site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
समग्रतामा अभिव्यक्त बीपी

समग्रतामा अभिव्यक्त बीपीलाई विश्लेषकहरुले अनेक कोणबाट व्यक्त गरेका छन् । विश्लेषणमा कहीँ आग्रह भेटिएला कतै पूर्वाग्रह । पूर्वाग्रहले बीपीलाई सक्रिय जीवनमा नै बढी  लखेट्यो । समाजले पढ्दै र बुझ्दै गएपछि नेपालको सामाजिक चेतनामा उहाँको चिन्तनधाराले दिएको प्रेरणाप्रति अलि संवेदनशील तथ्य टिप्पणी हुनथालेको छ । तैपनि यस्ता व्यक्तित्वप्रति हुने आग्रह, पूर्वाग्रहको सिलसिला आंशिक नै सही निरन्तर भइरहन्छ क्यारे ? सायद त्यो थामिदैन । बीपी थामिने व्यक्तित्व पनि होइन । 

नेपालको आधुनिक इतिहासमा समग्रतामा व्यक्त हुने बीपी नै पहिलो नेतृत्व हो । यस्तो बुझाइ कसैकसैलाई आग्रहजन्य लाग्नसक्छ र कसैलाई अपर्याप्त । यस्तो लाग्नुमा उसको  धारणाको बनोट हो, विवेच्य स्वतन्त्रता पनि । महा अर्थात् प्रेरणास्रोत मानिएका दार्शनिक व्यक्तित्वहरुलाई बुझ्ने पनि सापेक्षतामा हो, सामयिकतामा हो । दर्शन एकप्रकारले भावी दृष्टि हो । भावी दृष्टि(दर्शन)जसलाई प्रेरणाको अजस्रः स्रोत ठानिएको छ । नेपालको सन्दर्भमा चेतनाको अजस्रः स्रोतधारा वा चिन्तनको आधुनिक केन्द्रबिन्दुको नाम हो बीपी कोइराला । 

बीपी, गान्धी र माक्र्स‘हरु’लाई बुझ्नेहरु हात्ती छाम्ने कथाका पात्र होइनन् । हात्ती छाम्नेहरु चर्मचक्षुले दृष्टिहीन पात्र थिए । उनीहरुको छमाइको ठम्याइ जे थियो त्यो समग्रतामा थिएन तर जति थियो त्यो अन्तरज्ञान चाहिँ थियो । जसले जे छाम्यो, ठान्यो र बोल्यो त्यही उसको ठम्याइजन्य अभिव्यक्ति हो – अन्तरज्ञान । साथै, ती पात्रले सुपो, खाँबो र लौरो त बुझेका रहेछन् । यही कारण त हात्तीलाई तिनै सामग्रीमा आआफूले जे बुझे त्यही आरोपित गरे ।    यस्ता व्यक्तित्व बुझ्नेहरुले जसलाई दिव्यचक्षु वा दिव्यदृष्टि भनिन्छ त्यो प्रयोग गर्ने हो । दिव्यदृष्टि भोगाइ, पढाइ र बुझाइले निर्मित हुनेगर्छ । चाहे उसले चर्मचक्षुमा चस्मा चढाओस् वा नलगाओस्  । तर, ठम्याइमा रहेन ‘कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि’ भन्ने उखानको अर्थ संकेतलाई भने युगौँ स्वीकार गर्नैपर्ने रहेछ । अर्थात्, अध्येता दिव्यदृष्टिले पनि कोणमात्र हेर्नसक्छ र कसैले कोणहरु समेत हेर्नखोज्लान् ? समग्रतामा बीपी देखिने कोणहरुसमेत जोड्न खोज्दा हो । त्यसो त एक भयंकर विशद् व्यक्तित्वलाई कति नै समग्रतामा अथ्र्याइन सम्भव होला र ? समग्रताको सीमा पनि विस्तारमा गएर टुंगिएला । यहाँ भन्न खोजिएको समग्रताको सीमा पनि त्यही विस्तारको अलिकति लेखोटमात्रै हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बीपी किन समग्रतामा ? उहाँले राजनीतिमा बोल्नुभयो, अर्थतन्त्रलाई प्रजातान्त्रिक समाजवादमा अभिव्यक्त गर्नुभयो । साहित्यमा मुखरित हुनुभयो । जसरी विश्व समाजवादी आन्दोलनको नेतृत्व गरेर सामाजिक न्यायको आवाज दक्षिण एसियामा बुलन्द गर्नुभयो, त्यसरी नै नेपाली साहित्यमा मानिस र यौनवीचको घनिष्टतालाई पहिलो अभिव्यक्ति संस्कार दिनुभयो । उहाँको साहित्यको केन्द्रबिन्दु यौन अभिव्यक्ति भन्ने विश्लेषण गरिएला तर त्यहाँ यौन होइन, जीवन बोलेको हो । त्यतिमात्रै कहाँ ? त्यो साहित्यमा व्यक्ति छ, समाज छ, संस्कृति छ र राजनीतिकर्मीको पनि चरित्र चित्रण बोलेको छ । 

विसं १९९१ मा प्रकाशन आरम्भ साहित्यिक पत्रिका ‘शारदा’ को ०९२ को अंकमा बीपीको कथा ‘चन्द्रवदन’  छापियो । सम्पादक ऋद्धिबहादुर मल्लको ‘शारदा’मा छापिएको यही कथाले नेपाली साहित्यमा पहिलोचोटि जीवन जगत्सँग जोडिएको अर्को पाटोलाई सभ्य प्रस्तुति दियो । माक्र्सको भौतिकवादी ‘प्रपोगण्डा’को युगमा सिग्मण्ड फ्रायडले जीवन र यौनको अविच्छिन्नतालाई साहित्यमार्फत उद्घाटित गरे, सोचमा नयाँ मोड थपिदिए । बीपीले पनि मानिसको जीवन ‘जगत्’मा ब्रेन, यौन र आवश्यकताको माग वा प्रभावलाई मानसिक अर्थमा समेत भन्ने र बुझाउने प्रयास गर्नुभयो । कथाको ‘चन्द्रवदन’ शीर्षक रोजाइ नै यति कोमल छ कि अर्थात् चन्द्रमा जस्तो शरीर, अर्थात् चन्द्र प्रतीक वदन सुन्दरीको कल्पना, स्वयं मनोविनोददायक छ । यसैलाई मानिसहरुले यौन मनोविश्लेषण भनेका होलान् । तर, उहाँको साहित्यिक अभिव्यक्तिलाई यौन अपरिहार्यताको मनोआह्वानमा बुझ्दा पनि होला । उर्वर यौनजनित द्वन्द्वको अर्थमा भन्दा पनि मिल्ला ?

Global Ime bank

बीपी न्यायमा पनि बोल्नुभयो । दार्जलिङतिर सुधपा (सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान) साहित्यमा बोल्दैथिए, त्यतिखेरै त्यतै बीपी वकालत गर्दै (बारिष्टर) हुनुभयो । फाँसी दिइने उद्देश्यले तत्कालीन व्यवस्थाले लगाएका मुद्दाहरुमा उहाँ आफैँले पनि आफ्नो पक्ष राख्नुभयो, आफैँले समेत वकालत गर्नुभयो । राष्ट्रिय मेलमिलाप नीति लिएर स्वदेश आएपछिको घटना हो यो । दार्जलिङबाट कानुनवेत्ता हरिप्रसाद प्रधानलाई ल्याएर नेपालमा न्यायाधीश न्यायालय आरम्भ गर्ने नेता पनि बीपी कोइराला नै हो । 

पत्रकारितामा पनि बीपी देखिनुभयो । आफू प्रधानमन्त्री बन्दा मन्त्रीहरुसमेत आफ्नो पनि तलबभत्ता घटाएर कार्य आरम्भ गर्नुभएका बीपीले पत्रकारिताको संस्थागत विकासमा योग गर्नुभयो । अहिले दिइने लोककल्याणकारी विज्ञापनको पहिलो सूत्र उहाँले नै सुरु गर्नुभएको सहयोग हो । कम्युनिस्ट अवधारणाको प्रवक्ता ‘समीक्षा’ साप्ताहिक (सम्पादक मदनमणि दीक्षित), प्रजातन्त्रवादी प्रधानमन्त्री बीपीको रकम सहयोगबाट प्रकाशन भएको थियो । पत्रकारितामा मात्रै होइन, बीपी नेपालको आधुनिक परराष्ट्र नीति निर्माणमा पनि निर्धक्क देखिनुभयो ।    

भारतीय स्वतन्त्रता संग्राममा तत्कालीन अंग्रेज शासकको जेल बसेरसमेत योगदान गर्नुभएका बीपीले आफ्नो कार्यकालमा उत्तर छिमेकी चीनसँगको आधुनिक सम्बन्धलाई उचाइ दिनुभयो । प्रधानमन्त्रीका रूपमा उहाँले चीन भ्रमण गरेर त्यहाँका समकक्षी चाउएन लाई र चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष माओत्सेतुड्.सँगको वार्ताबाट सगरमाथा सीमाको विवाद सुल्झाउनु भएको हो । प्रधानमन्त्री चाउएन लाईलाई नेपाल भ्रमणमा निम्त्याउनु भयो । दक्षिण एसियाबाट इजराइललाई मान्यता दिने पहिलो राष्ट्र नेपाल नै हो जतिबेला उहाँ नै प्रधानमन्त्री हुनुहुन्थ्यो । जननिर्वाचित सरकारको प्रमुखका रूपमा संयुक्त राष्ट्रसंघमा सारगर्भित मन्तव्य दिने उहाँ नै पहिलो नेपाली नागरिक पनि । 

पृथ्वीनारायण शाहले नेपालको भूराजनीतिक अवस्थितिलाई ‘दुई ढुंगाबीचको तरुल’ चित्रण गरे । बीपीले भारत र चीन दुईतिरका हात्तीबीचको दुबोजस्तो स्थितिमा मुलुकको भूराजनीतिक संवेदनशीलता बुझाउन खोज्नुभयो । अर्थात्, दुई हात्ती बस्दा वा लड्दा पनि माडिने जोखिम दुबोलाई पर्छ ।  बीपीको यो चित्रणप्रति टिप्पणी गर्ने केही ‘कथित’ पराराष्ट्र मामलाविद्ले हालै भारत, चीन हात्ती पनि होइनन् र नेपाल घाँस पनि होइन भन्ने सतही टिप्पणी गरेका भेटिए । (महेश मास्के, नेपाल पाक्षिक असार) । उनकै प्रेरणाले होला यस्तै आशयमा एकजना लेखक नयाँ पत्रिका दैनिकमा पनि देखिए । यस्ता लेख बीपी स्मृति दिवस नजिकिदै गर्दा आएका थिए । 

महेश मास्के ‘करियर डिप्लोम्याट होइनन् ।’ त्यसैले उनको विज्ञतामाथि लामो औंला तेस्र्याउनु अन्यथा हुन्छ । तर, उनी चीनमा राजदूत बसिसकेका भने हुन् । त्यही लेखमा उनले नेपालको भूअवस्थितिको पहिचानमा चाहिँ भनेका छन्– नेपालको अवस्था ‘साँढेको जुधाइ,बाच्छाको मिचाइ’ जस्तो....। आखिर पृथ्वीनारायणको तरुल, बीपीको हात्ती र दुबो, अनि मास्केको साँढेको जुधाइ र बाच्छाको मिचाइमा भाषाको भिन्नता छ तर भावार्थको दूरी कति बाँकी रह्यो त ? शब्दभाषा जोख्ने तर सन्देशात्मक भावार्थको दूरी नाप्न नसक्ने यस्तै नादानी व्याख्याले अहिलेको हाम्रो परराष्ट्र नीति निर्देशित छ क्यारे ? के यो नीतिमा समदूरी भन्ने ‘कथित दूरी’ बेअर्थ जन्मिएको हो र ? 

‘भानुको सालिक बोक्ने विश्वेश्वरप्रसाद कोइराला’(बीपी) शीर्षक दिएर सात वर्षअघि पत्रकार, साहित्यकार जयदेव भट्टराईले गोरखापत्रमा विस्तृत लेख लेखे । कारण, प्रजातान्त्रिक विचार समाज तनहुँको आयोजनामा बीपीको ३७ औँ स्मृतिदिवस (यही साउन ६ गते) कार्यक्रमको वक्ता बन्न भानुभक्त आचार्यको गृहजिल्ला तनहुँको दमौलीमा जाँदा मलाई बीपीको समग्रता के हो ? भन्ने जिज्ञासाप्रति सोच्ने मौका जुर्यो । र, पाएँ यस्तै । उल्लिखित विशद् विषयहरुको प्रथम नेपाली प्रयोक्ता र नेपाली भाषाको उत्कृष्ट प्रयोगकर्ता बीपीमा रहेको युवासँगको भरोसा नजिकबाट सुनेको थिएँ । मानिसप्रतिको ममत्व आफैले पनि पाएँ । यद्यपि, उहाँभित्रको असीम गहिराइसम्म भने पुग्न सकिन  । त्यो सम्भव पनि भएन । 

त्यसैले यी पंक्ति बीपी व्यक्तित्वको समग्रताको पूर्ण प्रस्तुति होइन (न्) । त्यसो गर्नु सीमित मेरो ज्ञानभित्रको शक्ति सामथ्र्यमा पर्दैन पनि । तर ज्ञान, विज्ञान, प्रकृति र स्रोतसाधन अनि माथि लेखिसकिएका जीवनजगत्, सबैसबै विषयमा अभिव्यक्त बीपीलाई ‘समग्रतामा अभिव्यक्त बीपी’ भन्न खोजिएको हो, संक्षिप्तमा मेरो ठम्याइ हो । अरुको कुरा अरुसँगै । समग्रताले महामना व्यक्तित्व बीपीलाई हार्दिक श्रद्धाञ्जली । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६  ०६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC