शम्भु सुस्केरा
दिउँसो करिब एक बजेतिर अफिसकै कुर्सीमा बसेर पढेको हुँ त्यो समाचार । एउटा सानो समाचारले यति बिक्षिप्त बनाउनेरहेछ मन र विवेक दुवै ।
रन्थनिएँ एक्लै ।
आफैंप्रति दिङमिङ लाग्यो ।
सुरुमा एउटा अनलाइनमा आएको समाचार क्रमैसँग सबै अनलाइनमा छ्यासछ्यास्ती आए ।
र, अफिसका हरेक चेम्बरमा पढिए ।
समाचारजस्तै प्रतिक्रिया पनि फैलिँदै थियो । विशेषगरी महिला स्टाफबीच ।
‘त्यसको त च्वाट्ट फेदैमा काटिदिनुपर्ने ।’
‘काँ काट्नुमात्रै कुकुरलाई खान दिनुपर्ने, फेरि जोड्न नपाओस् न !’
‘त्यसको घाउमा नुनखुर्सानी दलिदिनुपर्ने, मार हानेको खसीमा तेल बेसार दलेजस्तो ।’
तिनका बचन सीधै मेरो मुटुमा प्रहार भएझैं लाग्यो । दुखाइको पीडासँगै लज्जाबोध पनि भयो ।
मेरो छेवैको चेम्बरका सहकर्मी रोदन थापा मतिर आँखा सन्काउँदै मुसुमुसु हाँसिरहेका थिए । मैले तिनलाई कुनै प्रतिक्रिया दिन सकिनँ । मानौं समाचारमा आएको खलपात्र म नै हुँ ।
अफिसमा हुने राजनीति, योगनीति, खानपाननीति, सन्ताननीति जेमा जतिबेला बहस सुरु होस् सरिक भैहाल्थेँ म । तर आज महिला कर्मचारी साथीहरुको समाचारको बहसमा सहभागी हुने आँट आएन । सुनेको नसुन्यै चुपचाप आफ्नै चेम्बरमा बसिरहेँ ।
समाचार बिर्सिएर आफैमा हराउने असफल प्रयास गरिरहेँ । हातमा काम पनि आइरहेको थिएन । फेसबुक लगअन गरेँ । त्यही समाचारको लिङ्क र अनेक भल्गर कमेन्ट थिए असरल्लै ।
फेरि समाचार क्लिक गरेँ, दोहो¥याउने आँट आएन ।
सकेसम्म कम मान्छेले पढून यो समाचार, कम्तीमा मेरी छोरीले चाहिँ नपढोस् । कामना गरेँ मनमनै ।
छोरी शासना र श्रीमती अनुश्रिया दुवैको फेसबुकको पासवर्ड मसँग थियो । मेरो पनि उनीहरुसँग छ । तिनले मेरो, मैले तिनको फेसबुक, ट्विटर एकापसमा हेर्नसक्दा आफू पनि मर्यादित हुने उनीहरुसमेत सुरक्षित हुने विश्वास थियो हाम्रो ।
पहिले शासनाको फेसबुक, ट्विटर दुवै अकाउन्ट लगअन गरेँ । उनकोमा आएका समाचारको लिङ्क सबै हटाइदिएँ । र, मेरोबाट पनि हटाएँ ।
अलिकति शान्ति मिल्यो ।
त्यसपछि अनुश्रियाको सामाजिक सञ्जाल खोलेर गोडमेल गरेँ शासनाको जस्तै ।
तैपनि काममा मन गएन । निस्किएँ अफिसबाट । निस्किँदा सबैले मैलाई हेरिहेका छन् जस्तो लाग्यो ।
छोरो सक्षम नाटकको अभिनेता भैखाको छ, घर बस्ने फुर्सद हुँदैन उसलाई । त्यही सिलसिलामा दार्चुला गएको छ, छाउपडीबिरुद्धको चेतना बोकेर ।
‘सक्षम बेटा पहिले काठमाडौंका शिक्षितहरुका मनबाट छाउपडी हटाऊ त्यसपछि उताको क्रमशः हट्छ ।’ जानुअघि मैले भनेको थिएँ ।
‘नबुझ्नेलाई बुझाउन सजिलो छ बढी बुझेकाहरुलाई अलि कठिन हुँदोरहेछ बाबा । तैपनि हामी काठमाडौंलाई पनि ब्युँझाउँछौं ।’ मेरो मन राख्न यति भनेर हिँड्यो ।
उसकी ममी अनुश्रिया पोखरा गएकी छन् । स्थानीय तहको बजेट र योजना निर्माणका लागि प्रशिक्षण प्रदान गर्ने रे ।
‘यी एनवीओले सिकाउन कसैलाई छोड्दैनन्, क्षमता कसैलाई दिँदैनन् । माछा मार्ने जाल दिनुको सट्टा खाने थालमात्रै दिन्छन् ।’ यसो भन्दै हिँडेकी आइपुगेकी छैनन् ।
त्यसैले म एक्लै हुनेवाला छु घरमा । छोरी शासनाको नजरबाट तर्किन र गिर्नबाट बचाउने कोही हुने छैन मसँग गफिने ।
बाटोभरि यही डर खेलिरह्यो मनमा ।
शासना कलेजबाट आएकै रैनछिन् । उनी आइनपुग्दा सधैं अशान्त हुन्थ्यो मन । किन आइनन् ? छिटै आइदिए हुुने, औडाहा हुन्थ्यो ।
मन उही, छोरी उही, उसको आगमन नहुँदा आजचाहिँ टाउको र छातीमा अनौठो शीतल भइरहेको छ ।
घर पुगेर टेबलमा फ्यात्त फालेँ झोला । बाथरुमसम्म जान मन लागेन । सिटिङरुमको सानो पुस्तक ¥याकबाट बिनाछनौट फुत्त एउटा निकालेँ । डा. राजु अधिकारीको ‘जिन्दगी रिल्याक्स प्लिज’ नामको किताब परेछ ।
पुस्तकमा मन त थिएन, तर पाना पल्टाइरहेको थिएँ ।
घ¥याक्क ढोका ठेलेको आवाज आयो । आधा ढप्किएको ढोका ठेल्दै देखिइन् शासना । सधैं मायालु लाग्ने उनलाई महाकालीजस्ती डरलाग्दी देखेँ आज । ढक्क मुटु फुल्यो ।
‘बाबा आज पनि तपाईं एक्लै ?’
बाबा ममी एकसाथ घरमा भइदिए हुन्थ्यो भन्ने लागेको थियो होला । ममी नदेखेर दिक्क मानेकी थिइन् । एकछिन केही बोलिनँ म, अकमक्क भएँ ।
‘किन तिम्रो बाबासँग एक्लै बस्न डर लाग्छ बेटा ।’ झण्डै यसो भनेछु । धन्न रोकिएँ । मेरो वक् नफुटेपछि मेरो छेउमा आएर बस्दै लाडिइन्– बाबा ममी कहिले आउने ?
सायद ममी आइसकी, माथि छततिर छे भन्ने जवाफको अपेक्षामा थियो कि । त्यसैले निराश भएकी थिइन् ।
छोरो आमाको, छोरी बाबाको रे । देखिन्छ पनि त्यस्तै निकटता । सक्षमभन्दा शासना नै नजिकिन्छिन् मसँग । त्यसैले होला उनले व्यक्त नगरे पनि उनको मनका सानातिना प्रतिक्रियासमेत अनुमान लगाउन सक्छु म ।
आज त्यही छोरीबाट भय पैदा भइरहको छ ।
‘बाबा ! बोल्नु न किन बोलिसिन्न ममी कहिले आउने हो ?’ मेरो पाखुरामा समातेर झट्कार्दै च्याँठिइन्् फेरि ।
‘एक हप्ताका लागि गकी होइन तिमरकी ममी ? चारै दिनमा काँ आउँछिन् त, तिमीलाई पनि भनेरै गकी हो ।’ मैले स्मरण गराएँ ।
‘कत्ति पढ्नु छ के बाबा, प्रोजेक्टवर्क पनि पूरा गर्नुछ । ममीलाई पनि यतिबेलै बाहिर जानुपर्ने ।’ सिलिङतिर निराश आँखा नचाउँदै बोलिन् ।
‘तिम्रो ममीको जागिरै त्यस्तै छ, बाहिर हिँडिरहनुपर्ने । तिमीलाई थाहै छ मेरो मात्र जागिरले पुग्दैन । मेरोभन्दा उनकै कमाइ बढी छ । नत्र तिम्रो ममीलाई जागिर छोड भन्थेँ नि ।’
अरु दिन यसरी मेरो निकट आएर बसेकी शासनाको टाउको मुसार्दै हुन्थे मेरा हात । मेरो काँधमा हात राखेर लेपासिन्थिन् उनी पनि । आज अञ्जानजस्तै भएर बोलिरहेको छु म ।
उनी पनि बाबासँग टाँसिएकी छैनन्, नजिकमात्रै छिन् ।
‘ह्या बाबा सब बुझ्छु के म । ममीलाई पनि आफ्नो जागिरले आर्थिक स्वतन्त्रता मिलेको छ । मैले पनि खर्च पाएकी छु । तर केही दिन मैले हजुरलाई खाना पकाएर खुवाउन नपाउने भएँ क्या ।’ कूटनीतिक रुपमा कुरा खोलिन् उनले ।
‘तिमी पढ न म पकाइहाल्छु नि नाथे खाना त । बरु भाँडाचाहिँ तिमीले माझ्नुपर्छ, म भ्याउँदिनँ ।’ छोरीको प्रस्तावमाथि समर्थन र प्रस्ताव एकसाथ राखेँ मैले ।
‘माइ डियर बाबा ।’ भन्दै च्वाप्प मेरा गालामा म्वाइ खाइन् र उठेर बाथरुमतिर छिरिन् ।
छोरीले सधैं यसैगरी बाबालाई दिने लाडे प्रेममा अथाह खुसी र शान्ति मिल्थ्यो । र, मैले पनि उसलाई उस्तै फर्काउथेँँ । तर आज पीडाबोध भयो । बाबा–छोरीमा साटासाट हुने चोखो र मीठो माया आज छातीमा तीर लागेजस्तो भयो ।
उनी फ्रेस भएर आफ्नो कोठामा छिरिन्, म भान्सामा ।
न्युटे«ला र आलुको तरकारी गजज्ज पाक्दै गर्दा विगतका अनुभवहरु दिमागमा सलबलाउन थाले । म भान्से हुँदा घरिघरि भान्सामा छिर्थिन्, अचार, तरकारी मात्रै होइन दालसमेत चाख्थिन् उनी । आहा क्या मीठो, मेरो बाबा दामी कुक, भनेर फुक्र्याउँथिन् ।
मक्ख हुन्थेँ म पनि ।
शासना भान्से भएको बेला पैंचो तिर्थें म । आफूलाई मन पर्ने तरकारी बाबाले चाखेरै सकिदिन्छ भनेर लुकाउँथिन् । म भेटिछाड्थेँ । उनी रोएको नाटक गर्थिन् । म उनलाई पनि कोच्याइदिन्थेँ ।
तर आज त चाख्न पनि आइनन् । पक्कै मेरी छोरी मसँग डराएकी हुन् ? उही संशय बिझ्यो मनमा ।
पर सरेकी पो हुन् कि ? हुन त मैले आमा–छोरीलाई नै सम्झाएको छु तिमरको मासिक धर्म भनेको अछुत हुनु होइन, नियमित शारीरिक क्रियामात्रै हो । मेरा लागि बार्नु पर्दैन ।
अरुलाई रुढिवादविरुद्ध र आधुनिकताको पक्षमा पढाइहिँड्ने अनुश्रिया मेरा कुरा मान्दिनन् । आफू महिनावारी बार्छिन् र छोरीलाई पनि बाध्य पार्छिन् । तर आज त ममीको डर थिएन उनलाई ।
शङ्काको तह अकासियो मेरो ।
खाना पाक्यो । खान बोलाउनुप¥यो भनेर उनको कोठातिर गएँ । ढोका ढप्क्याएको थियो । जहिल्यै ढोका खुल्ला गरेर बस्थिन्, आज किन बन्द ? पक्कै मबाट असुरक्षा महसुस गरिरहेकी छन् । म ढोका खोलेर भित्र छिर्दा डरले चिच्याइन् भने ?
ढोका ढकढक्याउने आँट आएन । ‘शासना ! आऊ खाना खान ।’ परैबाट बोलाएँ ।
‘कस्तो अल्छीलाग्दो गरी खानुभको के बाबा ।’ किच्च हाँस्दै यसो भनिन् खाना खाँदैगर्दा । दिउँसोको समाचारको असर मनभरि रहेछ त्यही बिम्बित भएको हो मेरो अनुहारमा । उनले पनि देखिन् ।
मैले उनको सामाजिक सञ्जालबाट हटाउनुअघि नै उनले पनि त्यो समाचार पढिछन् । र, त मलाई खिस्याएकी हुन् ।
‘चुपचाप खाना खा’ रिसले यसो भन्न मन थियो । तर आजसम्म कहिल्यै यसरी गाली गरेको छैन, मैले यसो भनेँ भने पक्कै रुनेछिन् ।
‘तिम्रा बाबालाई आफूले पकाको खाना आफैंलाई मन पर्दैन भन्ने थाछैन लाटी ।’ संयम हुँदै आफ्नै पुरानो र तयारी जवाफ दिएँ ।
‘ह्या बाबा घुमाइफिराइ छोरीले नै खाना पकाओस् भनेजस्तो गर्नुहुन्छ ।’ उनले अर्कै अर्थ लगाएर रिसाउँदा पो सान्त्वना मिलेजस्तो भयो ।
‘ए मुसी ! ममी नआउजेल मै पकाउँछु । तिमी राम्रोसँग पढ, धेरै मोबाइलचाहिँ नखेलाऊ ।’ आदेशात्मक प्रेम बोलेँ मैले ।
उनी खुसी भइन्, उनको खुसीमा मेरो आनन्द अङ्कुरायो ।
सधैं झैं बिहान पाँचैबजे निद्राले छोड्यो । अनुश्रियाबिना एक्लै निन्द्राबाट ब्युँझिनुपर्दा निरश लाग्छ बिहानी । आज पनि उस्तै एक्लोपन र उराठ महसुस भयो । टेबलको मोबाइल तानेर डायल गरेँ ।
‘गुडमर्निङ शासनाका बाबा ।’ निद्राबाटै लेघ्रो तानिन् अनुश्रियाले ।
एकछिन लाडप्यारे गफ भए । एक्लोपनका कुरा भए । र, उनैले गफको मैझारो गर्दै भनिन् । ‘आज म दुर्गम गाउँतिर हुन्छु फोन नलाग्न सक्छ है, समयमा खानु, छोरीको ख्याल गर्नु ।’
आदेश पनि थियो बिटमराइमा ।
‘हस्, हजुरको जो मर्जी ।’ मैले आदेश स्वीकारेँ ।
फोन काटेपछि पो झसङ्ग भएँ । किन छोरीको ख्याल गर्नु भनिन् आज ? अरुबेला मैले छोरीको ख्याल गर भन्दा के ख्याल गर्नु, हुर्केकी छोरीले आफ्नो सुरक्षा आफैं गर्छे । धेरै उसको पछि लाग्यो भने कमजोर हुन्छे, आफू बलियो हुन पाउँदिन भन्थिन् ।
यिनले पनि हिजोको समाचार पढिछन् । समाचारको असर मैप्रतिको विश्वासमा गएर ठोक्कियो ।
मप्रति कि बाबुप्रति ?
म र बाबु भन्नु उस्तै र उही हो । मेरो निष्कर्ष ।
ओहो पत्रिका आइसक्यो होला । शासनाले पढ्नुअघि नै लुकाउँछु । यही कामना गरेर बाहिर निस्केँ । पत्रिका आएको थिएन ।
हतपत्त नुहाएर फेरि बाहिर आएँ, बार्दलिमा पत्रिका देखिएन । ढुक्क भएर सिटिङरुमतिर छिर्दैथिएँ गलैंचामा घोप्टो परेर पत्रिका पढिरहेकी शासनालाई देखेँ ।
‘पुरानो पत्रिका किन पढेकी छोरी ?’ मैले सोधेँ ।
‘आजको हो बाबा भरखरै आको ।’
बाथरुम छिरेर कुरो बिग्रिएछ । पश्चात्ताप भो ।
‘आज बाबालाई गुडमर्निङ बाबा किन नभनेकी ? हिजो–अस्ति त भनेकी हो ?’ फेरि सुरु भयो शङ्काको पहाड चुलिन ।
सरक्कै उनको छेउ गएर हेरेँ ।
‘ललितपुरमा आफ्नै बाबुद्वारा छोरी बलात्कृत’
पहिलो पेजमै थियो हिजोजस्तै, हिजोकै समाचार । उनका आँखा त्यही समाचारमा थिए । सायद हिजो यिनले पढेकी थिइनन् । आज मेरै असावधानीका कारण पढिन् ।
आफैंदेखि रिसाएर फरक्क फर्किन लागेको थिएँ ‘यी बाबा, मैले पढिसकेँ ’ भनेर हातमा दिइन् ।
पत्रिका समातेर कोठातिर छिरेँ म ।
हिजो त्यही समाचार पढेर यति धेरै यातना महसुस गरिरहको छु । फेरि त्यसैमा गयो मन ।
सूचना, शिक्षा र चेतनाको भण्डार मानिने, देशको राजधानीमा बस्ने एउटा अधिकृतले कसरी आफ्नै छोरीमाथि ...?
‘बुटवलमा आफ्नै बालिका छोरीमाथि....,काभ्रेमा हजुरबा र बाले पनि...., कति सुनिरहनु यस्ता समाचार ? अब त सुन्नु नपरोस् भन्दाभन्दै फेरि पढेलेखेको, राज्यको नुन खाएर बाँचिरहेको एउटा सरकारी बाबुले आफ्नै हुर्केकी छोरीमाथि...?’
बलात्कृत हुने वार्षिक तथ्याङ्कमा– ६४ प्रतिशत १८ वर्षमुनिका बालबालिका छन् र ६४ प्रतिशत बालबालिका चिनेजानेका र आफ्नैबाट बलात्कृत भएका छन् । प्रहरीको वार्षिक तथ्याङ्कको स्रोत खुलाएर आएको यस्तो समाचार पढेको थिएँ केही दिनअघि ।
घर र स्कुलबाटै छोरीहरु असुरक्षित भएकोमा आफ्नै छोरी सम्झेर मुटु चस्केको थियो ।
फेरि आज अर्की एउटी १८ वर्षे छोरी आफ्नै बाबुबाट बलात्कृत भएको समाचारले आत्मग्लानि भयो । हरेक बाबुहरुलाई छोरीहरुले कालो मोसो दलेर जुत्ताको मालासहित सहर घुमाएको झल्को आइरह्यो आँखामा ।
आप्mनै १८ वर्षकी छोरीलाई कसरी...? के ठानेर त्यसो गर्न सक्यो होला ?
विदेशमा त बाबु–छोरीबीच पनि यस्तो सम्बन्ध हुन्छ रे भनीभनी..., अनि धम्क्याएर...,
आफ्नै बाबुले आफूलाई श्रीमती बनाउँदा कस्तो ठानी त्यो छोरीले ? के भइरह्यो होला उसको मनमा, पटकपटक आफ्नै बाबुले कालो कोठाभित्र धकेलेर गिजोल्दा ?
आफूले जन्माएकी छोरीलाई आफ्नै पोइले त्यस्तो व्यवहार गरेको थाहा पाएर पनि कसरी स्वीकारिन् त्यसैलाई पोइको रुपमा ती आमाले ? किन दोस्रोपटक आफ्नी छोरीलाई आफ्नै बाबुबाट बचाइनन् ?
छोरीले आँट गरेर आमालाई सुनाएकैै रात किन त्यो लोग्ने भनौदाको...काटिदिन सकिनन् च्वाट्टै ? त्यति गरेर पुलिसकहाँ गएकी भए छोरीको सुरक्षामा आमाको बहादुरी देखिन्थ्यो । सजायँ पनि कम हुनेथियो । छोरीको सुरक्षाका खातिर जेल बस्न डराउने पनि आमा कहलिन्छे ? जेल बस्नुमा पनि मजा आउँथ्यो बरु ?
संसारमा पूजित आमा बन्ने थिइन् तिनी ।
कैयौं अपराधीलाई कैद मिनाहा गरेको सरकारले अर्को गणतन्त्र दिवसका दिन छोड्थ्यो होला नि !
आमाले पनि आफूलाई नसुनेपछि निर्वाधरुपमा आफूमाथि चढ्न आएको आफ्नै बाबुको अण्डकोषमा घुँडाको प्रहारले ठहरै पारेकी भए अनुसन्धान गर्ने प्रहरी पनि खुसी हुनेथियो सायद ।
तर एक वर्षदेखि कसरी खपेर बस्न सकेकी !
‘बाबा चिया ।’ शासना दुईकप चिया थालमा राखेर आएकी थिइन् । म झस्किएँ उनको आवाजले । पुलुक्क उनको अनुहार हेरेँ । हे भगवान् यस्ता आफ्ना छोरीलाई कसरी...? मनमा फुत्त यही कुरा आयो । उनको अनुहारमा हेरिरहन सकिनँ र चियाको गिलासतिरै घोसिएर आफ्नो कप तानेँ ।
‘चियामात्रै हो नि खाना त हजुरले आफैं पकाउनुपर्छ ।’ उनी अझै डराएकी थिइन् बाबाले भात पकाउन लगाउँछ कि भनेर ।
उनी चाँडै गइदिए हुन्थ्योजस्तो लागिरहेको थियो मलाई ।
‘मैले हिजै भनिसकेको छु त कति किचकिच गरेकी ?’ म अलि रिसाएजस्तो गरेँ । थ्याङ्क्यु डियर बाब्स् भन्दै आफ्नो कप चिया लिएर गइन् ।
आफ्नै भारी मन उचालीरहेँ म । के मेरी छोरी मसँग विश्वस्त रहन सक्छे, उसले भरोसा गर्न सक्छे बाबुलाई ?
के नेपालका सबै छोरीहरुले आफ्नो बाबुलाई बाबुका रुपमा मात्रै विश्वास गर्छन् कि अरु थोक पनि ।
बाबु देवता बढी कि राक्षस ?
उनीहरुको यो हेराइ नै आफ्नो सुरक्षा कवच हुन सक्छ ?
प्रश्नमाथि प्रश्न बनेर खस्न थाले मेरो टाउको माथि ।
छोरीको सुरक्षाको वर्तमान त बाँकी रहेन नै । भविष्य पनि अझ अँध्यारो त हुँदैछैन ?
हरेक छोरीको आफ्नो रक्षक अब उनी आफूमात्र हुन् ?
मनभरि प्रश्नहरुको पैह्रो गइरह्यो ।
सबै बाबुमाथि कुनै एक बाबुले लगाएको यो कालो दाग कसरी मेटिएला ?
अब कहिल्यै यस्ता समाचार लख्नु र पढ्नु परेन भने खाटा बस्लान् यस्ता घाउहरु ? यही चोटलाई अन्तिम बनाउन सकिँदैन ?
तर कसरी ?
आफ्नै बाबुले गिद्दे नजरको आक्रमणबाट बच्न खुब अनुनय गरेकी थिइन् रे । आफ्नै बाबुले आफूलाई थिचेर भित्री वस्त्र खोल्दै गर्दा बाबा म तपाईंकी छोरी हँु भनेर डाँको छोडेर रोएकी थिइन् रे !
त्यसपछि कसरी आँखा जुधायो छोरीसँग ।
आफ्नै बाबुप्रतिको घिन कसरी सामना गरी त्यो छोरीले एक वर्षसम्म ?
ती बलात्कृत छोरीका पीडाहरु मनमा झुत्ती खेलिरहँदा आँखाहरु बगिरहे मेरा ।
बलात्कृत ती छोरीको अगाध माया लागेर आयो । तिनलाई काखमा लिएर अनुहारभरि चुम्बन गर्न मनलाग्यो ।
उनी थिइनन् तर मेरी छोरी शासना त थिइन् नि मेरो निकट ।
सङ्कोचले उनको छेउमा जान सकिनँ ।
‘बाबा खाना पकाउन ढिलो भएन ? अफिसले जाँच लिन्छ कि क्या हो अखबारको ।’ यसो भनेर खित्का छाड्दै बाथरुम छिरिन् शासना ।
हतारहतार आँखा पुछेँ र बोलेँ– घडी हेरिरहको छु चिन्ता नलेऊ ।
.....
शासना कलेजबाट आउने बेला भएको थिएन । भरखरै अफिसबाट फर्केर आँखा चिम्म गरेर पलङमा पल्टेको थिएँ म । अनुश्रियाको पदचापको झल्को आयो । नभन्दै भित्र छिरिन् उनी ।
फ्यात्त झोला फालेर मसँगै ढेपिन आइन् । एक हप्तापछिको भेटमा पनि मुस्कुराउन सकिन म । बरु डाँको छोडेर रोउँझैं भयो ।
‘मेरो अनपेक्षित मौनता देखर अचम्मित उनले निकैबेर मतिर हेरिन् र बोलिन् ‘छीः म हिँडेपछि दारी काटेजस्तो पनि छैन । के भो ? दुब्लाएको जस्तो देख्छु ?’
कतै कुटाइ खाएर आएको सानो नानीझैं उनको काखमा टाउको राखेर घुक्कघुक्क गर्न थालेँछु म ।
छक्क, स्तब्ध र अन्योलमा परिन् होला मेरो व्यवहारले । उनको मुटुको चाल र स्वासप्रश्वास तीव्र गतिमा चलिरहेको थियो । पहिलोपल्ट आफ्नो लोग्ने यसरी रोएको देखेर पक्कै चिन्तित र त्रसित बनायो नै ।
आफ्नो काखबाट मेरो टाउको उठाउँदै सोधिन्– बाबा के गर्नुभको यस्तो ? के भयो ? काँपेको थियो उनको स्वर ।
कतै छोराछोरीमाथि केही विपत्ति आइलाग्यो कि भन्ने आशङ्का थियो उनको अनुहारमा । उनका आँखाका आकार ठूला भएका थिए ।
‘तिमी आयौ, हाम्री छोरी सुरक्षित भई अब ।’ अनायास यसो भनेँ मैले ।
‘बाबा ! के भनेको यस्तो ।’ झन् त्रसित भइन्् उनी ।
‘समाचार पढेकी छैनौ र ? अब कुन छोरीले आफ्नो बाबुप्रति भरोसा गर्न सक्छन् ?’ यसो भन्दा पटकपटक घाँटीमा अड्किए मेरा शब्दहरु ।
‘छोरीका लागि बाबु प्रेमको सागर हो, सहाराको धरोहर हो, सुरक्षाको सबैभन्दा बलियो कवच हो ।’ मेरा आँखा पुछिदिँदै एउटा कविले झैं बरबराइन् । यसबेला उनका ओठमा मुस्कान थियो सायद छोरीछारीप्रतिको डर हराएको थियो ।
‘तिमी गलत छैनौ अनुश्रिया । तर ती बाबुहरुले नै बाबुप्रतिको विद्यमान सम्बन्धको बलियो विश्वास भत्काइदिए । तहसनहस भएको बाबु–छोरीबीचको यो विश्वास कसरी जोडिन्छ, कसले जोड्छ यसलाई अब...?’ लामो सास फेरेर बोलेँ म ।
‘हरेक बाबु आफैंले । आफ्नो व्यवहार र प्रेमले ।’
सकेसम्म मलाई आश्वस्त पार्ने प्रयासमा थिइन् उनी । म आश्वस्त हुन सकिरहेको थिइनँ ।
‘सुरक्षा बाहिर देखिने कुरा होइन अनु । महसुस गर्ने कुरा हो । यस्ता घटनाले कुनै छोरीलाई सुरक्षा महसुस गर्न देला र...?’
बोल्दै गर्दा आँसु मुछिएका मेरा चिम्रा आँखा अनायास ढोकातिर ठोक्किए । शासना कतिखेरदेखि ढोकैमा उभिएकी रहिछन्् । उनका आँखामा पनि आँसु थियो । बाबु–छोरीका आँखा चार हुनासाथ उनी दौडेर आइन् र झ्याम्म मलाई अँगालो हाल्दै घुँक्कघुँक्क रोइन् ।
अनुश्रिया पनि हामी बाबा–छोरीको अँगालोमा मिसिइन् ।
एकछिन् रुन दिएपछि मैले शासनाका आँखा पुछिदिएँ अनि निधार र गालातिर चुम्बन गरेँ ।
शासनाले पनि मेरा गाला पुछिदिइन् र ममीतिर हेर्दै बोल्न थालिन्, ‘‘ममी बाबालाई सम्झाउनु न देवता र दानव कसैको भौतिक शरीरले होइन व्यक्तिको कर्मले निर्धारण हुने हो ।’’
छोरीका लागि बाबु केवल देवता ठानिरह्यो युगले, शास्त्र र परम्पराले पनि । सम्बन्ध र व्यवहार पनि उस्तै रहिरह्यो । तर बाबु दानव पनि हुन सक्छ है भनेर समयले नै सन्देश दिएको छ । त्यो सन्देश छर्न केही छोरीले आफूलाई बलिदान गर्नुप¥यो बाबा !
‘बाबा ! त्यो मान्छे देखिँदा बाबुको रुपमा देखियो तर ऊ बाबु थिएन, बलात्कारी नै थियो र बलात्कारी भयो ।
उसले अरु कुनै आदर्श बाबुहरुको स्थान खोस्न र तिनको बाबु चरित्रमा दाग लगाउन सक्दैन बाबा ।’
शासना बोलिरहिन् हामी सुनिरह्यौं ।
‘देउता बाबु र दानव बाबुको स्थान एकै होइन बाबा ।’
‘देवता र दानवलाई सबैले एकै नजरले हेर्दैन...।’ उसले बोलिरहँदा मेरा आँखामा भल बगिरहेका थिए । उसकी ममी पटकपटक आफ्ना आँखा पुछिरहेकी थिइन् ।
‘सबै नारीप्रति सम्मानपूर्वक व्यवहार गर्ने हजुरजस्तै सबै बाबाहरु आफ्ना मात्र होइन सबै छोरीहरुका सुरक्षा कवच हुन् ।’
सबै सम्मानित बाबुहरुको आदर र मेरो आत्मविश्वास बलियो बनाउने ठूलो प्रयास थियो शासनाको ।
तैपनि मेरो मनमा उही एउटा प्रश्न थियो ।
‘देवता बाबु र दानव बाबु कसरी चिन्छौ छोरी ? कसरी बन्छ तिमीहरुमा आत्मविश्वास ?’
‘बाबुले छोरीलाई गर्ने पे्रममा श्रद्धा छ कि स्वार्थ सङ्केत पाउन सकिन्छ बाबा । गुड टच र ब्याड टचका बारेमा जानकार हुनुपर्छ सबै छोरीहरु । र, प्रतिकार गर्ने आँट गर्नुपर्र्छ ।
उनको विश्वासले थोरै शीतल भयो मेरो मन । केही दिनदेखि पलाइरहेको मनको रोग निको भए झैं भयो । आँखा चिम्लिएर लामो सास फेरेँ ।
विस्तारै आँखा खोलेर अनुश्रियातिर हेरेँ, छोरीको विद्वत्ताप्रति गर्व गरेर मुस्कुराइरहेकी थिइन् उनी ।
मैले आफूलाई केही निर्दोष र सुरक्षित महसुस गरेँ ।