site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लामो रुटमा दुई चालक नियममै सीमित, व्यवसायी भन्छन्- नाइट बस चालक पाउनै गाह्रो
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  लामो दूरीमा चल्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य रुपमा दुईजना चालक राख्नुपर्ने नियम भए पनि अधिकांश सवारीसाधनले यो नियम पालना गरेका छैनन् । यो नियम नमान्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले पनि कारबाही गरेको पाइँदैन । चालक नपाएका कारण दुईजना चालक राख्न नसकिएको यातायात व्यवसायीहरु प्रष्टीकरण दिन्छन् । 

०७५ पुस १६ गते संघीय संसदको विकास तथा प्रविधि समिति बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले लामो रुटमा चल्ने सवारी साधनका चालकलाई लक्षित गरी रिफ्रेस सेन्टर राख्न मन्त्रालयले तयारी गरेको बताएका थिए । तर, हालसम्म मन्त्री महासेठको उक्त योजना कार्यान्वयन भएको छैन । 

सडक दुर्घटना न्यूनीकरण गर्न मन्त्रालय र यातायात व्यवस्था विभागले लामो दुरीका रुटमा चल्ने सवारी साधनमा अनिवार्य दुई चालक रहनुपर्ने व्यवस्था गरेको छ । तर, यो नियम पूर्ण रुपमा कार्यान्वयन भएको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

लामो रुटमा चल्ने सवारीसाधनमा अनिवार्य रुपमा दुई चालक नहुँदा सवारी दुर्घटनामा पर्ने गरेको ट्राफिक प्रहरीहरुको भनाइ छ । गत वर्षकै सोही बैठकमा रिफ्रेस सेन्टर निर्माणका लागि ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीसँग छलफल गरेर काम चाँडै सुरु गरिने मन्त्री महासेठले बताएका थिए । तर, लामो दूरीमा चल्ने सवारीसाधन चालकका लागि रिफ्रेस सेन्टरको व्यवस्था हुन सकेको छैन ।

“सरकारले रिफ्रेस सेन्टर राख्ने भनेको छ । तर हामीले यसको सुविधा लिन पाएका छैनौं । धादिङको गजुरीभन्दा केही तल र बुटवलनजिकै सुनौलमा रिफ्रेस सेन्टर छ । तर यसको सुविधा चालकले लिन पाएका छैनन्,” कर्णली प्रदेशको देउती नागरिक यातायात प्रालिका अध्यक्ष कमल खड्काले भने ।  यसका साथै नाइट बसका लागि अनुभवी चालक अभाव रहेकाले पनि एउटै चालकले १५ घण्टासम्म बस चलाउनुपर्ने बाध्यता रहेको यातायात व्यवसायीको भनाइ छ । 

Global Ime bank

“सरकारले हेभी गाडीको लाइसेन्स लिन लाइट गाडी चलाएको दुई वर्षको अनुभव हुनुपर्ने नियम लागू गरेको छ । यो व्यवस्था व्यवहारिक छैन । यसका लागि सरकारले हेभी र लाइट चालकलाई छुट्टाछुट्टै कर लिएर हेभी गाडीको ट्रायल दिने व्यवस्था गर्नुपर्छ,” खड्काले भने, “सरकारले यातायात क्षेत्रको कानुन, नियम बनाउँदा व्यवसायीलाई पनि सँगै राखेर छलफल गर्नुपर्छ तर सरकारले बनाउने यस्ता नीति, नियममा हाम्रो कुरा सुनिँदैन । सरकारले एकलौटी ढङ्गबाट नियम बनाउँदा हेभी गाडीको चालक कसरी उत्पादन गर्ने भन्ने नीतिगत रुपमै अस्पष्ट छ ।”

