site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
युवाले देशसँग माग्ने कि देशलाई दिने ?

सन् १९९९ मा संयुक्त राष्ट्र संघको साधारण सभाले हरेक वर्ष अगष्ट १२ लाई युवाहरुको दिवसका रुपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि शुरु भएको अन्तर्राष्ट्रिय युवा दिवसको प्रचलनले दुई दशक टेकेको छ । नेपालमा भने सन् २००४ बाट मात्र औपचारिक रुपमा यो दिवस मनाउन शुरु गरिएबाट यसको नेपाली इतिहास समेत डेढ दशक पुगेको छ ।

हरेक वर्ष जस्तै यो वर्ष पनि देशभर अन्तर्राष्ट्रिय युवा दिवस धुमधामका साथ मनाउनका लागि संघमा युवा मन्त्रालय र हरेक प्रदेशहरुमा सामाजिक विकास मन्त्रालयहरुले तदारुकताका साथ विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका छन् । यो उत्सवलाई महोत्सव बनाउन युवाका क्षेत्रका विगतदेखि नै कार्य गरिरहेका गैरसरकारी संंघ संस्था तथा संगठनहरुले पनि लागि परेकै छन् ।

यो वर्ष नेपालभर यो दिवस “शिक्षामा रुपान्तरणः उद्यमशिलता र नवप्रवर्तन” भन्ने मूल नाराका साथ मनाउने कार्य भइरहेको छ । यही मेसोमा भए पनि युवाशक्तिका बारेमा देशभर कम्तीमा बहस भएको छ । तर बहसका विषयवस्तु हेर्दा भने जो कोही पनि अनिवार्य रुपमा अस्पष्ट हुन पुग्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बहसको एउटा पक्षले भन्छ, “युवाकाल भनेको मानव जीवनको सबैभन्दा उत्कृष्टकाल हो, अझ यसरी भनौं यो त स्वर्णकाल हो ।” तर हरेक युवा दिवसको मञ्चमा वक्ताहरु यही प्रस्थानविन्दुबाट भाषण शुरु गर्दै अन्त्यमा “युवाहरुलाई राज्यले हेरेन वा राज्यको अपहेलनामा युवाहरु परे” जस्ता विषयवस्तुको विन्दुमा आफ्नो भ्रमवान्ता सकेर विदा हुन्छन् । सायद वक्ता नै भ्रममा छ कि युवाकाल स्वर्णकाल हो कि अपहेलितकाल हो ? अब त्यस्ता भ्रमित वक्ताले श्रोतालाई भ्रममा नपार्नु त नौलो विषय नै रहेन ।

तर संसारको इतिहासले बताउँछ र वर्तमानले समेत प्रमाणित गरिदिन्छ कि युवाहरु नै त्यो शक्ति हो, जोसँग हरेक युग परिवर्तन गर्न सक्ने तागत हुन्छ । युवाहरुको उर्जा र उत्साहले नै यो संसारमा उमंगको लहर छाउँछ । युवाहरुको सोचमा जब युवाहरुको श्रम मिसिन्छ अनि हरेक देशमा समृद्धिको ढोका खुलेको हामी देख्न पाउँछौं । त्यही समृद्धिको सामथ्र्यमा नै देश निरन्तर शक्तिशाली बन्दै जान्छ भन्ने विश्व इतिहासले प्रमाणित गरिदिएकै छ ।

Global Ime bank

युवाहरु सीप र सृजनाको खानी हुन् । यही सीप र सृजनाले सकारात्मक बाटो समाएको बखत संसारले धेरै ठूला उपलब्धीहरुको साक्षात्कार गर्न सौभाग्य पाएको छ । युवाहरु परिवर्तनको जननी पनि हुन्, जसको जोश र जाँगरको जगमा संसारमा हरेक सेकेण्ड नयाँ आविष्कार वा नवप्रवर्तनले जन्म लिन्छ ।

यो संसार बदल्ने महान युगद्रष्टाहरुको प्रभाव युवा उमेरका नै देख्न पाउँछौं । संसारभर शान्तिको अग्रदूत भनेर चिनिने नेपाली माटोको छोरो सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्दा उनी ३५ वर्षका मात्र थिए । कार्ल मार्क्सले संसारलाई नयाँ बाटो दिन सफल ‘कम्युनिष्ट पार्टिको घोषणपत्र’ लेख्दा उनको उमेर जम्मा ३० वर्षको थियो । संसारको भौतिकशास्त्रलाई नयाँ दिशा दिन सफल अल्वर्ट आइन्टाइनले नोबेल पुरस्कार प्राप्त गरेको क्षेत्र फोटोइलेक्ट्रिक प्रभावका बारेका खोज गर्दा उनी जम्मा २६ वर्षका थिए । अहिले संसारलाई बाँधेर राख्न सफल फेसबुक प्रथम पटक बनाउँदा त्यसका निर्माता मार्क जुकबर्ग जम्मा १९ वर्ष थिए भने संसारलाई सूचना र ज्ञानसँग एकै सेकेण्डमा साक्षात्कार गराउने गुगलका मालिक ल्यारी पेजले त्यसको निर्माण जम्मा २५ वर्षको उमेरमा गरेका थिए ।

नेपाली इतिहासमा पनि परिवर्तनका पानाहरु युवाहरुले नै लेखेका थिए । जहाँनियाँ राणाशासनको कालो इतिहास भत्काउन २२ वर्षे गंगालाल श्रेष्ठ, ३१ वर्षे धर्मभक्त माथेमा र ३७ वर्षिय दशरथ चन्दले शहादत प्राप्त गरेका थिए । कालन्तरमा गंगालाल कै भाइ पुष्पलाल श्रेष्ठले २५ वर्षको उमेरमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गराई यो देशमा नयाँ परिवर्तनकारी शक्तिको निर्माण गरे । नेपाली कांग्रेसको स्थापना गर्ने मातृका प्रसाद कोइराला र उनका भाइ विपी कोइराला पनि युवा उमेरकै थिए ।

नेपालको हरेक परिवर्तनको सफलता युवाहरुकै प्रयासबाट मात्र सम्भव भएको हामी देख्न पाउँछौ । चाहे त्यो राणाशासनको अन्त्य होस् वा २०३६ सालको आन्दोलन अनि पहिलो जनआन्दोलन होस् या दोस्रो जनआन्दोलन वा माओवादी विद्रोह, सबैमा युवाहरुको विशिष्ट भूमिका रहिआएको छ । सायद यस्तै कारणले होला धेरैले युवा भनेको ‘युग वाहक’ को छोटो रुप हो भन्ने पनि गरेको पाइन्छ ।

यस्तो विशिष्ट पहिचान बोकेको एउटा शक्ति भने आज किन आफूलाई हीन ग्रन्थीबाट ग्रस्त मान्दै अपहेलित महशुस गर्दछ त ? युवा दिवसको दिन हामीले यो प्रश्नको जवाफ खोज्नै पर्दछ र युवाहरुले यसको समाधान गर्ने काममा लाग्नै पर्दछ । हैन भने हरेक युवा दिवसहरु उही थोत्रो भाषण गरेर मनाउने प्रचलनले त्यो युवापनाको झल्को दिन सक्दैन । 

युवाहरुको कार्यक्रममा परिवर्तनको एजेण्डामा छलफल र बहस हुनु नितान्त जरुरी छ । बालबालिका, प्रौढ, वयष्क वा वृद्धहरुलाई यस्ता बहसका बखत गुनासो गर्न, टिप्पणी गर्न वा दोष थोपर्न छुट हुन सक्छ, तर युवाहरु यदी आफुलाई परिवर्तनको संवाहक ठान्छन् भने तिनै गतिविधिमा चित्त बुझाउन उनीहरुलाई छुट छैन । युवाहरुले परिवर्तन चाहना गर्ने मात्र हैन, त्यसको बाटो खन्ने पनि हो । अनि त्यही बाटोमा सबैलाई हिडाउने पनि हो ।

यति भनिरहँदा युवाहरुको आम गुनासो हुन्छ कि हामीहरु सरकारको नीतिबाट अपहेलित भयौं । हामीलाई राजनैतिक हतियारका रुपमा मात्र प्रयोग गरियो । हाम्रो शिक्षा नीतिमा नै समस्या छ, जसको कारण हामीले सोचे जस्तो सफलता प्राप्त गर्न सकिरहेका छैनौं । तर संसारको हरेक सफलताको कथाले के भन्दछ भने उनीहरु पनि यिनै सबै समस्याहरुका बीचबाट हुर्केर आएका हुन् । कुनै पनि सफल व्यक्तित्वले बनिबनाउ

वातावरणमा गोल हानेर खेल जितेका होइनन् । सायद यही भएर राष्ट्रकवि माधवप्रसाद घिमिरेले यी श्लोकहरु लेखेका होलान्ः

ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल
सृजनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल

जहिलेसम्म हामीमा लघुताभाष, रुञ्चेपना, दोष थोपर्ने प्रवृत्ति र नकरात्मक चेत मात्र रहन्छ, हामीले आफैंलाई प्रश्न गर्नुपर्ने हुन्छ । कतै हामीले युवाकालबाट बिदा त लिइसकेनौं ? किनकी युवाहरुमा त संसारलाई जुरुक्क उचालेर नयाँ युगको सुत्रपात गर्ने जोश, जाँगर हुनुपर्छ, जसको बारेमा हामीले माथि नै चर्चा गरिसक्यौं । अब हामीले समस्याको मात्रै कुरा गरेर आज पनि युवा दिवस मनाउँदैछौं भने अब हामीले पुनः समिक्षा गर्नैपर्छ । हामीले देशको समस्यालाई समाधान नगरे कसले गर्ला ? युवाहरुले पनि देशसँग अपेक्षा मात्र राखे कसले देशलाई देला ?

नेपालको जनसाख्ंयीक अवस्थाले गर्दा यो विषयमा नेपाली युवाले अझ बढि ख्याल गर्नु पर्ने जरुरी देखिन्छ । हामी चीनको बाटो हिँड्दै छौं कि सोमालिया वा नाइजेरिया को ? वा यसरी पनि भन्न सकिन्छ, हामीले १९८० अगाडिको चीनको बाटो हिँड्दैछौं कि त्यसपछिको चीनको बाटो ?

आजको चीनको ढोका सन् १९७८ मा सत्ता सम्हालेका देङ्ग स्याओ पिङ्गले खोलेको मानिन्छ । देङ्गको सत्ता रहँदा चीनले युवाहरुलाई विद्रोह, राजनीति वा युद्धमा होम्ने होइन कि रचनात्मक कार्यमा अग्रसर गराउने नीति लियो । फलतः उनले चीनको अर्थतन्त्र र राजनीतिलाई क्रमशः खुल्ला गर्दै गए । १९८० को दशकमा चिनियाँ युवाहरुलाई उनले युरोप, अमेरिका लगायतका विभिन्न देशहरुमा अध्ययन, अनुसन्धान तथा श्रम गर्न पठाउने नीति लिए । चीनको सरकारी बजेटबाटै त्यसकालमा हरेक वर्ष करिब ३ हजार विद्यार्थीहरुले प्राविधिक शिक्षा हासिल गर्ने अवसर प्राप्त गरे । 

आन्तरिक राजनीतिक खिचातानी, आन्तरिक युद्ध तथा जापानसँगको स्थायी शत्रुताले गर्दा हरेक वर्ष लाखौं युवाहरुको मृत्यु हुने कुरालाई उनले पूर्णविराम लगाँउदै उनले यस्ता गतिविधीमा चीनले कम से कम चासो दिने नीति अख्तियार गरे । यसको प्रभाव स्वरुप चीनको विकासका खाका कोरियो । युवाहरुको जनसंख्या दिनानुदिन बढ्दै गयो र यही युवाहरुको जनसंंख्यामा वृद्धि भएको अवस्थाबाट फाइदा लिन उनीहरु तयार भए । युवाहरुको कोरा जनसंख्या मात्र वृद्धि भएन कि शिक्षित युवाहरुको नयाँ तप्का समेत तयार हुँदै गयो । विस्तारै विदेश गएका युवाहरुबाट चीनले १९९० को दशकमा धन, सीप, दक्षता र प्रविधि देश भित्रायो । यसैको बलमा सन् २००० को दशकमा चीनले गरेको विकासलाई संसारको आश्चर्य मानिन्छ ।

केही वर्ष अगाडिसम्म रोग, गरिबी, अशिक्षा, बेरोजगारी जस्ता विशेषणले चित्रित हुने चीनले १९९० यता गरेको विकासले हामी मध्ये जो कोहीलाई कायल बनाइदिन्छ । कुनै बेला ‘एसियाको रोगी’ भन्ने उपनामले चिनिने यो देशको उपनाम कुनै पनि देशको नयाँ पुस्तालाई भन्यो भने आफ्नै बेइज्जत हुने खालको अवस्था आइसकेको छ । आज संसारका सबैभन्दा ठूलो अर्थतन्त्रमा यो तिब्र गतिमा रुपान्तरण भइरहेको छ ।
देङ्गले आफूले रोपेको विउको फल देख्न नपाउँदै उनी सन् १९९७ मा बितेर गए तर चीनले उनको देनलाई बिर्सेको छैन । १९७८ मा उनले शासन शुरु गर्दा चीनमा ८४ प्रतिशत मानिसहरु गरिब थिए भने प्रतिव्यक्ति आम्दानी मात्र ३०० डलरको नजिक थियो । १९९० मा त्यही प्रतिव्यक्ति आम्दानी ३४८ डलर मात्र रहेकोमा अर्काे दशक पुग्दा त्यसमा तीन गुणा बढाई सन् २००० मा ९६० डलर बनायो । सन् २००० को सुनौलो दशकको प्रभावले चीनले २०१० प्रतिव्यक्ति आम्दानी अघिल्लो दशकभन्दा पाँच गुणाले बढाउँदै ४५६१ डलर बनायो भने आज ९००० डलरको प्रति व्यक्ति आम्दानीमा देश अगाडि बढिरहेको छ । 

गरिबीको कुरा गर्दा सन् १९७८ को ८४ प्रतिशत गरिबी दर ३० वर्षपछि सन् २००८ मा त्यही सुनौलो दशकको बेला ७० प्रतिशत गरिबी हटाउँदै जम्मा १३ प्रतिशतमा सिमित राख्न चीन सफल भयो । सन् २०१८ मा त्यो घटेर जम्मा ३ प्रतिशतमा मात्र सिमित छ भने आगामी वर्ष सन् २०२० सम्म चीन गरिबीमुक्त देशमा रुपान्तरण हुनेछ । यसरी देशको ८४ प्रतिशत गरिबीलाई जम्मा ४० वर्षमा नामेट पार्न युवाहरु कै विशेष भूमिका रहेको थियो ।

यो परिवर्तनको बाटोमा लाग्ने क्रममा देङ्गमाथि चीनलाई समाजवादी मुलुकबाट पुँजीवादी मुलुकमा रुपान्तरण गराएर देश प्रति गद्दारी गरेको समेत आरोप लाग्यो । तर अविचलित देङ्गले “बिरालो कालो होस् या सेतो मुसा मार्न सके मात्र त्यसको उपयोगिता ठहर्ने” बताउँदै गए । साथै उनले “गरिबीलाई समाजवाद मान्न नसकिने” भन्दै “समृद्ध हुनुमा” चीनियाँहरुलाई गौरव मान्न सिकाए । यही पाठले आज चीन युवाहरुको काँधमा छ र संसारको सर्वसक्तिमान मुलुकको रुपमा विराजमान छ ।

चीनमा जस्तै जनसंख्यामा युवाहरुको आधिपत्य भएका थुप्रै अफ्रिकी देशहरुको कथा भने बेग्लै छ । नाइजेरियामा विगत ५ दशकदेखि त्यहाँको जनसंख्यामा ४० प्रतिशतको हाराहारीमा युवाहरु छन्, तर त्यहाँको नेताहरु युवाहरुलाई सकारात्मकताको संवाहक भन्दा पनि विद्रोहको बन्दुकका रुपमा प्रयोग गर्दा देश समेत टुक्रन पुग्यो भने देशले आर्थिक प्रगति समेत धिमा गतिमा अगाडि बढिरहेको देखिन्छ ।

नेपालमा समेत अहिले युवाहरुको जनसंख्या ४२ प्रतिशत देखिन्छ । जनगणनाको बेलामा देशबाहिर रहेका संख्यामा अधिकांश युवाहरु नै रहेको जगजहेर तथ्यबाट यो संख्या ५० प्रतिशतभन्दा बढी रहेको जो कोहीले सहजै अनुमान लगाउन सक्छन । किनकी करिब १५ प्रतिशत जनसंख्या नेपाल बाहिर रहेको बेला बेलामा विभिन्न तथ्यांकहरुले देखाउने गरिरहेकै छन् । यसरी हेर्दा अब हामीले आजको युवा दिवसबाट फैसला गर्नुपर्ने छ कि हामी चीनको बाटो हिड्ने कि नाइजेरियाको ? युवाहरुको जनसंख्याको प्रचुरतालाई अवसरका रुपमा प्रयोग गरेर समृद्धि हाँसिल गर्ने कि यो शक्तिलाई लडाएर सिमित समयको फाइदाका लागि देशलाई आगामी कयौं दशकसम्म बन्धक बनाउने ? यदि हामी समृद्धि चाहन्छौं भने देशसँग गुनासो गर्ने हैन, देशका लागि सकारात्मक प्रयत्न गर्नुपर्ने भइसकेको छ । देशलाई माग्ने मात्र होइन, देशलाई दिने पनि बेला भइसकेको छ । यहाँहरु सबैलाई २०१९ को युवा दिवसले यही शक्ति प्रदान गरोस्, युवा दिवसको धेरै धेरै शुभकामना ।

subash.malla@gmail.com

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC