सक्रिय बुढ्यौली–यी अमेरीकी महिलाबाट सिक्नुपर्ने पाठ 

 डा. होमनाथ चालिसे

सक्रिय बुढ्यौली–यी अमेरीकी महिलाबाट सिक्नुपर्ने पाठ 

जन्मदर घट्दै जानु, मृत्युदरमा क्रमशः सुधार भएर उमेर बढ्दै जानु तथा माथिल्लो उमेर समूहको संख्या बढ्नु २१ औं शताब्दीको  महत्त्वपूर्ण उपलब्धि हो ! अहिले विश्वको औसत आयु झन्डै ७२ वर्ष भए पनि केही अफ्रीकी र गरीब देश हरुको औशत आयु ५१ वर्ष र केहि सम्पन्न देशहरुको औशत आयु ८० वर्षभन्दा धेरै छ ! संसारमा धेरै बाच्ने भनेर चिनिएका जापानीको औषत आयु ८६ वर्ष पुगेको छ ! जापानमा त सय वर्ष काटेका नागरिकको संख्या ७० हजार जनाको हाराहारी छ ! 

अचेल सय वर्षनजिकै पुग्दा पनि सक्रिय जीवन बिताउनेहरूका बारेमा सुन्न र देख्नसमेत पाइन्छ ! पंक्तिकार अमेरीकी नागरिकहरुको ‘लङ्ग टर्म केयर’ अध्ययनको सिलसिलामा नर्थ क्यारोलिनाको सुन्दर पहाडी गाउँ बुंन म बस्ने क्रममा केही ८० वर्षभन्दा माथिका महिलासंग संगत गर्ने मौका पायो  ती सक्रिय महिलामध्ये एक जना ९० वर्षमाथिकी जिमी ओवेनको क्रियाकलापमा मैले अलि बढी ध्यान दिएँ । यो लेखमा यिनै जिमीको सक्रिय बुढ्यौलीको  चर्चा गरिएको छ ।

अप्लेचियन स्टेट युनिभर्सिटीमा रहँदा प्रा. डा. एडविन रोजेंबर्गको माध्यमबाट उनको नजिकका केही व्यक्तिसँग नियमित सम्पर्कमा आउने माध्यम मिल्यो । हाम्रो भेट प्राय लन्च वा डिनर खाने बहानामा हुन्थ्यो । कहिले कसको घरमा पार्टी, कहिले कसको घरमा यो सबै भेटघाट, खानेपिउने र रमाइलो गर्ने दिनचर्या नै थिए ।

समूहभएकी एकजना अभिभा भन्ने महिलाबाहेक सबै जनाले बेलुका दुई गिलासजति वाइन खान मन पराउँथे । कसैको घरमा पार्टीमा जम्मा हुँदा पनि सरसल्लाह गरेर खानेकुरा सेयर गरे पनि पिउने कुरा आआफूले नै बोकेर आएका हुन्थे ! त्यो समूहमा भएका एकजना मात्र पुरुष सदस्य ७० वर्षीय डा. एडले सबैलाई हसाउने र उनकी पत्नी जुडीले सबैको राम्रो ख्याल गर्ने गर्थिन् । कसैलाई केही समस्या भएमा डा. एडको जोडीले राम्रो राय सल्लाह दिने, ख्याल गर्ने गर्थे । यो समूहको अर्को विशेषता  त्यहाँको लोकगीतको सोख थियो । कतै सांगीतिक कार्यक्रम हुँदैछ भन्ने थाहा पाएमा सबैलाई इमेल वा फोनबाट जनाउ दिएर आआफ्ना कुर्ची गाडीमा हालेर लगी बेलैमा पुगेर आफ्नो स्थान सुरक्षित गरिहाल्थे । साथमा खाने पिउने कुरा कहिल्यै छुट्दैनथ्यो । 

यो बिरानो ठाउँमा  मेरा आफ्ना भनेकै  यिनै थिए । म पनि फुर्सदको क्षण उनीहरुसँगै उनीहरुका क्रियाकलापमा सरिक भएर रमाउन थालेको थिएँ । डा.  एड र  मिस केइती त राम्रो स्वरका धनी  पनि थिए ।  केइतीले त कैयौं सीडीसमेत निकाली सकेकी थिइन्  ।  म अग्रेजी गानाको सौखिन नभए पनि यहाँ रमाउन सिकेँ ।  हाम्रो र उनीहरुको खानपिन फरक भए पनि जस्तोसुकै  खानेकुरामा रमाउने मेरो बानीले गर्दा खासै समस्या भएन । मैले नखाने खाने कुरामा उनीहरुले कहिल्यै कर लगाएनन्  । 

जुन ४ तारेखलाई अमेरिकाको जन्म दिनको रूपमा मनाइँदो रहेछ ।  यस दिन जिमीले सबैलाई साफ्नो घरमा  ब्रेकफास्टका लागि बोलाइएकी  थिइनन् ।  म पनि डा. एडको साथमा  त्यहाँ पुगे । ती उमेरले नौ दशक काटेकी जिमीको घरको क्रियाकलापका बारेमा जान्ने यो मेरो राम्रो अवसर थियो । 
जिमी एउटा ठूलो घरमा एक्लै बस्थिन् । घरको बाहिर उनका दुईवटा गाडी पार्क गरिएका थिए - एउटा गाडी नियमित चलाउने र अर्को हिउँमा चलाउन मिल्ने । घरबाहिर विभिन्न किसिमका फूलहरु गमलामा थिए । एउटा छेउमा अलिकति तरकारी लगाइएको थियो  टमाटर, काँक्रो , खुर्सानी, सिमी थिए  । अलि बढी जमिनमा ब्लुबेरी लगाइएको थियो ।

मूल ढोकाको अगाडिको भाग अझ विशेष थियो । आँगनमा हरिया फूल थिए । एउटा ठुलो टेबल र ५-६ वटा कुर्ची थिए । अर्को छेउमा झोलुङ्गे झुला थियो । साना चरा चुरुंगीको लागि पानी एवम् बस्न मिल्ने वासथान बनाइएको थियो  । स्थान धेरै भएर र बस्ने मानिसको अभावले कतिपय संरचनामर्मत् संहारको पर्खाइमा कुरिरहेको भान हुन्थ्यो ।  त्यहाँ बसेर बगैँचा र चराचुरुंगीको आनन्द लिन खुब मजा भयो  । 

उनको घरभित्रको सजावट पनि के कम हुन्थ्यो ?  पछिल्लो समय उनी माथिल्लो तलामा कमैमात्र जाँदी रहिछन् । चाहिने सबै समान प्रायः भुइँ तलामा थिए । घरभित्र पनि विभिन्न किसिमका बिरुवा ठाँउठाँउमा झुन्ड्याएर राखिएको थियो  । एउटा ठूलो हलजस्तो कोठा बैठक  थियो  । एउटा टेबलमा मानसिक रूपमा सक्रिय राख्ने किसिमका बच्चाबच्ची खेल्नेजस्ता सामग्री राखिएका थिए । सोफाको एउटा छेउमा खेलौना कालो भालु र उसको सानो बच्चा खेलौना समातेको अबस्थामा राखिएको थियो - त्यसमा लेखिएको थियो - ‘एज इज जस्त अ नम्बर’ ।  

एका बिहानै यी जिमी हजुरआमाले तयार गरेकी ब्रेकफास्ट खाइयो  । साथमा प्रशस्त फलफूल, फलफूलका ताजा रस र कफी पनि थियो । बिहान ११ बजेदेखि अमेरीकी दिवसको दिन निकालिने परेड हेर्न सडकमा निस्किनुपर्ने थियो । अन्य महिला बेलुकाको पार्टीको तयारी गर्नु छ भनेर छिटै निस्के  । जिमी, डा. एड र ममात्र बाँकी रह्यौ  । परेड हेर्न मूल सडकमा निस्किने दुईवटा बाटा थिए - एउटा घुमाउरो र अर्को सिधै ओरालो सिढीजस्तो बनाइएको । तल झर्न जिमी ठाडो बाटो प्रयोग गर्दिरहिछिन् । यस बाटोमा जम्मा ७६ वटा खुड्किला छन् । म त यहीँबाट झर्छु भन्दै अगाडि लागिन् । हामी पनि उनलाई पछ्याउदै तल झर्यौं । परेड सकिएपछि जिमी पुन त्यही घर फर्किंइन् । हामी उनको हिँडाइ हेरेको हेर्यै भयौँ ।

कुनै समय मिलाएर यति निरोगी र सक्रिय यी नब्बे बसन्त पार गरिसकेकी जिमीको जीवनका बारेमा थप जान्न मन लागेको थियो  । एक दिन साँझपख  एउटा पार्टीमा जम्मा भएको बेला अरु खानाको तयारीमा लागेको मौकामा मलाई उनको जीवनको बारेमा जान्न मन लागेको बताएँ । उनी खुसी हुँदै मेरा जिज्ञासा मेटाउन थालिन् । जिमीले आफ्नो जीवनको बारेमा भनेका कुरा सुनेर ममात्र हैन उनका अन्य साथीहरु पनि छक्क परे । 

जिमीको परिवारका सबै धेरै वर्ष बाँचेका रहेछन् । उनकी हजुरआमा ८० वर्षभन्दा बाँचेकी रहिछन् ।  बाबु ८६ वर्षमा बितेका रहेछन् ।  उनकी आमाले पनि ८० वर्ष पार गरेकी रहिछिन्  । उनका दुई छोरा र दुई छोरी क्रमशः २४, २६, ३० र ३६ वर्ष को उमेरमा जन्मेका रहेछन् । अहिले उनका ९ जना नातिनातिना र ४ जना पनाति  छन्  । उनका पति विश्वविद्यालयमा प्राध्यापक थिए भने उनी प्राइमरी स्कुलकी शिक्षिका थिइन् । उनीहरुले २६ वर्षअगाडि राजीखुसीमै पारपाचुके गरेका थिए । पारपाचुकेपछि पति पुरानो पुर्ख्यौली ठाउँ टेक्सास गएर केही वर्षअगाडि बिते । उनलाई पतिले दिएकै घरमा हाल पनि बसिरहेकी रहिछन् । 

जिमी खानेकुरामा विशेष ध्यान दिँदिरहिछिन्  । उनी ब्रेकफास्टमा अलि बढी खान्छिन् । उनको भनाइमा ब्रेकफास्ट सबैभन्दा महत्त्वपूर्ण खाना हो । बिहानको खानामा फलफूल, हरियो तरकारी र अण्डा प्रायः हुँदोरहेछ । उनी मासुमा रातो मासु र पोर्क सकभर खाँदीरहिनछिन् । कुखुरा र माछालाई बढी प्राथमिकतामा राख्छिन् रे । उनले खाँदै नखाने भन्ने खानेकुरा भने केहि पनि रहेनछ  । कहिले काहीँ साथीभाइ कहाँ जाँदा विभिन्न प्रकारका खानेकुरा पनि खानुपर्दो रहेछ ।  

यो उमेरमा पनि आफैँ गाडी चलाएर किसानको बजारमा गएर ताजा तरकारी किन्दी रहिछिन्  । ताजा र अर्गानिक किसिमको तरकारी किन्दा उनलाई आनद लाग्छ रे ! उनि प्रायः आफै पकाएर खान्छिन् । कार्बोहाइड्रेड धेरै पाइने खानेकुरा धेरै कम मात्रामा खाँदिरहिछिन् । चिनी मिसाइएको खानेकुरा पनि ज्यादै कम मात्रामा खाँदिरहिछिन् । चिनी मिसाएको कुरा सकभर नखाएको राम्रो भन्दै थिइन् । उनको सबैभन्दा मन पर्ने पेय पदार्थ कफी हो । बिहानमा अलि बढी कफी खाने वानी रहेछ  ३-४ पटक कडा कफी पिउने रहिछिन् । प्रत्येक दिन बेलुका हल्का खाना अलि छिटै र सामान्यतया बेलुका २ पेग जति वाइन पिउँदी रहिछिन् ।

जिमीलाई अहिलेसम्म त्यस्तो कडा रोग लागेको छैन  । आफ्नो स्वास्थ्य राम्रो रहेकोमा उनी गर्व गर्छिन् र यसको प्रमुख कारण आफ्नो जीवन शैली र खानपीन नै हो भन्छिन्  । तीन वर्षअगाडि स्वास्थ्य केही बिग्रेको बेला छोरी आएर केही मनोपरामर्श र खाने कुराको बारेमा सम्झाएपछि पहिलाभन्दा झन् तन्दुरुस्त भएकी रहिछिन् ।  

मानिसले आफूलाई रुचि हुने पेसा गर्नुपर्छ ।  जुन काम गरिन्छ त्यसलाई मन पराउनु पर्छ । उनलाई पढाउने काम मनपर्थ्यो  । बिदाको दिनबाहेक सबै दिन स्कुलमा पढाउन जाने गर्थिन् । शिक्षण पेसा गर्दा प्रशस्त फुर्सदको समय हुने हुँदा आफूलाई मन लागेको अरू काममा रमाउन पनि समय निकाल्न सजिलो हुन्छ भन्ने उनको धारणा छ । कस्को केमा रुचि छ त्यसले पनि कसले आफ्नो फुर्सद कसरी बिताउँछ भन्ने निर्धारण गर्छ ।  

उनी अहिले पनि मानसिकरूपमा पूर्ण स्वस्थ्य छिन् ।  नियमितरूपमा स्वास्थ्यसम्बन्धी पत्रिका पढेर राम्रो स्वास्थ्य ज्ञान लिन सकिने बताउछिन् ।  रोग लागेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिने प्रयास गर्नुपर्छ । त्यसैले उमेर बढेसँगै रगत बाक्लो भएर समस्या आउनसक्ने हुनाले रगत पातलो बनाउने औषधि र थाइराइडबाट बच्न औषधि खान्छिन् ।  

प्रत्येक दिन बिहान भुइँमा सुतेर घुँडा र मेरुदण्डको ब्यायाम गर्नु उनको अर्को दिन चर्या रहेछ । करेसा बारी र फूलबारीको काम प्रायः बिहान अथवा साँझको समयमा गर्दी रहिछिन् । उनको सामाजिक समूहसँग पनि राम्रो घुलमेल रहेछ । नियमितरूपमा आफ्नो स्कुलका अवकाश पाएकाहरूको अलुम्नाईसँग बाहिर घुम्न रमाउने, छोराछोरीका सन्तानसंग नियमित भेटघाट गरिरहने, स्थानीय कार्यक्रममा सरिक भइरहने, आफ्नो अन्य साथीभाइसँग पनि भेटघाट गरिरहने यिनका केही अन्य व्यस्त राख्ने बानी हुन् । जिमीको यो सक्रियताले आगामी दिनमा पनि निरन्तरता पाइरहोस् ।  हामीपनि सक्रिय र स्वस्थ्य बुढयौली जीवनका लागि आजैदेखि तयारी गर्दै अगाडि बढौँ । 
 ( ज्येष्ठ नागरिक विद्  डा. चालिसे हाल अमेरिकाको अप्लेचियन स्टेट युनिभर्सिटीका रिसर्च फेलो )


 

प्रतिकृया दिनुहोस
ad