site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

केही दिन पहिले स्वास्थ्यमन्त्रीले डेंगुको संक्रमण रोक्न  उनको मन्त्रालयले मात्र नसक्ने जानकारी सार्वजनिकरूपमा दिएका थिए । लगत्तै स्वास्थ्य राज्यमन्त्रीले पनि त्यही आशय सार्वजनिकरूपमै प्रकट गरेका थिए ।  यसैबीच चितवनमा डेंगु र स्क्रबटाइफसका कारण चार जनाको मृत्यु भएको समाचार आएको छ । काठमाडौं उपत्यकालगायत अन्यत्रबाट पनि डेंगुका बिरामी अस्पतालमा आइरहेको समाचार छ । अज्ञान, अभाव र असुविधाका कारण कतिपय बिरामी त अस्पतालै नपुगेका पनि हुनसक्छन् । चिकित्सकहरूले चितवनको अहिलेको अवस्थालाई ’डेंगु आतंक’ भनेका छन् । सरकारले भने महामारीको भयावह पक्षकै उपेक्षा गरेको छ । जनताको उपेक्षा गर्ने यस्तो प्रवृत्ति लोकतन्त्रमा सरकारका लागि निकै महँगो पर्न सक्छ ।
  
तालुकवाला मन्त्रीहरूले नै स्थिति गम्भीर भएको जानकारी दिएपछि त पक्कै पनि आवश्यक सबै क्षेत्रको सहयोग जुटाएर युद्धस्तरमा डेंगुको संक्रमण रोक्ने प्रयास हुने अपेक्षा गरिएको थियो । तर, सरकार डेंगुको संक्रमण रोक्न पटक्कै गम्भीर भएको देखिएन ।  लामखुट्टेको टोकाइबाट फैलने भएकाले डेंगुको महामारी रोक्न लामखुट्टेबाट जोगिन जनतालाई सजग र सक्षम बनाउने कार्यक्रममा राज्यका सबै निकायले जोड दिनुपर्ने थियो । सरकारी सुविधा र क्षमताले मात्र नसके गैरसरकारी क्षेत्रसँग पनि सहयोग लिएर महामारीको सन्देह भएका क्षेत्रमा व्यापक अभियान सञ्चालन गरिनुपर्थ्यो । स्वास्थ्यकर्मीमात्र परिचालन गरेर संक्रमण नियन्त्रण गर्न नसके नेपाली सेना, प्रहरी पनि परिचालन गरेको भए हुन्थ्यो । राष्ट्रिय क्षमताबाट संक्रमण नियन्त्रण नभए अन्तर्राष्ट्रिय सहयोग माग्न सकिन्थ्यो । तर, स्वास्थ्यमन्त्री त जनतालाई तर्साएर तमासा हेर्न रमाएजस्तो पो देखियो । 

स्थिति भयावह नभई स्वास्थ्यमन्त्रीले जनतालाई तर्साउने अभिव्यक्ति दिनु चरम गैरिजम्मेवार प्रवृत्ति हो । देशको उपप्रधानमन्त्री जस्तो जिम्मेवार पदमा रहने व्यक्ति यति गैरिजम्मेवार हुनु हुँदैन । तर, डेंगुको संक्रमणबाट थलिएका बिरामी अस्पतालहरूमा आइरहेका छन् । मर्नेहरूकै पनि संख्या बढ्दो छ । यसैले स्वास्थ्यमन्त्रीको भनाइमा चाहिँ आपत्ति गर्नुपर्ने देखिएन । परन्तु, संक्रमण भयावह अवस्थामा पुग्दा पनि स्वास्थ्य मन्त्रालयको निस्क्रियता भने अवश्य पनि आपत्तिजनक छ । पक्कै पनि डेंगुको महामारी रातारात रोकिँदैन । यस्तै सबै पक्षको सहयोग जुटाउन पनि भन्न जति सजिलो हुँदैन । तर, महामारी त जसरी पनि रोक्नै पर्छ । यो थाहै नदिई आइलाग्ने प्राकृतिक विपत्ति पनि हैन । यसैले रोक्नै नसकिने थिएन ।

महामारी नियन्त्रणका लागि शासकमा राजनीतिक इच्छाशक्ति र त्यसभन्दा पनि जनताप्रतिको दायित्वबोध भने आवश्यक हुन्छ । दुर्भाग्य, अहिले सरकारमा यिनै दुई तत्त्वको अभाव देखिएको छ । स्वास्थ्यमन्त्री पनि यसको अपवाद बन्न सकेनन् । अझै पनि बेला छ । डेंगुको संक्रमण रोक्ने प्रभावकारी अभियान चलाउन स्वास्थ्य मन्त्रालयलाई केले अप्ठेरो भएको हो ? जनशक्तिको अभाव हो कि आर्थिक अभावले गर्दा अभियान प्रभावकारी बनाउन नसकेको हो ? पहिले जनतालाई जानकारी दिनुपर्छ । डेंगु परीक्षण गर्ने किटको अभावमा अस्पताल पुगेका बिरामीको समयैमा उपचार हुन नसकेर ज्यान गयो भने त्यसको दोष र पापबाट शासकहरू मुक्त हुनेछैनन् । यस्तै गरिबहरूले खर्च धान्न नसकेर उपचार गराउनै नचाहने अवस्था पनि राज्यकै लागि लाजमर्दो र दुखःद हो । धनीहरूले त जसरी पनि उपचार गराइहाल्लान् । उपचारविना मर्नुपर्ने त गरिबले न हो । उपचारप्रति उदासीन बनेर गरिब जनताको जिन्दगीसँग खेलबाड नगर !   
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १८, २०७६  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC