कृष्णराज खनाल
मैले थाहा पाउने भएदेखि नै आमासँग पटुका थियो । आमाले त्यसलाई फनफनी आफ्नो पेटमा किन बाँध्नुहुन्थ्यो ? मलाई थाहा थिएन, तर अनुमानचाहिँ लगाउँथेँ– धोतीको मुजा घुसार्नका लागि । त्यसबेला त्यो पटुका अजङ्गको लाग्थ्यो । हुन त त्यसलाई १० हाते धोती पनि भनिन्थ्यो । चारपाँच पटक पेटमा घुमाउँदा पनि भुइँमा लत्रेकै हुन्थ्यो ! कहिलेकाहीँ त लाग्थ्यो, यो द्रौपदीको धोती हो, जो अनन्तसम्म कृष्णले दिइरहेका छन् !
आमा कामबाट घर फर्केपछि पटुका फुकाल्नुहुन्थ्यो र नजिकै कतै फाल्नुहुन्थ्यो । त्यो पटुकामा कहिलेकाहीँ दुईचार रुपियाँ, सन्दुस वा घरको साँचो पनि हुन्थ्यो । बासँग लुकाएर राखिएको वा केही किनमेल गर्दा उब्रेको पैसा कहिलेकाहीँ अभर पर्दा वा कापीकलम किन्नुपर्दा हामीलाई दिनुहुन्थ्यो । त्यो पटुका कहिले खाटको अन्तरकुन्तरमा हुन्थ्यो, कहिले कुनै कुनामा मिल्किएको हुन्थ्यो । त्यहाँबाट टिपेपछि धूलो झट्कार्नुहुन्थ्यो र एउटा छेउलाई पेटमा घुसारेर अरुलाई भुइँमा फ्यात्त फाल्नुहुन्थ्यो । जसैजसै आमा खुट्टा सार्दै घुमाउँदै जानुहुन्थ्यो तसैतसै भुइँमा लत्रेको अर्को भाग नागबेली आकारमा विस्तारै माथि सर्दैै जान्थ्यो र पेटमा फनफन्ती बाँधिसकेपछि आमा कस्ती देखिएँ भनेर ऐना हेर्नुहुन्थ्यो । ठूलो ऐना त घरमा थिएन, सानो गोलाकार ऐना हेर्नुहुन्थ्यो । अनुहारमात्रै देखाउन सक्ने ल्याकत भएको त्यो ऐनाले उहाँको पहिरन र रङ्ग त देखाउँथेन तथापि अनुमान लगाएर आफ्नो घरायसी काममा निस्कनुहुन्थ्यो वा भान्छामा छिर्नुहुन्थ्यो । आमाको पेटमा बाँधिने त्यो पटुका प्रायशः सेतो हुन्थ्यो, घरबुना खद्दरको । १० हात लामो । दमौली बजारबाट ल्याउनुभएको होला । दमौलीमा पनि त्यसबेला घरबुनाबाट कपडा बन्थ्यो । स्वदेशमै बनेको खद्दरको चलन त्यसबेला व्यापक थियो । के महिला, के पुरुष सबैजनाले आफ्नो शरीरमा धारण गर्थे । कसैले पनि हीनताबोध गर्दैनथे ।
आमाको पटुका अजीवको थियो । सायद जियसले दिएको पाण्डोराको बाकस नखोल्ने निर्देशन जस्तै थियो कि ? ग्रिक मिथकजस्तो । त्यसबेला आमासँगभने कुनै शर्तहरु र बन्देजहरु हुन्थेनन् । नखोल्न दिएको निर्देशन उल्लङ्घन गर्दै तिर्नुपर्ने क्षतिपूर्ति ! तर आमाले तिर्नुपर्ने र गुमाउनुपर्ने केही हुन्थेन, थियो त केबल जिम्मेवारी र कर्तव्यबोध । आफ्ना सन्तानको हँसिलो अनुहार हेर्ने चाहना ! ममत्व ! उहाँलाई थाहा थियो, त्यहाँभित्र आफंैले बेरेर राखेको चिजवस्तुहरु थिए, जो रोपाइँमा जाँदा रोपाहारलाई र खेत गोड्न जाँदा खेतालालाई दिउँसोको खाजाका रुपमा दिइएको हुन्थ्यो । लाग्दो हो, यो टपरीभित्रको चिज खुवाउन पाए सन्तानहरु कति खुसी हुन्थे ! त्यही आशाको त्यान्द्रोले, त्यही माया र ममत्वले त होला, उहाँलाई घरसम्मका थकित र गलेका पाइलाहरु पनि त्यो उकालीओरालीमा पनि सहजै चलेको भान हुन्थ्यो सायद ।
गाेधूलि साँझ ढलेपछि हामी डन्डिबियो, गुच्चा, ढुस वा खोपी खेल्ने कर्म छाडेर पेटमा दौडिरहेका मुसालाई शान्त पार्नका लागि घरभित्र छिथ्र्यौं । आमा आउने बेलाको अनुमान लगाएर हामी बाटो कुरिरहेका हुन्थ्यौं । त्यसबेलासम्म लालटिनले गाउँघरमा प्रवेश पाइसकेको थिएन । मट्टितेल हालेर बाल्ने कपडाको सुत्लो वा जनैको डोरीको ढिपिरी (अलिक ठूलो खालको टुकी) हुन्थ्यो । ढिपिरीको उज्यालोसँगै त्यसले फाल्ने कालो मोसो पनि दलिनमा गएर दलिन्थ्यो । र, त्यही ढिपिरीले फालेको कालो सँगालेर आमा त्यसलाई गाजल बनाउनुहुन्थ्यो र लगाउनुहुन्थ्यो आँखाका डिलभरि । त्यो बत्तीको मधुरो उज्यालो ढोकाको कापकापबाट चिहाएर सडकसम्म निस्कथ्यो । त्यो क्षीण उज्यालोमा आमाको आगमनसँगै धपक्क बलेको उहाँको अनुहारले उज्यालो छथ्र्याे ।
रोपाइँबाट थकित बनेर फर्केको अवस्थामा पनि उहाँको ढाडमा भैंसी तथा बाख्राका लागि घाँसपात, पराल वा अरु कुनै न कुनै एउटा सानोतिनो भारी हुन्थ्यो । त्यो भारी गोठमा वा टौवाको खावामा बिसाएपछि खुइय...गरेर लामो स्वास फेर्नुहुन्थ्यो । त्यसबेलासम्म हामी ‘आमा आउनुभयो, आमा आउनुभयो’ भनेर दौडँदै उहाँको धोतीको फेरो समाउन पुगिसकेका हुन्थ्यौं । उहाँलाई लाग्दो हो, आजको दिनबाट मुक्ति पाइयो । तर कहाँ मुक्त हुनु र ? फेरि चुल्हाचौकाको समस्या त ज्यूँ का त्यूँ छ । हामीले कहिले पनि सोचेनौं, आमा थाक्नुभएको छ भनेर । मानौं उहाँको शरीर लौहबाट बनेको छ । हाम्रो विश्वास थियो, आमाहरु कहिले पनि थाक्दैनन् । हुन पनि कहिल्यै थाकेको छु भनेर भनेको सुनिएन । त्यसपछि अङ्खोरामा भित्रबाट पानी ल्याएर बलेसीमा हातखुट्टा पखालेर भान्छाभित्र छिरेपछि ढिपिरीको मधुरो प्रकाशमा दालभात पकाएर खुवाउनुहुन्थ्यो । आमाले पटुकामा बेरेर ल्याएको चिज खाएपछि अर्काे ढिपिरी बालेर अध्ययनका लागि हामी माथिल्लो तलामा उक्लन्थ्यौँ । केही बेरपछि आमाको स्वर आउँथ्यो ‘भात खान आओ ।’ हामी खुुरुर तल ओर्लन्थ्यौं । भात खाएपछि हामी फेरि माथिउक्लन्थ्यौँ । आमाभने जूठा भाँडा लिएर जुठेल्नामा जानुुहुन्थ्यो र खरानीले ती भाँडाहरु सुइसुइ...गरेर मस्काउनुहुन्थ्यो र भान्छामा ल्याएर घोप्ट्याएर फेरि एकपटक खुइय गरेर माथि उक्लनुहुन्थ्यो । माथि उक्लेपछि पनि हामी आज कथा सुनाउनु न आमा भनेर पिरोल्थ्यौं, उहाँ फेरि एकादेशको कथा भन्नुहुन्थ्यो र हामी कथा नसकिँदै निद्रादेवीको शरणमा परिसकेका हुन्थ्यौं । बिहान हामी उठ्दा आमा पटुका बेरेर काममा लागिसक्नुहुन्थ्यो ।
पटुकाभित्र के हुन्थ्यो ? कसको रोपाइँ वा पाखो धान वा मकै गोडेर ‘पमर्’ लगाउन जानुभएको हो, त्यसको आधारमा हामीले मोटामोटी अनुमान लगाएका हुन्थ्यौं । त्यो पान्डोरारुपी बाकस फुकाएपछि हाम्रा आँतहरु रसाउँथे, हाम्रा खुसीका सीमाहरु नाघ्थे । हाम्रो अनुहारमा दौडिएको खुसीका रेखाहरु देखेर थाकेको आमाको मुहारबाट आभा आएको महसुस हुन्थ्यो । सायद, त्यसैलाई भनिएको होला, वात्सल्य प्रेम । मातृप्रेम । छोराछोरीप्रतिको निस्वार्थ प्रेम !
आमा पिँढीमा बसेपछि पटुका खोल्नुहुन्थ्यो । हामी दायाँबायाँ ढुकुवासरी घेरिएर बस्थ्यौं । हामीलाई छटपटी र बेचैनी हुन्थ्यो त्यो पटुकाबाट के निस्कन्छ ? जब आमा पटुका खोल्नुहुन्थ्यो, त्यहाँबाट हाम्रा लागि अमूल्य उपहारहरु निस्कन्थे । किनकि, त्यसबेला हामीसँग ठूला सपनाहरु नै कहाँ थिए र ? त्यो पटुकाभित्र कहिले सेलरोटी हुन्थ्यो, कहिले अनरसा, कहिले खुदो मिसाइएको खट्टे, कहिले भुटेको मकै र भटमास त कहिले चिउरा हुन्थ्योे । आमाले रोपाहार र खेतालाहरुलाई सालको टपरीमा खाजा(अर्नी)का रुपमा दिइएको त्यो खाजा कहिलेकाहीँ अलिकति खाएर त कहिले निख्लोट आँतहरु सुकाएर सँगीहरुको आँखा छलेर त्यसलाई थपक्क आफ्नो पेटमा बाँधिएको पटुकामा अटसमटस गराई कोच्नुहुन्थ्यो र मेला सकेर घर फर्कनुहुन्थ्यो । त्यसरी फर्कंदा आमाले बाटोभरि कस्ताकस्ता सुनौला सपनाहरु र कल्पनाहरु सजाउनुहुन्थ्यो होला ! बाटोमा अरु सँगीहरुसँगै असारे गीत गाएर फर्कंदा कम्ती आनन्द हुन्थ्यो होला र ! असिनपसिन बनेर स्वास पनि राम्रोसँग फेर्न नपाई पिँढीमा बसेर त्यो खाजा हामीलाई बराबरी बाँड्नुहुन्थ्यो । दुई दिदीहरुको विवाह भइसकेको थियो, सानी दिदी भने यो मामिलामा त्यति धेरै रुचि राख्नुहुन्थेन । भाइ र म झगडा गथ्र्यौं । ऊ भन्थ्यो– दाइलाई बढी दिनुभयो । म भन्थेँ– भाइलाई बढी दिनुभयो । त्यो वास्तवमा हाम्रो आरोपमात्र थियो । आमाका आँखाले बराबरी देख्थ्यो । सकेसम्म समान बनाउनुहुन्थ्यो । आँखिर आमाका लागि त सन्तानहरु सबै बराबर नै हुन्छन् । हामी झगडा गर्दा कहिलेकाहीँ आमा भन्नुहुन्थ्यो जा, तुलो लिएर आइज । कहाँको तुलो पाउनु ? हामी फेरि सामसुम हुन्थ्यांै, हतारहतार त्यो खानेकुरा खाएर नित्यकर्ममा लाग्थ्यौं ।
त्यसबखत हामीलाई पटुकाको महत्व र उपादेयता थाहा थिएन । हामीले अनुमान गरेका थियौं– यो पटुका त्यही टपरी लुकाउनका लागि हो । तर बुझ्दै गएपछि थाहा भयो, त्यसो होइन रहेछ । पटुका त आमाको जीवन नै रहेछ । त्यसले नै उहाँलाई जाँगर, उत्साह, शक्ति र क्षमता दिँदोरहेछ । ढाडलाई हरदम बचाउँदोरहेछ । सन्तुलनमा ल्याउँदोरहेछ । यो त महिलाहरुको शक्ति पो रहेछ ।
पटुकासँग उहाँको नाता कहिलेदेखि गाँसियो ? त्यो त ठ्याक्कै भन्न सक्दिनँ, तर पनि विवाह भएपछि नै होला, त्योसँगको नाता प्रगाढ भएको । त्यसलाई आफ्नो शरीरको एक हिस्साका रुपमा राख्नुभएको । त्यसो त त्यसले धोतीलाई फुत्किनबाट पनि बचाउँदोरहेछ । बिहेवारी होस् वा पूजाआजा वा रोपाहार वा मेलापाता वा पानीपँधेरो वा कुटोकोदालो वा घाँस पराल गर्दा नै किन नहोस्, जुनसुकै स्थानमा जाँदा पनि त्यसलाई अवलम्बन गर्नुहुन्थ्यो । त्यो पटुकाले जोगीको कमण्डलुको काम गरेको पनि देखेको छु । केही कुरा कसैले प्रेमपूर्वक दिँदा आमा त्यही पटुका फुकाउनुहुन्थ्यो र दाताले दिएको वस्तु त्यसैमा राखेर घरसम्म ल्याउनहुन्थ्यो वा केही कुरा कसैलाई दिँदा पनि पटुकाभित्रै घुसारेर पुर्याउनुहुन्थ्यो ।
अहिले पनि आमाको साथमा त्यो पटुका छ । त्यो पटुकाभित्र उहाँले पाएको बृद्धभत्ताका केही अंश त्यसमा राख्नुहुन्छ र कहिलेकाहीँ नातिनातिनालाई दिनुहुन्छ । ९० वर्षको वयसन्धिपार गरिसक्दा पनि उहाँले त्यो जीवनदायिनी वस्त्रलाई छोड्न सक्नुभएको छैन । त्यसैले पो हो कि आमालाई अहिलेसम्म पनि ढाड दुख्ने समस्या छैन । अहिले पनि म यदाकदा आमालाई भेट्दा उहाँको पटुकातिर नजर फैलाउँछु । आमा फिस्स हाँस्नुहुन्छ । आमासँग त्यो रोपाहार वा खेताला हुँदा पाएको जस्तो उपहार त हुन्न । तैपनि त्यसभित्रबाट कहिलेकाहीँ चकलेट वा बिस्कुट निकालेर दिनुहुन्छ म आनन्द मानेर खान्छु ।