site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
 दर्शकदिर्घामा बसेर नियाल्दा...
Sarbottam CementSarbottam Cement

काठमाडौं । घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने हरेक खेलाडीको सपना हुन्छ । किनकी घरेलु मैदान र दर्शकले खेलाडीलाई थप उचाइमा पुर्याउन मद्दत गर्छ ।  प्रतियोगिता आफ्नै मैदानमा भएको अवसर पारी कतिपय खेलाडीले त कीर्तिमान कायम गरेका छन् । कतिपय त्यही पर्खाइमा हुन्छन् । 

सोमबारबाट घरेलु मैदानमा पाँचौं एभिसी सेन्ट्रल जोन भलिबल चल्दैछ । यसैपनि भलिबल राष्ट्रिय खेल भएका कारण चर्चा धेरै छ । पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल आयोजना गर्ने अवसर पाएको नेपाल पनि घरेलु मैदानमा कीर्तिमानी नतिजा ल्याउने योजनाका साथ रहँदा खेलाडी प्रतियोगिताका लागि उत्साहित छन् । 

विगत चार वर्षदेखि सोहि टोलीमा मुख्य खेलाडीको रुपमा रहेका एक सदस्यको भने वर्षौंदेखिको सपनाले पूर्णता पाउन सकेन । उनी हुन्, मानबहादुर श्रेष्ठ । नेपाली भलिबलका मुख्य सदस्यका रुपमा रहेका उनी आठौं राष्ट्रिय खेलकुदमा सहभागिता नजनाएकै कारण पाँचौं संस्करणको एभिसी भलिबल च्याम्पियनसिप खेल्न पाएनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

घरेलु मैदानमा देशका लागि खेल्ने सपनाबाट विमुख भए उनी । आइतबार घरेलु टोलीले किर्गिस्तानसँग खेल्दै सेन्ट्रल जोन भलिबलको यात्रा सुरुआत गर्दा मानबहादुर भने बिच भलिबलको तयारीमा छन् । बिच भलिबल उनको रहर भने होइन । घरेलु मैदानमा प्रदर्शन गर्न नपाउँदा उनी बिच भलिबलको तयारीमा लागेका हुन् । उनी राम्रो प्रदर्शन हुँदाहुँदै पनि राष्ट्रिय टोलीबाट बाहिर बस्न बाध्य भए । त्यसो त त्यो उनको कमजोरी हो । उनले छनोटका रुपमा लिइएको आठौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाएका थिएनन् । 

Global Ime bank

भलिबल संघ र आफू आबद्ध क्लब त्रिभुवन आर्मीलाई जानकारी दिएर नै उनी भलिबल खेल्न जापान गएका थिए । तर बीचमा आइपुगेका उनलाई आर्मीले विभागीय कारबाही गर्दै टोलीमा समावेश नगर्दा उनी घरेलु मैदानमा ठूलो प्रतियोगिता खेल्नबाट वञ्चित भए ।  विभागीय कारबाही स्वीकार गरेका मानबहादुर राखेपको गल्तिका कारण नै यसो भएको बताउँछन् । उनले भने, “चैतमा राष्ट्रिय खेलकुद गर्ने कुरा भएपछि मैले जापानमा सम्झौता गरेको थिएँ । तर पछि वैशाखमा सारियो । तर पनि म संघ र आफ्नो क्लबसँग कुरा गरेरै गएको हुँ ।”

घरेलु मैदानमा खेल्न नपाएको भन्दा पनि उनलाई यसअघि भलिबलमार्फत् पुर्याएको योगदान कदर नगरेकोमा दुःख छ । “खेल्न लेखेको रहेनछ त्यो मान्छु । गल्ती पनि गरेको मान्छु । तर मैले यसअघि गरेको प्रदर्शन मूल्याङ्कन नगरेकोमा निकै दुःखी छु,” मानबहादुरले भने, “सन्दीप लामिछानेले क्रिकेटबाट देशविदेशमा नेपाललाई चिनाइरहेको छ । विमल, किरण र रोहितले फुटबलमार्फत् चिनाइरहेका छन् । म भलिबलमार्फत् देशलाई चिनाउन गएको हो । तर अप्ठ्यारोमा पारियो ।”

टोलीमा नरहे पनि मानबहादुर टोलीका हरेक गतिविधिमा जानकार छन् । केहि दिनअघि नेपालले अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दा उनी दर्शकदिर्घामा बसेर खेलाडीलाई हौस्याइरहेका थिए । नेपालले हार्दा मलिन मुद्रामा देखिएका उनी जितमा उत्साहि हुन्थे । नेपालले दुबै खेल जित्यो पनि । 
दर्शकदिर्घामा बसेर खेल हेर्दा बेग्लै महसुुस गरेका मानबहादुरले भने, “साथीहरु खेलेको हेर्दा त्यो ठाउँ सम्झन्छु । अनि मनमा निकै चोट महसुस हुन्छ । तर अप्ठ्यारोमा धेरै दुःखी र खुसीमा मात्तिनु हुँदैन भन्ने बुझेको छु ।”

कमजोरी सुधार्दै नेपालले खेल्न सके राम्रो नतिजा ल्याउने उनी बताउँछन् । “मलाई विश्वास छ, साथीहरुले राम्रो खेल्न सके पक्कै राम्रो नतिजा आउनेछ । तर अरु टोली बलिया छन् । त्यो हामीले भुल्न हुन्न,” उनले भने । उनी प्रतियोगिता अवधिभर खेलाडीलाई साथ दिन पनि आग्रह गर्छन् । मानबहादुरले भने, “अब मिलेसम्म सबै खेल हेर्नेछु । प्रत्यक्ष र अप्रत्यक्ष टोलीसँग टचमा नै छु । म भलिबल समर्थकलाई टोलीलाई हौसला प्रदान गर्न आग्रह पनि गर्छु ।”

२०५२ सालमा नवलपरासिमा जन्मिएका मानबहादुरले पहिलो अन्तर्रािष्ट्रय प्रतियोगिताका रुपमा पहिलो एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप नै खेलेका थिए । नेपालको झण्डा अंकित जर्सि लगाएर बंगलादेशमा सम्पन्न पहिलो एभिसी सेन्ट्रल भलिबलबाट मानबहादुरले डेब्यू गरेका थिए । त्यसपछि निरन्तर राष्ट्रिय टोलीमा रहेका मानबहादुरलाई घरेलु मैदानमा सेन्ट्रल जोन खेल्ने सपना थियो । उनी भन्छन्, “मनमा अप्ठ्यारो लागेको छ । मैले होम ग्राउन्डमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको नै छैन । तर अझै धेरै समय बाँकी छ । अहिले नभए अर्कोपल्ट अवश्य खेल्ने मौका आउनेछ ।”

उनले मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागिता नजनाउने बताएका छन् । “राखेप च्याम्पियनसिप गरेर सागका लागि टोलीमा राख्ने कुरा पनि छ तर म अब साग पनि खेल्दिन । आर्मीको विश्व बिच भलिबल च्याम्पियनसिप हुँदैछ । म त्यसैका लागि तयार हुँदैछु । पदक ल्याउने अपेक्षा छ । गर्व पनि लागेको छ एउटा अवसर गुमाए पनि आर्मीलाई प्रतिनिधित्व गर्दै ठूलो प्रतियोगिता खेल्न पाउँदै छु,” उनले भने । 

तस्बिरः सरिता खड्का
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  ०६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC