site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
मधेसको नेतृत्वले पहाडको मन जित्नुपर्छ, पहाडका युवाले मधेस चिन्नुपर्छ
Sarbottam CementSarbottam Cement

चक्रीय प्रणालीअनुसार राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक छन् अहिले राजकिशोर यादव । तुलनात्मक रुपमा अध्ययनशील नेता मानिने यादव सिरहा–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
गत फागुनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राजपा महाधिवेशनमा होमिएको छ । महाधिवेशन आगामी कात्तिक २८–३० मा गर्ने घोषणा पार्टीले गरेको छ । 

सरकारमै रहेको समाजवादी पार्टी नेपाल र राजपाबीच पार्टी एकताको चर्चा पनि बेला बेलामा उठ्दै–सुस्ताउँदै आएको छ । समाजवादी पार्टीसँग एकतामा मूर्त प्रगति हुन नसकेको र आफूहरू सम्पूर्णरूपले महाधिवेशनमा केन्द्रित रहेको अध्यक्ष राजकिशोरको भनाइ छ ।

संसद्भित्रका केही मुद्दामा सँगै उभिए पनि प्रतिपक्षी दल कांग्रेससँग कार्यगत एकताको कुरा पनि हल्लामात्रै भएको र त्यसमा सत्यता नरहेको उनको प्रष्टोक्ति छ । समाजवादी दलसँगको एकता, संविधान संशोधन र मधेसका विविध मुद्दामा आधारित रहेर बाह्रखरीका अक्षर काका जगन्नाथ दुलालले यादवसँग गरेको कुराकानीको सम्पादित अंशः

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय जनता पार्टीले केपी ओलीको नेतृत्वमा सरकार गठन हुँदा गरेको समर्थन एक वर्षमै फिर्ता लिने अवस्था कसरी बन्यो ? 

चुनाव पछाडि नेकपाको पक्षमा जनमत आयो र केपी ओलीजीलाई देवत्करण नै गरियोे । उहाँले त्यतिबेला सबैलाई मिलाएर लैजाने र देश समृद्ध बनाउने भन्नुभयो । उहाँले त्यसो भनिसकेपछि किन हामी बाधक बन्ने भन्ने सोच्यौं । उहाँसँग दुईतिहाई पनि छ । उहाँले चाहँदा संविधान संशोधन हुने स्थिति पनि छ । यदि नेपाल समृद्ध हुन्छ भने हामी बाधक हुनु हुँदैन भनेर सरकारलाई समर्थन दियौं । 

Global Ime bank

त्यतिबेला हामीले संविधान संशोधनको मुद्दामा आन्दोलन गरेको भए आज नेपाली जनताले राजपाका कारणले हाम्रो विकास भएन भनेर भन्ने अवस्था बन्थ्यो । राजपाका कारण ओलीजीले समृद्ध बनाउन चाहनुभएको देश समृद्ध हुन पाएन भन्ने कुरा स्थापित गर्ने प्रयास हुन्थ्यो । 

यही विश्लेषणका साथ केही नभनीकन उहाँहरुकै कुरामा हामीले समर्थन दियौं । सरकारले के गर्दोरहेछ हेर्नुस् भनेर जनतालाई निवेदन गर्‍यौं । सरकार बनाउँदै गर्दा भनेको कुरा आज प्रधानमन्त्री ओलीजीले गर्न सक्नुभएको त छैन । जुन जनताले हिजो उहाँको स्तुतीगान गाउँथ्यो, आज तिनै जनताले यिनीहरुले केही गर्न सकेनन्, देश डुबाए भन्ने असन्तुष्टि र निराशा व्यक्त गरिरहेका छन् ।

त्यसैले राजपाको हिजोको निष्कर्ष सही थियो, वस्तुपरक थियो भन्ने प्रमाणित भएको छ । हामीले एकवर्ष सरकारलाई विरोध नगरीकन मौन समर्थन गरेर ठिकै गरेका रहेछौं । कम्तिमा नेकपाको चरित्र, उसको काम र नेतृत्वको क्षमता त जनतामा स्पष्ट भयो । 

अब संविधान संशोधनको मुद्दा उठायौं भने देशभरिका प्रगतिशील जनताको समर्थन प्राप्त गर्छौँ भन्ने हाम्रो बुझाइ हो । मूलतः हाम्रो रणनीति के हो भने यो सरकारले के गर्न चाहेको हो ? के गर्न सक्छ ? जनताले आफै अनुभूति गर्न सकुन् भनेर हामीले ‘पर्ख र हेर’मा बसेका थियौं । 

संविधान संशोधनको मुद्दालाई प्रमुखताका साथ उठाइरहनुभएको थियो । तर, यहाँहरुको आवाज अहिले सुस्त छ । राजपाले संविधान संशोधनको मुद्दा छोडेको हो ?

यो संविधान अपूरो हो, अधुरो हो । यसले नेपालको सबै भूभाग, जनतालाई समेटेर लैजाँदैन । देशको सर्वाङ्गिण हित गर्दैन भन्ने निष्कर्षका साथ हामीले संविधानलाई पूर्ण बनाएर लैजान संविधान संशोधन हुनुपर्छ भनेका हौं । जुन प्रकारले जनताको असन्तुष्टि आयो, यसले हामीले उठाएको कुरालाई थप बल पुर्‍याउँछ । संविधान संशोधनको आवश्यक्ता छ भन्ने कुरालाई प्रमाणित गर्छ । त्यसैले हामीले संविधान संशोधनको मुद्दा छोडेको होइन ।

यहाँहरु आफूलाई संविधान संशोधनको पक्षधर भन्नुहुन्छ । तर, सरकार गठनमा संविधान संशोधनमा आफैँले अनुदार ठहर गरेको तत्कालीन नेकपा एमालेलाई समर्थन गर्नुभयो । त्यसलाई कतिपयले संविधान संशोधन मुद्दा राजपाले छोडेको रुपमा पनि अर्थ्याएका छन् नि ?

यो सरकारले संविधान संशोधनलगायतका नेपाली जनताका जनसरोकारका विषय अघि बढाउँछ भन्ने विश्वासका साथ समर्थन गरेको हो । सरकारले कुनै ढंगले राम्रो काम गर्न सकेन । न त संविधान संशोधनको सवालमा न त जनसरोकारका सवालमा ।

शान्ति सुरक्षा, सुशासनका कुरामा पनि काम गर्न सकेन । त्यसपछि हामी समर्थन फिर्ता लिएर बाहिरिएका हौं । अहिले हामी विपक्षमा हो । अहिले फेरि संविधान संशोधनका कुराहरु टड्कारो रुपमा उठेको छ । सरकारसँग औपचारिक रुपमा फेरि एकपटक कुरा गर्छौँ । सरकारले हामीले उठाएका कुरामा गम्भीर भएन भने वर्षायाम सकिनेबित्तिकै हामी संघर्षमा जान्छौं । अहिले संसदभित्रै छौं । त्यो संघर्ष सडकमा जान सक्छ ।संविधान संशोधनको मुद्दामा कहिलेसम्म सम्बोधन भएन भने राजपा सडकमा जान्छ ?

हामी त्यस्तो योजना बनाइरहेका छौं । महाधिवेशन गर्नुपर्ने भएकाले हामी अहिले महाधिवेशनमा केन्द्रित छौं । अहिले बर्खायाम छ । बाढीबाट जनता पीडित भएका छन् । दशैंपछि महाधिवेशन गर्छौँ र महाधिवेशनअघि पनि संविधान संशोधनमा हल निस्किएन भने महाधिवेशन सकेर हामी सडकमा जान्छौं ।

जब निर्वाचन आउँछ, तब तपाईंहरु आन्दोलन थाल्नुहुन्छ । संविधान संशोधनको मुद्दामा पनि राजपाले अर्को निर्वाचन पर्खिरहेको हो ?

राजनीतिक शक्ति र नेतृत्व निश्चित रुपमा धेरै कुरा ध्यान दिएर निर्णय गर्छ । राजपा वा राजपाको नेतृत्वले पनि त्यही गर्ने हो । यहाँले यसलाई नितान्त चुनावसँग जोडेर मात्रै हेर्नुभयो भने पूर्ण हुँदैन । यस्तो विश्लेषण गलत हुन्छ । तर, चुनाव केही हुँदै होइन भन्ने पनि होइन । यसलाई अलि समष्टिगत रुपमा बुझ्नुपर्ने हुन्छ ।

मधेस आन्दोलनकै नेतृत्व गर्ने प्रमुख शक्ति समाजवादी पार्टी नै अहिले सरकारमा छ । तपाईंहरु सडकमा निस्कनुको औचित्य कसरी पुष्टि हुन्छ ?

समाजवादी पार्टीले के गर्छ, गर्दैन यसको सही र सार्थक जवाफ त समाजवादी पार्टीसँगै हुनेभयो । हामीले हिजो आन्दोलनमा उठाएको विषयहरु जहाँ थियो, त्यो अहिले पनि त्यहीँ नै छ । त्यसमा कुनै प्रगति भएको छैन । यसले हाम्रो मागको औचित्यलाई प्रमाणित गर्छ ।

अर्को कुरा, अहिले पनि नेपालका विभिन्न भूभागमा संविधानप्रति असन्तुष्टि छ । त्यसको पनि सम्बोधन भएको छैन । यसले पनि आन्दोलनको औचित्य पुष्टि गर्छ । संविधान संशोधनको मुद्दालाई नेतृत्व दिन हामी अहिले पनि तयार छौं । हिजो आन्दोलनमा उपेन्द्र यादव र हामी सँगै थियौं । हिजो आन्दोलनमा उठान गरेका विषयहरुमा अहिले कुनै तात्विक भिन्नता छैन । ती मुद्दाहरु सम्बोधन भइदिएको भए, कुनै प्रगति देखिएको भए वा संविधान संशोधन भइदिएको भए आन्दोलनको औचित्य छैन भन्नुहुन्थ्यो ।

उहाँहरु त नितान्त सरकारमा मात्र जानुभएको हो । त्यसैले राष्ट्रिय जनता पार्टी हिजो जुन अडानका साथ आन्दोलन गरेको थियो, आज पनि त्यही अडानमा छ । त्यसैले आन्दोलनमा जानका लागि हामीले कुनै आइतबार कुर्नुपर्ने अवस्था छैन ।

समाधानमा सरकार इमान्दार रुपमा प्रस्तुत हुनुपर्छ । जनता संविधान संशोधनको पक्षमा रहेको कुरा प्रमाणित भइसक्यो । हिजोको संघर्ष, निर्वाचनको परिणाम र अहिले सरकारप्रतिको चौतर्फि आलोचना र असन्तुष्टि छ । यी तमाम घटनाक्रमलाई विश्लेषण गर्ने हो भने संविधान संशोधन समयसापेक्ष र आवश्यक माग हो भन्ने देखिन्छ ।

मधेस मुद्दाबारे बहस हुँदा जहिले नागरिकताको समस्या अगाडि आउँछ । संविधान संशोधनले नागरिकता समस्याको हल गर्छ ?

मधेसलाई हेर्ने परम्परावादी दृष्टि आफैँमा अन्यायपूर्ण छ । हिजोको मधेसको नेतृत्वले पनि यसलाई चिर्न, पन्छाउन सकेन । राष्ट्रिय दृष्टिमा मधेसका मुद्दालाई प्रमाणित गर्न सकेन । औचित्य पुष्टि पनि गर्न सकेन । यो मधेसीका लागि ठूलो असफलता र ‘सबक’ नै हो ।

मुलुकलाई प्रगतिशील बाटोमा लैजान देशको विविधतालाई वैज्ञानिक ढंगले कसरी व्याख्या गर्न सकिन्छ ? यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? भनेर बहस शुरू गरेका हौँ ।

सबैलाई थाहा छ– राज्य एकांकी भयो । राज्यको चरित्र असमावेशी भयो भनेर हामीले समावेशी र सहभागितामूलक राज्यको वकालत गरेका हौँ । यो खाली मधेस–तराईसँग जोडिएको विषय होइन । हिमाल, पहाड र तराईसँग गाँसिएको विषय हो ।

केन्द्रीय राज्यले देशको सर्वाङ्गीण विकास हुन सकेन । केन्द्रमा मात्र विकासको थुप्रो लाग्यो भनेर आवाज उठायौँ । यो कहाँ मधेसका लागि मात्र थियो र ?

मुलुकको जनसंख्याको ठूलो हिस्सा शासन व्यवस्थाको मूलप्रवाहमा समेटिन सकेन । पछाडि पर्‍यो । उनीहरूलाई पनि शासन व्यवस्थाको मूल भँगालामा ल्याउन पहिचानको आन्दोलन छ्ेडयौँ । त्यो तराई–मधेसका लागिमात्र थिएन ।

जब नागरिकताको प्रश्न उठ्छ । आफूलाई तथाकथित राष्ट्रवादी भन्नेहरू, विद्वानहरू मधेसतिर हेर्छन् । नागरिकता मधेससँगमात्रै जोडिएको विषय होइन ।

नागरिकता संवदेनशील विषय हो । नागरिकताको नाममा मधेस र मधेसीको स्वाभिमान र सार्वभौमिकतामाथि, उनीहरूको राष्ट्रप्रतिको कर्तव्य र जिम्मेवारीमाथि, उनीहरूको इमान्दारितामाथि प्रश्न उठाइने गर्छ, यो हामीलाई किमार्थ स्वीकार्य छैन ।

हामीलाई देखाएर अरूहरूले चोरी गरेका छन् । अरूले बेइमानी र फट्याइँ गरेका छन् । काठमाडौंमा केही विद्वान अन्तर्वार्ता दिँदै हिँडेको देखेको छु । उनीहरूले के भन्छन् भने प्रदेश नम्बर दुईमा ४० लाख गैरनेपालीले नागरिकता लिएका छन् । उनीहरूले सरकार र मधेसको नेतृत्वलाई तथानाम गाली गरिरहेका छन् । उनीहरूले जनतालाई भ्रम छरिरहेका छन् ।

प्रदेश नम्बर दुईमा जम्मा ५४ लाख जनसंख्या छ । त्यसमध्ये १६–१८ लाख जनसंख्या पहाडी समुदाय छ । जम्माजम्मी ३६ लाखमात्रै तराई मूलका नागरिक छन् । त्यसो हो भने तराईका सबै नागरिक गैरनेपाली हुन् ? या नेपाल बाहिरका हुन् ?

सबै तराईबासी नेपाली होइनन् भन्ने हिम्मत ती विद्वानलाई कहाँबाट आयो ? यो तराईबासीको स्वाभिमानमाथिको प्रहार होइन ? हाम्रो राष्ट्रियतामाथि प्रश्नचिह्न खडा गराइएको होइन । प्रदेश दुईमा ४० लाख भारतीयले नागरिकता लिए भन्नेलाई तुरून्तै कारवाही गर्नुपर्छ ।

यस्तो तर्क गर्ने साध्यबहादुर भण्डारीलाई तराईका जनताले मानहानीको मुद्दा हाल्दैछन् । या त उनले प्रमाणित गर्नुपर्‍यो तराई–मधेसबासी गैरनेपाली हुन्, सबै अन्य मुलुकबाट आएका हुन् भनेर । भूकम्प आउँछ भनेर भविष्यवाणी गर्दा जेल हाल्ने सरकारले मधेसी नागरिकलाई गैरनेपाली हुन् भन्नेलाई कारवाही किन नगर्ने ?

तथाकथित विद्वानहरूले खुलमखुला भन्दै हिँड्दा पनि राज्य चुप लागेको देखेर मधेसी जनताले यहाँका शासक वर्गप्रति ठूलो अविश्वास गरिरहेका छन् । असन्तोष छ ।

नागरिकताको समस्या समाधान गर्न र फर्जि नागरिकता किनारा लगाउन अधिकारसम्पन्न नागरिकता छानबिन आयोग बनोस् । मधेसी पहाडी जो कोही होस् फर्जि नागरिकता लिनेलाई कारवाही हुनैपर्छ । जुनसुकै भेग, धर्म, वर्णका हुन् । गलत ढंगले नागरिकता दिने र लिने दुवैलाई कारवाही हुनुपर्छ भन्ने राष्ट्रिय जनता पार्टीको माग छ ।

२०६३ पछि झापा जिल्लामा सबैभन्दा बढी त्यस्तो नागरिकता बनेका छन् । मोरङ, सुनसरीमा बनेका छन् । तर, ती जिल्लालाई बेवास्ता गरेर एकाहोरो मधेसीमाथि कोट गरीगरी आरोप लगाउनुको स्वार्थ के हो ?
केही दिनअघि हृदयेशजीले पनि सदनमा यो कुरा उठाउनुभएको छ । राजपा नेपालको आधिकारिक माग पनि यही हो ।

नागरिकताका सवालमा केही तराईका भूमिपूत्र छन्, उनीहरूले नागरिकता पाएका छैनन् । उनीहरूलाई सहज गरिदेऊ । यदि त्यो नेपाली हो भने नागरिकता देऊ । गैरनेपालीलाई नागरिकता देऊ हामीले भनेका छैनौँ ।

मधेस हीरा हो, मधेसलाई शासनको मूल प्रवाहमा लैजान सक्यो भने सिंगै देशको कायाकल्प हुन सक्छ । मधेसको भूमिलाई आफ्नो भन्ने मधेसी जनतालाई आफ्नो भन्न नसक्दा मधेस त पछि प¥यो, प¥यो समग्र नेपाल पछि पर्ने अवस्था बन्यो ।

त्यतिधेरै जनसंख्याको अवस्थालाई आँखा चिम्लिएर, अनदेखा गरेर यो मुलुकको प्रगति कसरी सम्भव छ ?हिजोका दिनमा नेपाली कांग्रेस र अहिलेका नेकपाका नेताहरूले भारतमै बसेर नेपालमा सशस्त्र क्रान्ति गरे । उनीहरूको क्रान्तिमा भारतको भूमिका देखिन्छ नै, तर उनीहरूको राष्ट्रियता, देशभक्तिको सवालमा प्रश्न नउठ्ने तर मधेसीहरूले बारबार स्पष्टीकरण दिनुपर्ने किन ?

यो नेपाली राज्यसत्ताको चरित्रसँग जोडिएको प्रश्न हो । हिजो राज्यसत्ता जसरी निर्माण भयो, बडो रणनीतिक हिसाबले जनता जनताको बीचमा फुट र विभाजन गरेर आफू सत्तामा टिकिरहन शासकले यो कथ्य, भाष्य निर्माण ग¥यो ।

जनताले बुझ्नै सकेनन् र हुबहु मनन गर्दै आए । मधेस र पहाडको जनतालाई यही निहुँमा विभाजन गर्‍यो । मुलुकको स्रोत साधन त्यही चरित्र र प्रवृत्तिका शासकले उपयोग गरिहेको छ । सञ्चारमाध्यम पनि त्यही कथ्यको पछि लागेको छ, जनताले थाहा कसरी पाउने ? आज हेर्नुहोस् सञ्चारदेखि शिक्षादीक्षा दिने संस्था सबै उनै शासकको अधीनमा छन् । इतिहासका आविष्कारक पनि उनीहरू नै बनेका छन् ।

यसर्थ, आजको कटू तर सत्य कुरा के हो भने मधेस राज्यको मूलधारमा कहिल्यै जोडिएन । मधेसबारे अनेकन भ्रम, मिथ तयार भए, चिर्न सकिएन । अर्को, मधेसलाई कार्डको रूपमा हेरिएको छ । सत्तामा जान उपयोग गरिन्छ ।

अहिले युवापुस्ता अलि सचेत हुँदैछ । मधेसमा पनि दिनभरि पहाडीलाई गाली गरेर राजनीतिक गर्न खोज्ने छन् । उसलाई आफू के गर्ने भन्ने थाहा छैन । पहाडमा पनि मधेसीलाई सक्दो गाली गरेर राष्ट्रवादी बन्ने प्रवृत्ति छ । नयाँ पुस्ताले वस्तुवादी भएर दुवै अतिवादलाई चिरेर नयाँ नेपाल बनाउनुपर्छ ।

मधेसको नेतृत्वले पनि आफ्नो स्वाभिमान जोगाउँदै पहाडी जनताको मन जित्न लाग्नुपर्छ । पहाडका युवाले मधेस मेरो हो भन्ने फराकिलो मन बनाउनुपर्छ ।

यसले दुईवटा काम गर्छ । पहिलो अहिलेसम्म देश बन्यो, राज्य बनेको छैन । हिमाल, पहाड र तराई जोडेर मुलुक बनाउने प्रकृयामा छौँ । सबै मिलेर मुलुक बनाउने ऐतिहासिक अवसरलाई उपयोग गर्न सके देश बन्छ, हामी पनि बन्छौँ ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरणका लागि केही चरण पत्र आदानप्रदान भयो । वार्ता कमिटि पनि बन्यो । एकीकरण प्रक्रियाचाहिँ अहिले कुन चरणमा छ ?

दुईवटै पार्टीले एकता गर्ने भनेर वार्ता कमिटीसम्म निर्माण गरेको हो । तर, आजको मितिसम्म औपचारिक रुपमा वार्ता भएको छैन । वार्ता गर्ने, एकीकरण गर्ने भनेर पत्राचार भएको हो । दुईवटा पार्टी मिल्नु आफैँमा कठिन काम हो । त्यसका लागि राजनैतिक, सैद्धान्तिक पक्षहरु मिल्नुपर्छ । मार्गनिर्देशक सिद्धान्तदेखि राजनीतिक कार्यक्रम के तय गर्ने ? त्यो मिल्नुपर्छ । त्यसका लागि औपचारिक वार्ता हुनुपर्छ । त्यो भएको छैन । तर, नीतिगत तहमा एकीकरण गर्ने भनेर उहाँहरुले पत्र पठाउनुभयो । हामीले पनि जवाफ पठायौं । अहिलेको अवस्था यही हो ।

एकता प्रक्रियामा लागि मुख्यतः कसले कम चासो देखायो, राजपा कि समाजवादीले ?

एकीकरणका लागि परिस्थिति परिपक्व बनिसकेको छैन । यसलाई नकारात्मक रुपमा पनि नबुझौं । सकारात्मक ढंगले नै अघि बढिरहेको अवस्था छ । एकताका लागि सबै कुरा मिलेर आउनुपथ्र्यो । औपचारिक रुपमा कुराहरु हुनुपथ्र्यो । जुन परिपक्वता हुनुपथ्र्यो त्यो देखिएको छैन । अहिले नै कासले चासो देखाएन भनेर भन्नु अलि हतारो हुनसक्छ ।

संविधान संशोधनको मुद्दा हल गर्ने भन्दै समाजवादी पार्टी सरकारमा छ । राजपा अहिले पनि सोही मुद्दामा छ । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले मधेसका जनतालाई धोका दिएको हो ?

धोका दिएकै भनेर भन्न त अहिले अलि हतारो हुन्छ । तर, उहाँको मुद्दाप्रति जति गम्भीरता हुनुपथ्र्यो त्यो देखिएन । सरकारमा जानेबेलामा २ बुँदे सहमति गर्नुभएको थियो । उहाँले सरकारसँग हाम्रो रणनीतिक सम्झौता हो र संविधान संशोधनका लागि हामी सरकारमा गएका हौं भन्नुभएको थियो । त्यतिबेला हामीले उहाँहरुको कार्यनीति गलत हो भन्यौं । हामीले बाहिरै बसेर दबाब सिर्जना गर्छौ भनेर बाहिरै बस्यौं । उहाँहरुले सरकारमा जाने कार्यनीति लिनुभयो । समाजवादी पार्टी सरकारमा नगएको भए जुन प्रकारको दबाब सिर्जना हुन्थ्यो, त्यो भएन । त्यसैले सरकारमा जानु उहाँहरुको कार्यनीतिक भूल हो भन्ने मलाई लाग्छ ।

समाजवादीसँग एकताका लागि सरकार बाधक भएको हो ?

वार्ताका लागि उहाँहरुले सरकार छोड्नुपर्ने त्यस्तो अडान वा शर्त होइन । दुईवटा पार्टी मिलाएर एउटा ठूलो पार्टी मात्र बनाउने हाम्रो ध्येय होइन । दुईवटा पार्टी मिलेर एउटा वैकल्पिक शक्ति, मुद्दामा आधारित शक्ति, राजनीतिक कार्यदिशा स्पष्ट भएर अगाडि बढाउने हाम्रो ध्येय हो । त्यसका लागि गम्भीरताका साथ वार्ता हुनुपथ्र्यो । त्यो चरणमा प्रवेश गरेको स्थिति होइन । त्यसैले एकीकरण र सरकारको सवाल सानो भयो । यदि एकीकरणको आलोकमा सरकारमा रहने, नरहने भनेको सानो कुरा हो । त्यसैले त्यो आलोकमा यसलाई हेरिनुहुन्न भन्ने हाम्रो बुझाइ हो ।

नेकपाका अध्यक्ष ओली र समाजवादी पार्टीका अध्यक्ष यादव दुवै सत्तारुढ हुनुहुन्छ । प्रतिपक्षको बेञ्चमा रहेको राजपाको ओली र यादवलाई हेर्ने दृष्टिकोण के हो ? समान हो कि बेग्लाबेग्लै छ ?

निश्चित रुपमा फरक छ । केपी ओलीजी सरकारको नेतृत्व गर्दै हुनुहुन्छ । उहाँले चाहेमा संविधान संशोधन हुन्छ । उहाँले चाहेमा हिजोसम्म पछाडि परेका, पारिएका, शोषण उत्पिडनमा परेका जनताहरुका लागि अग्रसरता लिएर उत्तरदायी भूमिका निर्वाह गर्न सक्नुहुन्छ । ती कुरालाई निष्कर्षमा पुर्‍याउन सक्नुहुन्छ । तथापि, उपेन्द्र जी पनि त्यही सरकारमा हुनुहुन्छ । तर, उहाँको हैसियत त्यो होइन ।

उहाँले अहिलेसम्म सरकारमा जानुको औचित्य पुष्टि गर्न सक्नुभएको छैन । संविधान संशोधनका लागि गएको भन्नुहुन्छ । उहाँ सरकारमा भएर पनि सरकारभित्रै एकप्रकारले प्रतिपक्षको भूमिकामा हुनुहुन्छ । उहाँले त्यो कार्यलाई भोलि जनताको बीचमा कसरी पुष्टि गर्ने हो त्यो चुनौती उहाँहरुसँगैै छ ।

जहाँसम्म राजपाको ओली र यादवलाई हेर्ने दृष्टिकोणको सवाल छ, ओलीजी मूलधार हुनुभयो । उहाँले चाहँदा संविधान संशोधन हुन सक्ने भयो । उपेन्द्रजी सरकारमा भाग लिन गएकोजस्तो देखियो । सरकारमा जाने समाजवादी पार्टीको कार्य त्रुटिपूर्ण देखियो । उहाँले आफ्नो कार्यनीति बदलेर संघर्षको मैदानमा आउनुभयो भने संघर्ष प्रभावकारी र परिणाममुखी हुन्छ भन्ने हाम्रो बुझाई हो ।

समाजवादी पार्टीलाई सरकारबाट बाहिरिन यहाँहरुको आग्रह हो ?

हो, हामीले सरकार छोड्नका लागि आव्हान त गर्ने नै भयौं । आफ्नो कित्ता बलियो होस्, फराकिलो होस् भन्ने त सबैको चाहना हुन्छ । मलाई लाग्छ यो उहाँहरुको परमकर्तव्य हो । जनतालाई जेका लागि आन्दोलित गराए, त्यो पूरा नभईकन यसरी सत्तासिन हुँदा निश्चित रुपमा नैतिक प्रश्न उठ्छ ।

उपेन्द्र यादवको नेकपासँगको सत्ता साझेदारीमा नैतिक प्रश्न उठाइरहँदा राजपाको कांग्रेससँगको कार्यगत एकतामाथि चाहिँ त्यस्तो प्रश्न उठ्दैन र ?

म प्रष्ट गर्न चाहन्छु, राजपाले कांग्रेससँग त्यस्तो कुनै कार्यगत एकता, सहकार्य गरेको छैन । हामीले कांग्रेस पनि प्रतिपक्षी दल भएकाले संसदभित्र मुद्दाका आधारमा समान दृष्टिकोण निर्माण गर्ने र संसदभित्र कार्यगत एकता गर्ने भनेका हौं । उपेन्द्रजी त सत्तामै साझेदारी गरेर गएको अवस्था छ ।

संविधान लेखनका सन्दर्भमा कांग्रेस र नेकपा एकै ठाउँमा हो । तथापी जनतालाई झुक्याउनका लागि संविधान संशोधनको मुद्दा कांग्रेसले दर्ता गरायो । त्यतिबेला तत्कालिन एमालेका कारणले त्यो पारित हुन सकेन । हामीले परिणाम हेर्ने हो ।

मधेस वर्षेनी डुबानको चपेटामा पर्छ । बाढी आएर विध्वंस निम्त्याएपछि सरकार राहत बोकेर पुग्छ, यो समस्याको दीर्घकालीन समाधान के ?

बाढी प्रत्येक वर्षायामको कहर हो । यो नियमित जस्तै छ । यसको पछाडि भूबनोट छ । वर्षायाममा पहाडमा पानी अडिँदैन बगेर मधेस पुग्छ । निकास यथोचित नभएपछि डुब्छ । नेपाल सरकारले वर्षा लागेपछि राहत बाँड्ने भन्दा दीर्घकालीन निवारण, न्यूनीकरण गर्ने उपायको खोजी गर्नुपर्छ । यसका लागि अधिकारसम्पन्न बाढी प्राधिरकरण निर्माण गर्नुपर्छ ।

वर्षातमा परेको पानी कसरी उपयोग गर्ने ? त्यसका लागि पहाडका उच्च बहाव भएका नदीमा उच्च बाँध बनाउन सकिन्छ ।

अहिले विकासका नाममा अवैज्ञानिक ढङ्गले बाटोघाटो, सडक बनाउँदा, डोजर चलाउँदा त्यसले विनास नित्याएको छ । चुरेको सखाप भएको छ । त्यसले मधेस मरुभूमिकरण भएको छ नै, नेपालकै अस्तित्व सखाप भएको छ । अतः चुरे व्यवस्थित गरौँ । बोटविरुवा रोपेर व्यवस्थित गरौँ ।

अर्को तराईका नदीबाट तस्करले बालुवा, रोडा, ढुङ्गा तस्करी गरिरहेका छन् । भोलि त्यो सुन बन्छ । अतः नदी दोहन रोक्नुपर्छ ।

नेपालको पानी भारत जान्छ, भारतको पानी नेपाल आउँछ, यो प्राकृति कुरा हो । भारत सरकारसँग कूटनीतिक तहमा कुराकानी गरेर प्राकृतिक निकास क्षेत्र खुला राख्नुपर्छ । बाढी निकासबाट नेपालका जनता पनि पीडित नहून्, भारतका जनता पनि पीडित नहून् । दुई देशको आपसी हितमा त्यसलाई सल्ट्याउन सकिन्छ ।

प्रधानमन्त्री आइसकेपछि बाढी र नागरिकताका सन्दर्भमा प्राधिकरण बनाउने कुरा दृढतापूर्वक उठाउँछौँ ।

तस्बिरः सरिता खड्का

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २६, २०७६  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC