सृजना सुब्बा रंगमञ्चमा परिचित नाम हो । १३ वर्षदेखि नाटकमा सक्रिय सृजना पछिल्लो समय चलचित्रमा पनि अब्बल अभिनयका कारण यस क्षेत्रमै जमिरहेकी छिन् । रंगमञ्चमा आउने भन्दा पनि चलचित्रमा अभिनय गर्ने उनको बाल्यकालदेखिकै रुची थियो । तर, चलचित्रमा प्रवेशको बाटो खोज्दा उनी नाटकमा आइपुगिन् । काम गर्दै जाँदा आफू नाटकमै रमाएको उनी बताउँछिन् ।
नेपाली नाटकमा महिलाको उपस्थिति न्यून रहेका बेला यस क्षेत्रमा सृजनाको प्रवेश भएको थियो । अनुप बरालको नाटक प्रशिक्षणको तेस्रो ब्याचमा नाटक सिक्न थालेपछि सुरू भयो सृजनाको नाटक यात्रा । जुन अहिलेसम्म यथावत् छ । सृजनासँग बाह्रखरीकर्मी वर्षा महर्जनले गरेको कुराकानीको सम्पादित अंश :
विवाहपछि पनि नाटकमै हुनुहुन्छ ?
विवाहपछि नाटकमै रमाइरहेकी छु । यसको लागि हामी छोरी मान्छे नै बलियो हुनुपर्छ । तपाई आफैंलाई थाहा हुनुपर्छ की तपाईंको प्राथमिकता के हो भनेर । र मलाई राम्रोसँग थाहा छ मेरो प्राथमिकता । त्यसैले अहिलेसम्म त्यस्तो सामना गर्नु परेको छैन । फेरि मेरो श्रीमान् पनि यहि क्षेत्रको भएर सहज भएको छ ।
विवाहलगत्तै ‘घरजम’ भन्ने चलचित्र गरेँ । विभिन्न सघंसस्थाहरुसँग पनि आवद्ध भएकोले संस्थागत काममा पनि अली व्यस्त छु । सर्ट मुभीमा पनि काम गरिरहेकी छु । बढी समय मण्डलामै हुन्छु । मण्डलाकै टिम मिलेर दशैंअघि नाटक गर्ने तयारीमा छौं ।
यस क्षेत्रमा पहिले र अहिलेको के भिन्नता पाउनु भएको छ ?
मैले ०६३ सालतिर नाटक सुरु गर्दा संख्यात्मक रुपमा निकै कम थिए । त्यसमा पनि महिलाको उपस्थिती झन् न्यून थियो । नाटक गर्ने केही टिम भए पनि हल पाउनै गाह्रो हुन्थ्यो । अहिले त राम्रो नाटक गर्नेलाई हल पाउन सहज भएको छ । ठाउँ-ठाउँमा थिएटरहरु छन् । जस्तो मण्डला भयो, कौसी, शिल्पी, सर्वनाम र अझै अरु पनि खुलिरहेका छन् ।
अहिले त मोफसलमा पनि नाटक घरहरु छन् । पहिले नाटक खेल्ने चाहना हुँदा पनि सिकाउने मान्छेहरु थिएनन् । अहिले निकै सजिलो छ ।
चलचित्रमा राम्रै तारिफ पाउँदा पनि थिएटरै फर्किनु भयो नि ?
त्यो आ-आफ्नो रुचीको कुरा हो । मेरो घर अर्थात बेस नै थिएटर हो । मैले थोरै काम गरे होला चलचित्रमा । तर पनि त्यसले मलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड दिलायो । लामो समय थिएटरमै लागेको भएर यसकै बानी बसेको होला । तर यसको मतलब यो होइन कि म चलचित्र खेल्दिनँ । पहिलाभन्दा थिएटरमा सर्भाइभिङ फ्याक्टर बलियो बनको छ । रेगुलर नाटक देखाइरहँदा पनि दर्शक छन् । पाँच लाखमा बनाएर करोडौमा पाउँदैनौँ । एक लाखमा बनाएर कममा पनि छ-सात लाखसम्म कमाइ हुन्छ । चलचित्रमा जस्तो नाटक बनाएर पूरै डुबेको भन्ने छैन् ।
नाटकबाट पलायन हुने पनि छन् नि ?
पलायन हुने भनेको अवसर र आफूलाई जता राम्रो लाग्यो त्यतै जाने हो । सबैले ठूलो स्पेसमा रमाउन खोज्छ । अर्को कुरा आर्थिक उपार्जनको विषयले पनि हुनसक्छ । नाटकमा मिहिनेत धेरै हुन्छ, त्यस अनुरुप पैसा हुँदैन । एउटा नाटकको लागि हामी तीन-चार महिनादेखि रिहर्सल गर्छौं । तर हाम्रो अडियन्स भनेको एक शोमा बढीमा डेढ सय जना हो । त्यो पनि हाउसफुल भएमात्र । र यो लाइभ हुन्छ । तर चलचित्र भनेको एकचोटी सुटिंङ भइसकेपछि सय वर्षपछिसम्म पनि देखाउन सक्छौं । फेरि हाम्रो यस्तो संस्था छ, टिम छ । मन लागेको बेला देखाइदिइहालौँ भन्ने हुन्छ । तर कतिको त्यस्तो हुँदैन र चलचित्रतिर जानुहुन्छ ।
संघर्षका दिनहरु कसरी सम्झिनु हुन्छ ?
बाहिरको मान्छेलाई काठमाडौंमा पैसा हातमै बोकेर एउटा कोठा खोज्न त कत्ति धेरै संघर्ष हुन्छ । यो त रंगमञ्च हो । थरीथरीका संघर्ष र चुनौतीहरु थिए । १३ वर्ष लामो संघर्ष तीन मिनेटमा भन्न त गाह्रै हुन्छ । संघर्ष नगरी त कुनै कुरा पनि सफल हुन सकिँदैन । तर, म एक महिला, त्यसमा पनि जनजाति अनुहार । सुरुका दिनहरुमा चलचित्रमा अनुहारकै कारण पनि मलाई केही चुनौतीहरु थिए ।
मैले विभिन्न अवार्डहरु थापिरहँदा पनि कतिपय अनुहारहरुमा शंकाको भाव देखिन्थ्यो । १२-१३ वर्षदेखिको निरन्तरको संघर्ष र चुनौतीहरु सामना परिणाम हो आजको दिनजस्तो लाग्छ । तर, म हारेर पछि हट्ने मान्छे होइन । मिहिनेत र लगन गरे भने एकदिन अवश्य फल पाइन्छ भन्ने कुरामा विश्वास गर्छु । समस्यासँग जुध्दा बलियो भइन्छ भन्ने लाग्छ । तर, जीवनमा आत्तिनु हुँदैन ।
नाटकमा महिलाको उपस्थिति कस्तो छ अहिले ?
पहिलेको भन्दा बढेको छ । तर, जति हुनुपर्थ्यो त्यति हुन सकेको छैन । समाजले हेर्ने दृष्टिकोण अझै पनि करिब उस्तै छ । केही अभिभावक भने कन्भिन्स हुनु भएको छ । विस्तारै महिलाको उपस्थिति बढ्दै गएको छ भन्नुपर्छ । पहिले समाज बाधक बन्छ भने दोस्रो हामी प्राकृतिक रुपमा पनि कहिले गाह्रो काम गर्न नसक्ने, कहिले महिनावारीको समयमा समस्या हुने लगायतका कारण पनि पुरुष जति सक्रिय हुन सकिरहेका हुँदैनौं । यसले गर्दा पनि महिलाको उपस्थित कम हुने गरेको छ । अर्को कुरा यसका सक्रिय महिलाहरु पनि विवाहपछि प्राय: महिलाहरु यस क्षेत्रबाट टाढिने गरेका छन् ।
आगामी योजनाहरु के छन् ?
मेरो योजना भनेकै यही थिएटर हो । यहि चलचित्र र थिएटरमै काम गरिरहेको हुन्छु । बरु यसलाई अझै राम्रो र परिष्कृत कसरी गर्ने भन्नेतिर हो । अभिनयमा मात्रैभन्दा पनि कहिले निर्देशन पनि गरिरहेको हुन्छु त कहिले पर्दाभित्र बसेर पनि काम गरिहेको हुन्छु । यही क्षेत्रमा अझै कसरी राम्रो गर्ने भन्ने नै हो आगामी योजना ।