दुनियाँ रछ्यान हुन लागेको छ र यसको दोष मानव अधिकार आन्दोलनलाई जान्छ । अधिनायक र अपराधीहरूलाई मन पर्ने यस प्रकारको विसंगत आलोचनाबाट हाम्रो समयलाई परिभाषित गर्ने उदार मूल्यहरूमा भएको प्रहारबाट स्तब्ध केही अधिकारवादीसमेत प्रभावित हुन पुगेका छन् । नकारात्मक आलोचनालाई रोक्न नसकेको प्रमाणित भएको मानव अधिकार पैरवीलाई ‘संकटमा परेको’, ‘विफल भएको’ र ‘अन्तिम समयमा पुगेको’ भनिदैछ । अमेरिकाका विदेशमन्त्री माइक पम्पिओले हालै ‘मानव अधिकारसम्बन्धी विषयमा नयाँ विमर्श’ बारे चिन्तन गर्न एउटा समूह गठन गरेका छन् तर यसले लैंगिक समानता र प्रजनन स्वतन्त्रताजस्ता मामिलालाई उपेक्षा गर्ने सम्भावना बढी नै छ ।
स्पष्ट छ, अधिकार अभियन्ताहरुले आफ्नो खेल सुरु गर्नुपर्छ । तर, मानव अधिकार आन्दोलनले एक्लैले दुनियाँ जोगाउने भ्रमबाट तिनीहरू मुक्त हुनुपर्छ ।
मानव अधिकारसम्बन्धी विमर्शमाथि थुप्रै आलोचना हुनेगरेको छ तर तीनवटा उल्लेखनीय छन् । सायद, सबैभन्दा धेरै हुने आलोचना अधिकार अभियन्ताहरूले आर्थिक असमानतालाई सम्बोधन गर्न खासै केही गरेनन् भन्ने नै हो । वास्तवमा बितेका चार दशकमा अन्तर्राष्ट्रिय मानव अधिकार आन्दोलन र कुरुप आर्थिक विषमता सँगसँगै हुर्केको छ ।
अर्को चिन्ता अधिक कानुनीकरण हो । मान्यता र मापदण्डहरू वास्तविक जीवनमा कार्यानवयन नहुँदासम्म मात्र कायम रहन्छन् । अदालतबाट पक्षमा भएको कुनै निर्णयमा अभियन्ताले मनाउने खुसी कार्यान्वयनका लागि हुने लामो संघर्षको आरम्भ हो । मुद्दामामिलाप्रतिको बढ्दो लगावले आन्दोलनलाई अभियानका क्रममा नैतिक मूल्यहरूप्रति आँखा चिम्लने बनाएको छ ।
आलोचकहरू भन्छन् कानुनमा अत्यधिक भर परेर मानिसहरूलाई बेवास्ता गरिएको छ । यस दृष्टिबाट अधिकार रक्षकहरूले अदालतमा दलिल पेस गर्न र कानुन निर्माताहरूसँग छलफल कति व्यस्त भए भने तिनले पीडित, परिवारका सदस्य अरू जस्का लागि पैरवी गरेका हुन् तिनैसँग सार्थक सहयोगको त कुरै छाडौँ पर्याप्त छलफल गर्न पनि समय दिन विफल भएका छन् ।
यस प्रकारका रणनीतिक विफलताले अधिनायकवादी नेताहरूलाई अभियन्ताहरूलाई ठालु शत्रुका रूपमा चित्रित गर्ने मौका दिएको छ । हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले आफ्ना देशका नागरिकलाई ‘‘हामीलाई कसरी बाँच्ने, कोसँग कसरी बोल्ने र हाम्रा सन्तानलाई कसरी हुर्काउने भनेर सिकाउन खोज्ने नागरिक समाजका नक्कली अभियन्तालाई अस्वीकार गर्न’’ आह्वान गरेका छन् ।
जेहोस्, आलोचनामा धेरै सत्य छ र तिनले स्पष्ट सल्लाह दिन्छन् । आर्थिक कठिनाइप्रति हामीले ध्यान दिनुपर्छ । हामीले वकिलको बोली बोल्न कम गरेर जनताको बोली बोल्न फेरि थाल्नुपर्छ । हामीले आफूलाई मानव अधिकार रक्षकका रूपमा चिनाउन नचाहने तर विज्ञान, प्रविधि, अर्थशास्त्र, वा कलाका माध्यमबाट अधिकारका विषयमा चेतना जगाउन सक्ने समान विचार भएका समूहहरूसँग बढी समन्वयात्मकरूपमा सहयोग गर्नुपर्छ ।
धन्न केही केही अधिकार संगठनहरूले सुन्न थालेका छन् । एमनेस्टी इन्टरनेसनलले युवामा केन्द्रित सदस्यता वृद्धि गरेर २ करोड ५० लाख बनाउन खोजेको छ भने ह्युमन राइटस वाचले दक्षिणका अभियन्ताहरूसँग निकट सहयोगका काम गर्ने उद्देश्य राखेको छ ।
यी प्रस्तावित सुधारहरूले निसन्देह सहयोग गर्नेछन् । तर, अधिनायकवादीहरूको आक्रमणको आक्रमण रोक्नका लागि यतिमात्र पर्याप्त भने हुनेछैन ।
हामी मानव अधिकार आन्दोलनमा हुनेहरू विद्यमान अधिनायकवादी खतराको सामना गर्न आवश्यक परिवर्तनका लागि हाम्रो वैयक्तिक भूमिका सीमित हुनेमा यथार्थवादी हुनुपर्छ । अधिकार पैरवीकर्ताहरूले धेरै उपलब्धि हासिल गरेका छन् हामी हरू धेरै गर्नेछौँ । तर, विश्वभर प्रतिक्रियावादी राजनीतिलाई पछाडि घचेट्न भने अधिकार अभियन्ता भएरमात्र पुग्दैन राजनीतिक विवाद र निर्वाचनमा गहिरो संलग्नता आवश्यक हुन्छ । यो अधिकार आन्दोलनहरूका लागिमात्र हैन सबैको काम हो ।
अधिकार पैरवीको प्रभावलाई पैसामा मापन गर्न सकिँदैन तर यसका र राजनीतिक अभियानका गरिएको खर्चबीचको अन्तर भने उल्लेख्य छ । हुनत, ‘मानव अधिकार र सामाजिक न्याय’का लागि परोपकारी दानको रकम हालैका वर्षहरूमा संसारभर नै बढेको छ तर यो तीन अर्ब अमेरिकी डलरभन्दा कमै छ । यो सन् २०१९ को भारतको संसदीय निर्वाचन खर्चको आधाभन्दा पनि कम हो भने अमेरिकाको सन् २०१६ को निर्वाचनमा राष्ट्रपति र संसद्का उमेदवारले व्यक्तिगतरूपमा गरेका खर्चको ५० प्रतिशत हो ।
चन्दा उठाउनका लागि होस् वा राजनीतिको फोहोरी खेलबाट माथि उठ्ने इच्छाले होस् वा नैतिक शुद्धताको अनुपयुक्त सोचले होस् पैरवीबाट हासिल हुनसक्ने भन्दा बढी अपेक्षा जगाउने कमजोरी देखाएकोमा मानव अधिकार समूहहरूले आफ्नो जिम्मेवारी सकार्नुपर्छ ।
विद्यमान निराशाकै बीचमा पनि राजनीतिक संगठन र निर्वाचनहरूले सकारात्मक परिवर्तनतर्फ उन्मुख गराएका छन् । अर्मेनिया, इथियोपिया। गाम्बिया र मलेसिया सबैले बितेका तीन वर्षमा प्रगतिशील राजनीतिक परिवर्तनको अनुभव गरेका छन् भने लोकप्रियतावादीहरू सन् २०१८ को अमेरिकाको मध्यावधि निर्वाचन र इन्डोनेसियाको चुनावमा हार बेहोरेका छन् । यी परिणामहरू भ्रष्टाचार, जलवायु परिवर्तन, ‘३मीटु’ अभियान तथा मानव अधिकारबाहिरका अरू विषयहरूसँग पनि जोडिएका छन् । पक्कै पनि अधिकारवादी संगठनहरूले यी विजयमा योगदान गरेका छन् तर अरू राजनीतिक दलहरू, मजदुर संगठनहरू, महिला सञ्जाल, वातावरणवादीहरू र व्यावसायिक संगठनहरूको पनि योगदान छ ।
यी उपलब्धिहरूले देखाएजस्तै अनुदार लोकप्रियतावादविरुद्धको संघर्ष अन्ततः मतदान केन्द्र, संसद्, सञ्चार माध्यम र सडक राजनीति र शक्तिका क्षेत्रबाटै परास्त हुन्छ । अधिकारवादी तर्क यदाकदा आलोचनात्मक हुनसक्ला तर सधैँ र पताततै हुनसक्तैन । यी सबै हेरेर मानव अधिकार पैरवीका उपलब्धिहरूमा उत्सव मनाऊँ र अझ राम्रो गर्ने प्रण गरौँ । तर, अधिकार आन्दोलनलाई दुनियाँ बदल्ने बोझले नथिचौँ ।
(कार्यकारी निर्देशक, ओपन सोसाइटी, जस्टिस इनिसियटिभ )
Copyright: Project Syndicate, 2019.