धनगढी । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले कैलालीको हरैयामा रहेको सुकम्वासी शिविर कब्जा गरेको छ । सशस्त्र द्वन्द्वका समयमा तत्कालीन माओवादीकै पहलमा बसाइएका सुकुम्वासीलाई हटाइएको भन्दै बुधबार मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले पुनः शिविर कब्जा गरेको हो ।
क्रान्तिकारी माओवादीका जिल्ला अध्यक्ष रामवहादुर केसीको नेतृत्वमा गएका नेताहरुको टोलीले शिविरमा पार्टीको झण्डा गाड्दै कब्जाको घोषणा गरेको अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य केशव साउदले जानकारी दिए । उनले शिविरको जमिनमा पुरानै सुकुम्वासी परिवारलाई बसाउने योजना पार्टीको रहेको पनि बताए ।
तत्कालीन विद्रोही माओवादीले हरैया शिविरमा बासालेका सुकुम्वासी परिवारलाई जग्गा बिक्री भएको भन्दै केही साताअघि बल प्रयोग गरेर हटाइएको थियो ।
शिविरका सुकुम्बासीलाई उठाएर धनगढी उपमहानगरपालिका–१७ धुरझन्नामा राखिएको थियो । तर, धुरझन्नामा व्यवस्थापन राम्रो नभएको भन्दै केही सुकुम्बासी परिवार फेरी हरैया शिविरमा फर्किएका थिए ।
२०६१ सालमा तत्कालिन विद्रोही माओवादीले सुकुम्बासीलाई बसाएको जमिन जग्गाको कारोबारी सौभाग्य रियल स्टेट एण्ड हाउजिङ प्राली पोखराले खरिद गरेको छ ।