site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वातावरण संरक्षण संयोजककै वडामा फोहोरको थुप्रो, अस्पतालजन्य फोहोर पनि सिसडोलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले नुवाकोटको सिसडोल र काठमाडौंको टेकुमा स्थानीयसँग गरेको सहमतिविपरीत फोहोर फ्याँक्दै आएको छ । टेकुमा तत्कालीन सरकारले ०५० सालदेखि फोहोर ट्रान्सफर स्टेसन खोलेर फोहोर थुपार्ने गरेको छ भने सिसडोलमा ०६० सालदेखि फोहोर फ्याँक्दै आएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका २० स्थानीय तहको फोहोर काठमाडौं महानगरपालिकाको अग्रसरतामा ०६० सालदेखि सिसडोलमा फ्याँक्न थालिएको हो ।

०६२ जेठ २२ गते स्थानीयबासीसँग काठमाडौं महानगरपालिकाले २० बुँदे सहमति गरेर फोहोर फ्याँक्न सुरु गरेको हो । तीन वर्षका लागि फोहोर फ्याँक्नका लागि स्थानीयबासीसँग सहमति गरिए पनि उपत्यकाका २० स्थानीय तहले १४ वर्षसम्म पनि सिसडोलमै फोहोर फ्याँक्दै आएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मानव अंग पनि सिसडोलमा

काठमाडौं र ललितपुर महानगरपालिका तथा उपत्यकाका अन्य १८ वटा नगरपालिकाले सिसडोलमा फोहोर फ्याँक्नका लागि काठमाडौं महानगरपालिकाको अग्रसरतामा सिसडोलबासीसँग ०६२ जेठ २२ मा २० बुँदे सहमति गरेका हुन् ।

Global Ime bank

स्थानीयसँग अस्पतालजन्य फोहोरमा हुनसक्ने संक्रमण निर्मूल पारेरमात्र फ्याँक्न मिल्ने, अस्पतालजन्य फोहोर त्यत्तिकै फ्याँक्न नहुने सहमति भएको थियो । तर, महानगरपालिकाले सहमतिको बेवास्ता गर्दै मानव स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याउने मानव अङ्गलगायत अस्पतालबाट उत्सर्जन हुने फाहोर विसर्जनको बुँदा कार्यान्वयन गरेको छैन ।

उपत्यकाका स्थानीय तहले सिसडोलमा सहमतिविपरित १४ वर्षदेखि फोहोर फ्याँक्दासमेत केन्द्रीय सरकार र मानव अधिकारवादीहरुको चासो नगएकोप्रति ककनी गाउँपालिका वडा १ का वडाध्यक्ष चन्द्रबहादुर बलामी आक्रोस व्यक्त गर्छन् ।

यस्ता छन् स्थानीयसँग भएका सहमति

०६२ जेठ २२ को २० बुँदे सहमतिमा बञ्चरेडाँडामा ल्यान्डफिल साइट नबनेसम्म सिसडोलमा ३ वर्षसम्म फोहोर फ्याँक्ने, अस्पतालजन्य फोहोरमा हुनसक्ने संक्रमण निमूल पारेरमात्र फ्याँकिने, सिसडोलका प्रभावितलाई उचित क्षतिपूर्ति दिने, स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत डम्पिङ साइट वरपर प्रत्येक वर्ष २ किमि सडक कालोपत्रे गर्ने, एक घर एक रोजगारको व्यवस्था गर्ने, सिसडोल छेउमा १५ शैय्याको हस्पिटल निर्माण गर्ने, एम्बुलेन्स सञ्चालन गर्ने, स्थानीय सबै विद्यार्थीलाई माध्यमिक तहसम्मको शिक्षा निःशुल्क दिने, फोहोर लैजाँदा बाटोमा नझर्ने गरी छोपेर लानेलगायतका १५ बुँदामा स्थानीयसँग सहमति भएको ककनी गाउँपालिका १ का वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ बलामीले जानकारी दिए ।

“मेरो वडा फोहोरको अतिप्रभावित क्षेत्र हो । यस्तै यही गाउँपालिकाको वडा २ र धुनिबेँसी नगरपालिकाको वडा १ पनि अतिप्रभावित क्षेत्रमा पर्छ । ककनी गाउँपालिका वडा ३ र धुनिबेँसीको वडा ३ प्रभावित क्षेत्र हुन्,” वडाध्यक्ष बलामीले भने, “तर हामी प्रभावितले महानगरपालिकाबाट पाउने भनिएको औषधी त के एउटा सिटामोल पनि पाएका छैनौं । एम्बुलेन्स पनि १४ वर्षपछि बल्ल पायौं । निःशुल्क दिने भनिएको शिक्षा पनि विद्यार्थीले पाएका छैनन् । स्थानीयले पैसा उठाएर शिक्षकलाई तलब दिँदै आएका छौं । छोपेर ल्याउने भनेको फोहोर नछोपी ल्याउँदा बाटाभरि फोहोर छरिएको छ । लिचेडको धारो बगाउँदै फोहोर ल्याइन्छ ।”

सिसडोलका फोहोर प्रभावित स्थानीयसँग आफ्नो जग्गाको लालपूर्जा मात्र आफूसँग भएको तर त्यसको भोगचलन नियम विपरीत काठमाडौं महानगरपालिकाले गरिरहेको गुनासो स्थानीयको छ ।

वातावरण संरक्षक संयोजककै वडामा फोहोरको थुप्रो

काठमाडौं महानगरपालिकाको वातावरण संरक्षण समितिका संयोजक हुन् वडा नम्बर १२ वडाध्यक्ष विकास डङ्गोल । वातावरण संरक्षण समिति संयोजककै वडाको टेकुमा थुप्रिएको फोहोरले विष्णुमती नदीमा प्रदूषण बढाएको छ ।

स्थानीत तह निर्वाचनको घरदैलो कार्यक्रमको समयमा वडाध्यक्ष डङ्गोलले टेकुको फोहोर व्यवस्थापनलाई आफ्नो मुख्य एजेन्डा बनाएर स्थानीयसँग भोट मागेको स्थानीय बताउँछन् । डङ्गोलले चुनाव जितेर वडाध्यक्ष बने पनि निर्वाचनअघि मतदातासँग गरेको वाचा पूरा गरेका छैनन् ।

“टेकुमा फोहोर एक दिन पनि राख्न दिने छैन । दुर्गन्ध फैलन दिने छैन भनेर भोट माग्नु भएको थियो । चुनाव जितेपछि वडाध्यक्षज्यूले स्थानीयसँग गरेको वाचा पूरा नगरेर हामीलाई झुक्याउनु भएको छ,” टेकुका स्थानीय उद्वव राणाले भने, “वडा कार्यालयबाट निःशुल्क पाउने भनिएको भेगनलगयातका जिवाणुनाशक औषधीहरु पनि पाएका छैनौं ।”

काठमाडौंभरिको फोहोर टेकुमा जम्मा गरिँदा स्थानीय मानवबस्तीमा रोगको संक्रमण फैलने जोखिम बढेको छ । वडाध्यक्षको सक्रियतामा प्रत्येक वडाको फोहोर सम्बन्धित वडामै व्यवस्थित गर्नुपर्ने माग टेकुका स्थानीयको छ ।

काठमाडौंका सबै वडामा फोहोर व्यवस्थापनका लागि आवश्यक स्थान नभएकाले ट्रान्सफर स्टेशन निर्माण गरिएको वातावरणविद् भूषण तुलाधर बताउँछन् । 

“ट्रान्सफर स्टेशन सञ्चालन गर्नु आफैंमा नराम्रो प्रयास होइन । तर स्थानीयसँग गरिएको सहमति महानगरपालिकाले उल्लङ्घन गर्नु हुँदैन । काठमाडौंका सबै वडाका सडकमा ठूला गाडी छिर्न नसक्ने हुँदा साना गाडीबाट ल्याएको फोहोर टेकुबाट उठाएर ठूला गाडीमा हालेर डम्पिङ साइटमा फ्याँक्ने उद्देश्यले ट्रान्सफर स्टेशन निर्माण गरिएको हो । फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा भएका वडाले सम्बन्धित वडामै फोहोर व्यवस्थापन गर्नु उत्तम विकल्प हो । बालाजुमा संकलन गरिएको फोहोर टेकु ल्याएर फेरि बालाजु हुँदै सिसडोल लानु बुद्धिमानी देखिएन,” वातावरणविद् भूषण तुलाधरले भने, “अहिले काठमाडौंको फोहोर सिसडोल पुर्याएर प्रशोधन गरी काम लाग्ने फोहोर पुनः काठमाडौं ल्याउँदा फोहोर व्यवस्थापनको खर्च बढेको छ । यसैले स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्याएर गाडीलाई दिन सके ट्रान्सफर स्टेशनमा धेरै दिन फोहोर राख्नुपर्ने बाध्यता हट्न सक्छ ।”

टेकुमा ट्रान्सफर स्टेशनका नाममा अस्पतालबाट उत्सर्जन भएका मानव अङ्ग, सिरिन्जलगायत विभिन्न रोग फैलने जोखिमयुक्त फोहोरको डम्पिङ साइट बनाएकोमा स्थानीयको आपत्ति छ ।

जोखिमयुक्त फोहोर पहिला टेकुमै निर्मूल गरिन्थ्यो

अस्पतालबाट निस्कने जोखिमयुक्त फोहोरलाई जोखिममुक्त बनाउन ०६० सालमा जापान सरकारले डिस्पोजल मेसिन जडान गरेको थियो । उक्त मेसिनले जोखिमयुक्त फोहोरलाई टेकुमा आवश्यक प्रक्रिया अपाइन्थ्यो ।

तर उक्त मेसिनले निकाल्ने धुवाँ र खरानीबाट क्यान्सर हुने जोखिम बढेपछि स्थानीयबासीको दबाबमा त्यो मेसिन हटाइएको टेकुका स्थानीयबासी उद्वव राणाले बताए । “मट्टितेल हालेर चलाउने ठूलो बक्साजस्तो भट्टी थियो । पहिले त्यहीं सिरिन्ज र मानवअङ्गलाई निर्मूलीकरण गरिन्थ्यो । तर त्यसबाट आउने खरानी र धुवाँले असर गर्ने भएपछि स्थानीयले विरोध गरेर त्यो मेसिन हटाएका हुन्,” राणाले भने, “सिरिन्ज, मानव अङ्गहरु यहीं ल्याइन्थ्यो । पछि हामीले विरोध गरेपछि यहाँ ल्याउँदैनौं भन्ने सहमति भयो । तर लुकाएर ल्याइन्छ ।”

त्यस्ता प्रकारका फोहोर मानवबस्ती नजिकै राखिएको ट्रान्सफर स्टेशनमा ल्याएपछि छाडा कुकुरको बिगबिगी बढेको स्थानीय बताउँछन् । 

“फोहोर थुपारेकै कारण रातभरि कुकुर भुकेर राम्ररी सुत्न पाइँदैन । यहाँ रहेका झण्डै १०० जति छाडा कुकुरले दिनमा एक न एकजनालाई टोकेकै हुन्छ । महानगरपालिकालाई छाडा कुकुरले दुःख दिए व्यवस्थापन गरिदिनुपर्यो भनेर वडाध्यक्ष विकास डङ्गोललाई पटक–पटक आग्रह गर्दा कुकुरको बन्ध्याकरण भइसकेकाले आगामी वर्ष सन्तान उत्पादन नहुने भन्दै पन्छिने खालको जवाफ मात्र पाएका छौं । दुर्गन्धले राति ख्याप्प घाँटी समाउँछ,” स्थानीयबासी राणाले भने ।

टेकुमा मानव अङ्गहरु ल्याइँदा वरिपरिको स्थानमा दुर्गन्ध फैलिएको छ । महानगरपालिकाको लापरबाहीका कारण संविधानले दिएको स्वच्छ हावामा स्वास फेर्न पाउने मौलिक हकको उल्लङ्घन गरेको स्थानीय विश्वेश्वर स्पार्ट युवा क्लबका अध्यक्ष भूषण बज्राचायले बताए ।

हिउँदभरि महानगरपालिकाले सिसडोलमा फोहोर व्यवस्थापनबारे केही वैकल्पिक योजना नसोचेका कारण बर्खा लाग्नासाथ टेकुमा फोहोर जम्मा गरेर वरिपरिको बस्ती र नजिकैको टेकु अस्पतालसम्म नै दुर्गन्ध फैलएर मानव स्वास्थ्यमा गम्भीर खेलबाड गरेको बज्राचार्यको आपत्ति छ ।

बिनाजाँच अस्पतालको फोहोर टेकु र सिसडोलमा

फोहोर संकलनका लागि हाल सञ्चालित महानगरपालिकाका ३० वटा मिनी भ्यान र १७ वटा टिपर परिचालित छन् । यस्तै ३१ वटा निजी कम्पनीका ट्याक्टर र टिपर गरी १४० वटा गाडी परिचालित छन् ।
तर निजी कम्पनीले कुन–कुन क्षेत्रका अस्पतालबाट दैनिक र साप्ताहिक रुपमा कति फोहोर संकलन गर्छन् भन्ने तथ्यांक महानगरपालिकासँग नभएको महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरि श्रेष्ठले बताए ।

यता काठमाडौंका विभिन्न सरकारी र निजी अस्पतालहरु आफूहरुले उत्सर्जन गर्ने फोहोर जोखिममुक्त गरेपछि मात्र गाडीलाई फ्याँक्न पठाउने गरेको भन्दै बचाउ गर्छन् । “अस्पतालहरुबाट ठूलो परिमाणमा फोहोर आउँछ । अस्पतालले जोखिमयुक्त फोहोर यता नपठाउने बुझिएको छ । तर चेकजाँचका लागि विशेष जनशक्ति र उपकरण अभावमा अस्पतालकै भनाइलाई विश्वास गर्नुपर्ने बाध्यता छ,” प्रमुख श्रेष्ठले प्रतिक्रिया दिए ।

यस्तो छ टेकुको कथा

टेकुमा पछिल्लो समय एकैचोटी फोहोर फ्याँन थालिएको होइन । काठमाडौं भित्रिने ट्रक पार्किङका लागि ०२८ सालमा सरकारले स्थानीयबासीसँग टेकुको करिब २०० रोपनी जग्गा प्रति रोपनी ४०० रुपैयाँका दरले अधिग्रहण गरेको थियोे । 

“त्यहाँ ५–७ वर्षसम्म ट्रक पार्किङस्थल राखियो । त्यसपछि पार्किङस्थल हटाइयो,” टेकुका स्थानीय तथा फोहोर प्रभावित उद्वव राणाले भने, “त्यसपछि ०३८ सालमा जर्मनीको सोलिड वेस्ट मेनेजमेन्ट कम्पनीले फोहोरलाई मोहोर बनाउने नामको प्रोजेक्ट ल्याएर विभिन्न उपकरण यहाँ राख्यो ।”

जर्मनीको उक्त संस्थाले केही फोहोरलाई कम्पोस्ट मलमा रुपान्तरण गर्यो । कम्पोस्ट मल बन्न नसक्ने र नसड्ने फोहोरलाई त्यहींबाट गोकर्णेश्वरको डाँडामा फ्याँक्न सुरु गरियो । 

काठमाडौंको तीव्र जनसंख्या वृद्धिसँगै फोहोरको मात्रा पनि बढ्न थाल्यो । “त्यसपछि ०४७ सालमा तत्कालीन स्थानीय विकासमन्त्री अच्युतराज रेग्मीले टेकुमा फोहोर थुपार्न नहुने निर्णय गरेपछि ०५० सालसम्म यहाँ कसैले फोहोर ल्याएन,” राणाले भने, “०५० सालमा सरकारले यहाँका स्थानीयसँग टेकुमा फोहोर ट्रान्सफर स्टेशन बनाउने सहमति गर्यो । जसमा राति यहाँ फोहोर ल्याउने बिहानै गोकर्णेश्वर लग्ने उल्लेख थियो । तर स्थानीयको आँखा छल्दै फोहोर एकदिनभन्दा बढी राख्न थालियो । स्थानीयलाई निःशुल्क स्वास्थ्य जाँच, शिक्षालगायतका आश्वासन दिइयो तर पूरा भएन ।”

नजिकै छन् विद्यालय र अस्पताल

टेकुको फोहोर ट्रान्सफर स्टेशनबाट करिब १०० मिटर वरिपरि कुलेश्वर माध्यमिक विद्यालय, महेन्द्र सरस्वती माध्यमिक विद्यालय र करिब १५० मिटरनजिकै टेकु हस्पिटल छ । दुर्गन्धका कारण विद्यालयको पढाइ प्रभावित बनेको स्थानीय अभिभावक बताउँछन् ।

यस्तै टेकु हस्पिटलका बिरामीलाई पनि फोहोरको दुर्गन्धले थप असर पुर्याएको पीडितहरुको गुनासो छ । फोहोर थुपारेको स्थाननजिकै रहेको विष्णुमती नदीमा फोहोरको ‘लिचेट’ मिसिँदा नदी प्रदूषित बनेको वातावरणविद् भूषण तुलाधरले बताए । “टेकुमा थुपारिने फोहोरले विष्णुमती नदी थप प्रदूषित बनेको छ,” तुलाधरले भने, “फोहोरकै कारण विभिन्न रोग र हैजा फैलनसक्ने खतरा त्यत्तिकै छ । टेकुमा थुपारेको फोहोरले वातावरण र मानव स्वास्थ्यमा असर पु¥याएको छ । नजिकै विद्यालयका विद्यार्थी अस्पतालका बिरामीलाई थप सताएको छ ।”

बञ्चरेडाँडा ल्यान्डफिल साइट निर्माणको ठेक्का ‘कामचोर’ ठेकेदारलाई

धादिङको धुनिबेँसी र नुवाकोटको ककनी गाउँपालिकाको सीमनामा रहेको डाँडो हो– बञ्चरेडाँडा । डाँडाको पुछारमा रहेको कोल्पु खोलामाथिको खालि ठाउँमा निक्कै ठूलो भीर छ । त्यही खाली ठाउँलाई फोहोरले पुर्ने योजनाका साथ बञ्चरेडाँडा ल्यान्डफिल साइट नामाकरण गरिएको हो ।

महानगरपालिकाका तत्कालीन प्रमुखले उपत्यकाको फोहोर फ्याँक्नका लागि ०६० सालमा सोही बञ्चरेडाँडामा लेन्डफिल साइट निर्माणको योजना सार्वजनिक गरेका थिए ।

०६० सालमा तीन वर्षभित्र बञ्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण भइसक्ने इन्जिनियरहरुले गुरुयोजना तयार गरेका थिए । तर विभिन्न कारणले तोकिएको समयमा बञ्चरेडाँडामा ल्यान्डफिल साइट बन्न नसक्ने अवस्था आएपछि काठमाडौं महानगरपालिकाले ०६२ साल जेठ २२ गते स्थानीयबासीसँग सिसडोलमा तीन वर्षका लागि अस्थायी रुपमा फोहोर फ्याँक्ने गरी १५ बुँदे सहमति गरेको हो ।

तर १४ वर्ष बितिसक्दा पनि बञ्चरेडाँडामा साइट बन्न नसक्दा उपत्यकाको फोहोरले सिसडोलमा ठूलो पहाड चुलिएको छ । बर्खाको समयमा सोही पहाड खस्ने गरेकाले उपत्यकाबाट फोहोर लिएर गएका गाडीले फोहोर फ्याँक्न पाउँदैनन् ।

यस्तो अवस्थामा सिसडोलमा फोहोर फ्याँक्न नमिलेपछि टेकुकै ट्रान्सफर स्टेशनमा हप्तौंसम्म फोहोर थुप्रिँदा स्थानीयको स्वास्थ्यमा असर पुग्ने गरेको छ । मन्त्रिपरिषद्को ०७५ मङ्सिर १७ को निर्णयअनुसार सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभागले ०७५ चैतमा शर्मा एण्ड न्यौपाने जेभीलाई भ्याटबाहेक ३४ करोड ६८ लाख ७४ हजार ८९५ रुपैयाँमा ठेक्का लगाएको हो ।

निर्माण कम्पनीले पहिलो चरणमा १ वर्षभित्र ल्यान्डफिल क्षेत्र विकास गर्ने, पहुँचमार्ग निर्माण गर्ने, आवश्यक कार्यालय घर र गेट निर्माण गर्ने सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता चन्द्रशेखर महतोले बताए ।

पहिलो चरणमा फोहोरबाट आउने बायोग्यासको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछ । यस्तै फोहोरबाट आउने लिचेट व्यवस्थापनका लागि २० हजार घनमिटर क्षमताको ‘लिचेट पोइन्ट’ निर्माण गरिने महतोले जानकारी दिए । 

सहरी विकास तथा भवन निर्माण विभागले ठेक्का लगाएको यो लेन्डफिल साइटमा ५० हजार घनमिटर फोहोर अटाउने क्षमता छ । जसमा उपत्यकाको फोहोर सीधै लगेर फ्याँक्दा २० वर्षका लागि र कुहिने, नकुहिने फोहोर छुट्याएर फ्याँक्ने हो भने ५० वर्षको फोहोर अटाउने क्षमता रहेको प्रवक्ता महतोले जानकारी दिए ।

तर विभागले ठेक्का लगाएको कोसी कन्स्ट्रक्सन प्रालिले बालाजु–त्रिशुली सडक सात वर्षदेखि अलपत्र पारेको ककनी गाउँपालिका वडाध्यक्ष चन्द्रबहादुर बलामीले बताए । सडक विभागले ०६९ सालमा कोसीलाई ठेक्का लगाएको बालाजु–त्रिशुली सडकको रानीपौवादेखि पीपलटारसम्मको ३५ किमि खण्ड सात वर्षदेखि अलपत्र पारेको छ । 

“०६९ सालमा तीन वर्षमा स्तारोन्नति सम्पन्न गर्ने गरी सडक विभागले कोसीलाई ठेक्का दिएको सडक सात वर्ष बित्दा पनि ३० प्रतिशत मात्र सम्पन्न गरेको छ,” वडाध्यक्ष बलामीले बाह्रखरीसँग भने, “यस्तो कामचोर ठेकेदारले बञ्चरेडाँडा लेन्डफिल साइट निर्माणको ठेक्का पाएको छ । कोसीले तोकिएकै समयमा लेन्डफिल साइट निर्माण गर्छ भन्ने आशा गर्न सकिएको छैन ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६  ११:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC