‘मलाई चर्चाको तिर्खा छ, त्यो मदन पुरस्कारले मेटाउन सक्छ’

‘मलाई चर्चाको तिर्खा छ, त्यो मदन पुरस्कारले मेटाउन सक्छ’

ध्रुव सापकोटाले कथा लेख्न थालेको ठ्याक्कै ५० वर्ष भयो । आधा शताब्दी लामो आख्यान यात्रामा उनले सातवटा कथासङ्ग्रह प्रकाशन गरे । उनको पछिल्लो कथासङ्ग्रह ‘विचारको लास’ मुलुकको प्रतिष्ठित पुरस्कार मदन पुरस्कार–२०७५ को सर्टलिस्टमा परेको छ । विचारको लासमा सापकोटाका पछिल्लो समय लेखिएका २१ कथा छन् । लेखककका लागि पुरस्कारको महत्व, नेपाली कथासाहित्यको वर्तमान अनुहार र कथालेखनको विकासक्रमबारे सापकोटासँग राजेन्द्र पराजुलीले गरेको कुराकानीको सार:

यत्ति लामो समय आख्यान लेखनमा बिताउनुभयो, चर्चा खासै भएको देखिँदैन । अहिले आएर मदन पुरस्कारको सर्टलिस्ट (उत्कृष्ट सात)मा पर्नुभएको छ, के कारणले तपाईंको कथासङ्ग्रह चयन भएको होला भन्ने लाग्छ ?
म आफैं पनि आश्चर्यचकित भएको छु । लामो समयदेखि लेखिरहेको छु । पहिलापहिला पनि मदन पुरस्कारलाई लिएर मेरो चर्चा हुने गथ्र्यो, यद्यपि केही समयअघिसम्म त यसरी सर्ट लिस्ट निकालिँदैनथ्यो । पहिला पनि मदन पुरस्कारका केही जुरी मेम्बर मेरो पुस्तकको प्रशंसा गर्थे, राम्रो छ तपाईंको पुस्तक भन्थे । तर मलाई पुरस्कार दिइएन । म कतै हिँड्ने, गुट बनाउने, प्रचारमा लाग्ने काम गर्दिनँ । खुरुखुरु लेख्ने काम गरिरहेको छु । तैपनि यस पटक सर्ट लिस्टमा परेछु, खुसी छु ।

सर्ट लिस्टमा परेपछि कस्तो प्रतिक्रिया पाउँदै हुनुहुन्छ ?
मदन पुरस्कारको सर्ट लिस्टमा परेपछि चर्चा खुबै हुँदो रहेछ । प्रकाशकले मेरो पुस्तक बिक्री बढेको छ भनिरहेका छन् । कति बढ्यो त्योचाहिँ थाहा छैन । अनौठो कुरो पनि तपाईंलाई बताऊँ, विचारको लास सर्ट लिस्टमा परेपछि मेरा दुश्मन बढेका छन् । कुरा काट्ने काम निकै हुन थालेको छ । छिद्रान्वेषीले काम पाउन थालेका छन् । मज्जा लागिरहेको छ ।

अब के यो पटकको मदन पुरस्कार तपाईंले नै पाउनुहुन्छ त ?
पाए त राम्रै हो । मुलुककै प्रतिष्ठित पुरस्कार पाउनु खुसीकै कुरा हो नि ! नपाए पनि कुनै दुःख लाग्ने छैन । किनकि, मैले यसअघि पनि आख्यान लेखेकै हो, पुस्तक निकालेकै हो । यति हुँदाहुँदै पनि मेरा केही शुभचिन्तकचाहिँ यो पुरस्कार मैले पाओस् भन्ने चाहन्छन् । सर्ट लिस्टमा परेकामध्ये सबैभन्दा सिनियर लेखक पनि त म नै हुँ ।

ध्रुव  सापकोटा राम्रो लेख्दालेख्दै पनि कम चर्चा पाएको वा ओझेल पारिएको लेखक भन्छन् नि ?
लेखन मेरा निम्ति एउटा नसा हो । रक्सी वा चुरोटको नसाजस्तै । छाड्न नसकिने आदत बसेको छ । साहित्यमा सुरुमा लागिहालियो, अहिले छाड्न मन लागेन । चर्चा नहुनुको कारण त गुट नहुनु या मित्रहरु नहुनु हो । म देखिने गरी नै राजनीतिक पार्टी (काङ्ग्रेस)मा पनि लागिनँ, कम्युनिस्टमा लाग्ने त कुरै भएन । मेरो लेखनलाई मन पराउने केही मित्र तथा शुभचिन्तकका कारण म अहिलेको अवस्थामा छु । कुनै पनि पार्टी र गुटले मलाई उचालेका होइनन् । भन्नै पर्दा– चर्चा गरिदिने मित्रको अभावका कारण म पछाडि परेको हुँ भन्ने लाग्छ ।  

६८ वर्षको हुनुभयो, लेखन ऊर्जा उस्तै छ ?
कहिलेकाहीँ त लाग्छ– अब छिट्टै ऊर्जाको स्रोत सुक्दैछ । ‘म शून्यमा शून्यसरी बिलाएँ’ पो हुन्छ कि भन्ने पनि सोच्छु । दिमागमा कथाका प्लट आउन पहिलाभन्दा निकै कम हुँदै गएको छ, घटनाका झिल्काले कम छुन थालेका छन् । लेखनलाई वातावरण, प्रोत्साहन र उत्साहजस्ता कुराले पनि असर पार्छ । 

तपाईं प्रविधिमैत्री हुनुहुन्न, अझै पनि हातैले लेख्नुहुन्छ नि ?
प्रविधिमैत्री नहुँदा केही घाटा पनि भएको छ । पत्रकार–सम्पादकहरु कथा माग्न आउँछन्, मैले हस्तलिखित कथा दिँदा कम चासो दिन्छन् । कार्यालयमा टाइप गर्ने मानिस छैन पनि भन्छन् । यसकारण पनि मेरो चर्चा कम भएको हो । म अलि पुरानै मानिस पो भएँ कि भन्ने पनि लाग्छ ।  

आधा शताब्दी लेखनमा बिताइसकेको लेखकलाई पुरस्कारले के दिन्छ ?
मलाई अब आर्थिक लोभ छैन, मेरो पारिवारिक अवस्था राम्रै छ । त्यसकारण पुरस्कारबाट पाइने पैसाप्रति मेरो कुनै मोह छैन । मुख्य कुरो चर्चा हो, जुन पुरस्कारले दिलाउँछ । मलाई यतिखेर चर्चाको तिर्खा छ, त्यो तिर्खा मदन पुरस्कारजस्ता पुरस्कारले मेटाइदिन्छ । 

नेपाली आख्यानकारिताको आधा शताब्दीदेखिको साक्षी हुनुहुन्छ, यसको यात्रा कसरी अघि बढिरहेको देख्नुहुन्छ ?
अहिले लेखनको फ्रेमवर्क नै परिवर्तन भइसकेको छ । विविधता आएको छ । लेखक नै पनि सयौं छन्, तिनै लेखकबाट छानिएर पाँच–सात जना यसमा जम्ने हुन् । मैले लेख्न सुरु गर्दा अत्यन्त थोरै कथाकार थिए । अहिले त धेरै छन्, जुन राम्रो पक्ष हो । प्रतिष्पर्धाबाट छानिएर र खारिएर कथाकार अगाडि आउँदा समग्र नेपाली कथासाहित्यलाई फाइदा पुग्छ । अहिले कथाकारको ‘क्वान्टिटी’ प्रचुर छ, अब यसैबाट ‘क्वालिटी’ आउने हो ।   

उपन्यास, संस्मरण वा आत्मकथा बिक्छ, कथा बिक्दैन भन्छन् नि प्रकाशकहरु ?
संस्मरण र आत्मकथा अब झुटका पुलिन्दा भइसके । पाठकले त्यसलाई विश्वास गर्नै छाडिसके । उपन्यास अलि बिक्ला, कथा पनि नबिक्ने भन्ने त हुँदै होइन । कथाका पुस्तक प्रकाशित भएपछि त्यसलाई ढङ्ग पुर्‍याएर प्रचार गर्नुपर्‍यो नि, विज्ञापन गर्नुपर्‍यो ! ठाउँठाउँमा पुर्‍याउनुपर्‍राम्ररी जानकारी दिनुपर्‍यो, तब पो बिक्छ कथा । ग्ल्यामर आत्मकथा वा संस्मरणमा भए पनि अब तिनका दिन सकिएर कथाका दिन आएका छन्, कथा बिक्छ । 

सर्ट लिस्टमा परेका सात पुस्तकमध्ये कतिवटा पढ्नुभएको छ ?
एउटै पढेको छैन । अब पढ्नुपर्ला ।  

एउटा लेखकले अध्ययन गर्नु, घुम्नु, अनुसन्धानमा लाग्नु आवश्यक छ भनिन्छ नि ?
अध्ययन, भ्रमण र अनुसन्धान अनावश्यक होइनन्, तर मुख्य कुरो प्रतिभा हो । प्रतिभा वा लगन छैन भने त्यसले संसारै चहारे पनि केही लेख्न सक्दैन । प्रतिभाशाली मानिसले भ्रमण गर्नु वा अध्ययन गर्नु राम्रो कुरा हो । त्यसले लेखकको लेखनीमा चमक ल्याइदिन्छ । शैली र शिल्पलाई उज्यालिदिन्छ । लेखनका नयाँनयाँ आइडिया अध्ययनले दिन्छ । भ्रमणबाट बिम्ब निर्माणमा मद्दत मिल्छ । मेरो विचारमा एउटा लेखकलाई स्तरीय बन्न ५० प्रतिशत प्रतिभा र ५० प्रतिशत अध्ययन र भ्रमणले मद्दत गर्छ । 

तपाईंलाई लेखनमा कसको प्रभाव परेको छ ?
राम्रो पुस्तक पढेपछि प्रभाव त परिहाल्छ । स्तरीय लेखकले लेखेका कृतिले लेखनका ढाँचा, शैली, प्रस्तुति र प्रयोगमा प्रभाव पार्छन् । तर पनि हामीले आफ्नो शैली निर्माण गर्नुपर्छ । अरुका राम्रा पुस्तक पढ्दा हामीले पनि लेखनमा आफ्नै ढाँचा निर्माण गर्नुपर्छ भन्ने ज्ञान हुन्छ ।

नेपाली साहित्यको समालोचना किन यति टाक्सिएका ?
समालोचनाको जिम्मा त्रिभुवन विश्वविद्यालयका शिक्षकका हातमा रह्यो । ती अलि टे«डिसनल छन् । तर त्यहाँ पनि केही राम्रा समालोचक छन्, तिनलाई अध्ययन–अनुसन्धानको उचित अवसर मिलेकै छैन । राम्रा समालोचकले नयाँनयाँ पुस्तक वा अनुसन्धान गर्नै पाएका छैनन् । आर्थिक र समयाभाव तिनले भोग्नुपरिरहेको छ । त्यसकारण पनि नेपाली साहित्यको समालोचना ‘कामचलाउ’ मा सीमित हुन पुग्यो । व्यक्तिगत सम्बन्ध वा सामान्य लेनदेनका आधारमा मात्रै टिकेको छ समालोचना अचेल । त्यसैले यो उतिविधि विश्वसनीय पनि हुन सकेन । 

यति लामो समय लेखनमा बिताइसक्नुभो, अब के लेख्न बाँकी छ ?
मैले राम्रो लेख्न बाँकी छ, खास केही दिन सकेको छैन । मबाट केही आउला कि भन्ने प्रतीक्षामा छु । आशा गरेको छु– कुनै दिन एउटा राम्रो चिज अवश्य लेख्नेछु ।    

प्रतिकृया दिनुहोस
ad