्र्याउनका लागि पारपाचुकेको कुरा उठाइदियौ, साँच्चि नै त्यसले मलाई धेरै सहज बनाइदियो । म तिम्रो मप्रतिको माया दिनदिनै घट्दै जाओस् र मेरो मृत्युलाई पनि सहज रुपमा स्वीकार गर्न सवल बन भन्ने चाहन्थेँ । तर डिभोर्सपछि पनि म तिमीबाट टाढा थिइनँ । अस्पतालमा नरहँदा हरेक दिन घरमै बसेँ । तिम्रो कोठामा सीसी टीभी जोडेर हरपल तिमीलाई हेरिरहेँ । जीवनका बाँकी रहेका पल छोरासँग खेलेर बिताएँ । स्मारिकालाई तिम्रो आदतका बारेमा सिकाएँ । आज बिहानसम्म पनि म घरको बेसमेन्टमा नै थिएँ । यत्रो दिनमा तिमी एकपटक पनि म बसेको बेसमेन्टसम्म आएनौ है, किनकि त्यो कुरा मेरो नोटमा हुँदैनथ्यो । मेरो नोटलाई पछ्याउने बानी परिसकेको थियो । प्रिय, यो नै मेरो जीवनको अन्तिम नोट हो, भोलिबाट हरेक बिहान तिम्रो लागि कुनै नोट हुने छैन । 

माफी चाहन्छु, तिमीलाई मेरो अन्तिम यात्रामा सहभागी गराउन सकिनँ, किनकि तिमीलाई आँखासामु राखेर म मर्न सक्दिनँ । तिमीले त्यति धेरै माया गरेकी मान्छे हुँ म, तिम्रोसामु खरानी हुन सक्दिनँ । मलाई सम्झिएर नरोऊ ल, तिमी रुँदा म आँसु पुछ्न सक्दिनँ । थाहा छैन यो आत्माले यो शरीर त्यागेपछि के हुन्छ, म त हरपल तिमीहरुको छायाँ बनेर बाँच्न चाहन्छु तर तिमीलाई देख्न सक्छु कि सक्दिनँ थाहा छैन । जे भए पनि तिमीसँग मेरो अंशको रुपमा छोरा छ, मेरो जत्तिकै माया दिने स्मारिका छे । तिमी स्मारिका र छोरासँग खुसीसँग बाँच्नु । तिमी खुसी भयौ भने म पनि तिम्रो हृदयमा खुसीसँग रहिरहन सक्नेछु ।
तिम्री प्रेक्षा 
म धेरैबेर रोइरहेँ । स्मारिकाको हालत पनि उस्तै थियो । तर पनि स्मारिकाले मलाई थामिरही । 
तिमीले नै भन्थ्यौ त, प्रेक्षा एन्जेल हो, ऊ सदासदा हामीसँगै रहिरहन्छे– रुवाइको बीचमा पनि स्मारिका बोलिरहेकी थिई ।


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २८, २०७६  १०:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC