काठमाडौं । पाँचौं एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा तुर्किमिनिस्तानले विजयी सुरुआत गरेको छ । समूह बी अन्तर्गतको पहिलो खेलमा अफगानिस्तानलाई ३–१ को सेटमा हराउँदै तुर्किमिस्तानले विजयी सुरुआत गरेको हो ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा निकै रोमान्चक बनेको पहिलो सेट तुर्किमिनिस्तानले ३२–३० ले आफ्नो पक्षमा पारेको थियो । अफगानिस्तानले दोस्रो सेटमा २५–१६ ले पुनरागमन गरेपनि त्यसपछिका दुई सेटमा हार ब्यहोरेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा तुर्किमिनिस्तानले २७–२५ को जित निकाल्यो । चौथो सेटमा अफगानिस्तानले फर्किने प्रयास गरेपनि २४–२६ ले नतिजा सुम्पिएपछि तुर्किमिनिस्तानले विजयी सुरुआत गरेको हो । तुर्किमिनिस्तानले अर्को खेल भोलि उज्वेकिस्तानसँग खेल्नेछ ।
समूह ए अन्तर्गत आफ्नो पहिलो खेलमा आयोजक नेपाल आज किर्गिस्तानसँग खेल्दैछ । खेल अपरान्ह ४ बजेबाट सुरु हुनेछ ।