site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 देशान्तरदेखि देशान्तरसम्म
Ghorahi CementGhorahi Cement

नरेश फुयाँल


पञ्चायतकाल थियो । बहुदल समर्थित दलहरु प्रतिबन्धित थिए । तिनका कतिपय नेताहरु निर्वासित थिए भने कोही भूमिगत थिए । बहुदल समर्थित राजनीतिक दलहरुले आन्दोलन गरिरहेका थिए । त्यसको असर विद्यालयमा पनि परिरहेको थियो ।विद्यार्थी पनि कि निर्दलीय पञ्चायतका पक्षमा थिए कि बहुदल समर्थित दलको । 

कबिर बहुदलका पक्षमा उभिएका थिए । विद्यालयमापढ्दै विद्यार्थी युनियनबाट राजनीति गर्थे । ०३६ सालबाटै उनी नेपाली काङ्ग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)मा आबद्ध थिए । आदर्श माध्यमिक विद्यालय सानोठिमी भक्तपुरमा पढ्थे उनी । ०३७ सालमा विद्यालय स्ववियुको सचिव भए । 

Agni Group

०४० सालमा एसएलसी उत्तीर्ण गरेका कबिर मिनभवनस्थित नेपाल कमर्स कलेजमापढ्न थाले । विद्यालयमै राजनीति हुने समय, कलेजहरु त राजनीतिको अखडा नै थिए । कबिरमिनभवन कलेजममा आएको ६ महिनामै चुनाव भयो । नेविसङ्घका तर्फबाट स्ववियु सदस्य लडे । विजय हात पारे । 

चुनाव जितेको ६ महिना भएको थियो । नेपाली काङ्ग्रेसले सत्याग्रह आह्वान गर्‍यो । विद्यार्थी जेल भराउ आन्दोलनमा थिए । उक्त आन्दोलनमा विद्यार्थी शान्तिपूर्ण रुपमा जेलअगाडि गएर सडकमा सुत्थे । प्रहरीले पक्राउ गरेर लैजान्थ्यो । भक्तपुरमै यस्तै दुई–चारवटा कार्यक्रममा सहभागी हुँदा प्रहरीले केही गरेन । हौसिएर ०४२ सालमा कबिरको नेतृत्वमा १४ जना डिल्लीबजार सदर जेलअगाडि सडकमा गएर सुते । तर त्यो पटक प्रहरीले उनीहरुलाई पक्राउ गर्‍यो । ६ महिना जेल परे कबिर । केन्द्रीय कारागारमा राखियो उनलाई । 

Global Ime bank

जेल राजनीतिक आस्थाका बन्दीहरुले भरिएको थियो । राजनीतिक नेता तथा कार्यकर्ताहरुको बाहुल्य थियो त्यहाँ । जेलमा राजनीतिक गफगाफ हुन्थ्यो । पञ्चायत फालेर कसरी बहुदलको पुनस्र्थापना गर्ने भन्नेमा कुराकानी केन्द्रित हुन्थे । 

कबिरपूर्णकालीन राजनीतिमा होमिइसकेका थिए । पार्टीबाट चुनाव लडेर जिल्ला विकास सदस्य भइसकेका थिए । गाउँ विकासको सभापति भइसकेका थिए । स्नातकोत्तर पढ्दैथे । तर कलेज नियमित जाँदैनथे । आक्कलझुक्कल मात्रै जान्थे । राजनीतिमै व्यस्त थिए । 

०४९ सालमा मिनभवन कलेजमा स्ववियु सभापतिमा नेविसङ्घबाट को लड्ने ? विवाद भयो । कबिर उम्मेरदवार छनौट कमिटीको अध्यक्ष थिए । केशव सिंह र राजेन्द्रराम श्रेष्ठ टसकोमस भएनन् । एकले अर्कोलाई नछोड्ने भएपछि कबिरनै भए सभापतिको उमेदवार । दुर्भाग्य! १९ भोटलेउनी पराजित भए ।

“त्यो बेला मलाई अन्तर्घात भयो । वीरबहादुर बलायरलाई त्रिविमा र मलाई मिनभवनमा अन्तर्घात गरियो । किशुनजी (कृष्णप्रसाद भट्टराई)लाई भन्दा पहिला हामीलाई अन्तर्घात भएको हो,”कबिर हाँस्छन्, ‘‘हाम्रै नेविसङ्घका ८० जना केटाले अखिललाई भोट दिए ।’’

० ० ०

जेलपरेपछि काठमाडौं उपत्यकाका काङ्ग्रेसका तत्कालीन समयका प्रभावशाली नेता जगन्नाथ आचार्यसँग कबिरको चिनजान भयो । ०४६ को आन्दोलनमा उनी काठमाडौं उपत्यकाका सर्वोच्च कमान्डर पनि भए । उनको चिनजान पत्रकार किशोर नेपालसँग रहेछ । जनकपुरमा उनीहरुले सँगै काम पनि गरेका रहेछन् । उनले किशोरलाई भने, “मेरो एउटा कार्यकर्ता साथी छ, मेरो न्युज प्रचार पनि हुन्छ । काम लगाउनु पर्‍यो,” ०४६ साल भदौतिर फर्किन्छन् कबिर, “त्यसरी म देशान्तरमा रिपोर्टरका रुपमा प्रवेश गरेँ ।”

० ० ०

पहिलो समाचार कुन र कसरी छापियो त्यो त उनलाई सम्झना छैन । तर उनको दिमागमा किशोरले भनेको एउटा चित्र भने धमिलो पनि भएको छैन । भनेका थिए, “मलाई मेरो पत्रकारिताका गुरु चन्द्रलाल झाले एउटा सम्पादकीय लेख्न लगाएर भएन भनेर ५० पटक च्यात्न लगाए, ५१औं पटकमा छापेका थिए । अरे यार मैले त १२/१४ पटक त च्यात्छु होला !”

० ० ०

०४६ को जनआन्दोलनले पञ्चायत फ्याँक्यो । ०१७ साल पुस १ गते प्रजातन्त्र अपहरण गरेर आएको पञ्चायत जनताद्वारा मिल्काइयो ।प्रतिबन्धित दलहरु फुुकुवा भए । दल र तिनका नेताहरु ठाउँठाउँमा भाषण गर्दै हिँड्न थालेका थिए । यसैक्रममा प्युठान पुगेका नेपाली काङ्ग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालालाई मसालका कार्यकर्ताले ढुङ्गा हानेका थिए । त्यसको एक सातापछि गिरिजाप्रसाद दोलखा पुगे भाषण गर्न । 

त्यसको रिपोर्टिङका लागि सँगै गाएका थिए कबिर । गिरिजाप्रसादले त्यहाँ भाषण गरे, ‘‘माले, मसाले मण्डले सबै एकै हुन् ।’’गिरिजाप्रसादलाई सुरुमा कम्युनिस्टविरोधी भन्ने आरोप थियो । जनआन्दोलन सफलभएपछि भाषण गर्दा उनले बहुदलको प्राप्ति भनेको पञ्चको पनि जीत हो भनेर भाषण गरे, त्यसपछि उनले ‘दरबारिया’को आरोप खेप्नुपरेको थियो । ‘माले, मसाले, मण्डले सबै एकै हुन्’शीर्षकमै‘देशान्तर’को पहिलो पृष्ठमा बाइलाइनसहित कबिरको समाचार छापियो । त्यो निकै चर्चित भयो ।  

० ० ०

प्रकाशक र सम्पादकबीच फाटो पैदा भयो । झगडा चलिरहन्थ्यो । माथवरसिंह बस्नेत तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको प्रेस सल्लाहकार थिए । उनले कबिरलाई भने, “लौन कबिर मेरो पत्रिका (पुनर्जागरण) हेरिदिने कोही भएन, आउनुपर्‍यो । ‘देशान्तर’मा रिपोर्टरमात्रै थिएकबिर, त्यसैले लोभिए । ‘पुनर्जागरण’ गए । एक वर्ष पुनर्जागरणमा काम गरे । 

०४८ मा बन्धुप्रिय थापाले प्रकाशनको जिम्मा लिने भएपछि बन्द भएको ‘देशान्तर’ पुनःप्रकाशन हुने भयो । श्री आचार्य सम्पादक भए । ०४८ को भदौमा उनी विशेष संवाददाताका रुपमा देशान्तर पुनःप्रवेश गरे । 

पहिलोपटक व्यवस्थापिका संसद् विघटन भएको थियो । विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । कानुनमा बीएल गरेका र राजनीतिक रिपोर्टर पनि भएकाले कबिरसंसद् विघटनविरुद्ध परेको रिटको बहस सुन्न दिनहुँ सर्वोच्चपुग्थे । 

कानुनको विद्यार्थी । संविधान र कानुनका धाराले के भन्छ? उनलाई थाहा थियो । बहसमा पक्ष–विपक्षका बहस र तर्क सुनेका कबिरले भदौ १२ गतेको देशान्तरमा समाचार लेखे, ‘विघटित संसद् आज पुनःस्थापित हुँदैछ ।’ अदातलमा विचाराधीन मुद्दाबारे समाचार लेख्नहुँदैन, मुद्दा लाग्छ भन्ने जान्दाजान्दै उनले त्यो समाचार लेखेका थिए । समाचार विहान छापियो, दिउँसो सर्वोच्चले संसद् पुनःस्थापनाको फैसला सुनायो । 

० ० ०

दोस्रो पटक कबिर‘देशान्तर’ जाँदा त्यो दैनिकमा परिणत हुने शर्तमा गएका थिए । तर त्यहीबेला ठूलो लगानीमा ‘कान्तिपुर’ दैनिक प्रकाशन सुरु भयो । ‘कान्तिपुर’ सुरु भएपछि देशान्तर दैनिकमा परिणत भएन । दैनिकका लागि भनेर लगिएका स्टाफ देशान्तरका लागि धेरै भए । ‘ओभरस्टाफ’ घटाउनुपर्ने भयो । जिल्ला विकास सदस्य, गाउँ विकास सभापति भइसकेका कबिरले टेलिभिजन सेन्सरबोर्डमा पनि काम थालेका थिए । राजनीति, विकास अनि सेन्सरबोर्डको कामले उनलाई भ्याइनभ्याइ थियो । त्यसैले सम्पादक श्री आचार्यले उनलाई भने, “कबिर अब पत्रिका दैनिक नहुनेभएपछि ओभरस्टाफ भयो । तिमी जिल्ला विकास सदस्य छौ, अब उपसभापति लड्ने होला, तिमी यो काम छोड ।” सल्लाहमै कबिरले राजिनामा दिए । 

पत्रकारिता छोडेका कबिर पूर्णकालीन राजनीतिमा लागे । जनताका काम, विकास अनि राजनीतिक भेटघाट र छलफल उनको दैनिकी भयो । ०५४ को निर्वाचनमा भक्तपुरमा काङ्ग्रेसको भागमा उपसभापति प¥यो । उनले दाबी गरे ।पार्टीभित्रै कसले लड्ने ? सहमति हुन सकेन । दुईजनाबीच आन्तरिक प्रतिस्पर्धा भयो । नतिजाले कबिरलाई निराश बनायो । 

पत्रकारितामै फर्किए । श्री आचार्यसँग देशान्तरमै काम गर्ने तयारी भए पनि कुरा मिलेन । सन्ध्याकालीन पत्रिका ‘कमान्डर’ दैनिकको संस्थापक सम्पादक भए । 

हकरसँग प्रतिगोटा एक रुपैयाँका दरले पैसा सङ्कलन गर्नुपथ्र्यो । ठूलो झमेला थियो । प्रकाशकसँग भने, “तपाईं अर्कै सम्पादक खोज्नुस् । म सक्दिनँ ।” कबिरले राजिनामा दिए । 

अधिवक्ता सुशील पन्तले ०५६ सालको निर्वाचनअगाडि भने, “कबिर पत्रिका निकाल्नुपर्‍यो ।” 

राजनीतिमा ‘फुलटाइम’ दिनुनपर्ने । साप्ताहिक पत्रिका निकाल्न समय पुग्थ्यो । कबिरले सुशीललाई भने, “राजनीतिमा मेरो लाइनस्पष्ट छ ।” सुशील राप्रपानिकट थिए । कबिर काङ्ग्रेस । ४९ प्रतिशत सेयरमा कबिर पत्रिका निकाल्न तयार भए । कम्पनी दर्ता भयो । ‘खबरकागज’ साप्ताहिक नाम राखे । संस्थापक सम्पादक कबिर नै बसे । 

०५६ को संसदीय निर्वाचनको पूर्वसन्ध्या थियो । काङ्ग्रेसीकबिर सम्पादक । उनको पत्रिकामा काङ्ग्रेसको प्रभाव देखिने नै भयो । बागबजारमा कार्यालय थियो । पत्रिका निकाल्ने अघिल्लो दिन काम सकेर घर फर्कन नभ्याउने कबिर सुशीलकै घर गए । सुशीलले भने, “कबिरजी यो पत्रिका त काङ्ग्रेसीकरण भयो ।” 

“म काङ्ग्रेस नै सम्पादक छु त, पत्रिका काङ्ग्रेस नभएर के हुन्छ ? तपाईंलाई सुरुमै मैले भनेकै थिएँ,”कबिरले जवाफ दिए ।

सुशीलले भने, ‘‘कि बन्द गर्नुपर्‍यो, कि अर्कै लाइनमा चलाउनुपर्‍यो ।’’

कबिरले अर्कै लाइनमा काम गर्न सक्ने कुरै थिएन । 

बिहान उठेर उनकै घरमा राजिनामा लेखेर बुझाए । घाटामा गएको पत्रिका सेयर फिर्ता लिने कुरा भएन । 

सात महिनापछि अर्को पत्रिका निकाल्ने कुरा भयो ।जुटे जिवेन्द्र सिम्खडा, ऋषि धमला, कबिर र एकजनाव्यवसायी । विज्ञापन एजेन्सी पनि चलाउने, पत्रिका पनि निकाल्ने योजना बन्यो । कम्पनी दर्ता गरे । संस्थापक प्रधान सम्पादक कबिर नै भए । पत्रिकाको नाम थियो, ‘खबर पत्रिका’ । यो रङ्गीन पत्रिका थियो ।

विस्तारै प्रकाशक तथा अन्य साथीहरुले छोड्दै गए । कबिर एक्लै भए । साढे दुई वर्ष प्रकाशन गर्दा घाटा चुलिँदै गएपछि उनले ‘खबर पत्रिका’ बन्द गरिदिए । 

उनी खाली नै बसेका थिए । त्यही समय हरिहर विरहीले ‘विमर्श’ बेचेका थिए । उनले सुने–देशान्तर पनि बिक्री हुँदैछ ।”

प्रकाशकसँग सल्लाह गरे । केही व्यवसायी साथीहरुले उनलाई सहयोग गर्छु भनेका थिए । उनलाई आँट पलायो । देशान्तर किने ।

०५९ असोजमा उनी देशान्तरको सम्पादक भए । “तत्कालीन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई अक्षम भनेर प्रधानमन्त्रीबाट हटाएको एक सातापछि म देशान्तरमा सम्पादक भएर फर्किएँ,” कबिरको चेहरा उज्यालो भयो, “०५९ असोजबाट आजसम्म म देशान्तरको सम्पादक छु । यसबीचमा मैले देशान्तर रेडियो थपेँ । देशान्तरन्युज डटकम थपेँ । अब देशान्तर युट्युब टेलिभिजन पनि खोल्ने तयारीमा छु ।” 

० ० ०

कबिर काङ्ग्रेसका कार्यकर्ता । पहुँच र प्रभाव हरेक क्षेत्रमा राम्रै थियो । आफ्नै पार्टी र काङ्ग्रेसइतरमा पनि । माओवादी आन्दोलन चलिरहेको थियो । समाचारका लागि उनीहरुका सूचना कबिरसम्म आइपुग्थे । भूमिगत हुँदा पनि माओवादीको सूचनाका लागि राम्रै स्रोत थियो उनको । पाएको सूचना लेख्न उनी डराउँदैनथे । 

माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि वाईसीएल गठन भएको थियो । कबिरले वाईसीएलको चन्दा आतङ्क भनेर समाचार लेखिरहेका थिए । “तीनचार अङ्क लगातार कडा समाचार छापिएको थियो । काठमाडौं उपत्यका इन्चार्ज सागरले मलाई फोन गरेर धम्क्याउन खोजे,” कबिर भन्छन्, “मैले उनलाई भनेँ, भाइ पत्रिकामा लेखेको कुरालाई लिएर धम्की नदिनुस् । के कुरा हो कि खन्डन पठाउनुस् । प्रधानसम्पादकलाई फोन गरेर धम्क्याउने तपाईंको बिहेभ राम्रो भएन । तपाईंभन्दा राजनीतिमा धेरै दुःख पाएको मान्छे हुँ म । तपाईंहरु त खाली भूमिगत मात्रै हुनुभयो । मैले त धेरै जेलनेल भोगेको छु । सैद्धान्तिक कुरा गर्ने हो भने आउनुस्, भेटेर कुरा गरौं । होइन भने पत्रिकामा छापिएको विषयलाई लिएर नधम्क्याउनुस् । तपाईंका नेतालाई भनेर तपाईंलाई कारबाही गराउन लगाऊँ? तपाईंका ठुल्ठूला नेतासँग मेरो डाइरेक्ट लिङ्क छ । त्यसपछि तिनीहरुले मलाई कहिल्यै फोन गरेनन् ।”

० ० ०

ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएपछि पत्रिकामा सेन्सर हुन थाल्यो । दैनिक पत्रिकाले एनजीओ र विदेशी समाचार मात्रै छाप्न थाले । समाचार प्रशारण गर्नै पाउँदैनथे । एफएममा समाचारहरु त्यत्तिकै मरिरहेका थिए । समाचार त जनतालाई दिनुपर्छ । तर कसरी ?

डेढ दर्जन साप्ताहिकका सम्पादक भेला गरेर साप्ताहिक सञ्जाल गठन गरे कबिरले आफ्नै नेतृत्वमा । ‘राज्यको तारो अब हामी हुन सक्छौं, त्यसैले हामीमध्ये जसलाई सरकारले पक्राउ गर्‍यो अथवा प्रेसमा ताला लगायो भने जो बाहिर हुन्छ उसैले पक्राउ गरेको सम्पादकको पत्रिका पनि प्रकाशन गरिदिने’सञ्जालको निर्णय थियो ।

चार–पाँच अङ्कपछि पत्रिकाका कार्यालयमा आर्मी सेन्सर गर्न आउन छोड्यो । हरेक आइतबार देशान्तर निस्कन्थ्यो । सोमबार जिल्ला प्रशासन कार्यालयले उनलाई चिठी लेखिहाल्थ्यो । हरेक सोमबार उनी बयान दिन सीडीओ कार्यालय जान्थे । सरकारले कबिरबिरुद्ध मुद्दा नै हाल्यो । 

० ० ०

कबिरको पत्रकारिताको सुरुनै देशान्तरबाट भयो । देशान्तर काङ्ग्रेसनिकट पत्रिका थियो । उनले पार्टी निकट भएर पत्रकारिता गरे । “हामी व्यक्तिमा गएनौं, प्रवृत्तिमा गयौं । त्यसैले पार्टी पत्रकारिता गरे पनि त्यति धेरै विवाद र सकस भएन ।

काङ्ग्रेसकै पनि हामीले धेरै आलोचना गरेका छौं । जुन पार्टीनिकट पत्रिकाले गर्दैनन्,”कबिरको दाबी छ, “देशान्तर कोइराला खेमाको पत्रिका भन्थे, तर हामीले लाउडा काण्डदेखि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा गुण र दोषका आधारमा समाचार लेख्न छाडेनौं । अहिले पनि मकसैको व्यक्तिगत पक्षपोषण गर्दिन ।”

यद्यपि, तत्कालीन संस्थापनइतर पक्षले भन्थ्यो, ‘‘देशान्तर हाम्रो आलोचक पत्रिका हो ।’ कबिरका अनुसार यसो भन्ने शेरबहादुर देउवा थिए । 

“तीन वर्षअगाडि अन्नपूर्ण होटलमा हामीदेशान्तरको वार्षिक उत्सव मनाइरहेका थियौं । पार्टी सभापतिका हैसियतले हामीले शेरबहादुरलाई प्रमुख अतिथिका रुपमा बोलाएका थियौं,” कबिर भन्छन्, “मेरो आलोचना गर्ने पत्रिका भए पनि म पार्टी सभापति भएकाले आएँ भनेर शेरबहादुरले भने । उहाँले विभाग गठन गर्नसक्नु भएको छैन, त्यो त लेख्नुपर्‍यो नि ! अरु पत्रिकाले जस्तो उहाँले भ्रष्टाचार गरेर श्रीमतीलाई पैसा राख्न दिनुभयो भनेर बिनाप्रमाणको समाचार हामीले लेखेका छैनौं । भएको कुरा छोड्दैनौं ।” 

० ० ०

विशेष संवाददाताका रुपमा देशान्तर प्रवेश गरेपछि प्रायः अन्तरवार्ता लिने जिम्मेवारी उनकै थियो । उनले धेरैजनाको अन्तरवार्ता लिए । भन्छन्, “लेखाजोखा छैन । तर मलाई लाग्छ गणेशमान सिंहको अन्तरवार्ता मैले मेरो पत्रकारिता जीवनमा सबैभन्दा धेरै लिएँ होला । र, मेरो अनुमान उहाँले पनि सबैभन्दा धेरै अन्तरवार्ता पनि मलाई नै दिनुभयो । ३० पटकभन्दा बढी उहाँको अन्तरवार्ता लिएको छु ।”

“तर अचम्म ३०औं पटक अन्तरवार्ता लिन जाँदा पनि उहाँले मलाई चिन्नुभएन । पछिपछिचाहिँ देशान्तर आयो भन्नुहुन्थ्यो, तर मेरो नाम उहाँलाई थाहा थिएन,” कबिरस्मरण गर्छन् “किसुनजी र गिरिजाप्रसाद सधैं पदमा बस्ने भएकाले उहाँहरुलाई मिडियाले फलो गरेको गर्‍यै गर्नालेउहाँहरु इरिटेड हुनुहुन्थ्यो ।केही भन्न मन लाग्यो भने किसुनजी विज्ञप्ति निकालेर भन्नुहुन्थ्यो । तर गणेशमान पदमा नबसेकाले गिरिजाप्रसाद र किसुनजीलाई जस्तो मिडियाले पछ्याउँदैनथ्यो । त्यही भएर पनि उहाँ सहजै अन्तरवार्ता दिन तयार हुनुहुन्थ्यो ।”

अन्त्यमा कबिर गणेशमानलाई सम्झिन्छन्, “साँच्चै मिडियाफ्रेन्डली हुनुहुन्थ्यो गणेशमानजी ।” 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६  ०८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC