site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
भारत भूमि ठूलो, भाव साँघुरो किन ?

विशाल भारतसँग नेपाली मित्रहरुले विगतदेखि राख्ने अपेक्षामा भारतीय भाव (व्यवहार) कति उदार र संवेदनशील रह्यो ? सोच कस्तो प्रतिविम्बित भयो ? यसपटक यही विषयमा संक्षिप्त चर्चा गर्न खोजिएको छ । सबैको सबै अपेक्षा पूरा हँुदैनन् । पूरा गर्न पनि सकिँदैन । नेपाली मित्रसँग भारतीय मित्रहरुको पनि अपेक्षा होलान् । तर, नेपाल र भारतका अपेक्षालाई समतुल्यता ( रेसिप्रोसिटी) मा तौलिन हुँदैन । भौगोलिक, राजनीतिक, आर्थिक र प्राविधिक अवस्थितिमा उपलब्धिको उचाइले अपेक्षाको मर्मलाई जोख्नुपर्छ । यसको अर्थ विश्वको ठूलो प्रजातान्त्रिक मुलुक भारत नेपाली मित्रहरुको अपेक्षाप्रति सक्दो बढी उदार हुनुपर्छ भन्ने हो । भारतीय बाँधले नेपाली डुबेपछि फेरि लेख्नैपर्ने विषय भयो यो । 

भारतको छिमेक नीतिको विवेचना गर्न खोजेको होइन । विगत घटनाका गुनासो र असन्तुष्टि गनगनमात्रै गरेर वर्तमानले भविष्यलाई सुखद निर्देश पनि गर्दैन । तर, अगाडि बढ्न विगत चाहिँ पाठ हुन्छ । आखिरमा समीक्षाको स्रोत त्यही विगत बन्नेरहेछ । अपेक्षित विषयमाथि टिप्पणी गर्दा विगत पाठ नै मूल्यांकनको आधार हो । वर्तमान त साक्षी नै भइहाल्यो । यही पृष्ठभूमिमा नेपाल भारत साइनोलाई कसरी हेर्नेभन्ने हो । त्यसैले छिमेक नीतिप्रतिभन्दा खासगरी नेपाली अपेक्षालाई भारतीय मित्रहरुबाट कस्तो व्यवहार भयो भन्नेमा प्रश्न केन्द्रित छ । 

दुवैतिरका नेता र सामाजिक अभियन्ताहरु मन्तव्य दिँदा यी दुई देशको सम्बन्ध सदियौँ प्राचीन, सांस्कृतिक सन्निकटता, प्राकृतिक रंगढंगमा एकरुपता आदि रहेको वियषलाई सगर्व उद्धृत गर्छन् । निकटतामात्रै होइन, रोटीबेटीको सम्बन्धको पनि उदाहरण दिन्छन् । यो सत्य हो । तर, यस्तो सत्यलाई हामीले आधुनिक परिवेशमा कति हार्दिक बनायौँ यो प्रश्न हो र यसमा कमी कता, कहाँ रह्यो ? कुनै आग्रह, पूर्वाग्रह होइन तर यस विषयमा बढी भारत नै चुकेको लाग्छ । यसको अर्थ हाम्रो अर्थात् नेपालको कमजोरी नै छैन भन्ने पनि होइन । 

Agni Group

नेपाल, भारत पूर्वीय चिन्तन, संस्कार, संस्कृति र सभ्यताका अजस्रः स्रोत हुन् । महाभारत र शिवालिक पहाडी शृंखला नै हिन्दु दर्शन र जीवन पद्धतिको उद्भव क्षेत्र  पनि हो । तर, यो क्षेत्र त्यतिमा मात्रै सीमित छैन,  बौद्ध, जैन, महावीर, सीताराम र राधाकृष्णको जन्मकर्म भूमिसमेत हो । शिवपार्वतीको भूमि पनि यही हिमाली क्षेत्र मानिन्छ । अहिलेका दक्षिण एसियाली मुलुकहरु पौरस्त्य संस्कृतिको उद्भव र विस्तारमा धेरथोर सहभागी छन् । श्रीलंकाको लंका र पाकिस्तानको तक्षशीला यिनै दर्शनसँग जोडिएका छन् ।     

हालै अमेरिकाको लाइब्रेरी अफ कंग्रेसले दुई हजार वर्ष पुरानो बौद्धग्रन्थ सार्वजनिक गरेको खबर आएको छ । पाली भाषामा लिखित त्यो ग्रन्थ अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रस्थित कान्दाहारमा तयार भएको र बुद्धले अरु पन्ध्र बुद्धका बारेमा लेखेको बताइएको छ । 

Global Ime bank

नेपाल हिन्दुस्तानको संस्कृति निर्माणमा अकाट्य छ । जसरी नेपाली हिम नदीहरु हाम्रो तीर्खा मेट्न र हामीलाई सरस बनाइ अविच्छिन्न प्रवाहित छन् त्यसरी नै हिम घाटीहरु यहाँको सभ्यताको उद्गम वा मुहान हुन् । मानिएकै छ, मान्छेको विकास र सभ्यताको उर्वरभूमि नदी  र जल किनारा हुन् । 

यिनै हिम घाटीमा वा यहीँका पहाडी शृंखलाको गुफाकन्दरामा अनगिन्ती ऋषि, महर्षि, तपस्वी अथवा अहिलेको भाषामा तिनलाई ज्ञानी, ध्यानी, वैज्ञानिक, दार्शनिकले नै विश्वको मथिंगल हल्लाइदिने पूर्वीय संस्कार, संस्कृतिको परम्परा निर्माण गरेका हुन् । कैयन् पश्चिमा अध्येताहरु पूर्वीय चिन्तनको गहिराइ बुझ्न लालायित छन्, अध्ययनरत छन् । कम्प्युटर वैज्ञानिकहरु अन्ततः कम्प्युटरको सहज लेख्य भाषा (युनिकोड)को लागि  संस्कृत हुने निष्कर्षमा पुगेको खबर आएका छन् । विश्वभाषामध्ये सबैभन्दा बढी परिस्कृत मानिएको संस्कृत व्याकरणका निर्माता पाणिनी थिए । ती पाणिनी नेपालकै भएको पश्चिम नेपालमा ‘पणेना’ गाउँ रहेकोले पुष्टि गर्न खोजिएको छ । तथ्यमाथि खोज हुँदैगर्ला । 

नेपाल, भारत सार्वभौम भूखण्डका भिन्न मुलुक तर संस्कृतिको धेरै पक्षमा अभिन्न । रामको राजनीति चलिरहेको अहिलेको भारत वा हिन्दुस्तानी संस्कृति  जनकपुरकी सीताको अनुपस्थितिमा पूर्ण हुँदैन । महाभारत युद्धमा अर्जुन र पाण्डवका सहायक वा प्रेरणास्रोत गोकुलका श्रीकृष्ण रहे । तर महाभारत ग्रन्थ लेख्ने वेदव्यास(कृष्ण द्वैपायन) नेपालको हाल तनहुँ, दमौलीका आदिवासी थिए । मादी, सेती संगमवासी मत्स्यगन्धा र पराशरका छोरा व्यासले अठार पुराण र उपनिषद्समेत लेखे । व्यासको निष्कर्ष निकालिएको छ – ‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम्, परोपकाराय पुण्याय पापाय परपीडनम्’ । आध्यात्मिक चिन्तनमा मानवीयताको यस्ता कैयन् असल उद्घोष यही हिमाली घाँटीबाट भएको छ । 

संक्षेपमा, पूर्वीय सभ्यताले यसरी जोडिएका यी दुई देश आधुनिक कूटनीतिको समयमा कुन विन्दुमा उभिन पुगे वा छन् ? भारतीय स्वतन्त्रता संग्राममा नेपालका युवाले सक्दो सहयोग गरे । जेल गए । सुवासचन्द्र बोसको आजाद हिन्दफौजमा जीबी याक्थुम्बालगायतका थुप्रै नेपाली युवा सहभागी थिए । त्यस्तै नेपालमा प्रजातन्त्र स्थापनाका लागि भारतको सदाशय पनि रह्यो । तर, बीपी कोइरालाले नेतृत्व गरेको पहिलो जननिर्वाचित सरकारलाई अपदस्थ र संसद्समेत विघटन गर्न राजा महेन्द्रलाई भारतीय उक्साहट पनि थियो । संसद् विघटनपछि भारतीय नेता, प्रधानमन्त्री जबाहरलाल नेहरुले बडो आदरपूर्वक राजा महेन्द्रलाई चिठी लेखेका थिए । त्यो चिठीमा सरकार अपदस्थ गर्नुमा उनको पूर्वसहमति तर संसद् विघटनबारे केही गुनासो झल्किन्छ । 

प्रजातन्त्र हरणको घटनामा भारतीय पक्षको रबैयाले प्रजातन्त्रवादी नेपालीलाई गम्भीर चोट पुर्यायो र ऊसँग असन्तुष्टि बढ्यो । फलतः नेपालमा प्रजातन्त्रको संस्थागत विकास धेरै पछि पर्यो । अस्थिरताको लामो दौरमा गुज्रिएर यतिबेला पनि प्रजातन्त्रमाथि तरबार तेर्सिएको अनपेक्षित राजनीतिक परिणाम भोगाइको संत्रासमा नेपाल छ । यही अस्थिरताको दौरले विकास गतिसमेत धिमा भयो । प्रजातन्त्रको स्थिर बाटो हिडेर विश्व शक्तिको स्पर्धामा रहेको भारतले नेपालको प्रजातान्त्रिक यात्रालाई निस्वार्थ सघाउन सकेन वा चुक्यो ।

राजा महेन्द्रलाई पहिलो निर्वाचित सरकार अपदस्थ र संसद् विघटन गर्न उक्साउने नेहरु नीतिबाटै भारतको नेपाल नीति पथच्युत (डिरेल) हुने क्रम सुरु भएको हो । यहीँबाट नेपालमा भारत विरोधी भाव बढेको हो । विरोधको द्वार फराकिलो भयो र भारतको नेपाल नीति असफल मानिएको क्रम चल्यो । तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले नेपालको परराष्ट्र नीतिलाई सार्वभौम मुलुकको स्वतन्त्र हैसियतमा अघि बढाउन गरेको प्रयत्न त्यतिबेलाका भारतीय प्रधानमन्त्री नेहरुलाई अपाच्य भयो । यसपछि पनि बाबु नेहरुको प्रभाव हो कि इन्दिरा गान्धीको समेत नेपाल र बीपीप्रति वक्रदृष्टि रह्यो । परिणाम राजा निर्देशित पञ्चायतले थोपरेको जोखिमबीच पनि बीपी राष्ट्रिय मेलमिलाप नीति लिएर स्वदेश फर्कनुभयो । 

उत्तर छिमेकी चीनसँगको सम्बन्धलाई घनिष्ट बनाउन होस् कि इजराइललाई मान्यता प्रदान गर्ने दक्षिण एसियाली पहिलो मुलुक नेपाल बनेको होस् अथवा यही भूमिबाट विश्व समाजवादी आन्दोलनलाई नेतृत्व दिने बीपी होऊन् या पाकिस्तानसँग सुमधुर सम्बन्ध बनाउने कोसिस, जबाहरलाल नेहरुलाई बीपीको नेपालहितको दृढ प्रजातान्त्रिक एवं स्वतन्त्र भूमिका र थप बढ्दो अन्तर्राष्ट्रिय व्यक्तित्व ईष्र्याजन्य  लाग्यो । फलतः नेपालको प्रजातन्त्रलाई नै दुर्घटनामा पारियो । 

अहिले बीजेपी (भारतीय जनता पार्टी)को भारतीय सरकारका प्रतिनिधि कतिपय सबालमा भारतीय राष्ट्रिय कांग्रेसका नेता नेहरुको आलोचना गरेर थाक्दैनन् । तर, विदेश नीतिमा नेहरु ‘डक्ट्रिन’बाट बीजेपी मुक्त हुनसकेको छैन । नेपालको सन्दर्भमा त थप अनुदार भएको अनुभूति हुँदैछ ।     

नेपाली भाषी भुटानी शरणार्थीको घर फिर्तीमा नेपालले भारतीय मद्दतको अपेक्षा गरेकै हो । त्यो भएन, अझै भएको छैन । धन्न, अमेरिकालगायत तेस्रो मुलुकले काँध थापे ।  दीनहीन ती छिमेकी बन्धु अझै केही यतै छन् । । र ती भुटानीले जन्मभूमि गुमाए । ‘... जन्मभूमि स्वर्गभन्दा पनि प्यारो’ भन्ने रामवाणी तिनका लागि अक्षरमा सीमित भयो । रामभक्त अहिलेका भारतीय शासकले पनि रामकै मर्मलाई धुलिसात गरे । बेअर्थका दबाबमूलक घोषित, अघोषित भारतीय नाकाबन्दी अचाडु लाग्दा पनि भए । 

यस्ता राजनीतिक घटनालाई थाती राखेर भन्दा नेपालीलाई दुख्ने भारतीय अर्को भूमिका सीमा क्षेत्रमा छ । बर्खासँगै सधैँ अझ थप भएर नेपाली डुब्ने र मन दुख्ने गरेको छ । यी पंक्ति यही वर्षाको, त्यही दुःखाइको लिखित अभिव्यक्ति हो । सडकको नाममा सीमा क्षेत्रमा भारतले बनाएको ‘जलबन्धन’ बाँधले तराइमधेसको विभिन्न ठाउँमा नेपाली भूमि आठ, दस किलोमीटरसम्म डुबानमा पर्ने गरेका छन् । त्यस क्षेत्रको बस्ती, खेती उजाडिने गरेको छ – लक्ष्मणपुर बाँध होस् कि खुर्दलोटन । झन्डै दर्जनको हाराहारी नेपाली बस्ती डुब्ने गरी सीमा नजिक भारतले बाँध बनाएको छ । करिब दुई वर्षअघि तिलाठीमा भएको नेपाली नागरिक र भारतीय सुरक्षाकर्मी (बीएसएफ) बीचको झगडा भारतीय पक्षकै मिच्याइँको परिणाम थियो । 

भारतले त्यस्ता बाँध आफ्नै भूमिमा पानी तालिने गरी बनाएको भए त्यो ठूलो भूगोललाई कति नै फरक पथ्र्यो र ? त्यसो गर्नुको साटो नेपाली बस्ती नै उजाड हुने गरी बाँध बनाउनुले भारतीय विशालता भूमिमा मात्र भयो भाव(व्यवहार)मा देखिएन । ती बाँधले बाढीबाट भारतलाई जोगाउन सकेनन् । फुटेर झन् क्षति पुग्यो । यसै वर्षामा पनि जो देखियो । 

बीसौं ठाउँमा सीमा विवाद । सम्झौताअनुसारको पूर्ण उपलब्धि नेपाललाई दिन भारतले कञ्जुस्याइँ गरेको छ । चाहे कोसी होस् वा गण्डक । दुई दशाब्दीभन्दा बढी भयो पञ्चेश्वर ‘पेन्डुलम’ भएको । सुस्ताको सीमा पीडा वर्षौं भयो । भारतले चाहने हो भने नेपाली मनमा मलमपट्टी हुनेगरी केही क्षणमै यस्ता विवाद सुल्झिन्छन् । तर, भारत किन त्यसो गर्न चाहँदैन ? केही नेपाली भूमि भित्र्याएर आफ्नो विशालतालाई कति ठूलो बनाउन खोजेको हो उसले ? वा नेपाली मनमा त्यो विशालता खुम्च्याएको हो ? अथवा दुई देशका नागरिकबीचको हार्दिक र सांस्कृतिक भाइचारलाई किन कुठाराघात गर्न खोजिएको हो ? भारत नै बढी सोच्नुपर्ने ठाउँमा छ ।  

हामी नेपालीले किन भन्नुपर्यो र ? विदेशनीतिका कतिपय भारतीय विद्वानहरुले नै नेपाल नीतिमा आफ्नो देश र सरकार चुकेको बारम्बार भनेकै छन् । नेपालमा चीनको प्रभाव बढ्यो । ती विद्वान् र स्वयं भारतीय सञ्चार माध्यमहरुले बेलाबेला चिनियाँ प्रभावप्रतिको चिन्ता र भयग्रस्त मानसिकता व्यक्त गरेकै छन् । किन यस्तो निष्कर्षमा पुग्दैछ त भारतीय पक्ष ? मित्र नीतिमा असफलताको कारण नेपाल हो कि भारत ? 

स्पष्ट छ, चीन पनि आफ्नो स्वार्थमा नेपालको हित वा अधिकारलाई ठाडै उपेक्षा गर्छ । यसको प्रमाण लिपुलेक सहमति हो । लिपुलेक त्रिदेशीय आवागमन विन्दु हो जसमा नेपालको समेत अधिकार छ । नेपालको अधिकारप्रति भारतीय उपेक्षाको मतियार बनेर चीनले पनि लिपुलेकमा भारतसँग मात्र (दुई पक्षीय सहमति गरेको छ हुनुपर्ने नेपालसमेत त्रिदेशीय थियो) आवागमन सहमति गर्यो, नेपालको हितलाई उसले उपेक्षा गरिदियो ।

सहज आवागमन र धेरै कुरा मिल्ने भारतसँग नेपालको अपेक्षा धेरै रहनु अन्यथा होइन । ज्यादै निकटतामा अपेक्षासमेत गुनासो पनि अलि बढी हुनु स्वाभाविक नै हो । यस्तो यथार्थबीच भारत अलि उदार भइदिए नेपालीले अन्य आश्रयको खोजीमा धेरै रुचि राख्नेजस्तो पटक्कै लाग्दैन । प्रजातान्त्रिक भारतसँग लिने सद्भाव पनि प्रजातान्त्रिक नै हुन्छ, बीपीले गरेको कोसिस यस्तै प्रजातान्त्रिक धरातलमा थियो नेपालीको लागि । तर, त्यसमा भारत वा चीन दुवैको अहित थिएन । 

कमजोर देखेर थिचोमिचो गर्नु पूर्वीय चिन्तन र हिन्दु सभ्यताको दीक्षा होइन । यो दीक्षाले त सानो वा कमजोरप्रति स्नेह, सद्भाव र सहयोगी चरित्र बनाऊ भन्छ । पूर्वीय चिन्तनले अनुप्राणित भारतले पनि बुझेकै हुनुपर्छ आजको दुनियाँ फराकिलो छ । आफू कति फराकिलो हुने ? आगे भारतीय इच्छा !     
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १६, २०७६  ०७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC