साहित्य
सञ्चार जगतमा विगत अढाई दशकदेखि सक्रिय भूषण दाहाललाई धेरैले म्युजिक भिडियो निर्देशक र चर्चित टेलिभिजन कार्यक्रम ‘फायरसाइड’बाट चिन्छन् । कान्तिपुर टिभीमा सन् २००२ देखि आजपर्यन्त सक्रिय भूषणले टेलिभिजन यात्रा नेपाल टेलिभिजनबाट थालेका हुन् । त्यसपछि इमेज च्यानल हुँदै उनी कान्तिपुर छिरेका हुन् । ‘कागबेनी’ चलचित्र बनाएर भूषणले आफूलाई सफल निर्देशकका रूपमा पनि उभ्याएका छन् । समाजशास्त्रमा स्नातकोत्तर भूषण बूढानीलकण्ठ स्कुलका उत्पादन हुन् ।
बाह्रखरीका लागि यसपटक उनै भूषणलाई हामीले १२ वटा आरोप लगाएका छौं । विभिन्न व्यक्तिबाट प्रश्न संकलन गरेर उनलाई सोधेका छौं । प्रश्न सुनेपछि अनौपचारिक कुराकानीमा ठट्टा गर्दै उनले भने, “यस्ता आरोप सुनेर त म निकम्मा नै हुँ कि जस्तो पो लाग्यो ।”
१) तपाईं गणतन्त्रमा पनि राजतन्त्रको वकालत गर्नुहुन्छ । देशै उर्लिएर आएको यो परिवर्तन स्वीकार गर्न किन नसक्नुभएको ?
वकालत नै त नहोला तर हुर्केका छोराछोरीलाई सोध्ने जमर्को समेत नगरी बाले कान्छी आमा ल्याए भने जबसम्म कान्छी आमाले आमाको व्यवहार देखाउन्निन्, आफ्नी आमाको राम्रा बानी व्यवहार सम्झनु त स्वाभाविक नै हो ।
राजनीतिका लागिमात्र भए पनि वकालत गर्नेहरू त अनगिन्ती छँदैछन् नि, मैले नै किन गर्नुपर्यो र ?
२) तपाईं राजनीति नबुझेर अन्तर्वार्ता गर्नुहुन्छ भन्ने आरोप लाग्छ, सत्य हो ?
खै मजस्तो ‘राजनीति नबुझेका’ मान्छेको अन्तर्वार्तामा भाग लिन १३ वर्षदेखि नियमित आएर जवाफ दिने राजनीतिज्ञहरू कसैले यो आरोप लगाएको सुनेको छैन । आउन नपाएका कसैले लगाएको भए कुनै बेला बोलाएरै यो आरोप मेटौंला ।
३) तपाईंको कार्यक्रम ‘फायरसाइड’मा पछाडिबाट प्रश्न सोधिदिने अर्को मान्छे बस्नैपर्छ रे भन्ने हल्ला सुनिन्छ । त्यस्तै हो ?
हल्ला होइन, सत्य हो । टेलिभिजन अन्तर्वार्ताहरूमा संसारभरि कन्टेन्ट असिस्टेन्टले कार्यक्रम राम्रो बनाउन मद्दत नै गरेका हुन्छन् । ‘फायरसाइड’ पनि सम्पादकीय टिमको साथ र सहयोगमा तयार हुने कार्यक्रम हो । थोरबहुत प्रश्न गर्न त सिकी पनि सकें यत्रो वर्षमा ।
४) तपाईं अरुबाट पाउने कुनै पनि ठूला उपहार नाइँ भन्नुहुन्न रे ! सञ्चारकर्मीले त्यसो गर्न मिल्छ ?
माया गर्नेहरूबाट जीवनमा अनगिन्ती उपहारहरू त पाएको छु । केलाई ठूलो भन्ने र केलाई सानो भन्ने थाहा छैन । तर, आफ्नो सञ्चारकर्मको हत्या नै गर्ने गरी एउटा उपहारमात्र लिएको भए मेरो कर्मको आयु आज ३० वर्षको हुने थिएन । जमानामै मरिसकेको हुने थियो ।
५) विदेश जाने र घुम्ने मौका पाए अरु कसैलाई नदिई आफैं जानुहुन्छ, किन ?
म अरुले दिएको मौकाले भन्दा आफ्नै बुताले घुम्न रुचाउने मान्छे हुँ र मैले धेरैलाई घुमाएको पनि छु । मौका पनि अनगिन्तीलाई दिएको छु । त्यस्तो सानो मनको मान्छे हुँ जस्तो लाग्दैन ।
६) तपाईंले बनाएका म्युजिक भिडियो कान्तिपुर टिभीमा जतिखेर पनि बजिरहन्छन् । अरुका भिडियोले मौका नै पाउँदैनन् भन्ने सुनिन्छ । किन त्यस्तो सिन्डिकेट ?
आरोपअनुसार मैले बनाएका भिडियोमात्र बजाउने बाध्यता कान्तिपुर टिभीलाई भएको भए उहिले बन्द भइसक्थ्यो । आज एकसे एक म्युजिक भिडियोहरू बन्छन् । जुन लोकप्रिय छन्, तिनै बज्छन् । कुनै सिन्डिकेटको गुन्जायस छैन ।
७) अन्तर्वार्ता लिने व्यक्ति छान्दा पनि तपाईं अति ‘कन्जर्भेटिभ’हरूलाई मात्र छान्नुहुन्छ भन्ने आरोप छ नि !
मेरो अन्तर्वार्ताको सम्पादकीय म्यान्डेट प्राथमिक रूपमा मुलुकको राजनीति हो । लिइएका करिब ६ सय अन्तर्वार्ताहरूमा समसामयिक नेपाली राजनीतिभित्रकै हस्तीहरू पाल्नुहुन्छ । बाहिरबाट हेर्दा उहाँहरू कन्जर्भेटिभ देखिनुहुन्छ र ?
८) म्युजिक भिडियो बनाउँदा तपाईंको भूमिकाभन्दा बढी क्यामेराम्यान विदुर पाण्डेको भूमिका र सिर्जनशिलता बढी रहन्थ्यो तर पैसा तपाईंले लिनुहुन्थ्यो भन्ने गाइँगुइँ सुनियो । लामो समय साथमा रहेका उनै क्यामेराम्यानले तपाईंको साथ छोडेर हिँडे । किन होला ?
अन्य प्राविधिकहरूको जस्तै क्यमेराम्यानको पनि भूमिका अवश्य हुन्छ । विदुर पाण्डे अति नै प्रतिभावान र सिर्जनशील प्राविधिक हुन् । तर, मैले उनको मेहनतको मोल मारेका कारणले मसँग काम गर्न छाडेको भए मलाईचाहिँ थाहा भएन, उहाँलाई पनि सोधे भो । तर, सिर्जनशीलता कुनै बँधुवा मजदुरी पनि होइन । जोसँग एकपटक काम गर्यो, जिन्दगीभर सँगै काम गर्ने बाध्यता नभएको इलम हो यो ।
९) ‘कागबेनी’ बनाउनुभो । अरु फिल्म बनाउने हिम्मत जुटेन भनियो भने सत्य हुन्छ ?
सत्य हुन्छ । हिम्मत जुटेको छैन तर आँत पनि भरिएको छैन । हिम्मत जुटेको दिन फेरि कोसिस गर्छु ।
१०) एउटै सिनेमा बनाउँदा तपाईंले सिकेको नयाँ सत्य के हो ? जसले सिनेमाको राजमार्गमा अघि बढ्न सक्नुभएन !
नयाँ होइन, पुरानो सत्य भनौं न । ८–९ वर्ष पो भइसक्यो त ! अघि बढ्न नसकेको मुख्य कारणचाहिँ–जबसम्म लगानीकर्ताको लगानीको सुरक्षा बनेको चलचित्रले भन्दा पनि अपारदर्शी बजारले निर्धारण गर्छ, चलचित्रमात्र बनाएर के गर्नु ?
११) फिल्म होस् या म्युजिक भिडियो– नयाँ टिमसँग कामै गर्न सक्नुहुन्न भन्ने आरोप लगाउनेहरू पनि रहेछन् । खास कुरो के हो ?
सन् १९८८ ताका ध्रुव बस्नेत, रवीन्द्र पाण्डेहरूको साथबाट सुरु भएको व्यावसायिक जीवन धीरजजंग शाह, भरत रेग्मीहरूसम्म पुगेको छ आजसम्म । आरोप नै अलि ठेट्नो किसिमको भएन र भन्या ?
१२) सामाजिक सञ्जालमा लेखेका कतिपय आपत्तिजनक पोस्टहरू चर्को आलोचनापछि हटाउनुभएको पनि छ । आवेशमा आएर लेख्नु हुन्छ त ?
कहिले आवेशमा कहिले ठन्डा दिमागले लेखिन्छ ‘सामाजिक’ सञ्जालमा । ‘समाज’ले नरुचाएको अनुभव भएपछि आफ्नो लेखाइ समाजले प्रकट गरेको प्रतिक्रियाहरूको कदरस्वरूप हटाउन सक्नु नै सामाजिक सञ्जालको अघोषित धर्म हो जस्तो लाग्छ मलाई ।
प्रस्तुतिः लेनिन बञ्जाडे
प्रकाशित मिति: शनिबार, साउन १५, २०७३ ०७:४८
प्रतिक्रिया दिनुहोस्