एउटा उदास सौन्दर्य काठमाडौँको गोंगबु बसपार्कमा उभिइरहेछ । रातो साडी–चोलोमा उसको गोराइयुक्त सौन्दर्य खुलेको छ तर उदास छ । सम्भवतः एक्ली हुनाले पनि होला उसको साथमा कोही देखिँदैन । उदास अनुहारमा आँखा भने चनाखा छन् ।
एउटी रुपवती युवतीले रात्रिबसमा यात्रा गर्दा चनाखो हुनै पर्यो । दृष्टिको सजगताले अनुहारको मलीनतालाई पखाल्न सकेको छैन । उसको सामु एउटा रात्रिबस उभिएको छ, जसमा अन्य यात्रीहरू चढ्दै आ-आफ्नो सिट खोज्दैछन् । ऊ पनि बसमा उक्लिन्छे र ढोकैनेरको आफ्नो सिटमा एकछिन झ्यालतिर बस्छे र पुनः ओर्लिन्छे । काँधमा झुन्ड्याएको एयरब्याग सिटमा नराखेर काँधमा बोकेको बोक्यै ओर्लिन्छे । उसले काँधमा झुन्ड्याएको एयरब्याग अलि गह्रुंगो पतित हुन्छ । किनभने एयरब्यागको फित्ता उसको मांसल काँधमा किञ्चित गाडिएको छ । उसले आफ्नो एयरब्याग सिटमा सहयात्रीको जिम्मा नछोड्नुको अर्थ हो- त्यसमा कि त आफ्नो मनपर्ने साह्रै मूल्यवान वस्तु छ, कि त ऊ यात्रामा कसैको पनि विश्वास गरिहाल्नु हुँदैन भन्ने विचारले प्रेरित छे । यो रामो कुरा पनि हो । ऊ बसबाट ओर्लिएर सजगताका साथ बस वरिपरि चनाखो दृष्टिले हेर्न थाल्छे । सम्भवतः कोही आउँदै पो छ कि ? तर, बस हिँडुन्जेलसम्म कोही पनि आउँदैन ।
ऊ आफ्नो अधवैंशे सहयात्रीतिर पुलुक्क हेरेर झ्यालतिरको आफ्नो सिटमा बस्छे । अन्ततः साढे ६ बजे बस काठमाडौँ गोंगबु बसपार्कबाट हिँड्छ । अधवैंशे सहयात्रीले देख्छ– उदास र मलीन अनुहार भएकी रूपवती केटी उसको छेउमा बसेकी छे । गोरो र भरिलो जिउडालमा रातो पहिरन सुहाएको छ । गलामा सुनको लकेटयुक्त चेन, कानमा टप र दाहिने हातको औंलामा सुनकै औंठी छ । सिटतल लत्रिएको गोडामा रातो हाइहिल जुत्ता छ । यसप्रकार मध्यमवर्गीय पहिरन र शृंगारमा सज्जित भएर सहयात्रीतिर होइन, बसबाहिर हेरिरहेकी छे । अधवैंशे सहयात्रीलाई चाहिँ सबै कुरा त्यस युवतीमा सुसज्जित भए पनि एउटा कुरा नमिलेझैं लागिरहेछ । त्यो के भने उसले एयरब्यागलाई तल आफ्नो गोडानेर राख्नुसट्टा काखमा लिएकी छे । त्यस अधवैंशेले ठट्यौलो पारामा सोच्यो, आजकाल मनीब्यागको सट्टा एयरब्याग काँधमा झुन्ड्याउने र काखमा राख्ने फेसन आएछ क्यारे !
लामो यात्रा, सुन्दर युवतीको सान्निध्य, रातमा परिणत हुँदै गएको सन्ध्याले त्यस अधवैंशेलाई युवा र वाचाल बनायो ।
"आफ्नो एयरब्यागलाई तलै राख्नुस् न, ठाउँ छ ।"
केही जवाफ आएन ।
"यसमा हीरा–मोती पक्कै पनि नहोला बरु तपाईंलाई सारै मनपर्ने कुनै वस्तु होला, हगी ?"
केही जवाफ आएन ।
उदास युवती झ्यालबाहिर नै हेरिरहेकी थिई । उसले युवतीलाई आफूतिर आकर्षित गर्न उसको काखबाट एयरब्याग टिपेर तल खुट्टानेर राखिदियो । ब्याग किञ्चित गह्रुंगो नै रहेछ । "ल, अब सजिलोसित बस्नुस् ।"
अधवैंशेले सहानुभूति देखायो । यस्तो बलात् सहानुभूतिले ऊ झस्किई । आशंकामिश्रित दृष्टिले कहिले अधवैंशेतिर र कहिले तल खुट्टानेर राखिएको ब्यागतिर हेर्न थाली । तर, उसले ब्याग पुनः आफ्नो काखमा राखिन बरु असजिलो अनुभव गर्दै घरिघरि ब्याग र अधवैंशेतिर हेर्दै रही । सहयात्री अधवैंशेचाहिँ आनन्दित भएर उसको चालामाला हेर्दै थियो । उसलाई थाहा छ, आजको रात यसै युवतीको संगतमा बित्नेछ । अतः उसले परिचय गर्ने अठोटले सोध्यो, "कहाँसम्म जानु हुन्छ ?"
"विराटनगर," मधुरो, अस्पष्ट र भयभित स्वरमा यसपटक जवाफ आयो ।
"म पनि विराटनगर जाँदैछु । विराटनगर कहाँ जानुहुन्छ ?"
केही जवाफ आएन । अनि त त्यस अधवैंशे सहयात्रीले परिचय बढाउन असंख्य प्रश्नहरू गर्यो तर कुनै प्रश्नको पनि जवाफ आएन । बरु उसले कति बेला हो, खुट्टानेरको एयरब्याग टिपेर आफ्नो काखमा राखिसकेकी रहिछे । एकोहोरो प्रश्न गर्दागर्दा त्यो सहयात्री अधवैंशे सिटमा ढल्कियो । अन्तिम पटक सिटमा ढल्किएर उसले प्रश्न गर्यो, "तपाईंको शुभनाम ?"
पुनः केही जवाफ आएन बरु मुग्लिङ आइपुग्यो । साढे १० बजेतिर मुग्लिङ बस पुगेपछि सबै यात्रीहरू खाना खान ओर्लिए । तर, ऊ आफ्नो एयरब्याग काखमा राखेर सिटमा बसिराखी ।
सहयात्रीले उसलाई खान जाऊँ भनेर कर गरेन । आफ्ना प्रश्नहरूको उत्तरहीनताले ऊ वितृष्ण भइसकेको थियो ।
मुग्लिङमा सिमसिम पानी पर्दैछ । पहाडी क्षेत्रमा मनसुन सुरु भइसकेकाले काला काला बादलहरू मुग्लिङवरपरका टाकुराभन्दा तलतल ओर्लिसकेका छन् । तर, तराई क्षेत्रमा अझै मनसुन ओर्लिसकेको छैन ।
रातिको ११ बज्यो । मुग्लिङको झिलिमिलीमा बसहरूको ओहोरदोहोर चलिरहेछ । यो बस पनि विराटनगरतिर हानिन अधैर्यतापूर्वक कराउन थाल्यो । सबै यात्रीहरू बसमा बसे । कन्डक्टरले एउटा सिट खाली देखेर चिच्यायो, "गुरुजी, पखनुस् ! एउटा पेसिन्जर आएन ।"
यसैबेला अधवैंशे सहयात्रीले देख्यो, उसको छेउको सिटमा आफ्नो काखमा एयरब्याग राखेकी युवती थिइन । बरु सिट तल एयरब्याग भने थियो । एक छिनपछि कताकता रुझ्दै खलासी आइपुग्यो, "भेटिएन गुरुजी, वरपर कुनै होटेलमा भेटिएन ।"
"पेसिन्जरको सामान यैं छ, जा खोज ।"
कन्डक्टर करायो, "काँ खोज्नु हउ ?"
१०, १५, २०, ३० तीस अर्थात आधा घण्टा बित्यो । त्यो युवती आइन । यात्रीहरू कराउन थाले । बस अन्ततः मुग्लिङ छोडेर नारायणघाटतिर हिँड्यो । अघि युवतीसँग बसेको अधवैंशे सहयात्रीले उसको उदास र सुन्दर अनुहार सम्झ्यो । पफ लगाएर निधारमा झारेको कपाल पनि सम्झ्यो अनि अझै सम्झ्यो, पक्कै भागेर माइती जान लागेकी चेली होली, यो एयरब्याग गहकिलै हुनुपर्छ । उसले ब्याग आफ्नो कब्जामा लियो ।
"हुँदैन, हुँदैन ए मिस्टर ! हामीले बुझाउनुपर्छ ।"
"त्यो मैले चिनेकी केटी हो । विराटनगरमा मेरै छिमेकी हो । म उसकै घरमा लगेर बुझाइदिन्छु ।"
"हुँदैन, हुँदैन," भनेर कन्डक्टरले ब्याग ऊबाट लियो । नारायणघाट पुगुन्जेलसम्म कन्डक्टर र त्यस अधवैंशे यात्रीको वादविवाद चर्काचर्कीसम्म पुगिसकेको थियो ।
उता, मुग्लिङमा सिमसिम पानी परिरहेथ्यो । बुटवलतिरबाट मुग्लिङ आइपुगेको र अहिले काठमाडौँतिर हिँड्ने तरखर गरिरहेको बसको खलासी ढोकामा उभिएर गाउँदैथ्यो, "सिमसिमे पानीमा ज्यानले माया मार्छ कि जिन्दगानीमा ।"
रातो साडी चोलो लगाएकी, मलिन अनुहार भएकी, उदास सौन्दर्यले त्यस बसको खलासीलाई सोधी, "काठमाडौँका लागि सिट छ ?"
खलासीले ट्वाँ परेर नियालेर हेर्यो र मनमनै र्याल चुहाउँदै भन्यो , "छ, छ सिट छ । म मिलाउँछु, झ्यालनिरै ।"
खलासीले देखाएको सिटमा गएर ऊ बसी । बस काठमाडौँतिर हिँड्यो ।
यता, नारायणघाटमा झलमल्ल तारा देखिएका छन् । एयरब्यागका लागि अधवैंशे र कन्डक्टरको झगडाले गर्दा बस नारायणघाटको पुलचोकमा अड्यो । संयोगवश गस्तीमा हिँडेका उपनिरीक्षक तीन जना प्रहरीसाथ त्यहीँ आइपुगे । कन्डक्टरले एयरब्याग प्रहरीको जिम्मा लगायो । निरीक्षणका लागि बसका यात्रीसामु एयरब्याग खोलियो । त्यसबाट फलाटिनको बाक्लो लुगाले बेरिएको नवजात तर मृत शिशु निस्कियो । मृत शिशुको घाँटी नीलो थियो । प्रहरीहरू बसमा चढे । अब प्रहरी उपनिरीक्षकको आदेशमा बस प्रहरी कार्यालयतिर जाँदैछ ।
उता, मलेखुनेर बुटवलबाट काठमाडौँ जाने बस झमझम पानीमा भिज्दै कुदिरहेथ्यो । उदास र मलीन सौन्दर्य मनसुनको बादलझैं अँध्यारिएको थियो । झ्यालनेर बसेकी ऊ झ्यालमा थाप्लो टसाएर मन, प्राण, आत्मादेखि नै झमझम बर्सिरहेकी थिई । मलेखु भिजिरहेथ्यो, काठमाडौँ जाने बस भिजिरहेथ्यो, बाहिरको अन्धकार र भित्रको खडेरी भिजिरहेथ्यो । खोलानाला उर्लिरहेका थिए । ऊ भविष्यको बाढीमा बगिरहेकी थिई । साथको सहयात्री फ्ँवाफ्ँवा निदाइरहेको थियो । उसले यति सोच्न भ्याएकी थिई– फोहोरमैला फ्ँयाक्ने त्यत्रो ठूलो काठमाडौँ खाल्डोमा उसले आफ्नो एयरब्याग किन फ्याँक्न सकिन ? बरु आफूलाई भने फेरि त्यही काठमाडौँ खाल्टोमा फ्याँक्न भनेर लगिरहेकी थिई । सहयात्री पुरुष जीवनको होस् अथवा जगतको कार्यसमाप्तिपश्चात फ्वाँफवाँ निदाइरहेको थियो । ऊ भने कार्यसमाप्तिपश्चात् बिउँझिरहेकी थिई, रोइरहेकी थिई ।
(साभार : कथाकार ब्राजाकीको कथासंग्रह 'अन्नापूर्णको भोज'बाट)