काठमाडौं । गोरखामा सम्पन्न लिगलिगकोट–सिरानचोक–गोरखा दरबार खुल्ला म्याराथनको उपाधि भिमबहादुर गुरुङले जितेका छन् । आरुघाट गाउँपालिका थुमीका गुरुङले रुकुमका दुर्गाराज बुढालाई पछि पार्दै उपाधि जितेका हुन् । पूर्व सैनिक समेत रहेका गुरुङले निर्धारित ४२ किलोमिटरको दूरी ३ घण्टा १७ मिनेट २ सेकेण्डमा पूरा गरे ।
दोस्रो भएका बुढाले ३ घण्टा १७ मिनेट ४५ सेकेण्डमा दूरी पार गरे । पालुङटार नगरपालिकाको लिगलिगकोटबाट शुरु भएको दौड सिरानचोक गाउँपालिकाको हर्मी, सिरानचोक हुँदै गोरखा नगरपालिकाको गोरखा दरबार पुगेर टुंगिएको थियो ।
विजेता गुरुङले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाए । उपविजेता बुढाले १ लाख रुपैयाँ पुरस्कार पाए । म्याराथनमा १ सय १४ जना सहभागि भएका थिए । नेपाली सेना, गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाको संयुक्त आयोजनामा खुल्ला म्याराथन गरिएको हो ।