site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आमाको सारी 
Ghorahi CementGhorahi Cement

मुना चौधरी


परालको छाना भएको ससाना दुई ओटा छाप्रो भएको हाम्रो घर थियो । त्यो घरमा म र बा–आमा बस्थ्यौं । आँगन सानो थियो । घरका माटाका भित्ताहरु कमेरोले पोतिएका थिए । आँगनको एउटा कुनामा पम्प थियो । पम्पको छेउमा सानो बारी थियो । बारी कर्चीको बारले घेरिएको थियो । बारीमा साना भिन्डी र भेन्टाका बोट थिए । घरमा तरकारी नभएको दिन बारीमा फलेको भेन्टा आमाले टिपेर ल्याउँथिन् र तरकारी पकाउँथिन् । बारीमा सानो अम्बाको बोट पनि थियो । त्यसका हाँगा र पात धेरै चञ्चल देखिन्थे । अम्बा अहिलेसम्म फलेको थिएन । पम्पको छेउमा भएको बाँसको कर्चीको बारले आँगन र बारीको सीमारेखा छुट्याइएको थियो । आँगनले गर्दा घर छेउको सानो बारी सिँगारिएको देखिन्थ्यो भने बारीमा भएको भेन्टा, भिन्डी र अम्बाको बोटले घर र आँगनको रौनक बढाएको थियो । 

म आठ कक्षामा पढ्दै थिएँ । एक दिन स्कुलबाट पढेर घर आएँ । आँगन सुनसान थियो । घाम तेर्सो परिसकेको थियो । बा–आमा खेतमा काम गर्न गएका थिए, सायद । घरमा पुराना साना ताल्चा लगाएर खेतमा काम गर्न ती जान्थे । ओसरा (पिँढी)मा सानो भकारी थियो । त्यो भकारीमुनि मेरो लागि एउटा बटुकोमा आमाले सधैं दाल, भात र तरकारी डेक्चीले छोपेर राख्दिन्थिन् । म स्कुलबाट फर्केपछि भकारीमुनिको डेक्ची पल्टाउन पुग्थें । सधैंको झैं आज पनि भकारीमुनि भएको डेक्ची पल्टाएँ । डेक्चीमुनि बटुकोमा भात दाल, भात र भेन्टाको तरकारी एकै ठाउँमा थियो । भात, दाल, तरकारीको मीठो वासनाले मेरो भोक झन् जागृत भयो । किताब आँगनको कुनामा राखें । पम्पबाट हात धोएर आएँ । बटुकाको भात खान थालें । घाम आँगनमा लम्पसार पर्दै घरको छानामा गइसकेको थियो । आँगनमा हावाले उडाएर ल्याएका सुकेका झिँजा, घाँसपात र धूलोले आँगन फोहोर देखिएको थियो ।

Agni Group

भात खाएर बटुको पम्पमा धोएँ । आमाले दिउँसो नुहाएर पम्पको छेउको कर्चीको बारमा सारी सुक्न दिएकी थिइन् । हावामा उडेर कर्चीको बारमा आधा सारी अल्झिरहेको थियो भने आधा बारीमा लत्रिरहेको थियो । आमाको सारी बारीमा लत्रिरहेको देखेर हातमा बोकेको बटुको आँगनको एउटा कुनामा राख्दै सारी लिन गएँ । बारीमा लत्रेको सारीको भाग दुइटै हातले समात्दै बल लगाएर तानें । सारी कर्चीको बारमा अल्झेको थियो; तान्न सकिनँ । मसँग भएको सबै बल प्रयोग गर्दै मैले जोरले सारी तानें । बारमा अल्झेको सारी तान्दा च्यार्रर आवाज आयो । सारी दुई टुक्रा भएर च्यातियो । लौ के गर्ने ? मैले केही सोच्नै सकिनँ ।  

सारी च्यतिँदा मलाई साह्रै दुःख लाग्यो । एकछिन डर पनि लाग्यो । आमाले मलाई गाली गर्छिन् होला । मैले मनमनै भनें, ला अब आमाले कुन सारी लगाउलिन् ? उदास मन लिएर दुई टुक्रा भएको सारी बटार्दै किताबको छेउमा आँगनमा राखें । आँगन साह्रै फोहोर थियो । कासको कुचो ओसरामा राखिएको थियो । कुचोले आँगन बढार्न थालें । म केटा मान्छे थिएँ । कुच्चो समात्न नजाने पनि आमालाई सहयोग गर्छु भनेर म सकिनसकी आँगन बढार्न थालें । आँगन बढारेर सबै फोहोर एक ठाउँमा जम्मा पारें । कुन्नि कताबाट बेसरी हावा चल्यो । मैले बढारेर राखेको फोहोर हावाले उडाएर चारैतिर फैलाइदियो । आँगन पहिलाको भन्दा झन फोहोर देखियो । त्यति फोहोर बढार्न मलाई आधा घण्टा लागेको थियो । आँगन बढार्ने बेलामा कुचो झरेर यताउता आँगनभरि छरिएको थियो । छरिएको कुचो र फोहोर देखेर मलाई दिक्क लाग्यो । जस्ताको त्यस्तै आँगनमा फोहोर छाडेर म टोलतिर खेल्न हिँडें । 

Global Ime bank

खेलेर आएपछि कुनै जादु भएझैं आँगन सफा र चिटिक्क देखिएको थियो । त्यहाँ फोहोर थिएन । किताब र आमाको सारी पनि थिएन । सायद खेतबाट आमा फर्किसकेकी थिइन् । उनले नै आँगन बढारेर मेरो किताब र सारी घरमा राखिसकेकी थिइन् । घरको ढोका खुला थियो । उनी भान्साघरमा भात पकाउँदै थिइन् । मलाई देखेर भनिन्, “आइस् खेलेर । सारी तैंले च्यातिस् ?”

मैले बिस्तारै भनें, “कर्चीमा अल्झिएको थियो । तान्दा च्यातियो ।” मेरो कुरा सुनेर उनले भनिन्, “पुरानो भइसकेको थियो, सारी । तैपनि लगाउन मिल्थ्यो । तर तैंले त्यो सारी पनि च्यातिदिइस् । अब मैले के लाउने ?” सारी च्यातिएको देखेर उनी मलाई रिसाउँछिन् वा गाली गर्छिन् भन्ने लागेको थियो । तर त्यस्तो केही भएन । म ढुक्क भएँ ।

अब मैले के लाउने ? भन्ने आमाको कुरा सुनेर थाहा पाएँ । आमाका दुईओटा मात्र सारी थिए । एउटा सारी लगाएकी थिइन् । अर्को सारी च्यातिसकेको थियो । सारी च्यातिएदेखि हप्तौं दिनसम्म उनी एउटै सारी लगाएर बस्थिन् । तर सारी छैन भनेर बासँग कहिले गुनासो गर्दिनथिन् । नुहाउनुपरेमा लगाएको सारी फुकालेर राख्थिन् । पेटिकोट मात्र लगाएर नुहाउँथिन् । त्यसपछि सुकिलो पेटिकोट लगाएर फुकालेर राखिएको सारी लगाउँथिन् । खेतमा काम गर्दा सारी मैलो भएको बेलामा सारी धोएर सुक्न दिन्थिन् । पेटिकोट लगाएर कम्मरमाथि छातीसम्म मेरो एउटा पुरानो च्यातिएको कमिज ओढेर बस्थिन् ।

खेत काम गर्न जानुपरेमा सारी अलि मात्र सुकेको र अलि भिजेकै हुन्थ्यो, त्यही सारी लगाउँथिन् । उनको दयनीय अवस्था टुलुटुलु हेर्दै बस्नुबाहेक कुनै उपाय थिएन मसँग । छु मन्तर गरेर उनका लागि नयाँ सारी पनि बनाउन सक्दिनथें । सारी मैले तान्दा च्यातिएकोमा मलाई पश्चात्ताप भइरहेको थियो । उनले सधैं एउटै सारी लगाउँदा उनीसँग एउटा मात्र सारी भएको कुरा बाले थाहा पाए । एक दिन बाले टाउकोमा हात राख्दै गहिरो पीडाले भरिएको स्वरमा उनलाई भने, “पुरानो सारी सिलाएर काम चलाउँदा हुन्न । आलु खनेपछि तँलाई नयाँ सारी हालिदन्छु । आलुको बीउ पनि उधारो ल्याएको छु । रूपैयाँ पनि तिर्नै बाँकी छ । अस्ति छोरो बिरामी पर्दा औषधि ल्याएको र दसैंमा खाएको मासुको रूपैयाँ पनि तिर्न बाँकी छ । तैंले लगाएको सारी पनि शारदाजीको पसलबाट उधारो ल्याएको थिएँ । सारी पुरानो भइसक्यो । तर रूपैयाँ तिर्न बाँकी नै छ । अहिले मसँग रूपैयाँ पनि छैन । कुन मुख लिएर फेरि उधारो सारी ल्याउन जाऊँ । अरुले उधारो पनि दिँदैनन् । कपडा उधारो दिने भनेको शारदाजीले मात्र हो । फेरि पहिलाको उधारो नतिरी कसरी उधारोमा अर्को सारी लिन जाऊँ ?’’

बाको कुरा सुनेर आमा आत्तिइनन् । कति सजिलो तरिकाले हलुका मनले बालाई भनिन्, “अहिले सारी किन्नुपर्दैन । मलाई सारीको खाँचो छैन । च्यातिएको सारी सियो, धागोले सिलाएर म लगाउँछु । कामले फुर्सद नपाएर मैले सारी सिलाउन सकेकी छैन ।” आमा दिउँसो सियोधागो लिएर सारी सिलाउन बसिन् । उनले सारी सिलाइन् । दुई टुक्रा च्यतिएकाले सिलाउँदा सारीको रुप नै बदलियो । सारी कुप्रो परेजस्तो देखियो । लाउन नमिल्ने भयो । जताततै खुम्चिएको देखियो । त्यो सारी थन्काएर राखिन् ।

आलुका बोट भर्खर उम्रेका थिए । त्यही आलु बेचेर आमाको सारी किन्ने बाको सपना थियो । आलु खेतको आलीमा बसेर म टोलाइरहन्थें । आलु चाँडै फलेको भए हुन्थ्यो जस्तो लाग्थ्यो । आलु बेचेर आमालाई नयाँ सारी हालिदिने बाले गरेका कुरा मैले सुनेको थिएँ । आमाका लागि नयाँ सारी किन्ने एउटा मात्र उपाय थियो, आलु बेच्नु । आलु बेच्नका लागि आलु फल्नुपर्ने आवश्यकता थियो । कुनै जादु भएर एकै रातमा आलु फलेको भए हुन्थ्यो जस्तो लाग्थ्यो । किनकि त्यो आलु बेचेपछि आमाको सारी आउँथ्यो । 

एउटै सारी लगाउँदा सारीको रङ खुइलिइसकेको थियो । बाध्यताले मान्छेलाई गुलाम बनाउँदो रहेछ । आमा समय र परिस्थितिको गुलाम बनेर आफूलाई अनुकूल बनाउने प्रयास गरिरहेकी थिइन् । कारी काकाको घरमा पूजा थियो । हामीलाई पनि चुलेनिम्तो दिइएको थियो । पहिलाको जस्तै आमा सारी खोलेर धोएर सुकाउन घाममा राखिन् । सारी नसुकुन्जेल मेरो कमिज छातीमा बेरिरहिन् । आमाको सारी सुकेको थिए । त्यति नै खेर खाना खान कारी काका हामीलाई बोलाउन आए । कारी काका हाम्रो घरतिर आउँदै गरेको देखेर आमा घरभित्र हतारिएर छिरिन् । मलाई भनिन, “बाबु, मैले सारी लगाएकी छैन । यस्तो लुगा लगाएर काकाको अगाडि म जानुहुँदैन । काकालाई आमा घरमा छैन । खेत गएकी छिन् । आमा खेतबाट फर्किनेबित्तिकै खाना खान आउँछौं, भनेस् है ।” 

काका आए । आमालाई नदेखेपछि भाउजू, भाउजू भन्दै दुई पटक आमालाई बोलाए । आमालाई बोलाएको सुनेर आमाले मलाई भनेको कुरा, मैले काकालाई भनें । मेरो कुरा सुनेर चाँडै आएस् है बाबु भनेर काका पर्किए । काका गइसकेपछि आमा घरबाट निस्किइन् । दौडिँदै सारी छाम्न गइन् । आमाको पछिपछि म पनि सारी छाम्न गएँ । भोज खान जान आमाभन्दा मलाई हतार भइरहेको थियो । सारी राम्ररी सुकेकै थिएन । तैपनि आमाले त्यही सारी लगाइन् । आमा र म काकाको घर भोज खान गयौं ।

आँगनमा बसेर खाना खाँदै थियौं । आमाको छेउमा बसेकी थिइन्, खैरिनी हजुरआमा । खैरिनी हजुरआमाको हातमा आमाको सारी स्पर्श भयो । उनलाई आमाको सारी चिसो लाग्यो । उनी भात खाँदै आमातिर हेर्दै भनिन्, “तेरो सारी भिजेको छ । सारीमा पिसाब गरिस् कि क्या हो, किष्णेकी आमा ?” उनको कुरा सुनेर आमा अनकनाउँदै उत्तर दिइन्, “होइन, काकी पिसाब गरेको होइन । सारी राम्ररी सुकेको छैन ।” आमाको कुरा सुनेर उनले भनिन्, “अर्को सारी थिएन ? किन भिजेको सारी लगाइस् ?” उनको कुरा सुनेर आमाले भनिन्, “अर्को सारी थियो । तर त्यो पनि भिजेको थियो । यो अलिअलि सुकेको थियो, त्यसैले यही लगाएँ ।” 

आमाको कुरा सुनेर म उनको अनुहारतिर पुलुक्क हेरें । अनुहार उदास थियो । सुक्खा मन लिएर खाना खाँदै थिइन् । उनी पहिलो पटक झूटो बोलेकी थिइन्, त्यो पनि आफ्नो अपमान नहोस् भनेर । उनी झूटो बोल्दा मलाई कत्ति पनि दुःख लागेन । झूटो बोल्नु उनको बाध्यता थियो । बा र आफ्नो घरको इज्जत बचाउन र गरिबी लुकाउन उनले झूटो बोलेकी थिइन् ।

खाना खाएर सबै जना एकअर्कासँग कुरा गर्दै थिए । तर आमा हात धोएर लुसुक्क मेरो छेउमा आइन् । सङ्कोच मान्दै मेरो हात समातेर आँगनमा उभिरहेकी थिइन् । उनलाई एक प्रकारको अप्ठ्यारो लागिरहेको थियो । रङ खुइलिएको पुरानो सारी लगाएर सबैको सामु प्रस्तुत हुन सकिरहेकी थिइनन् । कसैसँग कुरा नगरी मेरो हात समातेर त्यहाँबाट हिँडिन् । घरतिर हामी आयौं । अरु जस्तै आफ्नो सान देखाउँदै सबैसँग कुरा गर्ने उनका कति धेरै इच्छा थिए । तर सबै इच्छालाई जिउँदै मारिन् । कसैसँग कुरा नगरीकन त्यहाँबाट निस्किइन् । म पनि सानै थिएँ । म पनि उनलाई टुलुटुलु हेर्ने सिवाय सान्त्वना दिन सकेको थिइनँ ।

गाउँमा माघी मेला लाग्यो । सरस्वती, बौका, मेघुवा र लखनीका बाआमा उनीहरुलाई लिएर मेला हेर्न जान नयाँ लुगा किन्न बजारतिर गए । तर मेरो घरमा त्यस्तो केही भएन । बाआमा खेतको काममा व्यस्त हुन्थे । नयाँ लुगा र मीठा खानेकुरा खाने इच्छा हुँदाहुँदै पनि सबै इच्छालाई मरेर बस्थें । बाको गरिबी मलाई राम्ररी थाहा थियो । त्ससैले मैले कहिलेकेहीँ माग्दिनथें । नयाँ नाना र मीठा खानेकुराको इच्छा कहिल्यै राख्दिनथें । छिमेकी साथीहरुले नयाँनयाँ मिठाइ र चकलेट खान्थे । छेउमा उभिएर उनीहरुले खाएको म टुलुटुलु हेरिरहन्थें । मलाई पनि खाने इच्टछा लाग्थ्यो । तर कहिल्यै माग्दिनथें । उनीहरुले खाएको मिठाइ र चकलेट खान मन लागेको बेला मुखमा पानी आउँथ्यो । कसैले नदेख्ने गरी मुखमा आएको थुक घुटुक्क निल्थें । 

मेरो क्रियाकलापलाई आमाले लुकीलुकी चियाउँथिन् । मेरो अवस्था देखेर आमाको चित्त दुख्थ्यो । हाट लागेको दिन चामल वा धानको पोटली बोकेर मलाई हाट लिएर जान्थिन् । हाटमा धान र चामल बेचेर मलाई खाने कुरा छान्न लगाउँथिन् । छिमेकी साथीहरुले खाने महँगा चकलेट म खोज्थें । र त्यही किन्न खोज्थें । तर त्यस्तो चकलेट हाटमा देख्दिनथें । म धेरै उदास हुन्थें । त्यस्तो मिठाई र चकलेट नपाएर म आलुचप, पकौडा, सनपापडी र ढुङ्ग्री छान्थें । आमाले पनि त्यही किनिदिन्थिन् । 

जाडो बढ्यो । आमा र बाको चप्पल थिएन । नाङ्गै खुट्टा दुवै जना हिँड्थे । खेतमा पनि त्यत्तिकै काम गर्थे । चिसोका कारण आमा र बाका तलुवा फाटेका थिए । फाटेको तलुवा धेरै दुखिरहेको छ भन्दै बाआमा छटपटाउँथे । फाटेको तलुवामा गिरिसको लेप लगाएर काम गर्थे । बाको दुःख टाढा गर्ने मसँग कुनै उपाय थिएन । घरमा जाडो छल्ने खालको सिरक पनि थिएन । घरको एउटा कुनामा गुइँठाको धुनी लगाएर बाआमा आधा रातसम्म आगो तापेर रात बिताउँथे । जाडाले राम्ररी निदाउन सक्दैनथे । त्यसैले आधा रात आगो तापेर टार्थे । एउटा सिरक थियो, त्यो पनि पुरानो भइसकेको थियो । त्यही सिरकमुनि हामी तीनै जना सुत्थ्यौं । पुराना लुगाहरुलाई टालेर आमाले एउटा गुन्द्री बनाएकी थिइन् । धेरै जाडो बढेको बेलामा सिरक माथि त्यही गुन्द्री ओढ्थ्यौं । पाहुना आएको बेलामा काकाको घरबाट बाले सिरक मागेर ल्याउँथे । पाहुना गइसकेपछि काकालाई सिरक फिर्ता दिन्थे । हाम्रो घरमा सिरक नभएको कुरा पाहुनालाई थाहा हुँदैनथ्यो ।

म दिउँसो आलु खेतमा गएर घण्टौंसम्म टोलाइरहन्थें । आलु चाँडै फल्ने प्रतीक्षामा आलीमा बसिरहन्थें । दिन प्रतिदिन आलुको बोटतिर हेर्थें । तर आलुका बोट जस्ताका त्यस्तै देख्थें । कहिले बढेको जस्तो लाग्दैन्थ्यो । आमाको सारी किनिदिने बाको सपना आलुले बोकेको थियो । आलुसँग बाआआमाको सपना गाँसिएको थियो । आमाको सारी किन्ने साधन आलु थियो । आलु नफल्दै बाले आलु बेचेर घर चलाउने सपना देखेका थिए । बाका सबै सपना पूरा भइदिऊन् भन्ने मेरो आशा थियो । बा–आमाको खुसीमा खुसी र दुःखमा म दुःखी हुन्थें ।

जाडोमा लगाउने मेरो पनि एउटा मात्र स्वेटर थियो । त्यो पनि बाहुलामा च्यातिइसकेको थियो । आगो ताप्ने बेलामा बाआमाले मेरो च्यातिएको स्वेरट देखे । बाआमा कुन्नि केके विचार गरे । भोलि खेतमा काम गर्न नगएर बा हाटतिर गए । मेरा लागि पसलबाट उधारोमा स्वेटर किनेर ल्याइदिए । उधारो स्वेटर किनेर ल्याइदिएकोमा मनमा कताकता खुसी लाग्यो । तर बाको दुःख र आमाको च्यातिएको सारी सम्झेर म धेरै दुःखी भएँ । मलाई राम्रो लागेन । मन खिन्न भयो । मभन्दा बढी आमालाई सारीको आवश्यकता थियो । तर आमाका लागि सारी नल्याइदिएर बाले मेरा लागि स्वेटर ल्याइदिए । बाले उधारोमा स्वेटर ल्याइदिनु बाको मप्रति निःस्वार्थ माया थियो । आफू अभावै अभावमा बसे पनि मलाई कुुनै कुराको अभावको अनुभव हुन दिन चाहँदैनथे बा । एक दिन बालाई मैले भनें, “बा, आमाको सारी छैन ।” मेरो कुरा सुनेर उनी मौन भए । आमाका लागि सारी किन्न नसकेकोमा उनी भित्रभित्रै धेरै दुःखी थिए । उनी केही नबोलीकन घरको भित्तातिर एकोहोरिएर हेरिरहे । उनको मनमा अनेक कुरा खेल्दै थिए, सायद । उनको एकाग्रता तोड्न आमाले थपिन्, “मेरो सारी छँदै छ नि बाबु । आलु खनेपछि त्यो बेचेको पैसाले मलाई सारी ल्याइदिन्छन् तेरा बाले ।” आमाको कुरा सुनेर उनको अनुहार उज्यालो भयो । 

कारीचन काकाको घरमा भागवत हुँदै थियो । गाउँभरिका सबै मान्छे भागवत् सुन्न जान्थे । आमालाई पनि एक दिन भागवत सुन्न जान मन लाग्यो । खेतबाट चाँडै फर्केर खाना पकाइन् । सधैंको जस्तै सारी फुकालेर राखिन् । पेटीकोट मात्र लगाइन् । माथि छातीमा मेरो पुरानो कमिज ओढिन् । सारी धोइन् । धोएर पम्पको छेउमा भएको कर्चीको बारमा सारी सुक्न दिइन् । उनी नुहाउन थालिन् । नुहाइसकेपछि लाउने सुकिलो सारी नै थिएन । अर्को सारी नभएकाले नुहाइसकेर उनले भिजेकै सारी कर्चीको बारबाट तानिन् । बारको तीखो सिन्कामा सारी पनि अड्कियो । तैपनि उनले बिस्तारै तानिन् । सारी च्यातिएको च्यार्रर आवाज आयो । सारी च्यातिएको देखेर उनले भनिन्, “लौन यो सारी पनि च्यतियो । मैले के लाउने अब ? कसरी भागवत सुन्न जाने होला ? यस्तो किन मसँग मात्र हुन्छ ? मलाई मात्र किन दुःख दिन्छन् भगवान्ले ?”

भागवत सुन्न जान आमालाई बोलाउन ठूलीआमा पिँढीमा आइसकेकी थिइन् । ठूली आमा कराइन्, कति ढिला गरेकी कृष्णेकी आमा ? छिटो आ । ठूलीआमाको कुरा सुनेर यताबाट उनले भनिन्, “म जान्नँ, दिदी । तपाईं जानुहोस् ।” उनको कुरा सुनेर ठूलीआमाले भनिन्, “के भन्छे यो ? तँ किन नजाने ?”

यताबाट उनी केही बोलिनन् । हातमा सारी समातेर उदास मन लिएर आँखाभरि आँसु बोकेर सारीतिर हेरिरहिन् । “यो कृष्णेकी आमा जाँदिन होली । अहिलेसम्म निस्केकी छैन । कति कुरेर बस्नु यसलाई ?” कान्छी काकीतिर हेर्दै ठुली आमाले भनिन्, “हिँड् जाऔं हामी ।” 

उनीहरु हिँडे । उनीहरु गइसकेपछि आमाको अनुहारमा पीडा प्रस्ट देखिन्थ्यो । आमालाई पनि भागवत सुन्न जाने इच्छा थियो । तर उनको मन कसैले बुझ्न सकेनन् । उनको अनुहारमा अनौठो छटपटी थियो । उनी भागवत सुन्न नगएपछि ठूली आमा पनि उनको समस्या बुझ्ने चेष्टा गरिनन् । 

एउटा सारी च्यातिएकै थियो । सधैं लागाउने अर्को सारी पनि च्यातियो । लगाउनका लागि अब आमासँग एउटा पनि सारी थिएन । आमा मन मारेर च्यातिएको सारी हातमा लिएर बसिरहिन् । उनले आफ्नो भाग्यलाई सराप्दै थिइन् । तर मनको पीडा कहिल्यै व्यक्त गर्दिनथिन् । सबै पीडा र दुःख लुकाएर संसारको सामु उपस्थित हुने मान्छेलाई नै आमा, मुमा, माता, र नारी भनिन्छ सायद । आमामा मैले सहनशीलता देखें । आमा सहनशील नभइदिएको भए बा एक्लै घर चलाउन सक्दैनथे होला । आमाको सहनशील बानीले बालाई शक्ति र साहस दिइरहेको थियो । उनले जतनका साथ ओसरामा सारी राखिन् । घरभित्र छिरिन् । सियो र धागो लिएर आइन् । च्यातिएर दुई टुक्रा भएको सारीलाई मिलाइन् जतनका साथ । सारीमा मेसिनले सिलाएको जस्तो टाँका नदेखिने गरी ससाना टाका हाल्दै गइन् । 

त्यसपछि सारी हातमा उठाएर चारैतिर ओल्टाइपल्टाइ हेरिन् । सिलाएको चित बुझ्यो क्यारे उनको । त्यसपछि सारी लगाइन् । सारी पहिलाको भन्दा छोटो भइसकेको थियो । बटारिएको पनि देखिएको थियो । सारी लगाएर आफ्नो जीउतिर हेर्दै उनी आँगनमा दुईचार पाइला हिँडिन् पनि । कुन्नि के सोचिन् । उनले भनिन्, “भागवत सुन्न जाऊँ कि क्या हो ? सारी सिलाएको जस्तो त देखिरहेको छैन ? जाऊँ कि नजाऊँ ? के गरुँ ? के नगरुँ ?” भागवत सुन्न जाने इच्छा उनको मनमा प्रबल थियो । तर च्यातिएको सारीका कारण उनी दोधारमा थिइन् । 

उनी चाहन्थिन्, उनले आँखा बन्द गरेपछि यो पृथ्वीभन्दा अन्त कतै जाने ठाउँ भए त्यही ठाउँमा मनको सबै पीडा र जीवनभरिको दुःख एकछिनमै बिसाउन पाएको भए हुन्थ्यो । जब उनी आँखा खोल्नेछिन्, तब उनको आँखाअगाडि झरी थामिएपछिको छ्याड्ङ देखिने आकाश होस् । चारैतिर पल्लवप् द्रुमहरु आँखाअगाडि हाँगा फैलाएर हल्लिरहून् । त्यस्तो भएन भने मनको पिँजडामा लगाम जोडिएको नहोस् । मन र इच्छा उड्न पाएजस्तै वास्तविकता पनि उडोस् र त्यहाँबाट यथार्थको झ्यालमा बसेर रङ्गीचङ्गी जीवनको सुरूवात होस्, जहाँ कसैले पनि दुःखपूर्ण र बाध्यताले भरिएको जीवन बिताउन नपाऊन् । सुख र समृद्धिले भरिएको जीवन होस् ।

उनी दोधारमा थिइन् । उनको मनमा डर थियो । पुरानो, च्यातिएको कुक्रुक्क परेको सारी लगाएर सभामा गइन् भने मान्छेहरुले के सोच्ने होलान् ? समाजमा उनको इज्जत कहाँ जाला ? उनी पिँढीमा बसिन् । आँगनतिर हेर्दै एकोहोरो टोलाइरहिन् । हलो बोकेर बा खेतबाट आइपुगे । बा आइपुगेपछि आमाले लामो सास फेरिन् । उनको मन उदास थियो । तैपनि ढुक्क भइन् । बाले, हातखुट्टा धोए । खाना खान बसे । उनी उदास मन लिएर बालाई र मलाई भात पस्केर दिइन् । म पटकपटक उनको सारीतिर हेर्थें । मलाई लाग्थ्यो, बाले पनि उनको सारीतिर हेरेको भए च्यातिएको सारी देखेर केही उपाय लगाएर उनका लागि सारी चाँडै किनिदिए हुन्थ्यो । बा खाना खानमा व्यस्त थिए । खाना खाँदै भन्न थाले, “करमैन खेतको गहुँ सप्रेन यसपालि, पोखरी खेतको मुसुरोको दालका बोटहरु बाख्राहरुले खाएर सत्यानाश पारेका छन् । के गर्ने ? गहुँ खेतमा दमकलको पानी हाल्न बाँकी छ । पानी हाल्ने रूपैयाँ पनि छैन । पानी हाल्न घण्टाको सय रुपैयाँ र दमकल चलाउने तेलको अलग रूपैयाँ तिर्नुपर्छ । कालो गोरू बूढो भइसकेको छ । धेरै बिरामी पर्छ । हलो जोत्ने बेलामा पटकपटक बस्छ । गोरू किन्न सकिँदैन । कति महँगो भइसकेको छ । एउटा गोरूको दाम पन्ध्रबीस हजार पर्छ । खेती गरेर फाइदा छैन । तर गर्ने त के गर्ने ? खेती नगरे हातमुख कसरी जोर्ने ?”

पछिल्लो शब्द बाले कति निराश भएर बोलेका थिए । कुनै काम नभएर बा खेती गर्दै थिए । बाध्यता भनौं वा पारिवारिक बोझ, सबै कुरा हेर्नलाई खेती गर्दै थिए । उनले फेरि थपे, “जति खेतमा घाम, पानी सहेर जीउको छाला डढाएर काम गरे पनि वर्षभरिलाई राम्ररी हात, मुख पनि जोड्न पुग्दैन । कहिले लाग्छ, तिमीहरु दुवै आमाछोरालाई लिएर कतै तीर्थयात्रामा निस्किदिऊँ ? तर के गर्ने कृष्णेकी आमा ? हाम्रो भाग्यमा जति दुःख लेखेको छ, त्यति भोग्नैपर्छ ।” बाको कुरा सुनेर आमाले मेरो कपाल सुमसुम्याउन थालिन् । मप्रति कत्रो आशा थियो बाआमाको । म ठूलो भएपछि बाआमाको दुःख टाढा गर्न सक्छु भन्ने उनीहरुको आशा थियो । च्यातिएको सारीको बारेमा आमाले बासँग केही कुरा गरिनन् । सकेसम्म आफ्नो दुःख कहिल्यै पनि बालाई सुनाउँदैनथिन् । बा पनि घरगृहस्थीकै व्यस्तताले आमाको सारीतिर त्यति ध्यान दिँदैनथे ।

जतिसक्दो चाँडै आलु उखेल्ने बेला होस् भन्ने कामना गर्थें । आमाले च्यतिएको सारी देखेर म कति दुःखी हुन्थें भन्न पनि सक्दिनँ । तर उनलाई नयाँ सारी कतैबाट ल्याइदिन पनि सक्दिनथें  । उनका लागि नयाँ सारीको कल्पना गर्दा म धेरै रमाउँथें । यो मेरा लागि खुसीको क्षण हुन्थ्यो । यथार्थ संसारमा फर्किंदा म उदास हुन्थें । मेरो मनको बाँध टुट्थ्यो । त्यति खेर बाआमाको दयनीय अवस्था देखेर मेरा आँखाबाट भेल बग्थे । 

तीनचार महिनाको लामो पर्खाइपछि आलु खन्ने बेला भयो । बाआमा र म खेतमा आलु खन्दै थियौं । आलु खन्न छोडेर बा आलीमा बसेर सानो सिन्काले आफ्नो खुट्टामा कोर्दै हिसाब गर्न थाले— बीउ पसलमा सात सय, औषधि पसलमा दुई सय, कपडा पसलमा तीन सय, मलको तीन सय, गहुँमा पानी हालेको पाँच सय, गोरूको औषधि गराएको चार सय, दसैंमा मासु खाएको छ सय र लगनाको सापटी लिएको रूपैयाँ गरी जम्मा चार हजार उधारो तिर्नु छ । त्यसपछि तेरा लागि सारी किन्नु छ । बाको कुरा सुनेर आमा केही बोलिनन् । उनको अनुहार उज्यालो देखिएको थियो । उनको अनुहारमा आशाको किरण चम्किरहेको थियो । 

भोलिपल्ट आलु बेचेर बाले आमाका लागि सारी किनेर ल्याए । आमाको नयाँ सारी देखेर म अति नै खुसी थिएँ । उनले नयाँ सारी लगाउँदा बेहुलीझैं सजिएकी देखिएकी थिइन् । बाले आफू, आमा र मेरा लागि पनि चप्पल किनेर ल्याएका थिए । खुसी हुँदै मैले चप्पल लगाएँ । नयाँ चप्पल लगाएर म पटकपटक आफ्नो खुट्टातिर हेर्थें । मेरो खुट्टालाई त्यो चप्पल धेरै सुहाएको थियो । बाले चप्पल किनेर ल्यइदिएदेखि मैले चप्पल खोलेको थिइनँ । मैले चप्पल लगाएको देखेर बाआमा साह्रै खुसी थिए । 

आमाको सारी आयो । तर रूपैयाँको अभावले बाले पसलेहरुको उधारो आधाउधि मात्र तिरे । बजारमा सस्तोमा आलु बिक्री भयो । धेरै रूपैयाँ भएन । सारी पनि एउटा मात्र आयो । नयाँ सारी लगाएर आमा खेतमा काम गर्न जान्थिन् । आलु सबै बिक्री भइसकेको थियो । तर उधारो तिर्न बाँकी नै थियो । त्यही चिन्तामा बा डुबिरहेका थिए । उनलाई चिन्तामा डुबेको देखेर आमाले भन्थिन्, “किन  चिन्ता गर्नुभएको ? गहुँ उब्जेपछि सबै उधारो तिरौंला ।” तर उनलाई डर लाग्थ्यो, गहुँ उब्जे पनि सबै बेच्नुहुँदैन । वर्षभरि खान राख्नुपर्छ । थोरबहुत गहुँ बेचेर उधारो तिर्नुपर्छ । बाँकी रहेको उधारो रूपैयाँ बिस्तारै तिर्नुपर्छ । उनलाई घर चलाउन धौधौ भइरहेको थियो । आमा पनि त्यत्तिकै चिन्तित रहन्थिन् । जसोतसो दिन बित्दै थिए । 

आमाले एउटा नयाँ र अर्को त्यही पुरानो सिलाएको सारी लगाउँथिन् । गहुँ भएको थिएन । उधारो तिर्न बाँकी रहेका पसलेहरु पटकपटक हाम्रो घर आएर बासँग रूपैयाँ माग्थे । बाले भोलिभोलि भन्दै दिन टरिदिन्थे । पसलेहरु कहिलेकाहीँ बासँग धेरै रिसाएर जान्थे । बाको अनुहार पीडाले भरिएको हुन्थ्यो । अनगिन्ती विस्मात्का रेखा उनको अनुहारमा देखिन्थ्यो । चिन्ताले उनको अनुहार र निधारमा चाउरी परिसकेको थियो । उनको अनुहार हेर्दा म धेरै दुःखी हुन्थें । उनीसँग रूपैयाँ माग्ने पसलेहरु रिसाउँदा मेरो चित्त दुख्थ्यो । धेरै रूपैयाँ कमाएर उनका सबै दुःखपीडा हटाउन चाहन्थें । तर मसँग इच्छा थियो, कुनै उपाय थिएन । किनकि म रूपैयाँ कमाउन सक्ने उमेरको भएको थिइनँ । 

नयाँ सारी आएदेखि आमा कहिलेकाहीँ मात्र पुरानो सारी लगाउँथिन् । नयाँ सारी मैला भएपछि त्यो सारी धोएर सुक्न दिन्थिन् र पुरानो सारी लगाउँथिन् । नयाँ सारी आमाको आत्मा नै थियो । आमाले सबै कुरा बिर्सिन सक्थिन् । तर सारीको जतन गर्न बिर्सिदिनथिन् । कर्चीको बारमा सारी च्यातिन्छ भन्ने आमालाई थाहा थियो । त्यसैले उनले लुगा सुकाउन पम्पछेउ बर्चीको बार र अम्बाको बोटमा एउटा डोरी झुन्ड्याइन् । नुहाएर त्यही डोरीमा नयाँ सारी सुक्न दिइन् । 

हात धोएर भान्साबाट भात पस्केर ल्याइन् । मलाई खान दिइन् र आफू पनि खान बसिन् । भात खाएर उनी जुठो थाल धुन पम्पमा गइन् । गोकुल काकाको गोरू दाम्लो चुडाएर हाम्रो बारीमा छिरेर भिन्डीको बोट खाएर आमाको सारी पनि दुईतीन हात जति चपाइसकेको थियो । अझै चपाउँदै थियो । त्यो देखेर जुठो थाल पम्पमा राख्दै उनले भनिन्, “लौन गोकुलेको गोरूले मेरो सारी चपायो ? अब मैले कुन सारी लाउने ? कति दुःख गरेर कृष्णेको बाले सारी किनिदिएका थिए ।” उनले विलाप गर्दै गोरूलाई धपाइन् । उनको आवाज सुनेर बारीबाट गोरू भाग्यो । उनले बारीबाट सारी ल्याइन् । सारी दुई–तीन हात जति गोरूले चपाइसकेको थियो । सारीतिर हेर्दै उनी रून थालिन् र भनिन्, “लौ न, अब मैले के लाउने...? मसँग किन सधैं यस्तो हुन्छ... ? भगवान्ले किन मलाई मात्र दुःख दिन्छन्... ?”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६  ०९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC