काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले सरकारले उच्चस्तरीय भ्रमणको तयारी गर्न नसकेको आरोप लगाएका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले चिनियाँ विदेशमन्त्रीले गरेको तीनदिने नेपाल भ्रमण र प्राप्त उपलब्धिबारे सरकारले अनावश्यक रुपमा जनतामा भ्रम छर्ने काम गरेको भन्दै उच्चस्तरीय भ्रमणको तयारी गर्न भने नसकेको बताएका हुन् ।
उच्चस्तरीय भ्रमणका क्रममा हुने वार्ताहरुमा आफ्ना योजनाहरुबारे नेपाल ठोस, स्पष्ट एवं योजनावद्ध ढंगले प्रस्तुत गर्न नसकेको भन्दै उनले चिनियाँ विदेशमन्त्रीको भ्रमणका क्रममा केरुङ्ग–काठमाडौं रेलवे सम्भाव्यता अध्ययन गर्नका लागि नेपालबाट भएको प्रस्ताव, बिआरआई प्राजेक्ट र मदन भण्डारी विश्वविद्यालयको बारेमा चिनियाँतर्फबाट कुनै प्रतिवद्धता नआएको तर अनावश्यक रुपमा जनतामा भ्रम छर्ने काम गरिएको भन्दै असन्तुष्टि जनाए । उनले केही सामान्य विषयबाहेक ठूला आयोजनाका बारेमा खास उपलब्धि हासिल हुन नसकेको दाबी गरे ।
सांसद देवले ३५ करोड ६० लाखमा मनाङ्गमा एउटा अस्पताल बन्ने, आपतकालिन बसोबासका लागि ५ हजार टेण्टहरु उपलब्ध भएको र नेपालका सरकारी स्कुलमा भाषा पढाउनका लागि चिनियाँ मास्टर आउने बाहेक कुनै पनि उपलब्धि हासिल गर्न नसकिएको पनि बताए ।
हालैमात्र चिनियाँ चोरहरुले एटिएम ह्याक गरेर झण्डै साढे ३ करोड रुपैयाँ लुटेको, नेपाली चेलीलाई बेचबिखन गराउने काममा संलग्न भएको, केरुङ्ग काठमाडौंको बाटोमा चिनियाँ सुन तस्कर बढेकोलगायत विषयबारे तत्काल चिनियाँ पक्षसंग नेपाल सरकारले कुरा गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।