काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न अन्तर्राष्ट्रिय लगानी नजुटे सरकारले आफैँ लगानी गर्ने बताएका छन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथ समन्वय समितिको सामबारको बैठकमा मन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने अवस्था नआए सरकारले निर्माणकार्य अगाडि बढाउने बताए ।
उनले लगानीको विषयमा लगानी बोर्डका पदाधिकारीसँगको छलफलपछि थप निर्णय लिने पनि बताए । वैदेशिक लगानी नआए के गर्ने भन्ने चिन्तामा सरकार नरहेको भन्दै मन्त्री भट्टराईले सरकार ब्याकअपमा बसेर काम गरिरहेको बताए ।
आगामी मंसिरसम्म निजगढ विमानस्थलको शिलान्यासको घोषणा गरेका मन्त्री भट्टराईले पूर्व तयारीका काम सम्पन्न गरेर शिलान्यास गरिने सरकारको योजना रहेको पनि बताए । समितिमा बोल्दै मन्त्री भट्टराईले सरकारले बनाउनु पर्ने अवस्था आए नेपाली प्राविधिकहरुले बनाउने जानकारी दिए । नेपाली प्राविधिकहरु पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने भएकाले कर्मचारीहरुलाई विश्वास गर्नुपर्ने बताए ।