पोखरा । पोखरामा श्रम कार्यालय स्थापना भएयता अघिल्लो आर्थिक वर्षमा गण्डकी प्रदेशबाट झन्डै १० हजार युवा विदेशिएका छन् । पोखराको श्रम तथा रोजगार कार्यालयले पुनः श्रम स्वीकृतिको काममात्र गर्छ । गत वर्षको पौष २५ गतेदेखि असार मसान्तसम्म नौ हजार सात सय ९१ जना पुनः श्रम स्वीकृति लिएका छन् ।
पुनः श्रम स्वीकृति लिनेमा पुरुषहरुको संख्या बढी छ । कार्यालय प्रमुख गणेश प्रसाद श्रेष्ठका अनुसार असार मसान्तसम्म नौ हजार पाँच सय ७७ जना पुरुष र दुई सय १४ जना महिलाले श्रम स्वीकृति लिएका हुन् । कार्यालयले दिएको तथ्यांक अनुसार कार्यालय स्थापनाको पहिलो महिनामा दुई सय १४ जना पुरुषले मात्र श्रम स्वीकृति लिएका थिए । त्यसयता हरेक महिना हजार देखि दुई हजारको हाराहारीमा कार्यालयले श्रम स्वीकृति जारी गरेको छ ।
“दैनिक २ सयसम्म पुनः श्रम स्वीकृति दिएका छौँ,” श्रेष्ठले भने, “गण्डकी प्रदेश बाहिरकाले पनि श्रम स्वीकृति गराउने गरेका छन् ।” कार्यालयका अनुसार माघ महिनामा एक हजार तीन सय ४७ जना पुरुष र २७ महिला सहित कुल एक हजार तीन सय ७४ जनाले श्रम स्वीकृति लिएर विदेशिएका थिए ।
फागुनमा एक हजार आठ सय ६२ जना पुरुष र ४५ जना महिलाले कार्यालयबाट स्वीकृति लिएका छन् । चैतमा भने सबैभन्द बढी एक हजार नौ सय ५३ जनाले श्रम स्वीकृति लगेको कार्यालयको तथ्यांक छ । उक्त महिनामा ५० जना महिना र एक हजार नौ सय ३ जना पुरुषले पुनः श्रम स्विकृत गराएका थिए ।
यस्तै, वैशाखमा एक हजार सात सय जना पुरुष र ३९ जना महिला, जेठमा एक हजार चार सय ३७ जना पुरुष र १८ जना महिला तथा असारमा एक हजार एक सय १४ जना पुरुष तथा ३५ जना महिलाले पुनः श्रम स्वीकृति लिएका हुन् ।
वर्षातको समय भएका कारण पछिल्लो समय श्रम स्वीकृति लिनेको संख्या कम देखिएतापनि भदौदेखि यो संख्या बढ्ने श्रेष्ठले जानकारी दिए । पहिलोपटक श्रम स्वीकृत गराउनेको हकमा भने सेवाग्राही आफैं काठमाडौं जानुपर्छ । अन्यको हकमा राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउँबाट मात्र हुँदा सेवाग्राहीले निकै झन्झट व्यहोर्नु परिरहेको थियो । प्रदेशस्तरबाटै श्रम स्वीकृति गराउन पाउने भएपछि लागत बच्नुको साथै कम समय लाग्ने गरेको सेवाग्राहीको भनाइ छ ।
तर, कार्यक्षेत्र बढी र कर्मचारी अभावको समस्या रहेको श्रेष्ठको भनाइ छ । “बालश्रम देखि श्रमिकहरुको मुद्दा समेत हेर्छौँ, गुनासो सुनी आवश्यक कारवाही र सहयोग गर्ने गरेका छौ, व्यावसायिक तथा औद्योगिक श्रमको लागि हामीले काम गरेका छाँै, तर कर्मचारी भने छैनन्, अपुग कर्मचारीले नै सेवा प्रवाह गरिरहेका छौँ,” उनले भने ।
यसबाहेक कार्यालयले अभिमुखीकरण तालिम प्रदायक संस्थाको अनुगमन गर्नेे, म्यानपावर व्यवसायी र कामदारबीच सुमधुर सम्बन्ध स्थापना गर्ने र कामदारलाई सूचना प्रणालीमा सहजीकरण गर्ने काम पनि गर्दै आएको छ । कार्यालय मातहत वैदेशिक रोजगार इकाइ छ ।
श्रम तथा रोजगार कार्यालयबाट हाल युएई, कतार, मलेसिया, बहराइन, इजरायल, लेवनान, साउदी अरेबिया लगायतको राष्ट्रको लागि श्रम स्वीकृति दिँदै आएको छ ।