दुईजना चालक नराख्दा एउटै चालकले लामो दूरीसम्म सवारी चलाउँदा चालक निदाउने हुँदा सडक दुर्घटना निम्तिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक रविकुमार पौडेल बताउँछन् । “चालक निदाउँने हुँदामात्र सडक दुर्घटना निम्तिने होइन । सडकको खराब अवस्था र ट्राफिक नियमको लापरबाही पनि अर्को समस्या हो,” यातायात व्यवसायी खड्काले भने, “हाइवेमा सामान्यतया गाडीको स्पिड प्रतिकिमी ८० देखि १ सय किमीसम्म हुन्छ । यस्तो अवस्थामा विपरीत दिशाबाट आउने साइकल, मोटरसाइकल, साना र ठूला गाडीका चालकले थोरै लापरबाही गरे सडक दुर्घटना हुने गर्छ । यसका साथै पैदलयात्रुका कारण पनि सडक दुर्घटना हुन्छ । यसरी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई जरिबानामा कडाइ गरिनुपर्छ । ट्राफिक प्रहरीको सवारी साधनको नियमनमा कडाइ गर्नुपर्छ । लामो दूरीका रुटमा चल्ने सवारीमा दुईजना चालक अनिवार्य राख्नुपर्छ तर सडक दुर्घटनाको कारण सधैं चालकको अवस्थालाई मात्र लिनु हुँदैन ।”

लामो दूरीमा चल्ने सवारी साधनमा सहचालक पनि दक्ष हुनुपर्ने सरोकारवाला बताउँछन् । चालकको स्वास्थ्यमा गडबडी आएको अवस्थामा सहचालकले पनि सवारी चलाउन सक्ने क्षमता हुनुपर्छ । “तर सबै गाडीले दक्ष सहचालक राखेका हुँदैनन् । चालकलाई सञ्चो नभएमा अदक्ष सहचालकले गाडी चलाउँदा पनि दुर्घटना हुने गरेको पाइन्छ,” खड्काले भने ।

चेकजाँच गर्न म्यानपावर अभावः ट्राफिक प्रहरी 

दुई चालकको व्यवस्थाका साथै लामो दूरीका सवारीमा टाइमकार्ड लागू गर्दा दुर्घटना कम हुने प्रहरी उपरीक्षक पौडेल बताउँछन् । “तर लामो रुटमा चल्ने सवारीसाधनमा दुईजना चालक राखे–नराखेको टाइमकार्ड फलो गरे–नगरेको चेकजाँच गर्न लामो दूरीको सडकको बीचबीचमा राख्नुपर्ने पर्याप्त जनशक्ति अभाव रहेको छ,” उपरीक्षक पौडेलले भने, “टाइमकार्ड लागू गरिएका सडकमा पनि चालकले कसरी हुन्छ, टाइमकार्ड नियम उल्लङ्घन गर्ने गर्छन् । सडकमा तोकेभन्दा बढी रफ्तारमा गाडी हाँक्ने र ट्राफिक प्रहरीको पोष्ट छेउमा लगेर गाडी रोकेर यात्रुलाई पिसाब फेराउने, चिया, खाजा खुवाउने गर्छन् । चालकले टाइमकार्ड लागू भएका सडकमा पनि यसरी ट्राफिक प्रहरीलाई झुक्याउने गर्छन् ।”

दुई चालकको व्यवस्थासँगै लामो दूरीका सडकको प्रत्येक ३०–३० किमि स्थानमा ट्राफिक प्रहरीको चेकजाँच राख्न सके टाइमकार्ड लागू हुने र कम स्पिडमा सवारी चलाउँदा दुर्घटना न्यूनीकरण हुने प्रहरी उपरीक्षक पौडेलले बताए । “म इटहरीमा कार्यरत हुँदा झापा, मोरङ र सुनसरीमा टिपरलाई टाइमकार्ड लागू गराएको थिएँ । त्यो क्षेत्रमा प्रहरी बिटहरु पर्याप्त भएकाले हालसम्म त्यहाँ टाइमकार्ड लागू भएको छ । तर पूर्व पश्चिम राजमार्गभर टाइमकार्ड लागू गराउन जनशक्ति अभावका कारण सम्भव देखिँदैन । विशेष सफ्टवेयर बनाएर चालक फेरे–नफेरेको र टाइम फलो गरे–नगरेको सवारी ट्र्याकिङ गर्न सके असम्भव भन्ने हुँदैन,” पौडेलले भने ।

