रंगेली, (मोरङ) । बस्नका लागि फराकिलो र निकै सफा ठाउँ छ । ठेलमठेल हुने भीडभाड पनि छैन । मध्य भदौमा मधेशको टाउको चड्कने गर्मीमा शीतल हुन चौबिसै घन्टा सिलिङ पङ्खा घुमाइएको छ । दैनिक स्वादिलो र पोषिलो कुँडो अनि हरियो घाँतपातको पूरापूर व्यवस्थापन गरिएको छ । तालिकाअनुसार नुहाउने र सरसफाइ गर्न कर्मचारी खटिएका छन् ।
झट्ट सुन्दा यस्ता सबै सुविधा मानिसकै लागि उपलब्ध गराइएको झैं भान हुन्छ तर मोरङको पुरानो सदरमुकाम रंगेलीमा भने समुदायबाटै यी सुविधा गाईका लागि उपलब्ध गराइएका हुन् । गाईलाई गौमाताको मान्यता दिएर रंगेशलीवासीले सेवा गर्दै आएका छन् ।
रंगेलीमा मानिसलाई जस्तै गाईलाई समूहमा स्याहारसुसार गर्ने व्यवस्था छ । उनीहरुलाई चाहिने सबै आधारभूत सुविधा दिइएको छ । नियमित स्वास्थ्य जाँच गर्नेदेखि बेलाबेलामा बाहिरफेर घुमाउनेलगायत सुविधा हिजोआजबाट मात्र आरम्भ नभएर ३९ वर्ष अघिदेखि निरन्तर चलिरहेको छ । सामाजिक पहलमा रंगेली गौचर गौशालामा करिब चार दशकअघि स्थापना भएदेखि यहाँ गौ सेवाको सबै प्रयास सम्भव भएको रंगेलीवासीको कथन छ ।
२०३७ सालमा गौशाला खुल्दाका संस्थापक हालका सल्लाहकार मंगलचन्द अग्रवाल भन्छन्, ‘‘गावो विश्वस्य मातरः अर्थात् गाई विश्वकी माता हुन् भन्ने मान्यतालाई आत्मसात् गर्दै हामीले विशुद्ध सामाजिक भावले गाईको सेवा गरेका हौं ।’’ बेवारिसे, घाइते, दानमा दिइने र कसैले पाल्न नसकेका गाईलाई संरक्षण गर्ने काममा गौशालाले ३९ वर्षदेखि निरन्तर सेवा गर्दै आएको छ । यो गौशाला गाई संरक्षण र सेवाका लागि समाजसेवी भिखमचन्द सरलको प्रयासमा खोलिएको थियो । यसलाई नमुना गौशाला मानिन्छ ।
गौशालमा हाल माउ गाई ६० भन्दा धेरै र बाछाबाछी ३५ वटा जति छन् । सबैलाई सेवा गर्न दैनिक पाँच जना खटिन्छन् । गौशालाबाट उत्पादन हुने दूध, गौमूत्र र मलको बिक्रीबाट हुने रकमसमेत गाईकै सेवामा खर्च हुने गरेको छ । दाताले सहयोगस्वरुप टहरा बनाइदिएका छन् । आर्थिक सहयोग पनि गर्छन् ।
‘‘चोकर राख्ने आफ्नै गोदाम छ । मेसिनले नै पराल र घाँस काटिन्छ’,” गौशालाका कर्मचारी उमेश दाहालले भने, ‘‘बिहान ५ बजेबाट सुरु हुने गौसेवा रातिसम्म जारी रहन्छ ।’’ दाहालका अनुसार सेवामा खटिने मानिसले ५ बजे गोठबाट गोबर तान्छन्, गाई दुहुन्छन् त्यसपछि खोले र कुटी दिई मोटर लगाएर गोठ सफाई गर्छन् । गाईलाई गर्मीमा मोटरको चिसो पानीले नुहाइदिने र जिउ कन्याइदिने काम पनि हुन्छ । दिउँसो २ बजेदेखि ४ बजेसम्म भने गाईले उग्राउने समय भएकोले त्यसबेला मानिसहरु गोठमा जाँदैनन् । हल्लाखल्ला गर्न र गाईलाई ‘डिस्टर्ब’ गर्न पनि दिइँदैन ।
इन्भर्टरबाट बत्ती बाल्ने व्यवस्था गरिएको छ । गौशाला परिसरमै रहेको पशुसेवा कार्यालयका पशु चिकित्सकले समय–समयमा स्वास्थ्य जाँच पनि गर्छन् । स्वास्थ्य समस्या आए औषधिमूलो गरिन्छ । जाडो र चिसो स्याँठमा गाईलाई कठिन नहोस् भनेर घूर बाल्ने र बोरा ओढाउने प्रबन्ध गरिन्छ ।
गौशालामा पुरानासहित ४ वटा पक्की टहरा निर्माण गरिएका छन् । आफ्नै ४ बिघा क्षेत्रमा घाँस लगाइएको छ । हरेक वर्ष गाईको सम्मानमा गोपाष्टमी समारोह नै आयोजना गर्ने गरिएको संस्थापक अग्रवाल बताउँछन् । गौशालाबाट उत्पादन हुने दूध स्थानीय ग्राहकले खरिद गर्न पाउँछन् । त्यसबाट हुने आम्दानीले गौशाला सञ्चालन गर्न थोरै भए पनि आर्थिक सहयोग जुट्ने गर्छ ।