एजेन्सी । जापान र दक्षिण कोरियाबीचको हवाइ भाडादर अहिलेसम्मकै सस्तो हुन पुगेको छ । दुई देशबीच जारी कुटनीतिक र व्यापारिक विवादका कारण हवाइ शुल्क घटेर १० डलरमा झरेको संचार माध्यम सीएनएनले जनाएको छ । यस्तोमा अहिले दक्षिण कोरियाको राजधानी सिओलबाट जापानको फुकुओका पुग्न बोइङको इस्टर जेटमा केबल १० हजार कोरियन वन अर्थात ८.३८ डलर लाग्छ भने जापानबाट कोरिया पुग्न पनि जापानी १ हजार येन अर्थात् ९.३५ डलर मात्र लाग्नेछ ।
यसरी कर लगायत अतिरिक्त शुल्क जोडिएपनि अरुबेलाको भन्दा यो अत्यन्तै कम भाडादर भएको बताइएको छ । यही समयमा अरु वर्षहरुमा फुकुओकाबाट सिओल आउन ७१ डलर भन्दा अधिक भाडा लाग्दथ्यो । त्यसैले पनि सो हवाइ शुल्क गत वर्षको भन्दा ६० देखि ८० प्रतिशत कम हो । यसमा पनि सेप्टेम्बर महिनामा टिकटको शुल्क अत्यन्तै महङ्गो पर्ने गरेको थियो किनकि कोरियाली पर्व ‘छुसेक’ मनाउनका लागि परिवारजनसँग भेट गर्न जापान र कोरियाबीच अत्याधिक आवत्जावत् हुने गर्दथ्यो ।
यसअघिका वर्षहरुमा यात्रुले छुसेकको समयमा हवाइ सुल्क सयौँ डलर हुने गरेको सम्बन्धी गुनासो समेत गर्ने गरेका थिए । तर गत जुलाइमा मात्र दक्षिण कोरिया र जापानबीचको तनाव हालसम्मकै उच्च बिन्दुमा पुगेपछि दुवै देशमा व्यापारिक कारोबार अत्यन्तै न्युन भएको छ ।
यसबीच दुवै देशको पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताइएको छ ।
जस्तै यस जुलाइमा दक्षिण कोरियाबाट ६ लाख पर्यटकहरु मात्र जापान भ्रमणका लागि गएका हुन् जुन अघिल्लो वर्षको तुलनामा ७ प्रतिशत कम भएको जापानी सरकारको तथ्याङ्कले देखाएको छ । यता जापानबाट दक्षिण कोरिया आउने पर्यटकहरुको सङ्ख्यामा पनि उत्तिकै गिरावट देखिएको कोरियाको पर्यटन संघले जानकारी दिएको हो । यसकारण पनि उडान शुल्क यति कम हुन पुगेको बताइएको छ ।
गत महिनामा मात्र कोरियन एयरले जापानतर्फको ६ वटा रुट कटौति गर्ने घोषणा गरेको थियो । जापानसँगको विवादकै कारण उडानको माग अत्यन्तै कम भएको बताइएको हो । चीनपछि सबै भन्दा ठूलो सङ्ख्यामा दक्षिण कोरियाली पर्यटकहरु जापान भ्रमणमा जाने गरेका छन् । सीएनएनबाट