हाल निश्चित पर्यटकीय, निकुञ्ज, विद्यालय र अस्पताल क्षेत्रमा मात्र सवारीको प्रतिघण्टा गति तोकिएको छ । लामो दूरीमा चल्ने सवारी साधन एउटै चालकले हाँक्दा निद्राका कारण सवारी दुर्घटनामा पर्ने गरेको ट्राफिक प्रहरीको निष्कर्ष छ ।

०७५ पुसमा सिंहदरबारमा बसेको संसदीय विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री रघुवीर महासेठले मन्त्रालयले यसको तयारी सुरु गरेको बताएका थिए । “लामो दूरीमा दुई चालक अनिवार्य गरेपछि हालको सवारी दुर्घटनामा केही कमी आउने आकलन गरिएको छ । काँकडभिट्टा–काठमाडौं, महेन्द्रनगर–काठमाडौंजस्ता लामो रुटमा चल्ने सवारीमा चाँडै दुई चालकको व्यवस्था गरिने छ,” उक्त बैठकमा मन्त्री महासेठले भनेका थिए ।

लामो रुटमा रिफ्रेस सेन्टर नभएकाले यात्रु र चालकलाई यात्रा असहज भएको बैठकमा सांसदहरुले बताएका थिए । मन्त्री महासेठले लामो दूरीका चालक र यात्रुलाई सहज हुने गरी रिफ्रेस सेन्टर स्थापना गरिने पनि बताएका थिए ।

मन्त्री महासेठले संसदीय समितिमै लामो रुटमा चल्ने सवारी साधनमा दुईजना चालक अनिवार्य गरिने बताए पनि हालसम्म यो नियम पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन । मन्त्रालय, यातायात व्यवस्था विभाग, प्रदेशस्थित मन्त्रालय र यातायात व्यवस्था कार्यालयले आवश्यक पहल नगर्दा रिफ्रेस सेन्टर र दुईजना चालकको व्यवस्था हुन नसकेको हो ।

चालक नपाएर हो, हाम्रो कुनै कन्जुस्याइँ होइनः महासंघ

सरकारले लागू गरेको लामो रुटमा चल्ने सवारी साधनमा अनिवार्य दुई चालक राख्नुपर्ने नियम स्वागतयोग्य भएको यातायात व्यवसायीहरु बताउँछन् । “लामो दूरीमा चल्ने सवारी साधनमा अनिवार्य दुई चालक राख्नुपर्ने नियम धेरै पहिलेदेखि नै थियो । यो निक्कै राम्रो कुरा हो । यात्रुवाहक सवारीमा दुई चालक अझै महत्वपूर्ण हुन्छन्,” नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, “नाइट बस चलाउने चालक पाउन एकदमै गाह्रो छ । हेभी गाडीको ट्रायल लामो समय नखुल्ने र लाइट गाडीको अनुभव अनिवार्य भएको व्यवस्थाका कारण हेभी गाडी चालक उत्पादनमा कमी आएको छ । यसैले चालक पाउन सकेका छैनौं । दुई चालक राख्दा चालकलाई दिने तलब बच्छ भनेर चालक नराखेका होइनौं । हामी पनि लामो रुटमा रुटमा दुई चालक राख्नुपर्छ भन्ने पक्षमा छौं ।”

यातायात बजारमा चालकको कमी भएपछि प्रतिष्पर्धा गराएर क्षमता भएका चालक राख्न नसकिएको महासचिव सिटौला स्वीकार्छन् । “प्रतिष्पर्धा गराएर नाइट बसमा चालक राख्नुपर्नेमा पत्रिकामा सूचना दिएर चालक राख्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा एउटै बसमा दुईजना चालक राख्न असम्भव छ,” सिटौलाले भने ।

काठमाडौं उपत्यकाबाट लामो तथा मध्यम रुटमा दैनिक करिब १ हजार सवारी साधन बाहिरिने सिटौलाले जानकारी दिए । “दैनिक १ हजार गाडी छुट्नेमा करिब ५ सय बस ताप्लेजुङ, इलाम, दाङ, जुम्ला, धनगढी, नेपालगञ्ज र महेन्द्रनगरका लागि छुट्छन् । चालक अभावका कारण यी रुटका सबै बसमा दुईजना चालक राख्न सकिएको छैन,” सिटौलाले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC