काठमाडौं । अमेरिका र क्यानडामा रोजगारीको लोभले गर्दा एक जना नेपाली युवा भारतमा ठगिएका छन् । उनले जागिरको लोभमा एक भारतीय नागरिकलाई २ लाख ३० हजार रुपैयाँ (१ लाख ४३ हजार भारु) बुझाउँदा त्यसरी ठगिएका हुन् । द टाइम्स अफ इण्डियाले आजको अंकमा जनाएअनुसार भारतको बेंगालुरुमा ती नेपाली युवा ठगिएका हुन् । दुईजना भारतीय नागरिकलाई ती नेपाली युवाले केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ताराबानाहलीमा सो रकम दिएका थिए ।
यो घटनामा सन् २०१७ मा सुरिन्दरपाल सिंहको हत्यामा संलग्न ग्याङ्ग नै सामेल भएको हुन सक्ने भारतीय प्रहरीले अनुमान गरेको छ ।
त्यतिबेला एउटा प्रकरणमा यसैगरी बोलाएर पैसा नदिएको भनेर सिंहको हत्या गरी उनको शव रामनगरमा फालिएको अवस्थामा फेला परेको थियो ।
राकेश शर्मा नामका ती नेपाली युवाले स्थानीय प्रहरी चौकीमा गएको बुधबार उजुरी दर्ता गरेका छन् । राकेशको घर नेपालमा कहाँ हो भन्ने बारेमा भने समाचारमा खुलाइएको छैन । राकेशका अनुसार उनी प्लस टु पास गरेकाले अनलाइनमा जागिरको खोजी गरिरहेका थिए । त्यही बेलामा उनलाई रनभीर सिंह नामको एक व्यक्तिको फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएको थियो ।
उनले ६ जुलाईका दिन सो रिक्वेस्ट स्वीकार गरेका थिए । त्यसपछि सिहंले शर्मालाई अमेरिका वा क्यानडामा जागिर लगाइदिने तर केही रकम दिनुपर्ने आश्वासन दिएका थिए ।
राकेश आवश्यक कागजात र रकम लिएर नेपालबाट बेंगालुरु गएका थिए । ‘‘म जुलाई १६ का दिन २ हजार अमेरिकी डलर (नेपाली २ लाख ३० हजार) र शैक्षिक प्रमाणपत्र बोकेर बंगालुरु आएँ,’’ राकेशले उजुरीमा भनेका छन्,‘‘सिंह र अर्को एक अपरिचित व्यक्तिले विमानस्थलमा रिसिभ गरे र स्थानीय ताराबानाहलीमा रहेको सूर्य रेसिडेन्सीको कोठामा लगे ।’’
सो जोडीले राकेशको कागजात, पासपोर्ट र नेपाली २ लाख ३० हजार रुपियाँ लिएको थियो । त्यसपछि उनीहरुले जुलाई १६ को बिहान ९ बजे पुरी ब्रेकफास्टको रुपमा खान प्रस्ताव गरेका थिए । पुरी खानासाथै राकेशको होस गुम्यो । उनी मध्यान्हतिर मात्रै उठे र वान्ता गरे । सिंह त्यो बेलामा आफ्ना सहयोगीसहित बेपत्ता भइसकेका थिए ।
उनको मोबाइल पनि स्वीच अफ थियो । स्थानीय प्रहरीले सिंह र उनका सहयोगीविरुद्ध ठगीको मुद्दा दर्ता गरेको छ । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
पञ्जावको हर्मिन्दर सिंह उर्फ शेल्लीको मानव तस्कर ग्यांगले सन् २०१७ मा भारतकै ३५ वर्षीय सुरिन्दरपाल सिंहलाई क्यानडामा जागिरको अवसर जुटाइदिने भन्दै यसैगरी बोलाएकोमा उनले रकम तिर्न नमानेपछि सो ग्यांगले हत्या गरेको थियो । प्रहरीले अहिलेको घटनालाई पनि त्यस्तै ग्यांगको काम हुन सक्ने जनाएको छ ।