site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मेरो पहिलो कर्णाली यात्रा
Sarbottam CementSarbottam Cement

अरुणा चौधरी


कर्णालीको बारेमा प्रायः मनगढन्ते कुरा सुन्न पाइन्छ । तीमध्ये कति सही कति गलत होलान् ! कर्णालीका बासिन्दाले दुई दिन पैदल हिँडेपछि पाँच किलोग्राम चामल पाए, कहिले चामलबिनै रित्तै फर्के भन्ने सुनिन्छ । गाउँगाउँमा झाडा पखालाको माहामारी चल्दै छ, तर डाक्टर पुग्न अझ दुई दिन लाग्ने जस्ता समाचारहरु म सुन्थेँ । यस्ता कुरा सुन्दा झापाको थारु परिवारमा जन्मी–हुर्की अगाडि बढेको मलाई अनौठो लाग्थ्यो । 

बाटो छैन रे गाडी जाँदैन, खान चामल पुग्दैन, खेतीयोग्य जमिन छैन आदि । मनमा अनेक किसिमका तर्कनाहरु आउँथ्यो । चामल नै नपाइने ठाउँका महिलाहरु कसरी जीवन बिताउँदा होलान् ! गर्भवति र सुत्केरी कहाँ जँचाउन जान्छन् होला ? पढ्ने विद्यालय कति टाढा होला ? केटीहरु विद्यालय जान्छन् कि जाँदैनन् ? अरु पहाडी जिल्लाहरुमा झैं पानी खोलाबाट बोक्नुपर्ने होला भनी कल्पना गर्न थालेँ । धादिङ आदमटारका महिलाहरुले घण्टौं लगाएर पानी बोकेर त्रिशूलीबाट ल्याएको मैले देखेकी थिएँ । 

Prabhu Bank
Agni Group
NIC Asia

मेरो कल्पना लामो रहेन, कर्णाली प्रवेश २०६५ साउन १५ गते पहिलो पटक भएको थियो । सुर्खेतमा सामान्य किनमेल गरेँ– दुई किलो स्याउ, केही बिस्कुट र चाउचाउ अनि अन्य खत्राकखुत्रुक सामान किनेँ । सजिलोखालको जुत्ता पनि किनेकी थिएँ । त्यसपछि कर्णालीको मेरो यात्रा सुरु भयो । सुर्खेतबाट गाडी मुगु जाँदैनथ्यो । दुई दिनको पर्खाइपछि बल्ल तारा एयरको जहाजबाट ताल्चा जाने निधो भयो । लगभग ३५ मिनेटको उडानपश्चात् ताल्चा विमानस्थल पुगियो । पहिलो पटक ठूल्ठूला फुस्रा डाँडाहरु रुखबिरुवाविहीन देखेँ । पूर्वीनेपालमा हरियालीले भरिएका डाँडाहरु देखेकी थिएँ । 

त्यहाँका हरेक कुरा मेरा लागि नौला थिए । मैले काम गर्ने ठाउँ सिरहा, झापा र काठमाडौंमा सामान्यतया भारी बोक्ने काम पुरुषहरुले गरेको देखेकी थिएँ । तर यहाँ जहाजबाट आएका सबै सामान बोक्न महिलाहरु हानाथाप गरिरहेका थिए । दुब्लापातला महिला ५०–६० किलोसम्म सामान बोकेर गमगढीको ओरालो दौडिरहेका देखिन्थे । सबैका शरीर मुस्किलले ४० किलोका जस्ता देखिन्थे । मलाई भने ६० किलोको शरीर, नयाँ जुत्ता र एउटा लट्ठी समाल्न कम्ता गाह्रो भइरहेको थिएन ! हिँड्न नसक्दा आफूलाई लाज लाग्ने, दस मिनेटजति ओरालो झरेपछि दिनभरि हिँडेजस्तो गलिसकेकी थिएँ । ओरालोसँगै दायाँबायाँ रुखहरुमा लटरम्मै गोलभेडाजस्ता हरिया दानाहरु फलेको देखेँ । के फलेको होला अन्दाज गर्न थालेँ । 
मसँगै यात्रामा प्रमोद दाहाल हुनुहुन्थ्यो, उहाँलाई सोधेँ के फलेको यो ? स्याउ ! छक्क परेँ, पहिलो पटक स्याउको रुख त्यहीँ देख्न पाएकी थिएँ । विश्वासै लागेन । लगभग साढे दुई घण्टाको यात्रापछि ताल्चा विमानस्थलबाट गमगढी पुगियो । बच्चाबच्चाका हातमा स्याउका झोला थिए । प्रतिदाना पाँच रुपैयाँमा बेच्दै थिए । जहाजमा उडाएर ल्याएपछि स्याउको दाम बेपत्ता बढिहाल्थ्यो ।  

Global Ime bank

मेरो गन्तव्य मुगुको धैनकोट थियो । दुई दिनको गमगढी बसाइले मनमा केही त्रास उत्पन्न हुन पुग्यो । गमगढीको वरिपरि डरलाग्दा भीरहरुमात्र देखिन्थे । धैनकोट पुग्न यस्ता धेरै भीर उक्लिनु र झर्नुपर्ने सबैले भनेका थिए । राति कल्पना गर्न थालेँ, यदि बाटोमा बिरामी भएँ भने के गर्ने ? हिँड्न नजान्ने मान्छे भीरबाट खस्यो भने ! डरलाग्दा कल्पनाहरु मनमा आउन थाले । विहान उठेपछि निधो गरेँ लहान फर्कने, तर प्रमोद सरको रहरलाग्दो परामर्शपछि धैनकोट जान तयार भएँ । १६ गते गमगढी वरिपरिको डाँडा हेरेरै बित्यो । रातको खाना तयार पार्नका लागि निकै लामो समयसम्म पे्रसरकुकरको सिट्टी लगाइरहिन् होटल साहुनीले । 

पानी परेकाले केही चिसो बढेको थियो । अगेनावरिपरि खाना खाने मानिसले कुरा गरेको एकतला माथिको मेरो कोठामा सबै प्रष्टै सुनिन्थ्यो । कसैले भारी बोकेको खसी हो अझैै सिट्टी लगाउँ भनेको सुनिन्थ्यो । के भनेको होला भारी बोकेको खसी ! खसीले भारी बोकेको देख्नु त परै जाओस्, कुरासमेत सुनेकी थिइनँ । खसी त मासुको लागि पो पालिन्छ, कसरी यसले भारी बोक्छ ? कति बोक्छ ? अन्दाज गर्दागर्दै निदाएँ ।

साउन १७ गते गमगढीबाट धैनकोटको यात्रा बिहान ६ बजेदेखि गर्ने भने तापनि सजिलै भरिया नभेटिनाले ११ बजिसकेको थियो । घाममा हिँड्न कत्ति गाह्रो परेको थियो ! निगाले पुग्दा लगभग बाटोमा पहिरो गएको थियो । १५ मिटरजतिको उक्त पहिरो भरखरै गएजस्तो देखिन्थ्यो । कोही पनि त्यो बाटोबाट हिँडेको निसाना थिएन । लगभग १० मिनेट पहिरो नियालेपछि प्रमोद सर लट्ठीको सहाराले बाटोलाई आकार दिँदै अगाडि बढ्नुभयो । उहाँ हिँड्न धेरै सिपालु भए पनि बीचतिर पुग्दा निकै गाह्रो भएको देखिएको थियो । एकचोटी फेरि भगवान् सम्झँदै भीर छिचोल्न थालेँ, खुट्टा थरथर कामेको थियो । छिटो नहिँडे माथिबाट पहिरो खस्ने उत्तिकै सम्भावना थियो । जीवनमै यस्तो पहिरोबाट हिँडेको मेरो पहिलो यात्रा थियो । फुलीको उकालोमा ६० केजीको शरीर घिसार्न कम्ता गाह्रो भएको थिएन । तर टुप्पामा पुगेपछि साउन महिनाको कर्णालीको उर्लंदो भेलको आवाज चुचुरोसम्मै सुनियो र खुबै आनन्द आयो । 

अघिपछि एकदमै कम बोल्ने प्रमोद सर फुलीको उकालो कटेपछि मेरो बयान गर्न थाल्नुभयो । तपाईं त मज्जाले मभन्दा नि चाँडै हिँड्नुहुँदो रै’छ ! यसरी हिँड्नुभयो भने चाँडै नै बास बस्ने ठाउँमा पुगिन्छ । उहाँ भन्दै हुनुहुन्थ्यो– कर्णाली पारी हेर्नुस् त मिस चँखेली लेक । हाम्रो एक रुपैयाँको नोटमा यो लेकको फोटो छ । योभन्दा अगाडि हुम्लामा चँखेली लेक छ भन्ने कुरा मैले सुनेकी थिइनँ । 

यस्तो हिमाल चढ्न मानिसहरु कति पैसा खर्च गर्छन्, हामी सित्तैंमा हेर्न पाएका छौं है ! आधा दिनको उकालो चढेपछि फेरि ओरालो झर्नु थियो । म ओरालो गज्जबले झर्दैथिएँ । हातको लट्ठी आकासतिर फर्केको थियो । एउटा हातले भुइँमा टेकेर चिप्लेटी खेल्दैथिएँ । लट्ठी टेक्नुस् मिस लडिन्छ भन्ने आवाज अलिक टाढाबाट आएको थियो । बाङ्गोटिङ्गो बाटो भएकाले चिप्लेटी खेल्दा कर्णालीमा खस्ने डर पनि उत्तिकै थियो । 

कहिले खोल्सा, उकालो र ओरालो गर्दै, लड्दै, घिस्रँदै बल्लतल्ल रातको आठ बजे कच्चे भन्ने ठाउँमा बास बस्न पुग्यौं । पहिलो पटक एउटा कोठामा पुरुष महिला सँगै बास बसेका थियौं । अनौठो लाग्यो, तर म ढुक्क थिएँ । प्रमोद सर अभिभावकजस्तै लाग्थ्यो । धेरै गलेको भएर खानाको स्वाद कस्तो थियो थाहा पाउन सकिएन । हिँडाइको क्रममा मैले कर्णालीसँग अन्तरङ्ग सम्बन्ध गाँस्दै थिए । 

१८ गते कर्णाली यात्राको चौथो दिन । लगभग हाम्रो यात्रा बिहानको ६ बजे सुरु भएको थियो । आजको दिन निकै कठिन यात्रा थियो । हामीले बोकेको पानी बाटोमा सकिएको थियो । प्रमोद सर बाटोबाटोमा कर्णालीको धमिलो पानी पीयूष हाल्दै पिउनुहुन्थ्यो । बल्लतल्ल दिउँसोको लगभग ११ बजे तारापानी पुग्यौं । गर्मी महिना सबैजना लेकमा बसाइ सर्ने चलन भएकोले सबै गोठजस्ता देखिने घरहरु रित्ता थिए । बल्लतल्ल एक जना बुढो बाजे एउटा गोठमा देखिए । 

चामल त प्रमोद सरले दिनुभयो, तर तरकारी थिएन । मुगु जाँदा बटुवाले आफ्ना लागि आफैं चामल बोक्नुपर्ने रै’छ भन्ने कुरा थाहा पाएँ । यत्तिकैमा बाजेको आवाज सुनियो– बारीमा भेरा फलेको होलान् पकाउँ कि ! भन्टालाई भेरा भन्दारहेछन् त्यहाँ । तर तरकारीमा राख्ने नुुनबाहेक अरु केही पनि थिएन । बुढो मान्छे बारीबाट भन्टा टिपेर भान्सामा पसे । म असाध्यै गलेका कारण एकसरो सुकुलमाथि कर्णालीको उर्लंदो भेलको सङ्गीत सुन्दै कतिबेला सुतेँ पत्तै पाइनँ । बिउँझँदा खाना खाने बेला भइसकेको थियो । प्रमोद सर अँगेनाको छेउमा बसेर खान थाल्नुभयो । बाहिरको उज्यालोबाट अँगेनामा छिर्दा अँध्यारो लाग्यो । बाहिर बसेर खान मन लाग्यो । खाना र तरकारी एकै ठाउँमा मिसिएको थियो । भन्टामा अचम्मको मिश्रण थियो, अलिक बढी नै अग्र्यानिक भन्टा रै’छ । सेतासेता शरीर गरेका र काला टाउका गरेका अचम्मका जन्तुहरु खानामा मिसिएको थियो । बाजेले अँध्यारोमा काटेको भन्टा ! बाजेको के दोष ? धन्न बेसार थिएन, नत्र ती जन्तुको असली रुप हेर्न पाइने थिएन । जन्तुहरुलाई पन्छाउँदै भातका डल्लाडल्ला टिपेर खाएँ । भित्र प्रमोद सर गमगम प्रोटिनयुक्त खानेकुरा खाइरहनु भएको थियो । हामीसँग अर्को विकल्प थिएन । 

खानापछि हामी आफ्नो गन्तव्यतिर लाग्यौं । कच्चेबाट तारापानी पुग्ने बाटो निकै कठिन थियो । ठाउँ–ठाउँमा कर्णालीले कटान गरेका कारण हामी निकै जोखिम र कष्टकर महसुुस गरिरहेका थियौं । साउन महिनामा जङ्गलसँगै मिसिएको सिस्नोले बेलाबेलामा दुईतिरबाट झाप्पड हान्थ्यो । दुई दिनको लगातार हिँडाइले निकै थाकिसकेकी थिएँ, तर हाम्रो गन्तव्य पुग्न अझै ६ घण्टा हिँड्न बाँकी थियो । थकाइका कारण अब भुइँतिर हेर्न छोडिसकेकी थिएँ । प्रमोद सरभन्दा निकै ढिलो हिँड्न थालेँ । बेलाबेलामा सर ओझेलमा पर्दा म आत्तिँदै दौडन्थेँ । 

केटाकेटीहरुले बाटोबाटोमा बाबियोले दुईतिरबाट बाँधेका कारण कतिपटक लडेँ, गनीसाध्य छैन । हामी धारापानी, तारापानी, कालीकोट हुँदै सिड्डीगाड पुग्दा चार बजिसकेको थियो । धैनकोट पुग्न छेचको उकालो काट्नुभन्दा पहिला नै अँध्यारो सुरु भएको थियो । सल्लाको जङ्गल भएकाले एकनासले झ्याउँकीरी कराउन थालिसकेको थियो । बेलाबेलामा जङ्गलको बीचमा मलाई अगाडि हिँड्न पनि डर लाग्ने, पछाडि हिँड्न पनि डर लाग्ने भएकाले सरसँगै हिँड्ने कोसिस गरेँ । बीचमा पुगेपछि उज्यालो चन्द्रमा देखँे र नमस्कार गरेँ मैले । नमस्कार गरेको देखेर ‘मिस मान्छे चन्द्रमामा पुगेर दिसा गरिसके तपाईं अझै नमस्कार गर्नुहुन्छ’ सरले भन्नुभयो । दुवैजना गलेका थियौं, तर सिन हाँस्ने कोसिस ग¥यौं ।

लगभग साढे सात बजे हामी दैखोला पुगेका थियौं । जहाँ पुल थिएन । तलबाट जाउँ भने खोला बगेको थियो, माथिबाट जाउँ भने एउटा सल्लाको रुख तेस्र्याइएको थियो । रुखबाट कहिले पनि खोला तर्ने बानी नभएकोले म निकै आत्तिएकी थिएँ । मुस्किलले खोला तरेँ । अबको उकालो सकिएपछि गाउँ पुग्ने निश्चित थियो । त्यसै क्रममा तीन जना बालबालिका हामीसँगै जाने साथी भए । बल्लतल्ल रातको आठ बजे धैनकोटको एउटा सानो खाना खाने ठाउँमा पुग्यौं । अझ बास बस्ने ठाउँमा पुगेका थिएनौं । खाना खाने ठाउँमा भालुको कुरा हुँदै थियो । मकैको समय भएको कारण भालु गाउँ पसेको कुरा गर्न थाले । भरखर आएको जङ्गल र भालुको कल्पना गर्न थालँे । असाध्यै डर लाग्यो । रातको नौ बजेतिर बास बस्ने ठाउँमा पुगियो । एउटा मेट्रेसमाथि स्लिपिङ ब्यागभित्र म र मेरा केही उपियाँ साथीहरुसँगै सुतेँ म । काठमाडौंदेखि धैनकोटको यात्रा यसरी सम्पन्न भएको थियो । 

यात्राले मलाई थुप्रैखाले शिक्षा दिएको थियो । अभावपूर्ण जिन्दगी, सङ्घर्ष, महिलाका दुःखजस्ता कुरालाई मैले आफैंले अनुभूत गर्न पाएको थिएँ । आखिर जिन्दगी भन्नु यात्रा नै त हो, त्यो यात्रा जसले शिक्षा दिन्छ, त्यसको महत्व जीवनभरि रहने रहेछ । 


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC