site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
हराएका छैनन् अनिल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
–अक्षर काका
साउनको एक बिहान । झमझम झरी परिरहेको थियो । नक्सालस्थित एक रेस्टुरेन्टमा मेरो सामुन्नेमा थिए, एक युवा । उनको हाउभाउ र भावभंगी हेर्दा उनी गायक हुन् भनेर बुझ्न कठिन पर्दैनथ्यो । आधुनिकताले खर्लप्पै खाइसकेको उनको लवाइ र वेषभूषा नियाल्ने जोकसैले सहजै अनुमान गथ्र्यो, उनी पप गायक नै हुन् ।
करिब आधा घण्टा कुराएपछि उनी टुप्लुक्क त्यहाँ आइपुगेका थिए । त्यसैले उनले आउनासाथ प्रष्टीकरण दिइहाले, “१६ वर्षदेखि मेरो दैनिकी यसैगरी चलेको छ । व्यस्तताकै कारणले भनेको समयमा आइपुग्न असमर्थ हुन्छु । मेरो यस्तो बानी देखेर कहिलेकाहीँ त साथीहरू दिक्क मान्छन् ।”
मुख अमिलो पार्दै हाँसें ।
“सांगीतिक फाँटमा हराउनुभयो भन्ने स्रोता/दर्शकको आरोप छ, अनि व्यस्तचाहिँ कसरी हुनुभयो ?” मैले कुराकानीको प्रारम्भमै सोधिहालेँ ।
उनले हाँसेरै प्रतिवाद गरे, “जसले मलाई यो आरोप लगाउँछन्, उनीहरू आफैँ गीतसंगीतबाट टाढा छन् । एउटा उमेरमा मलाई सुन्नुहुन्थ्यो, समयसँगै त्यसमा कमी आयो होला । काम विशेषले स्रोताले सुन्न कम गर्नुभयो भन्दैमा मलाई हरायो नै भनेर ठोकुवा त गर्न मिल्दैन नि ! फेरि ‘ब्याक टु ब्याक’ एल्बम पनि निकालेकै छु, देशविदेशमा प्रस्तुति देखाउन पुगेकै छु ।” 
निरन्तर कर्ममा दत्तचित्त भइरहेको मानिसलाई संगीतबाट टाढा भयो भनेको सुन्दा कहिलेकाहीँ उनलाई अचम्म पनि लाग्छ रे ! उनले सुनाए, “यसमा म रिसाउनुपर्ने र मैले अन्यथा सोच्नुपर्ने ठाउँ देख्दिनँ । संगीतको पर्वत शृंखलामा एउटा उचाइ हासिल गरिसकेको व्यक्ति गीतसंगीतबाट टाढा नहोस् भनेर दर्शक÷स्रोताले मप्रति दर्साउनुभएको अपार मायो हो त्यो ।”
आँखीभौँ खुम्च्याएर उनी फिस्स मुस्कुराए ।
उनी हत्तपत्त मिडियामा आउन रुचाउँदैनन् । खुलेर बोल्दैनन् पनि । अन्तर्मुखी स्वभावका उनीसँग कुरा खोतल्नु समुद्रमा पानी सुकाउनुजस्तै कष्टसाध्य कुरा हो । थोरै बोल्ने र धेरै सुन्न रुचाउने उनलाई चिन्नेजान्नेहरू भन्छन्, “ऊ ‘रिजर्भ पर्सनालिटी’ भएको व्यक्ति हो ।”
त्यो रिजर्भ पर्सनालिटी अरु कोही थिएन, नेपाली पप संगीतका ‘आइकन’ र कुनै समयका ‘हटकेक’ अनिल सिंह थिए ।
गीतसंगीतमा झन्डै १७–१८ वर्ष बिताइसकेका अनिल अझै पनि गीतसंगीतको फाँटमा स्वरको खेती गरिरहेका छन् र उत्कृष्ट उब्जनी निकालिरहेका छन् ।
जीवन सिकाइको अनन्त शृंखला हो । त्यसो त एउटा भनाइ पनि छ, मानिस सिक्दासिक्दै जन्मन्छ र नजान्दै मर्छ । तर, अनिल यस्तो भाग्यमानी प्रतिभा हुन्, जसले सिकाइको प्रारम्भमै सफलताको उचाइ हात पारे । र त, आरोप लगाउनेहरू भन्छन्– उनले शिखरको चुचुरो त चुमे तर आफ्नै कारणले त्यहाँ टिकिरहन सकेनन् ।
यसको प्रतिवाद सहज छ– उचाइमा अडिरहने त सगरमाथामात्रै हो । मानिस त त्यहाँ पुगेपछि झर्नुपर्छ ।
उनले पनि ‘अप्स–डाउन’ बेहोरे । प्रसिद्धिको चुचुरोबाट झरेर उनी एकैपटक ‘केचनाकल’ आइपुगेका होइनन् । उनको सांगीतिक करिअरको पर्वतारोहण आजपर्यन्त उचाइ लिने प्रक्रियामै छ । मानिसको जीवनमा उतार–चढावहरू आउँछन् । आरोह–अवरोहहरू आएनन् भने वास्वतमा जीवन गुलियो र स्वादिष्ट पनि हुँदैन । अनिलले आफ्नो जीवनका केही चाखलाग्दा पाटाहरू हामीलाई पनि सुनाए ।
 
