site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
नेपाली क्रिकेट विरोधीलाई सार्वजनिक गर्छु
Sarbottam CementSarbottam Cement

आशा धेरै गरिएको तर सफलता निकै कम प्राप्त भएको क्षेत्र हो नेपालको खेलकुद । राष्ट्रको गहना भनिएको नेपालको खेलकुदको अवस्था दयनीय छ । कहिले आन्तरिक विवाद त कहिले राजनीतिको शिकार हुन पुगेको नेपाली खेलकुदले कहिले सकारात्मक गति प्राप्त गर्ला ? नेपाली खेलकुदको अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालसँग आसन्न १३ औं साग, क्यान निलम्बन फुकुवा, नेपाली खेलकुदका चुनौती र सम्भावनाबारे बाह्रखरीकर्मी रेखा शाहीले गरेको कुराकानीको सम्पादित अंश :

पदभार ग्रहण गर्नुभएको एक महिना पुग्न लाग्यो ? यसबीचमा नेपाली खेलकुद क्षेत्रको बारेमा तपाईंको अनुभव र बुझाइ के रह्यो ?

खेलकुदमा एक महिना त्यति ठूलो अवधि होइन । भगवान भरोसाले खेलकुद चलेको मैले पाएँ । पशुपतिनाथको कृपाले चलेको अनुभव भयो । यहाँ कुनै पनि काम क्यालेन्डर निमार्ण गरेर निश्चित समयमा सम्पन्न गरी अघि बढ्ने चलन रहेनछ । प्रशासनिक संरचनालाई पनि चुस्तदुरुस्त बनाउन सकेका रहेनछौं । कोचको सिस्टमलाई आफूअनुकूल ढाल्न सकेको देखिनँ । मैले एक महिनाको अवधिमा सिस्टम बसाउने कामको थालनी गरेको छु । 

Prabhu Bank
Agni Group
NIC Asia

विभागीय काम कारबाहीको थालनी गरेको छु । सरसल्लाह लिएर नीति निर्माण  र ‘इम्प्लिमेन्टेनसन’ गर्ने काममा धेरै–धेरैको सहभागितालाई जोड दिएको छु । 

अर्को पाटो भने योजना बनाएर कार्यान्वयन गर्ने क्रममा लागेको छु । दोस्रो पाटो विशेषत म सागमा केन्द्रित भएको छु । सागको पूर्वाधार विकास, खेलाडीको प्रशिक्षण, उद्घाटन र समापन । उद्घाटनपूर्व र पश्चात गर्ने कामलाई फोकस गरेको छु ।

Global Ime bank

तपाइँको नेतृत्वबाट नेपालको खेलकुदले के पाउँछ ? तपाईंको मिसन के हो ?

पहिलो कुरा त मेरो चारवर्षको कार्यकालमा नेपाली खेलकुदले खेल जगतमा लाग्ने मान्छेहरुको सम्मान, इज्जत बढ्ने, सामाजिक इज्जत बढाउने, खेल क्षेत्रमा लाग्नेप्रति गर्व गर्ने स्थिति बनाउँछु । दोस्रो कुरा पूर्वाधारको विकास सातै प्रदेशमा अर्थात् सात सय ५३ स्थानीय निकायमा एउटा–एउटा पूर्वाधार निमार्णमा जोड दिनेछु । 
तेस्रो विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताको संख्या बढाउने छु । नतिजामुखि भएर खेल सञ्चालन गर्नेछु । संघहरुलाई व्यवस्थित बनाएर अगाडि लैजानेछु । 

संख्यात्मक चाहिएन गुणात्मक रुपले पद्धतिसम्मत ढंगले अगाडि बढाउनेछु । नेपाल ओलम्पिक कमिटीसँग मिलेर काम गर्ने वातावरण बनाउनेछु ।  केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी स्पोर्टस हबको रुपमा नेपाललाई विकास गर्ने मेरो प्रयास हुनेछ । 

पदभार ग्रहण गरेकै दिन तालिका बनाएर काम गर्छु भन्नुभएको थियो ? तालिकाअनुसार चलिराखेको छ ? 

मैले अर्कोदिनदेखि नै तालिका बनाएर काम थालनी गरेको छु । म हरेक काम तालिकाअनुसार नै गरिरहेको छु । 

नेपाली खेलकुदको मुख्य चुनौती के हो जस्तो लाग्छ ? 

मुख्य चुनौती भनेको खेलकुदलाई प्रोडक्टिभ सेक्टर हो भनेर हेर्ने कुरामै छ नीतिगत समस्या छ । राजनीतिक पार्टीले पनि खेलकुदलाई प्राथमिकता दिने वातावरण छैन । हिजोको दृष्टिकोणमा कतिपय मान्छेको सोच खेलकुद भनेको ‘गुन्डा’ उत्पादन गर्ने कारखाना हो भन्ने छ । त्यही सोचले पनि काम गरेको छ । वास्तविकता त्यस्तो होइन । 

एउटा चिज त के हो भने खेल जगतलाई आम जनतासँग कसरी पुर्‍याउने सबैलाई खेलकुदको अभिन्न अंग कसरी बनाउने चुनौती छ । 

एउटा प्रोफेसनलहरुका निम्ति, अर्को ‘एमेच्योर’का लागि । खेलकुदसँग सम्बन्धित भएर पनि जीवनलाई अथवा स्वास्थ्यलाई राम्रो बनाउन सकिन्छ भन्नेमा चुकेका छौं । अर्को कुरा हामीले खेलमा विभिन्न योजनाहरु त बनायौं । ती योजना कार्यान्वयनमा कमजोर छौं । त्यो अनुसारको संरचना पनि कमजोर छ । क्षेत्रगत रुपमा लागेर ‘रिजल्ट ओरिन्टेट’ सोच र दृष्टिकोण बोकेका मान्छेहरुमा पनि कमी कमजोरी छन् ।  

१३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई सफलताका साथ सम्पन्न गर्ने लक्ष्य हो भन्नुभएको छ ।  पूर्वाधार नाजुक छ, यो त काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै भएन र ?

पूर्वाधार नाजुक त नभनौं । किनभने केही पूर्वाधार बनिसकेका छन् केही बन्ने क्रममा छन् । मुलतः हामीलाई तीनवटा समस्या हो । एउटा दशरथ रंगशाला त्यो पनि पूरा होइन । अर्को पोखरा रंगशालाको निर्माण र सातदोबाटोमा रहेको हिटिङ स्टिमको स्वीमुङ पुल हो । तीनै समस्या एकआपसमा लिंक छ । 
हिटिङ सिस्टममा अब समस्या रहँदैन । के भएको हिटिङ सिस्टममा भने जुन कम्पनीलाई अर्डर दिइएको थियो, त्यो टाट पल्टियो । 

विदेशतिर टाट पल्ट्यो भने त्यसले काम गर्न पर्दैन । अर्को विकल्प खोजिसकेको छु । अब छिट्टै काम सुरु हुन्छ । हिटिङ यताको पौडी पोखरी निर्माण भइ वाटर ट्रिटमेन्ट भएर अब सञ्चालन हुने प्रक्रियामा छ । अबको सात दिनभित्र सम्पन्न हुनेछ । त्यसपछि चिनियाँ कम्पनीले हस्तान्तरण गर्नेछ । 

हिटिङ पुल र दशरथ रंगशाला कात्तिक १५ भित्र सकिन्छ । रंगशालामा मशाल राख्ने ठाउँ, मिडिया सेन्टर, चेन्जिङ रुम बनाउने क्रममा छ । यो पनि समयमै सकिन्छ । सिट पनि अर्डर भइसकेको छ । रेलिङ, रङरोगनको काम पनि सकिएको छ । समस्या प्यारापिटको हो । त्यो पनि बन्छ । देशको इज्जतको सवाल छ त्यही भएर म समयमै गर्न लागिरहेको छु । 

कुरा रह्यो पोखराको, त्यहाँ दुई ढंगले समस्या ल्याएको हो । स्टेडियमको वरिपरी जहाँ दर्शक बस्ने ठाउँको केही समस्या छैन । त्यो अर्डर गरिएको छ, ल्याएर जोड्ने मात्र हो । मुख्य समस्या कहाँ देखियो भने हिजो आर्टिफिसियल मैदान भनेर भनिएको थियो । आर्टिफिसियल नभइ नेचुरल बनाउनु पर्छ भनेर म आएपछि चेन्ज गरिदिएँ । त्यो चेन्ज गरिएपछि नयाँ सुरुवात गर्नुपर्‍यो ।

त्यो काम कात्तिक १५ भित्र सक्नेगरी भइरहेको छ । पोखराका अन्य पूर्वाधारको काम अन्तिम अवस्थामा छ । सरसर्ती हेर्दा पूर्वाधारको अवस्था नाजुक चाहिँ छैन । तर के हो भने तालिका बनाउनैपर्छ । अब हामी अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दैछौं भने तीनदेखि छ महिनाभित्र पूर्वाधार तयार गरेर ‘लेट्स गो’ भन्ने अवस्थामा हुनुपर्छ ।   

नेपालमा हुने १३ औँ साग कति सफल होला ? 

हुन्छ भन्दा पनि बनाउनुपर्छ । सफल पनि बनाउनुपर्छ अनि फलदायी पनि । त्यसका लागि सिंगो नेपालीहरु एकजुट भएर यसलाई आफूले पनि गर्व गर्ने र अपनत्व लिनेगरी काम गर्नुपर्छ । त्यो भयो हामी १३ औं सागलाई ऐतिहासिक बनाउन सक्छौंँ । 

खेलाडी प्रशिक्षण कस्तो चल्दैछ ? के जानकारी पाउनुभएको छ । खेलाडीहरुलाई नेपाली मैदान र नेपाली खेलाडीसँगको प्रतिस्पर्धाले मात्र पुग्छ ? 

जानकारी होइन म फिल्ड मै गएर हेर्ने गरेको छु । सम्पूर्ण खेलको प्रशिक्षण सुरु भइसकेको छ ।  क्रिकेटबाहेक अन्य एक दुई खेलको तयारी अब हुन्छ । केही टोलीलाई बिदाइ गरेका छौं । खोखोलाई बिदाइ गरियो अरु टोलीलाई पनि बिदाइ गरिसकेका छौँ । प्रशिक्षक बोलाएर नेपालमै प्रशिक्षण गर्‍यो भने हुन्छ भने बाहिर किन जाने भनेर हो । मैले सबै संघका अध्यक्ष, महासचिव र प्रशिक्षकलाई बोलाएर छलफल गरेको छु । उहाँहरुको मागअनुसार तयारी अगाडि बढेको छ । उहाँहरुको सल्लाहअनुसार नेपालमै विदेशी प्रशिक्षक ल्याउँदा हुन्छ किन बाहिर पठाउने । संघले चाहिन्छ भनेको कुरा पूरा गर्दै तयारीको वातावरण बनाएको छु । 

सधैँ विवादमा रहने केही संघहरु सागको समय नजिकिँदै गर्दा खेलाडी प्रशिक्षणमा लचकदार छैनन् ? स्वयंम खेलाडीबाट गुनासो आउन थालेको छ नि ?  

म खेलाडीको मात्र कुरा सुन्दिनँ । मुख्यतः म प्रमुख प्रशिक्षकको कुरा सुन्छु किनभने भोलि राम्रो नराम्रो नतिजाको जिम्मेवारी प्रशिक्षकले नै लिनुपर्छ । प्रशिक्षकले संघसँग समन्वय गरी काम गर्नुपर्छ । खेलाडीको प्रतिभा कसरी बाहिर निकाल्ने काम त प्रशिक्षकको हो । त्यो खेलाडीको होइन । खेलाडीले त प्रशिक्षकले भनेअनुसार कसरी राम्रो प्रदर्शन गर्ने भनेर सोच्ने कुरा हो । 

विदेशमा जाँदैमा राम्रो हुन्छ भन्ने होइन । स्वदेशमा तयारी गर्दा नराम्रो हुन्छ भन्ने छैन । एउटा हेक्का के राख्नुपर्छ भने खेल स्वदेशमा हुँदैछ है । कतिपय खेलका लागि घरेलु मैदान फाइदाजनक नै हुन्छ । त्यसैले संघ जिम्मेवार हुनुपर्छ । संघले गर्दैन भने संघ के का निम्ति, प्रशिक्षकले गर्दैन भने प्रशिक्षक के का निम्ति । यदि कसैको गुनासो छ भने मसँग आउनू । 

क्यान विवाद समाधानको कुरा कहाँसम्म पुग्यो ? 

एउटा कुरा हामी क्लियर हुनुपर्छ । अस्ति आईसीसीको बैठकमा नेपालको निलम्बन फुकुवाबारे कुरा नै उठेन भन्ने मिडियामा आयो । त्यो होइन । कुरा उठेको हो छलफल पनि भएको हो तर फुकुवाबारे निर्णय नभएको हो । अहिले एउटा प्रक्रियामा क्यानको निर्वाचन गएको छ । 

जिल्ला–जिल्ला लगभग सकिएको छ । प्रदेशको पनि भएको छ । तीनवटा जिल्लाको विवाद थियो । त्योमध्ये एउटामा अदालतले स्टे अर्डर दिएको छ । दुईवटा जिल्लाको ‘स्टे अर्डर’ दिएको छैन । एकखालको नतिजा आएको छ । क्यान चुनावी प्रक्रियामा अघि बढेको छ । अर्को कुरा म त्यसको समाधान निकाल्नको लागि प्रयत्नशील छु । यसबाट परिणाम आउँछ भन्नेमा विश्वस्त छु ।

क्यान निलम्बन फुकुवा नगर्न आईसीसीलाई पत्र पठाएको पनि भन्नुभएको छ ? साँचो हो ? 

झुटो कुरा बोल्नुको अर्थ छैन । किन मैले झुटो कुरा बोल्ने ? आवश्यक पर्‍यो भने मैले एउटा कुरा पनि भनेको छु । यी नेपालमा क्रिकेटको हित नचाहने तत्व हुन् भनेर म सार्वजनिकसमेत गर्नेछु भनेको छु मैले । अहिले नगरौं यसले विवाद बढाउँछ । म विवाद समाधान गर्ने दिशामा अगाडि बढेको छु । विवाद बढाउने दिशामा होइन । क्रिकेटले जित्नुपर्छ खेलले जित्नुपर्छ । 

विवाद गर्ने मान्छेहरुको हेर्नु न क्रिकेटमा लगानी के छ ? संघमा बस्नुमात्र लगानी हो ? संघलाई धोद्रो बनाउन कसको भूमिका छ ? न एउटा खेलाडी उत्पादन गरेको छ जिन्दगीमा नत क्लब सम्हालेको छ । नत कहिले प्रतियोगिता आयोजना गरेको छ ।  अनि सधैँ दुहिरहने संघलाई ? उ संघमा नभए पनि यस्तो गरेको रैछ भनेर संघले खोज्नुपर्ने क्रिकेट जगतले खोज्नुपर्ने बनाइदिए त भयो नि । यहाँ त खोज्नुपर्ने होइन उलाई त्यहाँबाट हटाउनुपर्नेस्थित भएका मान्छेहरुको नै कहिलेकाहिँ यसो बढी षडयन्त्रकारी भूमिका हुने र त्यहीअनुसार व्यवहार हुने गरेको छ । त्यसको अन्त्य गर्नुपर्छ । 

मूलपानी मैदान कहिले बन्छ टुङ्गो छैन, टीयूमा खेलाडीले प्रशिक्षण गर्ने अवस्था छैन, घाँस कहिले काट्ने ? यस्तोमा खेलाडीको मनोबल कमजोर हुँदैन ? 

टीयू मैदानमा घाँस काट्ने काम सरु भइसकेको छ । मैदानमा उम्रिएको घाँस ठूलो होइन । मुख्य कुरा पिच बनाउने हो । त्यसका लागि मेसिन झिकाएको छु । अहिले पिचको काम भइरहेको छ । विदेशी क्युरेटरलाई पत्राचार गरेको छु ।  उहाँहरु छिट्टै आउनुहुन्छ । मूलपानी र टीयूको काम समयमै हुन्छ । अर्को दुई मैदानलाई वैकल्पिकमा राखेको छु । एउटा मूलपानीको माथिल्लो मैदान । अर्को पोखराको मैदानलाई । त्यसैले कथम–कदाचित केही भइहाल्यो भने पनि खेल रोकिँदैन । अब अभ्यास गर्न मिल्नेगरी काम सकिन्छ । 

खेलकुद मन्त्रालयको खेलाडी सम्मानमा नपर्दा महिला क्रिकेट खेलाडीले चित्त दुखाए । यसबारे कत्तिको जानकार हुनुहुन्छ ? 

उहाँहरुले किन दुखेसो जनाउनुभयो त्यो मलाई थाहा छैन । मन्त्रालयले सम्मान गरेको हो । त्यो मन्त्रालयले बुझ्नुपर्ने हो । म आएपछि राखेपले गरेका कुनै पनि निर्णयमा विवाद भएको छैन । 

एक मात्र अन्तर्राष्ट्रिय रंगशाला हालसम्म निर्माण हुन सकेको छैन । त्यसैले नेपालले विश्वकप छनोटको होमका खेलहरु खेल्न नपाउने भइसक्यो । यसबारे के भन्नुहुन्छ ? 

कात्तिक १५ भित्र रंगशाला तयार हुन्छ । अक्टोबर १० भित्र प्याराफिट निमार्णको काम सकिन्छ । त्यसपछाडि अक्टोबर २५ भित्र साउन्ड स्टिम, फिटिङ र टेस्टिङ पिरेड पनि सकिन्छ । त्योभन्दा अगाडि नै खेलहरु घरेलु मैदानमा आयोजना गर्नुपर्ने भयो । मैले विकल्पमा एन्फालाई आग्रह गरेँ ।
पहिले अवे त्यसपछि होमका खेलहरु गरौँ भनेर प्रस्ताव गर्न आधिकारीक जानकारी आएको छैन । 

दशरथ रंगशालामा भदौ ९ मा खेल गर्ने सम्भावना छैन । त्यही भएर मैले दशरथ रंगशाला बाहेक अन्तै गर्नुस भनेर भनेको हो । 

संघको निर्वाचन रोक्ने भन्नुभएको छ नि ?

मैले सागमा हुने २७ वटा खेललाई ध्यानमा राखेर निर्वाचन नगर्न भनेको छु । निर्वाचन भन्नेबित्तिकै खेलकुदमा असर परिहाल्छ । मैले सबै संघलाई भनेको छु । तपाईंहरुको निर्विरोध हुन सक्ने भए गर्नु नत्र विवाद हुन्छ भने नगर्नूस त्यसले सागलाई असर गर्छ भनेको छु । 

हामीले हिजो देखेका छौं नि एउटा राष्ट्रिय मान्यता प्राप्त भनेर अर्को अन्तर्राष्ट्रिय मान्यता छ भनेर एउटा दाया हात तान्ने अर्को बाया तान्ने छ । हुँदाहुँदै एउटा खेलको अफिसियल एउटाले म भन्छ अर्कोले म भन्छ यस्तो विजोग गरेर जानुहुँदैन । हामीले एकतात्मक रुपमा अघि बढ्नुपर्छ । मैले सदासयतापूर्वक भनेको हो कुनै दुरासय छैन । २७ खेल बाहेकका संघको हकमा भने यो लागु हुँदैन । उहाँहरु गर्न सक्नुहुन्छ । 

अहिलेका खेल संरचनाको अवस्था चिन्ताजनक हो ? 

नेपालमा जिम्मेवारी लिने चलन रैनछ भन्ने महसुस भयो । हामी घोषणा गर्छौं । तीन पटक सागको मिति सारेको सत्य हो नि । डिसेम्बर १ देखि १० सम्म १३ औं साग गर्नका निम्ति पहिलेदेखि तयारी गर्नुपर्ने होइन र । तालिका बनाएर काम गर्ने सिस्टम होइन रैछ । अब सिस्टमअनुसार काम गर्नुपर्ने देखियो । समय थोरै छ निश्चित समयसिमाभित्र सकाउनु छ । चिन्तित अवस्थामा होइन सिस्टममा काम गर्‍यो भने सकिन्छ । 

भलिबल संघले बनाएको छनोट समितिले गरेको खेलाडी छनोट विवादित बन्यो नि ! किन ?

यसमा विवाद ल्याउनु हुँदैन । कप्तान र उपकप्तानलाई नछानिँदा विवादमा ल्याउनुपर्छ भन्ने होइन । उहाँहरुले पनि प्रदर्शन देखाउनुपर्छ । सम्पूर्ण अधिकार मैले मुख्य प्रशिक्षकलाई दिएको छु । को खेलाडी छान्ने को नछान्ने प्रशिक्षकको जिम्मेवारी हो म संघलाई भन्दिनँ । मुख्य प्रशिक्षकलाई दबाब आयो भने मैले उहाँलाई दबाब नसहनुहोस पनि भनेको छु । मिडियामा गएर म कप्तान टिममा परिनँ भनेर हुँदैन उहाँले खेल पनि देखाउनु पर्ने होला उपकप्तानले पनि देखाउनुपर्ने होला । 

यदि उहाँलाई मर्का नै परेको हो भने जाने ठाउँ कहाँ ? मुल कुरा उहाँहरुबीच समन्वयको कमी देख्छु । मैले उहाँहरुलाई बोलाएर भनेको छु पहिले तपाईं सल्टाउनुस् । यदि तपाईंहरुबीच सल्टेन भने जसले गुनासो गरे उनीहरुलाई बोलाएर कुरा गर्छु । तपाईंहरुलाई पनि डाकेर समाधानतिर लाग्छु । तर संघ र छनोट समितिले हामी मिलाउँछौँ भनेपछि मैले हस्तक्षेप गर्ने कुरा भएन । किनभने त्यो उहाँहरुको ड्युटी हो । 

एकसाताअघि एक अन्तरक्रियामा तपाईंले खेलकुदमा चरम आर्थिक लापरबाही छ भन्नु भएको थियो । कस्तो कुरामा भन्नु भएको हो ? 

यो नेपाल सरकारको महालेखा परीक्षकको प्रतिवेदनमा त्यसमा स्पष्ट रुपमा उल्लेख छ ।  एक अर्ब ३५ करोडको बेरुजु छ । त्यो बेरुजु म आउनुभन्दा अगाडि आएको हो । अथाह रुपमा पैसा लिने । करौडाैं –करोडौं रुपैयाँ त्यसमा छ । मैले दुइ चारवटा चिठिसमेत काटेको छु । त्यसको रिजल्ट आयो भने प्रेसमार्फत सार्वजनिक गर्नेछु । सिस्टममा बसेन भने रिजल्ट आउँदैन । हाम्रो आर्थिक प्रशासनिक नियमावलीमा के भने तीन महिनाभन्दा बढीको पेश्की लिन पाइँदैन । 

एउटा पेश्कीपछि फेरि थप्न मिल्दैन । पटक–पटक थप्ने लाखौं होइन करोडौं रुपैयाँ पेश्की लिने । त्यो लिनेले यो विधिसम्मत छैन भनेर बुझ्नपर्छ त्यसमा सिग्नेचर गर्नेले पनि यो विधिसम्मत छैन भनेर बुझ्नपर्छ । यहाँ त लिने पनि उत्साहपूर्वक लिने अनि दिनेले पनि जति बढी पैसा दिन पायो खुसी हुने । अनि पेश्की फछ्र्यौट नगर्ने । आज कतिपयले रिटायर्ड भएपछि दुःख भोगिरहनु भएको छ । त्यसैले मैले भनेको छु यो साग प्रतियोगिता सकौँ । 

त्यसपछि म पत्र काटेर पेश्की धेरै कम गराउँछु । यदि पेश्की तिर्न अटेर गर्ने जो कोही भए पनि मिडियामार्फत सार्वजनिक गर्नेछु ।  यी मान्छेहरु खेलकुद परिषदमा पेश्की फरि फछ्र्यौट नगर्ने हुन् भनेर पक्कै सार्वजनिक गर्छु । अहिले नै त्यतातिर नपुगौं । केही बुझाउने क्रम पनि सुरु भएको छ । म आएबाट ‘हेन्डस मनी’ नै फछ्र्र्यौट भएको छ । अलि बढी भएकोलाई मैले प्रक्रियाबाट सुरु गरेको छु त्यसको जवाफ के आउँछ । अथवा त्यो अनुसार काम गर्नुहुन्छ या हुँदैन हेरौं । 

तस्बिरः सरिता खड्का 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १९, २०७६  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC