काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली नोट र पासपोर्टमा भगवान गौतम बुद्धको तस्बिर राख्ने विषयमा सोच्न आग्रह गरेका छन् । धार्मिक पक्षबाट भन्दा पनि दार्शनिक पक्षबाट नोट र पासपोर्टमा बुद्धको तस्बिर राख्न सकिने विषय सोचनीय भएको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताएका छन् ।
बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने अभियान देश तथा विदेशमा सञ्चालन गर्दै आएका गायक धिरज राईसँगको छफफलपछि डा. भट्टराईले ट्विट गरेका छन्, “बुद्ध अभियानका अगुवा तथा प्रसिद्ध गायक धिरज राईसँग बुद्ध र नेपालको सम्बन्ध विश्वमा कसरी स्थापित गर्ने र देशको श्रीवृद्धिमा योगदान गर्ने भन्नेबारे रोचक छलफल ! धार्मिक भन्दा पनि दार्शनिक चिन्तकको रूपमा बुद्धको फोटो नेपाली नोट र पासपोर्टमा राख्ने उहाँको सुझाव विचारणीय लाग्यो ! सोच्ने कि ?”
बुद्ध भारतमा जन्मिएका हुन् भन्ने भारतले पाठ्यपुस्तकमै राखेपछि गायक धिरज राई लामो समयदेखि बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने प्रमाणित गर्ने अभियानमा रहेका छन् ।