site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दुई डुङ्गामा खुट्टा 
Sarbottam CementSarbottam Cement

नरेश फुयाँल


“दुई डुङ्गामा खुट्टा राख्दा तर्न गाह्रो हुन्छ,” साहित्यकार राजन मुकारुङ ०७२ वैशाख ४ गते एक कार्यक्रममा आफ्नै सहयात्रीलाई व्यङ्ग्य कस्दै थिए, “तरे त राम्रै हो, तर म यसमा खतरा धेरै देख्छु ।” राजनले व्यङ्ग्य कसेका ती व्यक्ति थिए उपेन्द्र सुब्बा । उपेन्द्रको कथासङ्ग्रह ‘लाटो पहाड’ विमोचनका क्रममा ‘एउटा लाइन’मात्रै समात्न राजनले दिएको सुझाव थियो यो ।  

विशेषगरी नेपालको पूर्वी भेगका आदिवासी लिम्बू समुदाय र मुन्धुम संस्कृति उनको लेखनको आधारभूमि हो । त्यसकै जगमा टेकेर मानवीय संवेदना र सामाजिक चेतसहितको उनको ‘लाटो पहाड’मा भुइँमान्छेहरुको जीवन, मनोविज्ञान र दुर्दशा चित्रित छ । उपेन्द्रले यही कथासङ्ग्रहबाट ०७१ सालको पद्मश्री साहित्य पुरस्कारसमेत प्राप्त गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

लेखनसँगै उपेन्द्रको नाम कलाकारितामा पनि जोडिन्छ । ‘कबड्डी’मा उनले ‘झाँक्री’को भूमिकामा दमदार अभिनय गरेका छन् । उपेन्द्रले यो भूमिका निर्वाह गरेपछि कलाकारका रुपमा पनि उनको छबी बन्यो ।

त्यसो त उनी ‘स्क्रिप्ट राइटर’ पनि हुन् । चलचित्र ‘कबड्डी’का सबै सिरिज र ‘तान्द्रो’को स्क्रिप्ट उनैले लेखेका हुन् । ‘कबड्डी’मा भने उनले रामबाबु गुरुङसँग सहकार्य गरेका थिए । 

Global Ime bank

कविता सुनाउन अहिले बेलायत पुगेका उपेन्द्रका ‘गड्तिरको राँके भूत’ र ‘डाँडामाथिको घामजुन’ कवितासङ्ग्रह प्रकाशित छन् । कविता लेख्नुअघि उनले गीतमा पनि कलम चलाएका थिए । ‘जीवन आखिर के नै हो र...’ धेरैले रुचाउने उनको गीत हो । 

० ० ०

अहिलेका चल्तिका अभिनेता दयाहाङ राईको समय प्रायः ‘एक्सन–कट’मै बित्छ । तर भ्याएसम्म उनी साहित्यिक कार्यक्रम छुटाउँदैनन् । साहित्यकारसँग उनको चिनजान पनि बाक्लै छ । अभिनयमा अब्बल भएपछि उनको साहित्यकारसँग चिनजान भएको चाहिँ होइन । पुरानै चिनजान हो उनको । यो बुझ्न अघिल्लो दशकतिरै फर्किनुपर्छ । भोजपुर थातथलो भएका दयाहाङ सानैदेखि साहित्यमा रुचि राख्थे । कथामा उनको विशेष झुकाव थियो । साहित्यका किताब खोजी–खोजी पढ्थे । 

कथा लेख्न रुचाउँथे, लेखे पनि । कथा लेख्न उनलाई शिक्षकहरूले हौस्याउँथे । उनी स्मरण गर्छन्, “म कथा लेख्नकै लागि जन्मिएको हुँ झैं लाग्न थालेको थियो स्कुलमा पढ्दाताका ।” बाल्यकालमा पढेका दन्त्यकथा र लोककथाका चरित्रहरूलाई लिएर त्यस्तै अर्को कथा लेख्न मन पथ्र्यो उनलाई । 

तर उनले पढेका अधिकांश कथाका विषयवस्तु सहरका हुन्थे । उनी थिए गाउँका । गाउँका कथा सहर पुगेर सकिन्थे । उनको मनमा एउटा प्रश्न सधैं उठिरह्यो– गाउँका कथा गाउँमै किन सकिँदैन ? 

गाउँका कथा गाउँमा बसेर मात्रै लेखिँदैन । लेखे पनि त्यो पूर्ण कथा हुँदैन । कथामा सहर पनि मिसिनुपर्छ । तर उनी गाउँमा थिए, सहरको स्वरुप पनि देखेका थिएनन् । थिए त केवल कथा र उपन्यासमा । 

लाग्यो– कथा लेख्न पनि सहर जानुपर्छ । नगबेली डाँडाहरु छिचोलेर सहर पुगेपछि मात्रै कथा पनि छिचोलिन्छ । र, सोचेजस्तै अब्बल कथा जन्मिन्छ । 

एकातिर कथाको विषयवस्तु खोज्दै सहर जाने हुटहुटी अर्काेतर्फ माओवादी द्वन्द्वले गाउँमा बस्न नसक्ने परिस्थिति । ०५८ सालको एक दिन कथा लेख्ने कल्पनामा उनी सपनाको सहर काठमाडौंको बस चढे । 

साहित्यप्रति रुचि त उत्तिकै थियो । उनी साहित्यकारको घेराभित्र छिर्न थाले । कवि, लेखकहरूलाई भेट्न थाले । साहित्यिक पुस्तक–विमोचनमा जान थाले । सांस्कृतिक कार्यक्रममा पनि सहभागी हुन थाले । गीति एल्बम विमोचन–समारोहमा पुग्थे । उनलाई यस्ता कार्यक्रमको वातावरण खुब मन पथ्र्यो । 

साथीसङ्गत पनि कला–साहित्यभित्रै हुन थाल्यो । नियमित भेटघाट र उठबस् कलाकार र कलाप्रेमीहरूसँग नै हुन थाल्यो । कवि, कलाकारहरूसँग जब उनी भेट्थे, तब ‘मैले जानेको लेख्ने हो र लेख्नुपर्छ’ भन्ने मनमा लाग्थ्यो । 

साथी सर्कलको घेरो फराकिलो थियो । साहित्य र कलाका साथीहरु थुप्रै थिए । प्रज्ञा–प्रतिष्ठानमा नाटक–महोत्सव भइरहेको थियो । उनी त्यहाँ नाटक हेर्न गए ।

दयाहाङलाई नाटक मन पर्‍यो । नाटकको नियमित दर्शक भए । अर्को साल पनि उनी नाटक–महोत्सवमा गए । नछुटाइ नाटक हेरे ।

नाटकले उनको मस्तिष्कमा रहेको साहित्यकार बन्ने सपनाको घर भत्काइदियो । उनले गमे– मैले सोचेजस्तो छैन कथा र पुस्तक लेख्न । उनलाई लाग्यो, “मेरा लागि नाटक हो । म नाटक लेख्न र निर्देशन गर्न सक्छु ।”

त्यसैले कथालेखनतिर हिँडेका आफ्ना पाइलालाई त्यहीँ विश्राम दिए र मोडिए नाटकतिर । र, नाटकको बाटो हुँदै उनी रजतपटको यात्रातिर लागे । कथा लेख्ने उनको सपना अधुरै रह्यो । 

कथा त उनले लेख्न पाएनन् । तर कविता र गीत भने लेखे । अभिनयको व्यस्तताले कविता र गीतको सङ्ग्रह पनि प्रकाशन गर्न पाएनन् । तर फुट्कर रुपमा पत्रपत्रिकामा कविता र गीतहरु छापिए । दयाहाङका केही गीत उनकै श्रीमती बेनुका राईले गाएकी छन् । उनले लेखेका आधा दर्जन गीतमध्ये एउटा गीत यस्तो छ–

आउन ठूले फर्की आऊ, जोवन त्यसै ढल्नै लाग्यो नि
तिमी बिना मारुनीमा मादलै रोइसक्यो नि
मुर्चुङ्गा र बिनायोले तिम्रै गीत गाउँछन्
परदेशीले भुल्यो भन्दै वनपाखै रुन्छन्
आउन ठूले फर्की आऊ ढुङ्गे फूल झरिसक्यो नि
चुल्ठो मेरो खाली नै छ गुराँसै फुलिसक्यो नि

यो गीत गाउँदा बेनुका उनकी प्रेमिका मात्रै थिइन् । पारस मुकारुङले सङ्गीत भरेको गीतमा दयाहाङ आफैं मोडल बनेर काँचको पर्दामा देखापरेका छन् । क्यामेराअगाडि रमाउँदै गाए, गीतकार र कवि दयाहाङ ओझेल पर्दै गयो । 

“मनको उकुसमुकुस व्यक्त हुन त पक्कै पनि खोज्छ । मनको कुरा म अहिले अभिनयमार्फत् अभिव्यक्त गरिरहेको छु,” अभिनय पातलिएपछि युवा रहर पूरा गर्ने बाटो समात्नुहुन्छ भन्ने जिज्ञासामा दयाहाङ भन्छन्, “तर अब मैले रहर गर्दैमा म कलममार्फत् आफूलाई पोख्न सक्छु होला र ?”

० ० ०

रङ्गमञ्चको बाटो हुँदै चलचित्र र साहित्यमा आइपुगेका  लोकप्रिय अभिनेता खगेन्द्र लामिछाने पनि कलाकारितासँगै साहित्यमा पनि रमाइरहेका छन् । ०७३ जेठमा उनको ‘फूलानी’ कथासङ्ग्रह सार्वजनिक भएको थियो । सातवटा कथा सङ्ग्रृहित ‘फूलानी’ पछि उनी अहिले उपन्यास लेखिरहेका छन् । तर त्यो सार्वजनिक भने भएको छैन । 

‘टलकजङ्ग भर्सेस टुल्के’, ‘बधशाला’, ‘पशुपतिप्रसाद’, ‘धनपति’, ‘जय भोले’, चलचित्रमा अभिनय गरेका उनले योभन्दा ठूलो सङ्ख्यामा नाटकमा अभिनय गरेका छन् । ‘मायादेवीका सपना’, ‘हजुरबाको कथा’, ‘पीडा गीत’, ‘कात्रो’, ‘सिरुमा रानी’ नाटकमा उनले अभिनय गरेका छन् । आधा दर्जन नाटक निर्देशन पनि गरेका छन् । 

लेखक बन्छु भनेर काठमाडौं पसेका खगेन्द्र नाटक लेख्दालेख्दै अभिनयमा पनि रत्तिए । लेखन छोडियो । “तर, अब अभिनय र लेखन दुवैलाई सँगै अगाडि बढाउने प्रयासमा छु । सके यही वर्ष नसके ०७७ मा मेरो उपन्यास आउँछ,” उनी भन्छन् ।
सहरको विषयलाई उपन्यासले समेटेको उनी बताउँछन् । लेखनमा बस्दा उनी साँच्चै ‘इन्जोय’ गर्छन् । त्यसैले उनी लेखनलाई पाखा लगाउन सक्दैनन् । दर्शकले चलचित्रमा अगाध स्नेह गरेकाले ठूलो पर्दा पनि छोड्न सक्दैनन् । उनी भन्छन्, “म योभन्दा यो राम्रो भनेर भन्नै सक्दिनँ । मेरा लागि दर्शक र पाठक बराबरी हुनुहुन्छ ।”

० ० ०

नेपाली हाँस्य कलाकारितामा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको नाम अविस्मरणीय बनेको छ । यी दुईको जोडी उदाहरणीय मानिन्छ । यी दुवै लेखनमा पनि आए । आत्मकथाका रुपमा मदनका ‘महको म’ प्रकाशित भयो । ०७४ भदौको तेस्रो साता मदनकृष्णको ‘महको म’ प्रकाशित भएको थियो । अभिनयमा अब्बल मदनकृष्ण गायनमा पनि त्यति नै खरो कलाकार हुन् । नेपालीसँगै दर्जनौं नेवारी गीतमा उनले स्वर भरेका छ । 

‘अर्बाैं मान्छेहरुमा’, ‘खोलावारी खोलापारी’, ‘सयथरि बाजा’ आदि उनका लोकप्रिय गीत हुन् । आफूले गाएका धेरै गीतको शब्दरचना पनि उनी स्वयम्ले गरेका छन् । 

हरिवंशका पनि दुइटा पुस्तक प्रकाशन भएका छन् । ०७० वैशाखको दोस्रो साता उनको पहिलो पुस्तकका रुपमा ‘चिना हराएको मान्छे’ आत्मकथा सार्वनिक भएको थियो । फाइनप्रिन्टले प्रकाशन गरेको यो पुस्तक प्रकाशकको भनाइमा विश्वास गर्ने हो भने ‘बेस्ट सेलर’ हो ।  

आत्मकथाबाट हरिवंश उपन्यासमा फड्को मारे । आत्मकथा प्रकाशनको करिब चार वर्षपछि ०७४ वैशाख तेस्रो साता उपन्यास ‘हरिबहादुर’ सार्वजनिक गरे । फाइनप्रिन्टबाटै प्रकाशित यो उपन्यासले भने प्रशंसाभन्दा आलोचना बढी खेप्नुप¥यो । पहिलो पुस्तकको बिक्रीबाट हौसिएका कारण ‘हरिबहादुर’ लेखेको टिप्पणी सहनुपर्‍यो । 

हरिवंशले पनि मदनकृषण्ले जसरी नै गीत गाएका छन् । ‘साझा बसमा’, ‘हाम्री आमा साह्रै नै बाठी छन्’, ‘सारङ्गी रेटौंला’ उनले गाएका चर्चित गीत हुन् । 

० ० ०

नायक जीवन लुइँटेल पनि साहित्यमा कलम चलाउने कलाकारमध्येका एक हुन् । उनले दुई वर्षअगाडि ‘नायक’ नामक कवितासङ्ग्रह बजारमा ल्याएका थिए । कवि मनका नायक जीवन उपन्यास पनि सार्वजनिक गर्ने बताउँछन् । तर प्रकाशन भने भएको छैन । 

‘सानो संसार’, ‘मेरो एउटा साथी छ’, ‘नाईं नभन्नु ल’ लगायत करिब तीन दर्जन चलचित्रमा अभिनय गरेका साहित्यिक मनका जीवन अहिले अमेरिकामा छन् । 

० ० ०

पिपलको बोट
ठिङ्ग उभिरह्यो
कालान्तरमा जस्तै ...
आज पनि

हिजो अनि अस्ति
मान्छेहरू आए,
सुस्ताए, सुस्केराए, मुस्कुराए
कसैले पसिना पुछे
कसैले आँसु पुछे

पिपलको बोटले सब हेरिरह्यो
कहिलेकाहीँ पङ्खा दियो
पसिना सुकाइदियो
पातहरूका बीचबाट
घाम पनि दियो

गफ सुन्यो
निन्द्रा सुन्यो
रोदन सुन्यो
हाँसो सुन्यो
अनि
मान्छेका मौनता पनि

एकनास उभिरह्यो
दृश्य देख्यो, वस्तु देख्यो, भाव देख्यो,
एकाग्रता देख्यो, कल्पना देख्यो
अनि तिनका सपना पनि

धेरै आए, धेरै गए
अथक, तटस्थ, उहिल्यैबाट
हेरिरह्यो, उभिरह्यो

आज मुन्तिर कोही नहुँदा
सर्रर हल्लियो पीपल
खै, कुन्नि मैले बुझिन...। 

कवि मनका नायक राजबल्लभ कोइरालाको कविता हो यो । उनी कविता लेखिरहन्छन् । उनको फेसबुक पेज हेरे उनीभित्र कुन तहको कवि मन छ भन्ने स्पष्टै हुन्छ । फेसबुक पेजमा कविता पोस्ट गरिरहेका हुन्छन् राजबल्लभ । 
‘पर्खी बसेँ’, ‘रितु’, ‘कसम हजुरको’, ‘बसमा छैन यो मन’, ‘मसान’ लगायत दुई दर्जनभन्दा धेरै चलचित्रमा अभिनय गरेका राजबल्लभ पनि अमेरिकामै छन् । 

० ० ०

विनिता बराल पनि अभिनयसँगै साहित्यमा रमाइन् । ‘चपली हाइट’बाट अभिनयमा देखिएकी उनले चलचित्र ‘फुलस्टप’, ‘सुपरहिट’ तथा ‘उमङ्ग’मा पनि अभिनय गरिन् । उनै नायिका विनिताले एउटा पुस्तक पनि सार्वजनिक गरिन् । ‘जुइनो’ नामक उपन्यास उनले सार्वजनिक गरेकी थिइन् । विनिता अहिले लेखन र अभिनय दुवैमा पातलिएकी छन् । 

० ० ०

नेपाली चलचित्र होस् या टेलिभिजन इतिहास, नीर शाह स्मरणीय नाम हो, अग्रणी नाम हो । अभिनय होस् अथवा निर्देशन उत्तिकै अब्बल छन् नीर । यतिमा मात्रै पनि सीमित छैनन् उनी । गीत लेखनमा पनि नीर उत्तिकै सशक्त मानिन्छन् । आधुनिक र चलचित्रका गीतमा उनको कलम अब्बल देखिन्छ । नीरका दर्जनौं गीत कालजयी बनेका छन् । 
उनका लोकप्रिय गीतमध्ये केही यस्ता छन्–  

बादल बनाइदेऊ आकार बदल्न सकूँ
क्षमता दिलाइदेऊ जिउँदै म जल्न सकूँ

. . .

हिउँभन्दा चिसो आगोभन्दा तातो
तिम्रो हाम्रो माया रैछ रगतभन्दा रातो
. . .

गहिराइमा डुब्दै नडुब
डुबिसकेका छौ भने मोती नटिपी नफर्क

. . . 

आगो देखे आगो बन्ने पानी देखे पानी बन्ने
मलाई यस्तो अस्थिर मन नदेऊ
धेरै धेरै चोट लाग्ने तिमीले कोमल भनिरहेका
मलाई यस्तो स्पन्दन नदेऊ

चलचित्रमा दर्शकले अनुहार देखिसकेका कारण कलाकारले लेखेको पुस्तक चल्ने कतिपयको बुझाइ छ । अभिनय स्वयम्मा एउटा सिर्जना भएकाले कलाकारले साहित्य सिर्जनामा लाग्नु स्वाभाविक मान्ने कलाकार पनि कम छैनन् । जेहोस् अभिनय पनि र साहित्य सिर्जना पनि, दुवैलाई एकैसाथ स्तरीय ढङ्गमा अघि बढाउन सहज भने छैन । एक प्रकारले यसलाई ‘दुइटा डुङ्गामा खुट्टा’ राख्ने आकाङ्क्षा मान्न पनि सकिन्छ । दुइटा डुङ्गामा खुट्टा राखेर गन्तव्यमा पुग्न सहज त कहाँ हुन्छ र !

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६  ०६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC