site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कमाइले भान्सै धान्दैन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । चार जनाका लागि खाना पाक्ने चण्डिका मैनालीको भान्सामा मात्रै महिनाको १० हजार रुपैयाँजति खर्च हुन्छ । छोराछोरीको स्कुल फी, कपडा, यातायात आदिमा गर्नुपर्ने खर्चका लागि पतिले सहयोग गर्छन् । “यतिले त पु¥याउँछु भन्यो तर कहिल्यै सकिएन, महँगीले सुख दिएन,” पुरानो बानेश्वरमा पसल गर्दै आएकी मैनालीले भनिन् । 
श्रीकृष्ण थापा महिनाको २० हजार रुपैयाँ कमाउँछन् । श्रीमतीसहित भाडामा बस्ने थापाको ८ हजार रुपैयाँ त भान्सामै सकिन्छ । कोठा भाडा, खाजा, यातायात खर्च आदि जोड्दा उनको आम्दानीले महिनाको खर्च थेग्न हम्मे–हम्मे पर्छ ।
थापा भन्छन्, “मेरो त यस्तो हालत छ, मेरोभन्दा कम कमाउनेको जीवन कति कष्टकर होला ?”
‘बजार भाउ छोइसक्नु छैन,’ आम मानिसको साझा हैरानी हो यो । आम्दानीको ठूलो हिस्सा भान्सामा जान थालेपछि परिवारमा तनाव बढ्दो छ । व्यक्तिवृत्तिका कुरा त परै जाओस्, भैपरी आउने दुर्घटना र स्वास्थ्य समस्या सोच्दा नै अत्याशलाग्दो छ । भूकम्प र लम्बिँदो राजनीतिक संक्रमण अनि नाकाबन्दीको मौका छोपेर गरिएको कृत्रिम मूल्यवृद्धिले बजार उपभोक्ता लुटको ‘वैधानिक अखडा’ बनेको छ । तर, सरकार निरीह छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको ११ महिनामा मूल्यवृद्धि ११.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो प्रतिशत ७.४ थियो । 
कतिपय दैनिक उपभोग्य खाद्यान्नको मूल्य एक तिहाईसम्म बढेको नेपाल खुद्रा व्यापार संघको तथ्यांकले देखाउँछ । अघिल्लो वर्षको तुलनामा चामलको मूल्य खासै नबढे पनि दाल, तेल, गेडागुडी, तरकारी, माछामासु, मसला आदिको मूल्य बढेको बढ्यै छ ।
नेपाली मुद्राको अमेरिकी डलरसँगको विनिमयदर अस्थिर भएकाले पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटिरहेको छ । यद्यपि, उपभोग्य सामग्रीको मूल्य भने घटेको छैन । भूकम्प र नाकाबन्दी त कालोबजारी गर्नेहरूका लागि सुनौलो अवसर नै बन्यो । त्यही बेला बढेको दाल तथा गेडागुडीको मूल्य जस्ताको तस्तै छ ।
नाकाबन्दीअघि प्रतिकिलो १ सय ३० रुपैयाँ हाराहारीमा रहेको मासको दालको खुद्रा मूल्य अहिले २ सय २० रुपैयाँ छ । मसुरोको दालको भाउ पनि १ सय ३० बाट बढेर २ सय रुपैयाँ पुगेको छ ।
गत असोजसम्म १ सय ६५ रुपैयाँ प्रतिकिलोमा पाइने मुगीको खोस्टा दालको बजार मूल्य अहिले २ सय २० पुगेको छ । नाकाबन्दीअघि ७० रुपैयाँ प्रतिकिलोमा पाइने चनाको मूल्य पनि १ सय ३० रुपैयाँ पुगेको खुद्रा व्यापार संघले जनाएको छ । 
खाद्य तथा पेय पदार्थ दुवै समूहको मूल्यवृद्धि दोहोरो अंकमा रहेकाले समीक्षा अवधिमा मुद्रास्फीति दर उच्च रहन गएको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको सूचकांक ११.९ प्रतिशतले र गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकांक १०.५ प्रतिशतले बढेको छ । 
ग्यास, पेट्रोलियम पदार्थ, नुनलगायत केही उपभोग्य वस्तुको मूल्य सरकारले तोके पनि खाद्यान्न, तरकारीलगायत अधिकांश वस्तुको मूल्य बजारले निर्धारण गर्ने गरी खुला छाडिएको छ । माग तथा आपूर्ति सिद्धान्तका आधारमा वस्तु तथा सेवाको मूल्य घटबढ हुन्छ ।
बजार मागअनुसारको परिमाणमा वस्तु तथा सेवा उत्पादन भए मूल्य स्थिर हुन्छ । मागको तुलनामा आपूर्ति बढे मूल्य सस्तो र आपूर्ति कम भए महँगो हुन्छ ।
बन्द, हड्ताल, ढुवानी समस्या, न्यून आपूर्ति र ढुवानी भाडा उच्च भए पनि मूल्य बढ्छ । तर, यहाँको बजार अर्थशास्त्रको यो सिद्धान्तको बाटोमा छैन । अर्थात्, वस्तु तथा सेवाको आपूर्ति उच्च भएका वस्तुको पनि मूल्य अकाशिएकै छ ।
बिचौलियाहरूले वस्तु तथा सेवाको मूल्यमा अतिरिक्त मूल्य बढाइरहेका छन् । मूल्यवृद्धिको मूल कारण कालोबजारी, नाफाखोरी र तह–तहमा बिचौलिया सक्रिय हुनु हो ।
किसानसँग सस्तोमा सामान किनेर व्यापारीलाई बेच्ने बिचौलियाको जगजगीले तरकारीको मूल्य बढाइरहेको छ । पाँच तहको व्यापारिक कारोबार रहेकाले दाल र गेडागुडीको मूल्य पनि ह्वात्तै बढेको आपूर्ति व्यवस्थापन विभागका अधिकारीहरू बताउँछन् ।
चलखेल रोक्न सरकारी हस्तक्षेप प्रभावकारी नहुँदा बजार ‘लुट अखडा’ बनेको अर्थशास्त्रीहरूको तर्क छ । अर्थशास्त्री पोषराज पाण्डे खुला बजार अर्थतन्त्रका नाममा राज्यलाई कमजोर पारिँदा बजारमा छाडातन्त्र मौलाएको बताउँछन् । उनी भन्छन्, “बिचौलिया र व्यापारीहरूको चलखेल, कार्टेलिङ, सिन्डिकेट र कालाबजारीको मिलेमतोमा बजार मूल्य बढाइएको हो ।”
अर्थशास्त्री केशव आचार्य व्यापारी र राजनीतिक दलबीचको अनैतिक सम्बन्धले पनि कृत्रिम मूल्यवृद्धिलाई प्रोत्साहन पुगेको ठान्छन् । “पार्टीहरूको चुनाव, महाधिवेशन र अन्य खर्च व्यापारीले धान्नुपर्ने कारणले पनि मूल्य वृद्धिविरुद्ध दलहरू बोल्दैनन्,” आचार्य भन्छन् ।
चामल, दाल उत्पादक संघ भने मूल्यवृद्धिमा व्यापारीलाई दोष दिनु गलत हुने बताउँछ । नेपालमा आयात हुने ९० प्रतिशत दाल र गेडागुडीको भाउ अन्तर्राष्ट्रिय बजारमै बढेको संघको दाबी छ । 
हरियो तरकारीको मूल्य बढ्नुको मुख्य कारण पनि अराजक बजार नै हो । थोक विक्रेतादेखि खुद्रा व्यापारीसम्म मिलेमतो गर्ने बिचौलियाले किसानसँग सस्तोमा किनेको तरकारीबाट बढी फाइदा लिन भण्डारण गरी कृत्रिम अभाव खडा गर्छन् ।
किसानको खेतबारीबाट चार किसिमका बिचौलिया पार गरेर पसलसम्म आइपुग्दा तरकारीको मूल्य पाँच गुणा अर्थात् ५ सय प्रतिशतसम्म बढेको देखिएको छ ।
उत्पादक, उपभोक्ता अधिकारकर्मी, अर्थशास्त्री र व्यापारी स्वयं पनि दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक ढंगले अकाशिनुको मूल कारण बजारमा सरकारी नियमन नहुनुलाई मान्छन् । बजार अनुगमनको जिम्मा पाएको आपूर्ति व्यवस्थापन विभागले अनुगमनका नाममा ‘जनताको आँखामा छारो हालिरहेको’ उनीहरूको आरोप छ ।
आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक गोकुल धिताल उपभोक्ता संरक्षण ऐनले गल्ती गर्ने व्यवसायीलाई कारबाहीको अधिकार विभागलाई नदिएको र अदालतमै जानुपर्ने भएकाले समस्या आएको बताउँछन् । “विभागका सीमित कर्मचारीले देशभरिका हजारौं पसल र व्यवसाय अनुगमन गर्न सक्दैनन्,” उनले भने । 
बजारमा मूल्य नियन्त्रण गर्न साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, नेपाल खाद्य संस्थानजस्ता संस्था स्थापना गरिएको छ । तर, ती संस्था स्वयं व्यवस्थापन कमजोरीका कारण थला परेका छन् ।
मूल्यवृद्धिलाई सीमामा राख्ने सरकारी प्रयास पूरा नहुँदा मौद्रिक नीतिको लक्ष्य अपूरो हुँदै आएको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष ०७२÷०७३ मा ८.५ को लक्ष्य राखे पनि मूल्यवद्धि ११.१ प्रतिशत पुग्यो । आव ०७०÷०७१ मा ८ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिइएको भए पनि बढेर ९ प्रतिशत पुग्यो । त्यस्तै, ०६९÷७० मा ७.५ प्रतिशतको लक्ष्य रहेकोमा ९.९ पुग्यो । आव ०६५÷६६ मा त मूल्यवृद्धि ७.५ प्रतिशत राख्ने भनिएकोमा १३ प्रतिशतसम्म पुगेको थियो ।
विकसित मुलुकमा २.० र विकासोन्मुख मुलुकमा ५.० प्रतिशतको मूल्यवृद्धि दरलाई सामान्य मानिन्छ । तर, नेपालमा बैंकको निक्षेप र कर्जाको ब्याजदर भन्दा पनि मूल्यवृद्धि दर बढी छ । बैंकमा रकम राख्दा उल्टै घाटा पर्ने स्थिति छ ।
जस्तो कि, गत वर्ष बैंकले निक्षेपमा औसत ५ प्रतिशतको ब्याजदर दिएका थिए । तर, औसत मूल्यवृद्धि ७.५ प्रतिशत थियो । यस्तो अवस्थामा बचतकर्ताले मूल्यवृद्धि दर घटाउँदा आफ्नो रकमको मूल्य २.५ प्रतिशतले गुमाउनुपरेको थियो ।
अर्थशास्त्री आचार्यका अनुसार राष्ट्र बैंकको बजार मूल्यको मापन गर्ने खास विधि छ । देशका ३३ वटा फरक स्थानका बजार केन्द्रबाट वस्तु तथा सेवाको उपभोक्ता मूल्यको तथ्यांक निकालिन्छ । बैंकले हरेक केन्द्रबाट तीन वटा पसल तथा सेवा प्रदायकबाट यस्तो तथ्यांक संकलन गर्छ ।
सर्वसाधारणले दैनिक प्रयोग गर्ने ३ सय ३९ वस्तु र ६१ सेवा गरी ४ सय १० वस्तुको भार निर्धारण गरी तिनको मूल्य घटबढका आधारमा औसत मूल्यवृद्धि दर निकालिन्छ । देशभर पारिवारिक बजेट सर्वेक्षण गरी राष्ट्र बैंककले औसत घरपरिवारको उपभोग र खर्चका आधारमा प्रमुख वस्तु तथा सेवालाई भार प्रदान गर्छ ।
समीक्षा अवधिमा तरकारीको मूल्य २९.४ प्रतिशत र दलहन तथा गेडागुडीको मूल्य २१.५ प्रतिशतले बढेकाले खाद्य समूहको मुद्रास्फीति दर दोहोरो अंकमा पुगेको हो । त्यसैगरी, लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा र मदिराजन्य पेय पदार्थको मूल्यमा क्रमशः १७ प्रतिशत, १६.४ प्रतिशत र १५.९ प्रतिशतले वृद्धि भएकाले गैरखाद्य समूहको मुद्रास्फीति दर दोहोरो अंकमा पुगेको हो । 
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा १३ प्रतिशत, पहाडमा १२ प्रतिशत, हिमालमा १०.२ प्रतिशत र तराईमा ९.५ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर काठमाडौं उपत्यकामा ७.८ प्रतिशत, पहाडमा ८ प्रतिशत र तराईमा ६.७ प्रतिशत थियो ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १६, २०७३  ११:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC