site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कास्की उपनिर्वाचनः बाहिर सुनसान, भित्र धुमधाम
Sarbottam CementSarbottam Cement

पोखरा । निर्वाचन आयोगले आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने मिति तय गरिसकेपछि देशभरिकै ध्यान कास्कीमा केन्द्रित छ । देशभरिमा प्रतिनिधिसभाको उपनिर्वाचन कास्कीमा मात्र हुने भएकाले पनि राष्ट्रको सम्पूर्ण ध्यान यतै केन्द्रित हुनु स्वभाविकै हो ।

कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा उपनिर्वाचन हुनेछ । यस क्षेत्रमा तत्कालीन एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा तत्कालीन पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो ।

उनको निधनको केही दिनदेखि नै यो क्षेत्रमा निर्वाचनको चर्चा र बहस हुन थालेको हो । उक्त बहस अहिले झनै चुलिएको छ । उपनिर्वाचन हुन अझै ३ महिनाभन्दा बढी समय भए पनि दलहरुले आन्तरिक तयारी भने थालिसकेका छन् । टिकट पाउने र सांसद बन्ने आशामा आकांक्षीहरु पनि खुल्न थालेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सत्तासीन नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच नै यहाँ प्रतिस्पर्धा हुने निश्चितप्रायः छ । गएको हप्तामात्रै नेपाली कांग्रेसका सभापतिसहित वरिष्ठ नेताहरु पोखरा आएर उपनिर्वाचनमा जसरी पनि कांग्रेसलाई जिताउन कार्यकर्तालाई निर्देशन दिएर गए ।

नेकपाका माथिल्लो तहका नेताहरु सामूहिक नआए पनि हप्तैपिच्छे पोखरा भने आइरहन्छन् । नेकपाको बैठकमा पनि आन्तरिक रुपमा निर्वाचनको तयारी थालनी भएको छ । 

Global Ime bank

नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले एकपटक भेला गरिएको बताएका छन् । आन्तरिक तयारीले तीव्रता पाउन थाले पनि मुख्य विषय भने उम्मेदवार को हुन्छन् त ? भन्नेमा नै केन्द्रित छ ।

उम्मेदवारको बहस चल्दा नेकपाबाट पहिलो नम्बरमा आउँछिन्, स्व. रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई । सक्रिय राजनीतिमा पछिल्लोपटक नभए पनि नेकपाका नेता कार्यकर्ताहरुले नै विद्यालाई अगाडि बढाउनुपर्ने तर्क राख्छन् । तर, विद्या भट्टराई स्वयम् भने यस विषयमा प्रष्ट छैनन् । “पार्टीको निर्णयले जे गर भन्छ, त्यही हुन्छ,” उनले संक्षिप्त प्रतिक्रिया दिइन् ।

त्यसो त, नेकपामा भट्टराईका अलावा नेकपाका उपाध्यक्ष वामदेव गौतमको पनि चर्चा छ । स्व. रवीन्द्रको शोकसभामा भाग लिन आएका गौतमलाई उपनिर्वाचनको लागि उम्मेदवार बन्न आएको भन्ने आरोपसमेत लागेको थियो । तर, गौतमले भने कुनै पनि हालतमा उम्मेदवार बन्ने मनशाय नरहेको प्रष्टीकरण दिएका थिए ।

अहिले भने उनलाई पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नै कास्कीबाट निर्वाचन लड्न सुझाएको चर्चा छ । त्यस्तै नेकपाबाट सोमनाथ अधिकारी प्यासी, तुलबहादुर गुरुङ, धनराज आचार्य, राजकाजी गुरुङ (करण) श्रीनाथ बराल, शारदा सुवेदी, भीम कार्की लगायतको चर्चा भइरहेको छ । पूर्व माओवादी केन्द्रबाट प्रदेशसभामा पराजित राजकाजी गुरुङ (करण) कास्की २ ‘ख’ बाट पराजित प्रदेशसभा सदस्यका उम्मेदवार समेत हुन् ।

कास्कीमा विद्या नउठेको खण्डमा र वामदेवको मनशाय नभएको खण्डमा बलिया दाबेदारको रुपमा पुराना नेता सोमनाथ अधिकारीको सम्भावना बलियो रहेको स्वयम नेकपाका नेता कार्यकर्ता बताउँछन् ।
तर, औपचारिक रुपमा नेकपाले एउटा भेलाबाहेक कुनै छलफल गरेको छैन । “एकपटक भेला बसेका हौँ, निर्वाचनकै लागि भनेर कुनै बैठक बसेका छैनौँ, म उम्मेदवार हुन्छु भनेर कोही पनि आउनुभएको छैन,” नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले भने ।

उम्मेदवार नटुंगिए पनि उपनिर्वाचनमा कांग्रेसको तयारी भने अगाडि देखिएको छ । गत हप्तामात्रै कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका पदाधिकारीहरु पोखरामा भेला भएर कुनै पनि हालतमा कांग्रेसका उम्मेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशन दिए ।

कांग्रेस कास्की सभापति कृष्ण केसीले जिल्ला कार्यसमितिको बैठक नै बसेर चुनावको आन्तरिक तयारी थालनी गरिएको जानकारी दिए । “५ गते जिल्ला कार्यसमितिको बैठक बसेको छ । उपनिर्वाचनका लागि २ नम्बर क्षेत्रका ११ वटा ईकाईमा प्रतिनिधि खटाएका छौँ, चुनावको तयारीका लागि प्रतिनिधिहरु खटाएका हौँ,” उनले भने ।

आकांक्षीको संख्या भने नेकपामा जस्तै कांग्रेसमा पनि उत्तिकै छन् । स्व. रवीन्द्र अधिकारीसँग चुनाव लडेका देवराज चालिसे आकांक्षी दौडको पहिलो नम्बरमा छन् । चुनावमा जित–पराजित भन्दा पनि पाँच वर्षे कार्यकालको लागि आफू नै उम्मेदवारको भएको तर्क उनको छ । 

नेपाली कांग्रेसका महासमिति सदस्य ऋषि काफ्ले पनि टिकट फुत्काउन लागिपरेका छन् । “पार्टीको चुनाव हो, विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय छु, यसअघिका चुनावमा पनि सक्रियता देखाएकै हो, योगदानको आधारमा पार्टीले टिकट दिए म उम्मेदवार हो,” उनले भने । 

यसबाहेक शोभियत बहादुर अधिकारी, विरेन्द्रनारायण बिजुक्छे, विजय आचार्य लगायतका नेताहरु पनि टिकटको लबिङमा नै छन् ।

व्यक्तिगत प्रभावको क्षेत्र

२०७४ को प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम हेर्ने हो भने कास्कीका तीनवटै क्षेत्र नेकपाको लागि सहज छन् । उक्त चुनावमा रवीन्द्र अधिकारी आठ हजार पाँच सय ४६ मत बढी ल्याएर विजयी भएका थिए । निर्वाचन कार्यालयको तथ्यांक अनुसार रवीन्द्रले २७ हजार दुई सय सात मत ल्याउँदा निकटतम प्रतिष्पर्धी कांग्रेसका देवराज चालिसेले १८ हजार छ सय ६१ मत ल्याएका थिए ।

कास्कीका तीनवटै प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारले ८ हजार माथिको मतान्तरले विजयी भएका थिए । तर, समानुपातिकको मतान्तर भने कम छ । यसबाट के बुझ्न सकिन्छ भने उक्त निर्वाचनमा प्रत्यक्षतर्फ व्यक्तित्वको प्रभावले पनि काम गरेको थियो । उपनिर्वाचन हुने कास्कीमा २ मा प्रत्यक्षतर्फ नेकपा ८ हजार ५ सय भन्दा बढी मतान्तरले अगाडि हुँदा समानुपातिकमा भने ६ हजार ५ सयको मतान्तर रहेको छ ।

अर्थात्, त्यतिबेला नेकपाले प्रत्यक्षमा कांग्रेसको भन्दा २ हजार बढी मत प्राप्त गरेको थियो । त्यसो त समानुपातिकतर्फ तत्कालीन माओवादी केन्द्रलाई एक मत पनि परेको थिएन ।

एक हजार ६ सय १० मतदाता थपिए

उपनिर्वाचनको लागि मतदान गर्न पाउने एक हजार ६ सय १० जना मतदाता यो क्षेत्रमा थप भएका छन् । जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार साउन १६ गतेसम्म उक्त संख्यामा मतदाता थप भएका हुन् ।

२०७४ को प्रतिनिधिसभामा यो क्षेत्रमा कुल ७० हजार ६ सय ५१ जना मतदाता थिए । थपिएकासँगै उपनिर्वाचनमा यस क्षेत्रबाट ७२ हजार २ सय ६१ मतदाताले मतदान गर्न पाउनेछन् । यद्यपि यो संख्या भने अझै बढ्न सक्ने जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जानकारी दिए । अन्य जिल्ला वा क्षेत्रबाट बसाइँसराइ भई आएको खण्डमा यो संख्या थपिन सक्ने उनको भनाइ छ ।

निर्वाचन आयोगले नै मतदान स्थल र केन्द्रको समेत टुंगो लगाउने हुँदा आयोगको निर्णय पर्खेर बसेको उनले बताए । यसअघिको निर्वाचनमा कास्की २ मा ३२ मतदान स्थल र केन्द्र ८२ थिए । उक्त क्षेत्रमा ७० हजार ६ सय ५१ मध्ये ४९ हजार ९ सय १४ मत खसेको थियो । खसेकामध्ये १ हजार ४ सय ६४ मत बदर भएका थिए । १ स्वतन्त्र सहित १३ जना चुनावी मैदानमा उत्रेकोमा ११ जनाको जमानत जफत भएको थियो । ११ उम्मेदवारले १ हजार भोट कटाउन सकेनन् । तेस्रो स्थानमा विवेकशील साझा पार्टीका श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत ल्याएका थिए । कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, ३३ पर्छन् ।

गण्डकीमा कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ सँगै बाग्लुङको क्षेत्र नं २ ‘ख’ पनि रिक्त छ । उक्त क्षेत्रका प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको जण्डिसका कारण निधन भएपछि त्यहाँ पनि उपनिर्वाचन हुनेछ । तीन वडाध्यक्षको लागि नवलपुरको बौदिकाली वडा नं ५, लमजुङ सुन्दरबजार– २, बाग्लुङ बडीगाड गाँउपालिका २ मा उपनिर्वाचन हुने छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC