केन्याको राजधानी नैरोबीमा एउटा रेल्वे स्टेशन छ । जहाँँ बामस्क्वाड समुदायका कलाकारहरू बस्छन् । यो स्टेशन, सडकको हो–हल्लाबाट टाढा, ठूलाठूला रुख तथा लामोलामो घाँसका बीचमा अवस्थित छ । वास्तवमा कलाकार समुदायको घरजस्तै छ, यो स्टेशन । पहिले यो स्टेशनको प्रयोग सामान ढुवानी गर्ने मालगाडीका लागि हुँदै आएको थियो । अहिले यसको प्रयोग बन्द भइसकेको छ ।
व्यवस्थापनले गएको वर्ष बामस्क्वाडका तीन मूल सदस्यहरूलाई यो स्थान भाडामा दिए । तिनले यस स्थानलाई एउटा चित्रकलाको स्टूडियोका रुपमा परिणत गरिदिए । १५ जना कलाकारहरूको यस समूहले स्टेशन र मालगाडीहरूका साथै वरपरका स्थानमा पनि आफ्नो कुशल कलाकारिता देखाएका छन् ।
यहाँको हरेक कुनामा कुनै न कुनै पेन्टिङ भेटिन्छ । यहाँ हरेक दिन कलाकारहरू उभिएका हुन्छन् । र, तिनले रेडियोमा गीत बजाउँदै क्यानभास चित्रले रङ्ग्याउने कामको शुरुआत गर्छन् । यहाँका सबै कलाकारले एकदमै मिहीनरुपमा क्यानभासमा काम गर्दै आएका छन् ।
२६ वर्षका ब्रायन मुसियासिया वान्याण्डे बामस्क्वाडका संस्थापकहरूमध्येका एक हुन् । उनी म्सालका नामले चिनिन्छन् । यिनी मूर्तिकला, चित्रकला, स्टीकर्स, टीशर्ट र ट्याटु डिजाईन गर्ने कलामा सिद्धहस्त मानिन्छन् ।
उनी भन्छन्, “यो मेरा लागि पहिलेदेखि नै एउटा आन्दोलनका रुपमा रहँदै आएको छ । अबको ५–७ वर्षपछि म आफ्नो समूह बामस्क्वाडले केन्यामा कला संस्कृतिलाई परिभाषित गरिरहेको देखिरहेको छु ।” उनका अनुसार उनको समूहले पर्खालहरूलाई स्प्रे गर्नुका साथै क्यानभासमा पनि ललितकलाको उपयोग गर्दैआएका छन् ।
उनका अनुसार उनको शैली पूर्ण अफ्रिकन तथा ‘ओरिजिनल’ छ । कलाको भरमा जीवन गुजार्न सकिन्न भनेर सोच्नेका लागि म्साल एउटा उदाहरण भएका छन् । जतिखेर उनी कलेजको पहिलो वर्षमा थिए, उनका पिताजीको निधन भयो । त्यसैबेलादेखि उनले आफूलाई सम्हाल्दै आए । उनले यो पनि सिके, मिहिनेत गरेदेखि चित्रकलाबाट पनि पैसा कमाउन सकिन्छ ।
२२ वर्षिय डेविड मुरीरीे अहिले कलाकारिता सिकिरहेका छन् । उनलाई इन्टर्नका रुपमा राखिएको थियो । एउटा तस्वीरमा काम गर्दै गरेका डेविड भन्छन्, “म दैनिक आफूले आफैलाई चुनौति दिने कोशिसमा छु । यहाँका कलाकारहरूलाई हेर्दै म एउटा नयाँ शैली विकसित गर्ने कोशिस गर्दैछु ।”
२५ वर्षका एलेक्स मेवाँंगी लायन आर्टका नामबाट चिनिन्छन् । उनी आफ्नो नयाँ कामका बारेमा बताउँछन्, “मैले नैरोबी संग्रहालयमा एउटा चिम्पाञ्जी देखेको थिएँ । मैले सोचेँ, यदि चिम्पाञ्जी एउटा सैनिक हुन्थ्यो भने के हुन्थ्यो होला ? त्यसैले मैले उसलाई हेलमेट दिएको छु ।”
उनका अनुसार बामस्क्वाडमा सबैले एक अर्कालाई ‘सपोर्ट’ र सहयोग गर्छन् । उनी भन्छन्, “हामी सबै एक अर्कालाई मार्गनिर्देश गर्ने काम गर्दछौ । एक आपसमा नयाँ विचार बाँड्छौं । हामी एक आपसमा कुराकानी गर्दै धेरै कुरा सिक्छौं पनि ।”
२३ वर्षिय एबरुह नुडुँगको चित्रकलामा उनको खुश मनोवृत्तिको झलक पाइन्छ । उनी चित्रप्रति संकेत गर्दै भन्छन्, “मानिसले संघर्षलाई चिन्दैनन् । मानिस केही बीलको भुक्तानी गर्नैका लागि अनेकौँ समस्याबाट गुज्रिरहेका छन् ।”
बामस्क्वाडका संस्थापक म्साल भन्छन्, “हामी यस्तो वातावरण तयार गर्न चाहन्छौँ, जहाँ सानासाना बच्चाहरूले पनि भन्न सकुन ‘म कलाकार बन्न चाहन्छु’ ।”
(बीबीसी)