शिखर बिट कन्टेस्ट
सन् १९८० जुलाई २० मा काठमाडौँको डिल्लीबजारस्थित चारखालमा अनिल जन्मिएका हुन् । मध्यमवर्गीय परिवारमा जन्मिएका उनको शिक्षा–दीक्षा पनि स्तरीय स्कुलमै भयो । ग्यालेक्सी स्कुलबाट अक्षराम्भ गरेका हुन् उनले । पछि उनले त्यहाँ निमावि तहसम्म पढे र बाल उद्यानबाट प्रवेशिका तह उत्तीर्ण गरे । सांगीतिक करिअरले उचाइ लिन थालेपछि उनको पढाइमा त्यही पूर्णविराम लाग्यो ।
सहरी परिवेशमा जन्मे हुर्किएकाले दुःखको अनुभूति गर्न परेर । एक दिदी र एक बहिनीको बीचका उनले संगीतलाई आफ्नो जीवनको लक्ष्य बनाउँछु भनेर कहिल्यै सोच्दा पनि सोचेनन् ।
सानोमा कसैले सोध्थे, “ओई ! ठूलो भएपछि तँ के बन्छस् ?”
उनी अक्क न बक्क हुन्थे । उनको मथिंगलमा त्यस्ता कुनै सपना थिएनन्, जसले लक्ष्य प्राप्तिका लागि निरन्तर घोचिरहोस् र कर्म मार्गमा डो¥याओस् । जब उनी ग्यालेक्सी छाडेर बाल उद्यानमा पुगे, तब उनको जीवनमा संगीतको बिरुवा हुर्किन थाल्यो ।
टोलमा केही सांगीतिक प्रस्तुति हुन्थे । तिहारमा देउसी–भैलोको पनि आयोजना हुन्थ्यो । दाइहरूकै सिको गरेर उनीहरूले एउटा ब्यान्ड खडा गरे । सुनील सिंह, लक्ष्मण गुरुङ, ब्रिज थापा, सुशन खड्का, उनीलगायत चार–पाँचजना मिलेर ‘स्ल्याब्स ब्यान्ड’ खोले । वास्तवमा त्यो युवा जोस थियो । तर, अनिलका लागि भने ‘स्ल्याब्स ब्यान्ड’ ‘कोसेढुंगा’सरह नै भयो ।
कोही ‘गिटारिस्ट’ थिए, कसैले ‘भोकल’ गाउँथे । उनले भने ड्रमसेट बजाउन सिके ।
सन् २००० तिर हुनुपर्छ, त्यतिबेला ‘शिखर बिट कन्टेस्ट’ आयोजना भएको थियो । प्रतिस्पर्धामा पाँच सयवटा ब्यान्ड सहभागी थिए । अन्य प्रतिस्पर्धी ब्यान्डमा परिपक्व युवाहरू थिए । तर, अनिलको ब्यान्डमा भने ओठ निचोर्दा दूध झर्ने खालका ठिटाहरूमात्रै ।
अनिल भोकलिस्टको रूपमा प्रतियोगितामा गएका थिए । टुँडीखेलमा हजारौँ दर्शकको भीडमा जब उद्घोषकले ‘स्ल्याब्स’ ब्यान्डको नाम उच्चारण गरे, अनिलको मुटुको धड्कन बढ्यो । उनले त्यत्रो ‘मास’ कहिल्यै ‘फेस’ गरेका थिएनन् । तथापि, उनीलगायत उनको ब्यान्डले राम्रो प्रस्तुति देखायो र उनीहरूले सेकेन्ड रनरअपको उपाधि हात पारे । संगीतकार शम्भुजित बास्कोटाको हातबाट पुरस्कार पाएको त्यो क्षण अनिलको करिअरकै महत्वपूर्ण क्षण बन्न पुग्यो । उनले त्यतिबेला भोकलिस्टको रूपमा ‘मैले जानी सकेँ..’ भन्ने गीत गाएका थिए । पछि सोही गीतलाई परिमार्जन गरे र रेकर्डिङ गराए, जसले निकै लोकप्रियता हासिल ग¥यो । 
 
० ० ०
 
‘शिखर बिट कन्टेस्ट’मा सेकेन्ड रनरअप भए पनि त्यो उनीहरूका लागि ठूलो ‘अचिभमेन्ट’ थियो । ब्यान्डका अरु सदस्यको भूमिका पनि थियो । तर, बढी श्रेय उनैलाई गयो । कारण थियो– उनी भोकलिस्ट थिए ।
उनको स्वरको चौतर्फी प्रशंसा हुन थाल्यो । उनीभित्र सांगीतिक आत्मा छँदै थियो, त्यो जादूजसरी बाहिर आयो । घरपरिवार पनि त्यसबाट उत्साहित भए । गीत रेकर्ड गर्न भरपूर सहयोग गरे ।
त्यतिबेला धेरै स्टुडियोहरू थिएनन् । उनले रेडियो नेपालमा गीत रेकर्ड गराए । ‘ड्रिम गर्ल’ र ‘मैले जानीसकेँ’ उनले रेडियो नेपालमा रेकर्डिङ गराएका हुन् । ‘ड्रिम गर्ल’ उनको पहिलो रेकर्डेड गीत हो ।
अनिलले ९ कक्षामा पढ्दै पहिलो गीत रेकर्ड गराएका थिए । त्यसले उनी साथीसंगीका माझमात्रै नभएर स्कुलकै प्रतिभाको रूपमा उभ्याइदियो ।
 
पत्तै नपाई हिट भएँ
‘प्रेमपत्र’ गीत रेकर्ड गराएर उनी साथीसँग भक्तपुरको जीतपुर गएका थिए । प्रवेशिका परीक्षा सकिएकाले बिदाको समय पनि थियो त्यो ।
साथी लक्ष्मण गुरुङले ‘जाऊँ जीतपुर, हाम्रो घर, दुई–चार दिन बसेर आउँला’ भनेपछि उनी पनि ‘हुन्छ नि त’ भनेर उतै लागेका थिए ।
उनले गीत रेकर्ड गरेर छोडेको स्टुडियोमा हिट्स एफएमका दीपेश श्रेष्ठ पुगेछन् र ‘कोरेर तिमीलाई प्रेमपत्र’ भन्ने गीत ध्यान दिएर सुनेछन् । उनलाई निकै राम्रो लागेपछि उनले एफएममा लगेर त्यो गीत बजाए । 
गीत स्रोतामाझ अत्यन्तै हिट भयो । एफएममा स्रोताका टेलिफोनका घन्टी बज्न थाले र ‘फर्माइस’ आउन थाल्यो ।
फर्केर घर आउँदा उनी तीनछक परे । उनी त पत्तै नपाई हिट भइसकेछन् । उनको व्यापक खोजी हुन थालेछ ।
गीतका लागि प्रमोसन गर्नै परेन । भर्खर खुलेका एफएम रेडियोहरूले खोजी–खोजी उनका गीत बजाउन थाले । 
त्यसपछि इन्द्रेणी क्यासेट सेन्टरले प्रेमपत्रलगायत अरु गीत समेटेर एल्बम बजारमा ल्यायो । एफएमहरूमा मात्र होइन, सहरबजारका गल्ली र चोकहरूमा उनी सुनिन थाले । दूरदराजका गाउँहरूमा पनि अनिल गुञ्जन थाले ।
“प्रेमपत्र गीतसँग तपाईंको जीवनको कुनै साइनो छ ?” मैले कुराकानीकै बीचमा प्रश्न कोट्याएँ ।
सुरुमा त उनले हाँसेरै टार्न खोजे । एकछिन अनकनाए र मुस्कुराउँदै भने, “किशोरवयको थिएँ, त्यतिबेला ममा पनि त्यस्तो फिलिङ्स थियो होला । एउटी सुन्दर युवती देखेपछि ममा त्यस किसिमको भावना आउँदैनथ्यो होला र ?”
यस पटक उनी आवाज नै निकालेर हाँसे । 
त्यो उनको मात्र ‘फिलिङ्स’ थिएन । आम युवाहरूको भावना थियो । र त, प्रेमपत्र आम तन्नेरीहरूको संयुक्त आवाज बन्न पुग्यो र नसोचेकै चर्चा बटुल्यो ।
 
० ० ०
 
‘गायक’ एल्बममार्फत समावेश गरिएको ‘प्रेमपत्र’ गीत इन्द्रेणी क्यासेट सेन्टरमार्फत बजारमा आएको थियो । गीतले बजार तताएपछि राजेश वंशलले उनलाई अफर गरे, “यो एल्बम म्युजिक डटकममार्फत रि–लन्च गरौँ ।” 
राजेश वंशल म्युजिक डटकमका मालिक थिए । उनले चर्चित गायक–गायिकाहरूका गीतहरू समावेश गरिएको एल्बम निकाल्थे । उनले सिंहलाई एकमुस्ट १ लाख ७५ हजार रुपैयाँ पनि दिए । त्यसले उनको जीवनमा ठूलो उत्साह सञ्चार गरिदियो । युवावयको मानिसले गीत गाएरै त्यत्रो पैसा हात पारेपछि संगीतप्रतिको मोह चरम चुलीमा पुग्नु स्वाभाविकै हो । यो ०६० तिरको कुरा थियो ।
त्यसपछि उनले ‘मेगाहर्ज’ एल्बम ल्याए । ‘मेगाहर्ज’ले अघिल्लो एल्बमलाई पनि उछिन्यो । त्यो पनि उनले म्युजिक डटकममार्फत नै बजारमा ल्याएका थिए । ‘इन्जिन गाडीमा’, ‘डुब्न देऊ’, ‘आई लव यु’ त्यसै एल्बममा समावेश भएका हिट गीतहरू हुन् ।
“कसरी वाहवाही कमायो त यो एल्बमले ?” मैले पुनः जिज्ञासा राखें ।
“एल्बम निकाल्ने भएपछि कभर डिजाइनर अनिल स्थापित र म भएर गीत छान्यौँ । हामीले २५ वटा गीतबाट १२ वटा गीत छानेका हौँ,” यति भनेर उनी हाँसे ।
अनिल संगीतलाई हृदयको आवाज ठान्छन् र सबैको मनमस्तिष्कमा छुने हुनुपर्ने मान्यता राख्छन् । त्यसैले उनी गीतमा अलिकति पनि सम्झौता गर्दैनन् । एल्बम रिलिज नगरुञ्जेल दोहोर्याएर तेहे¥याएर पनि रेकर्ड गरेको सम्झना छ उनलाई ।
उनी भावको गहिराइमा पुगेर गाउने खुबी राख्छन् । गितारलाई साथी मान्ने उनी शब्द रचनाका अलावा आफैँ कम्पोज पनि गर्छन् । त्यसैले पनि होला, उनका गीतको रसस्वाद गर्नेहरु आज पनि उत्तिकै छन् । 
 
र, आइन् श्रीति
पप गायनमा उनले उचाइ लिइसकेका थिए । करिअरको अत्यन्त उर्वर समय थियो त्यो । ठीक त्यही बेला उनको जीवनमा अर्को वसन्त थपियो र प्रेमको झरी वर्षियो । 
त्यति बेला ‘परी’ भन्ने गीतका लागि उनी मोडलको खोजीमा थिए । म्युजिक भिडियोका निर्देशक थिए, सरोज रञ्जित । उनले अनिललाई भने, “मेरो एकजना आफन्त छिन् । उनी मोडलिङमा रुचि राख्छिन्, कुरा गरौँ त ?”
त्यसमा अनिलले अनुमति दिए ।
गीतको मोडलिङका लागि छनोट भएकी युवती आफ्नै जीवनको नायिका बन्छिन् भन्ने उनले कल्पना नै गरेका थिएनन् ।
‘भुल गरेछ दैवले पनि आकाशको परीलाई धर्तीमा छाडी’ यो गीतको बोल थियो । श्रीया उनको जीवनमा त्यसरी आइन् र धर्तीमै छाडिएकी परी उनको जीवनमा गाँसिइन् । ०६४ को भदौमा अनिल र श्रीयाको लगनगाँठो कसियोे ।
 
कसरी अघि बढ्यो त प्रेम ?
उनी भन्छन्, “मेरो जीवनमा पनि प्रेमको खडेरी थियो । उनी मायाको सिमसिमे मौसम बनेर आएझैँ भयो । सर्लक्क परेको जिउडाल, हत्तपत्त नखुल्ने स्वभाव र केयर गर्ने बानीले मलाई उनीतिर कतिखेर तान्यो, पत्तै भएन । हाामीबीच प्रेम झांगिन समय नै लागेन । चार–पाँच वर्ष प्रेम ग¥यौं, एकआपसमा मायापीरति साटफेर ग¥यौँ र दुवै परिवारको सल्लाहमा प्रेम–सम्बन्धलाई अन्तिममा विवाहमा परिणत ग¥यौँ ।”
 
बाबुको पत्यारै नलाग्ने निधन
जीवन घटनाहरूको संगालो पनि हो । चाहेर पनि नचाहेर पनि मानिसले यसलाई अँगाल्नैपर्छ । आजभन्दा करिब ५ वर्षअघि अनिलको जीवनमा पनि त्यस्तै भयो । सामान्य चेकजाँचका लागि अस्पताल पुगेका पिता कुमार सिंह कोमामा पुगे । 
“म घरमै थिएँ, सामान्य स्वास्थ्य जाँचको लागि उहाँ सिद्धि पोलिक्लिनिक जानुभएको थियो । त्यहीँ हर्टअट्याक आएछ । हतार–हतार हिमालयन अस्पताल पु¥यायौँ । ‘ब्रेन ह्यामरेज’ भएछ । तीन महिना थला परेर उहाँ बित्नुभयो,” मलिन स्वरमा उनले भने ।
बाबुको निधन उनको जीवनको पत्याउनै नसक्ने घटना हो । भन्छन्, “यो सम्झँदा आज पनि जिउ सिरिंग हुन्छ, आङ थरर्र काँप्छ । 
 
जब फ्यानले घर घेरे
अनिलले जस्तो फ्यानको माया कमै कलाकारले पाएका छन् भन्दा फरक नपर्ला । करिअरको पूर्वाद्र्धमै उनले यस्तो ‘फ्यान फलोइङ’ अनुमान पनि गरेका थिएनन् । भन्छन्, “फ्यानहरूले घर घेरेको, मलाई भेट्न चाहनेको भीड जम्मा भएको बुबाआमाले सुनाएपछि म सात दिनसम्म घरबाहिर बसेको छु । त्यो उहाँहरूको एक किसिमको माया हो ।”
उनलाई त्यसरी घेर्नेहरूमा युवतीमात्र थिएनन्, युवाहरू पनि उत्तिकै थिए । विवाह गरेपछि घर घेर्नेहरूको संख्यामा भने कमी आयोे ।
सांगीतिक बजारमा ‘विल यु म्यारी मी’ भन्ने उनको गीत अत्यधिक चलेको थियो । सोही समय पोखरा र धरानका दुई जना युवतीले ‘तपाईंसँग विवाह गर्न नपाए त आत्महत्या गर्छु’ भन्ने अड्डी कस्दै वास्तविक जीवनमै ‘विल यु म्यारी मी ?’ भने । पछि अभिभावकको मद्दतले सम्झाएपछि उनीहरु बल्लतल्ल पाखा लागे ।
यी सबैलाई उनी आफ्नो सांगीतिक करिअरको सफलता ठान्छन् । “यसरी माया गर्ने मानिस भेटिँदैनन् भने कसको लागि गीत गाउनु ?” उनी प्रश्न गर्छन् ।
जादुगरी गायनकलाका पछाडि के रहस्य छ ? भन्ने मेरो कौतुहलता मेटाउँदै उनी जवाफ फर्काउँछन्, “भगवानको कृपा ।”
उसो भए साधना आवश्यक छैन त ? म फेरि सोध्छु ।
उनी भन्छन्, “गीतसंगीतमा साधना भएन भने त तपाईंले अघि बढ्नेबारे नचिताए पनि हुन्छ । तर, साधनामात्र होइन, तपाईंसँग प्रकृतिप्रदत्त कला पनि उत्तिकै आवश्यक हुन्छ ।”
 
आफैँ मरेको हल्ला सुन्दा
०७१ जेठमा हल्ला चल्यो– अनिल सिंहको निधन भयो ! 
यो नियोजित हल्ला थियो ।
यो हल्लाबारे जिज्ञासा राख्दा उनले भने, “त्यस बेला लामो समयदेखि विदेशको कार्यक्रममा व्यस्त थिएँ । अनि मोबाइल सेट फुटेर कसैसँग सम्पर्कमा हुन सकेको थिइनँ । कसैले कल गरेको ग¥यै गरे होलान् र भेट नभएपछि रिसले म¥यो भनेर हल्ला चलाएको हो कि जस्तो लाग्छ ।”
उनी थप्छन्, “हल्ला सुन्दा म अस्ट्रियाबाट पासपोर्टको समय थप्न नेपाल आएको थिएँ । अस्ट्रियाबाट युरोपभरि घुम्नुपर्ने मान्छे यता आएको थिएँ । आउनासाथ गज्जबको हल्ला सुनें, म त मरें रे !”
उनी हाँसे ।
 
अहिले
अचेल अर्को गज्जबको हल्ला चलेको छ– अनिल कुलतमा लागे ।
अनिलको उपस्थिति नरुचाउने र कुनै न कुनै कोणबाट उनलाई नंग्याउन खोज्नेहरूले उनलाई दपेटिरहेका छन् । निःसन्देह उनी ‘मुडी’ छन्, आफ्नो इच्छाको काम गर्न उनलाई कसैको रोकतोक छैन । साथीभाइसँगको जमघट र सामान्य भेटघाटमा उनी अलिकति पिउँछन् पनि । तर, यसैलाई ‘इस्यु’ बनाउन नहुने ठान्छन् उनी ।
यो मामिलामा पनि उनी पारदर्शी छन् । उनी अरुजस्तो लुकेर पिउँदैनन् । फरक यत्ति हो, भित्रभित्रै बदमासी गर्ने र बाहिर सफेद देखिन खोज्नेहरूको भीडमा उनी खुलम्खुला पिउँछन्, रमाइलो गर्छन् तर बाहिर आएजस्तो उनी दुव्र्यसनीमै लागेको भन्ने कुरामा पत्याउनुपर्ने कुनै आधार र सत्यता भेटिँदैन । 
 
सबै समय संगीत साधनामै
‘गायक’, ‘मेगाहर्ज’, ‘म्युजिक स्टेट’ ‘अडियन्स’, ‘टेक टु’लगायत ९–१० वटा एल्बम निकालेर चर्चा बटुलिसकेका गायक अनिल सिंह पछिल्लो समय संगीत साधनामै समय खर्चिइरहेका छन् । त्यसका अतिरिक्त देशविदेशका कार्यक्रमहरूमा पनि उत्तिकै सक्रिय छन् । भर्खरै ‘बहुमूल्य मधु सम्झना’ भन्ने एल्बम ल्याएका छन् ।
उनी पछिल्लो समय सञ्चारकर्मी नरेश भट्टराईको शब्द रहेको गीतमा पनि काम गरिरहेका छन् । यसमा चर्चित कलाकार गौरी मल्ल, नायिका रेखा थापा, नवनायिका पूजा शर्मा, गायिका इन्दिरा जोशीलगायतको पर्फर्मेन्स रहने उनले बताए । केही समयअघिमात्रै युरोपबाट फर्किएका अनिल आगामी सेप्टेम्बरमा कोरिया जाँदैछन् ।
वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा दुई पटक एकल सांगीतक प्रस्तुति दिएका अनिल अहिले पनि स्टेज प्रस्तुतिमा जम्न छाडेका छैनन् । उनको प्रस्तुतिमा रम्ने र झुम्ने दर्शकहरू दूर भएका पनि छैनन् ।
अन्तिममा उनले भने, “समय बदलियो । बदलिएको समयलाई पछ्याउनेहरूमात्रै टाढा भएका हुन्, म संगीतबाट टाढा किमार्थ हुन सक्दिनँ ।”
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १५, २०७३  ०७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC