दानी संस्कारको मुलुक म्यानमार

मोहनकृष्ण श्रेष्ठ

दानी संस्कारको मुलुक म्यानमार

नेपाल तथा बर्मा (हाल म्यानमार) बीच जनस्तरमा आजभन्दा १५० वर्षदेखि नै सम्बन्ध रहिआएको देखिन्छ । खासगरी दोश्रो विश्वयद्धताका गोर्खालीहरु ब्रिंटिस सेनामा भर्ती भएर बर्मा पुगेको र अन्य व्यक्ति पनि रोजीरोटीको खोजीमा त्यसतर्फ गए । यहीँबाट नेपालीको बर्मासँगको इतिहास सुरु भएको मान्नुपर्छ । नेपाली मूलका बर्मेली नागरिकको संख्या कुनै बेला निकै ठूलो भए पनि विभिन्न कारणले हालका वर्षमा धेरै घटेको अनुमान छ । 

सन् १९६० .मा दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएदेखि नै औपचारिकरुपमा सम्बन्धको विकास भए पनि पछिल्ला दिनमा त्यसले उचाइ लिनसकेको भने देखिँदैन । समयको प्रवाहसँगै खास काम नभए पनि नेपाली मूलका नागरिक रहेकै कारण यान्गोनस्थित नेपाली राजदूतावास कायम नै राखिएको हुनुपर्छ । 

आजभन्दा ३३ वर्षअगाडि जापानमा पढाइ सकेर आएपछि बैंकक हुँदै यान्गोनमा दुई दिनको भ्रमणका लागि पुगेको थिएँ ।  त्यसपछि सन् १९९५ मा पनि बैककस्थित राजदूतावासमा कार्यरत रहँदा १७ जनवरी १९९५ का दिन निजी भ्रमणका लागि रंगुन (हाल यान्गोन) गएको थिएंँ । सोही दिन जापानको कोबे सहरमा ठूलो शक्तिशाली भूकम्पबाट धेरै जनधनको क्षति भएको सुनेको सम्झना अझै ताजा छ । 

हालका वर्षहरुमा म्यानमारमा राजनीतिक परिवर्तन भएको छ ।  यसले गर्दा धेरै वर्षदेखि भोगिरहेको आर्थिक नाकाबन्दीको मारबाट केही सहुलियत पनि पाएकोछ । परिवर्तित समयसँग आत्मसात गरी आएको म्यानमारको छोटो भए पनि भ्रमणमा जाने हुटहुटी जागेको थियो । पुराना मित्र महामहिम भीम उदास हाल त्यस देशमा नेपालको राजदूत हुनुभएको र उहाँले पनि म्यानमार आउन निमन्त्रणा दिनुभएकोले हामीहरु २४ अप्रिल २०१९ का दिन थाई लायन एअरवेजबाट यान्गोन पुग्याैँ । यस एअरलाइनले बोइङ ७३७ – ८ एए सिरिजको हवाईजहाज चलाउने र हालका दिनमा भइरहेका दुर्घटनाले गर्दा मनमा कताकता असजिलो भइराखेको थियो । तर, हामीहरु चढ्ने हवाईजहाज ७३७ को ९०० ईआर देखेपछि मन अलि ढुक्क भयो । 

करिब ६ लाख ७६हजार ५७८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको म्यानमार सानो राष्ट्र भन्न मिल्दैन । साथै यहाँ प्रशस्त चामल उत्पादन हुनुको अलावा प्राकृतिक स्रोतहरुको रुपमा तेल, ग्यास, टिक, रबर तथा बहुमूल्य पत्थरहरु पनि उपलव्ध हुने भएकोले यस देशको नाम विश्वमा चर्चित हुँदै आएको हो । सन् १८५३ मै यस देशमा तेल उत्पादन गर्ने कामका थालनी भइसकेको बुझियो ।  साथै जलस्रोतको पनि अजश्र स्रोत पनि रहेछ । 

कुल ५ करोड १४ लाख जनसंख्यामध्ये ९० प्रतिशत जनता बौेध्दमार्गी छन् । दान गर्नुपर्छ भन्नेमा जनताको अगाध विश्वास रहेछ । राजदूत पत्नी रन्जना उदासका अनुसार त्यहाँका युवतीहरुले  समेत आफू भन्दा गरिब दिनदुःखीले माग्यो भने कानको झुम्का पनि दान दिने गरेको बताउनुभयो । यहाँका बासिन्दाहरुको नामकरण गर्ने प्रचलन पनि अनौठो रहेछ । हाम्रोजस्तो बाउबाजेको पालादेखि चल्दै आएको जात भन्ने हुँदो रहेनछ । श्वेदागाव पैगोडामा रहेको सातै दिनअनुसारका मूर्तिहरुमा पानी अर्पण गर्ने प्रचलन तथा ज्योतिषले छानेर दिएका नाममध्ये एउटा नाम आफूले छानेर राख्ने प्रचलन रहेछ ।  वंशजको नाता भन्ने कुनै पनि किसिमको सम्बन्ध नहुने ।  
भोलिपल्ट २५ अप्रिलका दिन भगवान बुध्दको सुतिराखेको विशाल मूर्ति रहेको मन्दिरमा गयौँ । निकै भव्य देखियो । मूर्तिको भागहरु विभिन्न देशमा बनाएर ल्याएको भन्ने पनि सुन्यौ । मन्दिरमा पस्दा खेरिनै निकै आनन्दको महसुस हुने रहेछ । 

पर्सिपल्ट २६ अप्रिलका दिन विश्वप्रसिद्ध श्वेदागन प्यागोडाको अवलोकनको लागि राजदूत दम्पतीसहित लाग्यौँ । यो त निकै राम्रो प्यागोडा रहेछ । आजभन्दा २६०७ वर्ष अगाडि भगवान बुद्धले बोधीज्ञान प्राप्त गर्नुभएको वर्षमा नै यसको निर्माण सुरु भएको बुझियो । त्यसबेला तपुस्सा तथा भल्लिका नामका दुई व्यापारी दाजुभाइले भगवान बुद्धसँग भेटघाट गर्नु भएको र उहाँबाट प्राप्त ८ वटा राैँ सुरक्षित साथ आफ्नो देशमा ल्याएको रहेछ ।

भगवान बुद्धको राैँ राखिएका ती सुनका बटृा खोल्नासाथ निकै अचम्मका घटनाहरु भएको वर्णन गरिएकोछ । सुरुमा सानोरुपमा बनाइएको यस प्यागोडालाई सन् १७४८ मा आएको ठूलो भूकम्पले बिगारी दिएपछि सन् ७७४ मा राजा हिसिनब्युसिनले यस प्यागोडालाई १०५ मिटरको बनाएको थाहा भयो । ११४ एकडमा फैलिएको यो  विशाल प्यागोडा तथा परिसर पनि निकै सफासुग्घर छ र दैनिक ५० देखि ९० हजार श्रद्धालुहरुले अवलोकन गर्ने गरिँदो रहेछ । दैनिक ३ देखि ४ हजार त विदेशी पर्यटकहरु नै आउने रहेछन् । प्यागोडाको माथिल्लो भागमा रहेको क्राउनमा ५ हजार ४४८ वटा हीरा तथा २ हजार ३१७ वटा राखिएका छन् । सबभन्दा माथि ७६ क्यारेटको ठूलो हीरा पनि राखिएकोछ । 

यान्गोन सहर पनि अब त निकै परिवर्तन भैसकेकोछ । उपनिवेशताका बनाइएका चौडा सडकहरु जताततै देखिन्छन् । सहरले काँचुली फेर्न लागेको प्रमाणस्वरुप ठूलाठूला भवनहरु पनि ठडिएका छन् । मानिसहरुको चहलपहल पनि जताततै । स्कट मार्केटमा पत्थरहरु किन्न स्वदेशी तथा विदेशीका घुइँचो पनि उत्तिकै । हाम्राो दौरा सुरुवाल लाउँदा जिपर, टांक लाउनु नपर्ने भएर सजिलो भनेको त म्यानमारका जनता त लुंगी लाउने भएकाले झन् सजिलो रहेछ । घुमाएर अगाडि एउटा गाँठो पारेपछि सकियो । 

वास्तवमा यो देशले निकै समय अगि नै तरक्की गर्नुपर्ने हो भन्ने हाम्रा राजदूत उदासजीको भनाइमा सहमत नहुने ठाउँ छैन । ढिलो भए पनि अब भने आर्थिक प्रगति पथमा म्यानमार लम्की रहेको देखिन्छ । नेपाल तथा म्यानमारबीच पनि आपसी फाइदा हुने कामहरुको निकै गुञ्जायस छ । व्यापारको आयतन धेरै नभए पनि विभिन्न दृष्टिकोणबाट हेर्दा आउने दिनमा पर्यटन तथा व्यापारको विकासको दायरा निकै फराकिलो पार्न सकिने देखिन्छ । राजदूत पनि यसतर्फ प्रयत्नशील देखिनुभयो । सबभन्दा महत्वपूर्ण कुरा कनेक्टीभिटी हो । पहिला काठमाडौं तथा यान्गोनबीच सिधा हवाई सम्पर्क थियो । यसलाई पुनः जगाउन सकेमा दुई देशबीच पर्यटन तथा व्यापारको संभावना प्रशस्त देखिन्छ । साथै म्यानमारबाट लुम्बिनी भ्रमणमा आउने भिक्षुहरुको संख्या पनि अत्यधिक हुनसक्छ । 

राजदूतले आफूले कार्यभार सम्हालेदेखिको प्रगति विवरण पनि सुनाउनुभयो । म्यानमार तथा स्थानीय नेपालीहरुबीच पनि राम्ररी भिजिसकेका राजदूत उदासले म्यानमारका स्ेटट काउन्सीलर आङ सान सुचीसँग पनि नियमित भेटघाट गरी दुई देशबीचको सम्बन्धलाई बढावा दिनुपर्नेतर्फ आँैल्याउदै आउने गर्नुभएको रहेछ । यसै प्रसंगमा उहाँ दुईपल्ट नेपाल आउनु भइसकेको र नेपाली खाना मीठो लाग्ने कुरा पनि राजदूतलाई भन्नुभएको रहेछ  । हाल नेपाल तथा म्यानमार दुवै राष्ट्रहरु बिमस्टेकका सदस्य छन् । फलदायी सम्बन्धको लागि यसले पनि एउटा मञ्च प्रदान गर्छ । 

२७ अप्रिलका दिन बर्मेली नेपालीहरुबीच प्रतिष्ठित व्यापारी नन्दराज न्यौपानेले दिवाभोजमा निमन्त्रणा गर्नुभयो । आजकाल ‘इन्फरमेसन सुपरहाइवे’ पनि गजब नै छ । हैदरावादमा रहेकी मित्र सुरेसकी पत्नी लक्ष्मी भाउजुले हामी यान्गोनमा रहेकाले उहाँ हाम्रो भिनाजु हुनुहुन्छ, भेट्नु होला है, भनी मेसेज पठाउनु भयो । जीन्दगीको कठिन यात्रा पार गरी सफलता हासिल गर्नु भएका न्यौपानेले हाम्रो बर्मा हाम्रो कर्म नामक आफूले लेखेको एउटा पुस्तक पनि दिनु भयो । घर फर्केपछि पढेँ । पूरै संघर्षको गाथा रहेछ । पुस्तक शिक्षाप्रद र प्रेरणादायी लाग्यो । 

साँझ यान्गोनमा कार्यरत नेपाली पेसाकर्मी तथा परिवारजनले नेपाली नव वर्ष २०७६ लाई स्वागत गर्ने कार्यक्रम राखेका थिए । त्यहाँ पनि सम्मिलित भयौँ । निकै रमाइलो वातावरणमा सम्पन्न कार्यक्रममा पुराना तथा नयाँ मित्रहरुसँग परिचित हुने मौका पाइयो । डिफिडमा कार्यरत अन्जली तामाङले कार्यक्रमलाई निकै रोचक ढंगले अगाडि बढाइन् । नेपालीहरु स्वभावैले जता बसे पनि आफ्नो देशको मायालाई मनमा साँचेर राख्ने तथा देशको लागि केही गर्नुपर्छ भन्ने भावनाले ओतप्रोत भएको पायौँ । मैले पनि आप्mनो छोटो मन्तव्य दिने क्रममा मनमा लागेका कुरा राखे । लामो कूटनीतिक अनुभव तथा आप्mनो पुस्तक बारेमा पनि जानकारी प्रस्तुत गरेँ ।

स्वादिष्ट नेपाली परिकारहरु ग्रहण गर्न पाउँदा निकै खुसी लाग्यो । 

धेरै वर्षको अन्तरालमा म्यानमारको ४ दिने भ्रमण निकै रमाइलो लाग्यो । यो देश लामो सैनिक शासन तथा राजनीतिक कारण दबिएर बसेकोे भए पनि हाल त्यस्तो अवस्था देखिँदैन । जापानी, कोरियन, मलेसियन, सिंगापुरेदेखि अन्य विभिन्न देशका व्यापारी तथा लगानीकर्ताको ओइरो लागि रहेको सुनियो । प्रशस्त प्राकृतिक स्रोतसाधन भएको देशलाई आर्थिक विकास गर्न समय लाग्दैन । सरकारले राम्रो नीतिहरु बनाएर लागुमात्र गर्नुपर्छ । म्यानमार हाल विकासतिर लम्किरहेको आभास भयो । हाम्रो दुई देशबीच कुनै प्रकारको समस्या वा तनाव छैन । बरु समयको प्रवाहसँगै दुवै देशले आपसी सहयोगका दायरा फराकिलो पारी फाइदा उठाउनु युतिmसंगत हुनेछ । 
(फ्रान्सका लागि नेपालका पूर्वराजदूत)


 

प्रतिकृया दिनुहोस
ad