site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संविधान क्रियान्वयनमा चुक्दै सरकार

संविधान क्रियान्वयन असफल भए देशको दिशा, गति हुन्छ कस्तो ? देश कुनै अज्ञात अस्थिरता र खतराको मोडमा पो पुग्ने हो कि ? यसै हुन्छ भन्ने अवस्था अहिलेलाई देखिँदैन । संविधान जनतालाई राज्य र सरकारसँग जोड्ने लिखित निर्देश हो । राज्य संयन्त्रमा नागरिकको सहज पहुँच स्थापित गर्ने माध्यम हो । नागरिकले संविधानप्रति अपनत्वसमेत आफू राज्य संयन्त्रसँग घनिष्ट रहेको अनुभूति सगर्व गर्न पाएमात्र सफल कार्यान्वयन मानिनेछ । यस्तो अनुभूति सरकारको कार्य, कारणले स्थापित गर्ने हो । संविधानसँग नजकिने कि टाढिने ? सरकारको कामको प्रतिविम्बले हुन्छ ।

नेपालमा संविधानको अभ्यास छोटो अवधिमा धेरै संख्यामा भएको छ । विश्वमा यस्तो उदाहरण बिरलै भेटिएला । छिमेकी भारतमा स्वतन्त्रतापछि बनाइएको संविधान बहत्तर वर्षमा एकसय पटकभन्दा बढी संशोधन भयो तर त्यही दस्तावेजले काम गरिरहेको छ । नेपालमा भने करिब यही अवधिमा हामी सातौं संविधानको अभ्यासमा छौँ र पनि अनिश्चय हटेको छैन । यो सुखद अवस्था होइन । संविधानको दीर्घजीवन संशोधनबाट हुन्छ । ‘छेपारोले मुढो समाएजस्तो’ कट्टरताको परिणाम समाप्ति नै हो । कठोर दाँतले साथ छोड्नसक्छ, तर लचिलो जीब्रो सँगै ‘आर्यघाट’ पुग्ने निश्चित छ ।  

अर्को छिमेकी चीनको संविधान कम्युनिष्ट प्रणालीसँगै स्थिर छ । पूर्वी एसियाको जापानमा दोस्रो विश्वयुद्धपछि अमेरिकी सेनाका प्रतिनिधि सम्मिलित टोलीले बनाएको संविधानले काम गरिरहेको छ । संसदीय प्रजातन्त्रको जननी मुलुक बेलायतमा लिखित संविधान नै छैन । काम गर्दै जाँदा त्यहाँ बने, बनाइएका लिखत र नजिरहरुको आधारमा कुनै दिनको विश्व शासक मुलुक बेलायत चलिरहेछ । हामी कहाँमात्र किन यति धेरै संविधानको ‘लाइन’ लगाइए पनि स्थिरता र समृद्धिको अपेक्षा अहिलेसम्म अधुरै छ त ? 

Prabhu Bank
Agni Group
NIC Asia

बीपीको भनाइमा– ‘संविधान कागजको खोस्टो बन्छ यदि त्यसमा जनताको भावना स्पन्दित भएन भने ।’ जनताको भावना नै यसप्रति अपनत्वबोध वा आत्मीयताको कारक हो । विसं २०४७ सालको संविधानलाई विश्वकै राम्रामध्येको भनियो । तर, चल्न पाएन । विसं २०७२ वा अहिलेको संविधानलाई पनि विश्वकै उत्कृष्ट भन्ने दावा राजनीतिक नेताहरुले गरेका हुन् । त्यसो भए किन आशंकाको कालो बादल मडारिएको छ त यो संविधानमाथि ?  

कम्युनिस्ट प्रधानमन्त्री केपी ओली पुनःउपचारका लागि फेरि सिंगापुर जादैगर्दा सर्वदलीय (संसद्मा उपस्थित ठूला दलको) बैठक बोलाएर जे भने त्यसले आशंका बलियो बनायो । चर्चा थियो, सत्यनिरुपण तथा  मेलमिलाप र बेपत्ता छानबिन आयोगका पदाधिकारीको नियुक्ति । त्यसो भएन । तर, प्रधानमन्त्रीले बैठकमा भनेछन् – लोकतन्त्र, गणतन्त्र वा वर्तमान संवैधानिक व्यवस्थामाथि प्रहार गर्ने तत्त्व सलबलाएको छ, खतरा छ । सबै मिलेर तिनलाई परास्त गर्नुपर्छ । 

Global Ime bank

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष, प्रधानमन्त्री ओलीको यस्तो भनाइमा दुई विषय मुखरित भए । पहिलो, संविधानको स्थिरतामाथि नै शंका वा संविधानप्रति बढ्दो प्रहार । दोस्रो, प्रधानमन्त्री ओलीको दुईतिहाइ दम्भले बिसौनी खोजेछ । यस विषयमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सही टिप्पणी गर्दै संविधानमाथि प्रहार र खतरा सरकारकै काम र कारणले भएको भन्यो । किनभने, नागरिकको संविधानसँग लाभान्वित र भावनात्मक जोडाइको अनुभूति सरकारको कामले स्थापित गर्न सकेन । 

मुलुकको सम्पूर्ण स्रोत, साधन र शक्ति खिचेर केन्द्रीकृत पार्ने सरकारले राज्ययन्त्रहरूमा कम्युनिस्टीकरण गर्न लाग्दा नागरिकको भावना संवैधानिक लोकतन्त्रप्रति नै निस्पृह हुँदैगएको हो । आगोमाथि घिउ अरु थपियो – जनभावनाको उपेक्षा र कार्यकर्ता पोस्ने स्वेच्छाचारी कर्मले । प्रधानमन्त्रीले आफ्नो यस कार्यावधिको निराशामात्रै होइन कि, प्रत्युत्पादक प्रस्तुति र तत्जन्य खतरालाई यसरी व्यक्त गरेको बुझिन्छ । 

दुईतिहाइको दम्भ त सुरुमै गर्नुहुन्थेन । यथार्थ बोधपछि त्यो टुट्नु स्वाभाविक थियो । तर, झन्डै डेढ वर्ष दम्भले नै सिध्यायो । अहिले प्रधानमन्त्रीमात्रैले होइन कि भाषण गर्दा कम्युनिस्ट सरकारका ओहोदाधारीले देश विकास र समृद्धिको प्राप्तिसँगै लोकतन्त्रको रक्षाका लागि सबैको सहयोग आवश्यक छ भन्न लागेका छन् । यही भावनाले चलेको र चल्ने हो भने धेरै समस्याको समाधान खोज्न सरकारलाई नै सजिलो पर्नेथियो । तर, भन्ने कुरामात्र बनाइएकाले सहयोग जुटाउन अहिले पनि यो सरकार असफल छ । 

बितेको समयलाई ‘आधार वर्ष’ दलिल कम्युनिस्ट सरकारका प्रतिनिधिको छ । बनेका केही ऐन, कानुनलाई आफ्नो सफलताको मापन भनिएको छ । तर, प्रत्यक्ष जनसरोकारको ऐन, कानुन बन्ने प्रक्रियाका चर्चित विधेयकहरु सबै विवादास्पद छन् । सरोकारवालाको सम्बद्ध विधेयकप्रति तीव्र असन्तुष्टि दुनियाँलाई थाहै छ । शिक्षाको होस् वा विश्वविद्यालयको, प्रेसको होस् कि चिकित्सा शिक्षाको वा सूचना प्रविधिको । सुरक्षा परिषद् र मानवअधिकार सम्बन्धी, सबै सबै विधेयक संविधान र सरोकारवालाको भावनाविपरीत भनिएका छन् । 

संवैधानिक निकायहरुको स्वायत्ततामाथि अंकुश लगाउने सरकारी प्रयास सार्वजनिकरूपमै चर्चामा छ । केन्द्र, प्रदेश र स्थानीयवीच समन्वयसाथै  सन्तुलन कायम रहनुपर्ने भए पनि प्रदेश र स्थानीय तहलाई संविधानको व्यवस्थाबमोजिम कार्यक्षेत्र दिन कञ्जुस्याइँ गरिएको असन्तुष्टि सम्बद्ध उनीहरुकै हो । भरमार यी यस्ता उदाहरण हुन् जसले सरकार संविधान कार्यान्वयनमा चुकेको वा असफल रहेको बताउँछन् । यस्तो स्थिति कम्युनिस्ट सरकारको नियत हो कि नियति ? वा केन्द्रीकृत कम्युनिस्ट प्रणालीतर्फको प्रयत्न ? 

सरकारको काम गराइ लोकतान्त्रिक मान्यता अनुकूल नरहेको निष्कर्षले पनि संविधानविपरीतको भावनालाई बढावा मिलेको छ । यस्तै मौकाको पखाईमा रहनेले त्यसमाथि मलजल गर्ने नै भए । यस्तो अवस्था बढ्न नदिन सरकारले आफ्नो कार्यशैली सच्याई लोकतन्त्र र संविधानको मान्यता अनुकूल चल्ने प्रयास तुरुन्तै गर्न आवश्यक छ । अर्को उपाय संविधानको आवश्यक संशोधन पनि हो । 

विश्वमा लामो टिकेका संविधानहरु संशोधन र परिमार्जनकै कारण हो । जनभावना, आवश्यकता र औचित्यको प्रस्टतासहित  राष्ट्रहितको सापेक्षतामा अर्थात् संविधानको सान्दर्भिक संशोधन दिगो हुने उपाय हो । संशोधनको आँट र अवसरको कमीले नेपालमा संविधानको थुप्रो लागेको हो । निर्दलीय पञ्चायती संविधानको केही संशोधन भए । नागरिक स्वतन्त्रता र स्वायत्त राखिनुपर्ने राज्यका निकायहरूको हक कुण्ठित गर्न भएका ती संशोधनले पञ्चायत टिकाउन सकेन । नागरिकको सार्वभौम अधिकार खोस्ने संविधान र त्यही प्रकारको संशोधन टिकाउ उपाय होइन रहेछ भन्ने सिद्ध भयो । हाम्रोजस्तो भूराजनीतिक स्थितिमा संविधान संशोधनको मूल चुरो राष्ट्रियहित र लोकतान्त्रिक पथ नै हुनुपर्छ ।  

संविधान क्रियान्वयनको यस सन्दर्भमा पनि वर्तमान सरकार चुकेको छ । संशोधनको वाचा गरेर समाजवादी पार्टीलाई सरकारमा भित्र्याइयो । उसको सत्तारोहण अपेक्षा त पूरा भयो तर वाचा अलपत्रै छ । यस्तै प्रलोभनले एकवर्षसम्म राजपाको समर्थन लिएको कम्युनिस्ट सरकारसँग दुईतिहाइ मत थियो, अहिले पनि करिब करिब छ । संशोधन गर्ने मत भएर पनि बाँकी सहमति जुटाउन नसक्नुले नेतृत्व असफल भन्ने बुझाउँछ वा संशोधनबाट संविधानलाई दिगो आधार दिने मनसुवा यो सरकारसँग छैन भन्ने लाग्छ ।

संशोधनको लागि नेपाली जनमत तयार बुझिन्छ । यो जनमतभित्र आआफ्ना स्वार्थ होलान् । तर, ती स्वार्थलाई राष्ट्रहित र लोकतन्त्र अनुकूल समायोजन गर्ने क्षमता त सरकारले राख्नुपर्ने हो । वर्तमान संविधानको निर्माण पूरा र घोषणा नेपाली कांग्रेस नेतृत्व (तत्कालीन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको पाला)मा भएको हो । कांग्रेसकै नेतृत्वमा पहिलो संशोधन र दोस्रो प्रस्ताव गरिएको ऐतिहासिक तथ्य छ । यसका लागि सहमति जुटाउन कांग्रेस सफल रह्यो । तर, त्यति संशोधनलाई आंशिक मानियो, पर्याप्त मानिएन । पर्याप्त त कुनै पनि बिरलै होला । 

संशोधनका लागि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस तयार छ । संविधान संशोधनको आफ्नो मान्यता कांग्रेसले पुनः प्रस्ताव गरेको छ । यो प्रस्ताव संविधानलाई गतिशील र दिगो बनाउने उपाय स्वरुप नै हो । समय सन्दर्भले संशोधनको आवश्यकता बोध गराई रहला । त्यस्तै तराईमधेस र जनजातिले पनि संशोधनको माग गर्दै आएका छन् । व्यक्त यस्ता सबै भावनालाई समेटेर सहमति बनाउने दक्ष भूमिका सरकारले भने निर्वाह गर्नसकेको देखिँदैन । संशोधनका लागि सर्वपक्षीय सहमति पनि अनिवार्य आवश्यकता हो । 

सत्ताको तामझाम र ‘रमाइलो जात्रा’ को दुईतिहाइ आत्मरतिमै कम्युनिस्ट सरकार रनभुल्लजस्तो छ । दुईतिहाइ प्रत्युत्पादक काम गर्न हो र ? प्रजातन्त्र र संविधानप्रतिको उसको प्रतिबद्धता अहिलेको सरकारी कामले पुष्टि गर्दैनन् । कम्युनिस्ट सरकारमा त्यो प्रतिबद्धता छ भने व्यवहारबाटै पुष्टि गर्नुपर्ने खाँचो देखिएको छ । अन्यथा, संविधान कार्यान्वयलाई अहिलेजस्तो निरन्तर छल्दै जानुको कारणमा सरकारको  सर्वसत्तावादी कम्युनिस्ट नियत रहेको आरोप लाग्ने नै छ । 
   
       
        

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६  ०७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC