site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 अञ्चलाधीशले हामीलाई पुलिस लगाएर लखेटे 
Ghorahi CementGhorahi Cement

रंगकर्मप्रति अथाह उत्साह थियो, ओममणि शर्मा (७९)मा । सानै उमेरदेखि रंगकर्म जागृत भएको मान्दछन् उनी । आफ्नो थातथलो भिमफेदीमा रहँदा नै उनले केही नाटकहरूमा अभिनय गरिसकेका थिए । 

यो ओममणि किशोर हुँदाकै कुरा हो । 

भिमफेदी, चारैतिरबाट पहाडै पहाडले घेरिएको रमाइलो गाउँ । झनै राजधानी उक्लने एउटा महत्वपूर्ण नाका । यात्रुहरूको आउजाउ भइरहने थलो । अर्थात, त्यसैबेला भिमफेदी बजारका रुपमा विकसित  थियो । 

Agni Group

तर मनोरञ्जनको साधन केही थिएन गाउँमा । खेलकुदका लागि उपयुक्त ठाउँ पनि खासै थिएन । यसैले पनि केही जागरुक स्थानीय व्यक्तिको पहलमा बेलाबखतमा नाटक मञ्चन हुँदै आएको थियो । 

भिमफेदीमै मञ्चन भएको नाटक ‘मरुभूमीका लेखक’मा रंगकर्मी ओममणि शर्मा पहिलो पटक अभिनय गरे । यो नाटक साहित्यकार हृदयचन्द्रसिंह प्रधानले लेखेका थिए । 

Global Ime bank

यहीँबाट नाटकप्रति उनको रस बस्यो । त्यसपछि उनले भिमफेदीमै अरु पनि केही नाटकमा अभिनय गरे । 

त्यसबेला काठमाडौंका माधव बाबू नाम गरेका एकजना व्यक्ति भिमफेदी गएर बसेका थिए । तिनै माधव बाबूले केटाहरूलाई नाटकको रिहर्सल गराउँथे । अभिनय सिकाउँथे । रंगकर्मी ओममणि शर्माका अनुसार उनी आफैँ पनि राम्रो अभिनय गर्थे ।

सोमबार मध्यवानेश्वरस्थित रंगकर्मी तथा कथाकार ओममणि शर्माको निवासमा पुगेर कुराकानी गर्दा उनी सम्झिँदै थिए भिमफेदीमा गरेको नाटकको कथा । उनले भने, “हामीले एउटा नाटक बालकृष्ण समको पनि ग¥यौं । यो नाटकको रिहर्सल मात्रै छ महिना गरियो । तर जम्मा एक शो नाटक मञ्चन ग¥यौंँ । यस किसिमको आशक्ति थियो, नाटकमा !” 

नाटकप्रतिको यही रुझानले कालान्तरमा उनलाई रंगकर्मी बनायो । यद्यपि, रंगकर्मसँगै उनको सम्बन्ध साहित्यमा पनि रह्यो । उनको घरमा संस्कृत र साहित्यका धेरै पुस्तकहरू थिए । उनका पिताजी र काकाहरूले काशीबाट पढेकाले धेरै किताब उनको घरमा थियो । उनले यहीँबाट लेखनको विरासत पाए । किनभने फूर्सदमा उनी साहित्य पढ्थे । स्वाभाविकरुपमा झुकाव त्यसैतर्फ बढ्यो ।  

त्यसबेला उनी पटनाको एउटा हाइस्कूलमा पढ्थे । स्कूलमा सत्यनारायण नाम गरेका मास्टरले उनलाई खुबै माया गर्थे । ती मास्टरले ‘तिमी नेपाली भएकोले हिन्दी भाषा पढ्न गाह्रो हुन्छ । म सिकाइदिन्छु । म कहाँ आउँ..’ भन्दै बोलाएर भाषालगायत अरु विषयमा पनि सहयोग गरेका थिए, ओममणिलाई । 

ती मास्टर कलेजमा पनि पढाउँथे । एकदिन तीनै मास्टरको टेबलमा चाङ पानाहरू देखे ओममणिले । जिज्ञासाबस्, ‘यो के हो ?’ भनेर उनले सोधे । सत्यनारायण सरले पनि ‘कलेजको एनिभर्सरीमा कविता प्रतियोगिता हुँदैछ, त्यसैमा आएका कविता हुन्’ भनेर बताए । 

ओममणिले पनि भनेछन् ‘म पनि कविता लेख्छु । मलाई कविता लेख्न आउँछ । लेखुँ ?’ तर मास्टरले ‘तिमी स्कूलको विद्यार्थी हौ । यो प्रतियोगिता कलेजका विद्यार्थीका लागि हो । तिमीले भाग लिन पाउँदैनौ’ भने । 

तर मनले खाएका सत्यनारायण मास्टरलाई उनले अनुरोध गरे । अनुनय गरे । पछि मास्टरले पनि ल्याउ तिम्रो कविता भनेर मागे । 

ओममणिले पनि कविता लेखेर बुझाए ।

न चाह है मुझे अन्तरिक्ष कि उडान की   

न चाह है चाँद कि उजली जहान की 
मुझे चाहिए कलकल करती गाती सरिता 
मुझे चाहिए कजरारी आँखे, मुझे चाहिए धरती ।
 

कविता सत्यनारायण सरले हेरे । र, ओममणिलाई पनि कविता पढ्ने मौका दिए । तर हिन्दी भाषाकोे लेखनी उति धेरै बढेन, उनको । 

ओममणि भन्छन्, “काठमाडौं आएपछि मात्रै कविता र कथामा मेरो कलम चल्न थाल्यो । यद्यपि, मेरो आशक्ति त्यतिबेला पनि नाटकमै थियो !” 

२०२९–०३० साल तिरको कुरा हो । त्यसबेला शर्मा साहित्यिक पत्रकार संघको महासचिव थिए । अध्यक्ष थिए, भवानी घिमिरे ।

साहित्यिक पत्रकार संघले नाटक गर्ने कुरो बैठकमा उठायो । ओममणिलाई नाटकमा रुची थियो । उनले नाईं भन्ने कुरै भएन । 

त्यसबेला त्रिभुवन विश्वविद्यालयमा पढ्दै गरेका नाट्यकर्मी अशेष मल्ल साहित्यिक पत्रकार संघको यस कार्यमा सहयोग गर्नेगरी भित्रिए । अशेष आएपछि साहित्यिक पत्रकार संघले अशेषको नाटक मञ्चन गर्ने भयो । नाटक थियो, ‘तुँवालोले ढाकेको बस्ती’ ।

ओममणि भन्छन्, “मैले भिमफेदीमा नाटक खेलेपछि कहीँ कतै कसैलाई मलाई नाटकमा खेलाउ भनिनँ । जबकी मेरो मनमा जहिल्यै नाटक खेलौंखेलौं भइरहन्थ्यो । तपाईँलाई आश्चर्य लाग्ला, नाटककार  बालकृष्ण समजीसँग सम्पर्क हुँदा पनि मैले कहिल्यै समजीलाई अभिनय गर्छुँ भनिनँ । त्यो आँट नै ममा आएन ।”
जब अशेष मल्ल साहित्यिक पत्रकार संघमा आए, ओममणिको रुचिले अभिव्यक्त हुने मौका पायो । उनको नाट्य यात्रा सूचारू भयो । त्यसपछि उनले पछाडि फर्कनु परेन । 

त्यसउप्रान्त ओमले अशेष मल्लसँग नाटक गर्न थाले । यसरी उनले मञ्चमा नाटक गरे । सडकमा नाटक गरे । गाउँ–गाउँ सहर–सहरमा नाटक गरे । सयौं नाटकमा अभिनय गरे । हजारौंँ शो गरे ।

उनी भन्छन्, “मैले अशेषलाई त्यसैबेला भनेको थिएँ अब म तिमीलाई छोडदिन् । र, छोडेको पनि छैन ।”

साहित्यिक पत्रकार संघको आयोजनामा ‘तुँवालोले ढाकेको बस्ती’ प्रज्ञाको प्रेक्षालयमा मञ्चन भयो । ओममणिका अनुसार नाटक टिकटमा शो गरिएको थियो । तर पनि पैसा बचेन । जति आयो त्यति नै खर्च भयो ।

यसरी लामो अन्तरालपछि नाटकमा निथु्रक्क रुझेका ओममणिले सर्वनाम गठन हुनुअघि केही नाटकहरूमा काम गरे । त्यतिबेला ‘हामी वसन्त खोजीरहेछौं’, ‘अतिरिक्त आकाश’लगायतका नाटक मञ्चन भएका थिए ।

०००

मकवानपुरको रमणीय ग्रामिण बजार भिमफेदीमा ओममणि शर्माको बाल्यकाल बित्यो । भिमफेदीभन्दा अलिकमाथि सुपिङ गाउँ छ । उनको परिवारको मूलघर त्यहीँ छ, तर बसोबास चलनचल्तीको ठाउँ भएकोले भिमफेदीमा नै थियो । उनको घरको चलन थियो, कुनै बुहारी पहिलो पटक सुत्केरी हुन मूलघर नै जानु पर्नेे । यो उनका हजुरबुवाले चलाएको चलन थियो ।

मूलघरमा नै जन्मनु पर्ने भएकोले उनकी आमा छ महिना पहिले मूलघर सुपिङ गइन् र उनी जन्मिएको छ महिनापछि भिमफेदी फर्किन् ।  भिमफेदीमा बालवय बिताएका ओममणि शर्माको सामान्य कखरा र बाह्रखरीको पढाइ भिमफेदीमै सुरु भयो । प्रारम्भिक शिक्षादीक्षाका दिन खुबै रमाइलो भएको उनको सम्झनामा छ । 
स्कूल जाँदा एउटा काँधमा पाटी झुण्डिएको हुन्थ्यो भने अर्को काँधमा ओछ्याउने कपडा झुण्डिएको हुन्थ्यो । यसरी स्कूल गएर ओछ्यान लगाएर उनीहरू लहरै बस्थे । र पाटीमा लेखेर पढ्थे । जब पढाइ सकिन्थ्यो र मास्टरले जाउ भन्थे, उनीहरु फेरि पाटी र ओछ्यान बोकेर घरै फर्किन्थे । 

समय बित्दै गयो । दिन बित्दै गयो । पाटी र ओछ्यान बोकेर स्कूल जाने केटाहरू भिमफेदीकै माध्यमिक विद्यालयमा पढ्न थाले । माध्यमिक विद्यालय भने पनि त्यहाँ कक्षा आठसम्म मात्रै पढाइ हुनेगरेको ओममणि बताउँछन् । 

त्यसपछि उनको पढाइ रोकियो । 

कुराकानी गर्दैगर्दा उनका ओठ फिस्स मुस्काए । भने, “आठ क्लासको पढाइ सकिएपछि त म लावारिस जस्तै भएँ । त्यहाँबाट माथि पढ्न कहाँ जानु ? काठमाडौं जानसक्ने स्थिति थिएन । अन्त जाने कुरै भएन । यसरी मेरो पढाइबीचमै रोकियो । करिब पाँच वर्षसम्म भिमफेदीमा यत्तिक्कै बसेँ ।” 
२०११ सालमा भिमफेदीको खोलामा बाढी आयो । भिमफेदीका घर बजारलाई तहसनहस पा¥यो । त्यसपछि उनी मातापिताको साथ लागेर बाढीपीडित भई तराई झरे । 

ओममणिका अनुसार उनका हजुरबुवाले बारा जिल्लाको बञ्जरियामा अलिकति जमीन जायदाद जोडेका थिए । त्यसैले भिमफेदीबाट बञ्जरियामा गएर बसोबास जम्यो उनको परिवारको । 

बञ्जरिया पुगेपछि उनको पढाइले गति लियो । पाँच वर्षपछि ओममणिको पढाइ सुरु भयो । उनी कलैयाको स्कूलमा नौ कक्षामा भर्ना भए । 

तर बञ्जरियाबाट कलैयाँ जाँदा बीचमा नदी पथ्र्यो । जहिले वर्षामा नदीमा पानी बढ्ने । यसरी असार, साउन र भदौ तीन महिना कलैया जान नपाएर कक्षा छुट्थ्यो । तीन महिना घरै बस्थे उनी ।

यसरी कसरी चल्छ ? उनका पिताजीलाई यो प्रश्नले पिरोल्यो । अनि त उनले ओममणिलाई काठमाडौं पु¥याए । विश्व निकेतन हाइस्कूलमा भर्ना गरिदिए । यो २०११–०१२ सालको कुरा हो । 

तर एक्लो ओममणि । उनलाई काठमाडौंमा पढ्न गाह्रो भयो । आफैँ खाना पकाउ । खाउ र स्कूल जाउ । पढ । र फर्किएर फेरि खाना पकाएर खाउ । 

त्यही बीचमा उनी बिरामी परे । काठमाडौंको पानी पचेन, सायद । लगभग एक वर्षपछि उनका पिताजीले उनलाई लिएर तराई नै गए । फेरि बञ्जरियामा उनको दिन बित्न थाल्यो । फेरि पढाइ रोकियो । उनी गाउँमै हरिबिजोग तालले बसे । 

बञ्जरियामा एकजना मास्टर थिए । उनले ओममणिका पिताजीलाई सधै भन्थे, ‘छोरालाई पढाउनूस्’ भनेर । ति मास्टरले सँधै भनिरहेका कारण ओममणिका पिताजीले पनि छोरालाई पढाउने सोचे । तर कहाँ राख्ने ? 

अनि तीनै मास्टरले सुझाए सीमावर्ती भारतीय सहरका स्कूलमा भर्ना गरिदिनलाई । ओममणिका पिताजीले पनि ओमलाई मोतिहारी पु¥याए । उनको भर्ना मोतिहारीको हाइस्कूलमा भयो । बल्ल उनको पढाइले लय समातेको थियो ।

त्यसको एक वर्षपछि उनी पटना गए । पटनामा उनी दुई वर्ष बसे  । पटनाबाटै उनले सेकेन्ड डिभिजनमा म्याट्रिक (एसएलसी) पास गरे । 

पढाइ सक्याएर उनी बञ्जरिया फर्किए । वीरगंजमा स्थापना भइसकेको ठाकुरराम कलेजमा आइकममा भर्ना भए । र त्यहीँबाट आइकम पास भए । 

त्यसपछि उनी फेरि काठमाडौं उपत्यका भित्रिए । उनी काठमाडौं आउँदा महेन्द्रले पञ्चायती व्यवस्था सुरु भइसकेको थियो । विद्यार्थीहरू पञ्चायतविरुद्धमा उठीरहेका थिए । 

उनले त्रिचन्द्र कलेजमा बीकममा भर्ना लिए । कलेज जान थाले । तर पञ्चायती शासनविरुद्ध उनी चुप बस्न सकेनन् । उनी पनि विद्यार्थीहरू नेताहरूसित आन्दोलन र जुलुसमा सहभागी हुँदै गए । 

बेलाबेलामा उनी पक्राउ पनि पर्थे । कहिले दुई–चार दिन त कहिले अलिक लामै समय थुनामा पनि परे । बीकमको पढाइ पनि चलिरहेकै थियो । तर आन्दोलन र पक्राउले पढाइ अल्मलिइरहेको थियो । 

ओममणि हाँसे । भन्छन्, “उता घरबाट पिताजीले खर्च पठाउनु हुन्थ्यो, छोरोले पढ्ला भनेर । तर यता छोरो आन्दोलनमा लागेर पढाइ हाप्दैछ ! तपाईँलाई भनुँ, कस्ट एकाउण्टको परीक्षाको दिन म डीएसपी कार्यालयमा थुनामा परेको थिएँ । जाँच दिनै पाइएन । तर यो कुरा पिताजीसम्म पुग्न पाएन । पछि मैले प्राइभेट परीक्षा दिएर  बीकम पास गरेँ ।”

०००

२०३१ सालदेखि निरन्तर काठमाडौँमा बस्न थालेका ओममणिलाई युवा नाट्यकर्मी अशेष मल्लसँगको भेटले अर्को बाटोमा डोर्‍यायो । नयाँ सम्बन्धसँगै ओमले आफूले खोजेको बाटो फेलापारेका थिए । त्यसैले उनी पनि अशेषसँगै पाइलामा पाइला मिलाउँदै हिँडे ।

डिल्लीबजारको ओरालोमा रहेको अशेषको डेरामा समकालीन साहित्यकारहरूको जमघट हुन्थ्यो । त्यहीँ नै सर्वनाम नाट्य संस्था स्थापना गर्ने कुरा चल्यो । र केही समयमै सर्वनाम सुरु पनि भयो । ओममणि भन्छन्, “बडो दुःखका साथ हामीले त्यो नाट्य संस्थालाई अगाडि बढाएका थियौं । सबै साथीभाइ भेला हुन्थ्यौं । पत्रिकामा चिउरा र भुजिया राखिन्थ्यो । अनि सबैले पानीसँग त्यो चिउरा खाँदै नाटकको रिहर्सल गथ्र्यौं ।” 

यसरी सुरु भएको सर्वनामले नाटक मञ्चन गर्दै गयो । स्टेज नाटक मात्रै होइन, सर्वनामले सडकमा नाटक गर्ने नयाँ प्रयोग पनि गर्‍यो । सडकमा नाटक मञ्चन हुन थाल्यो । यसका लागि न त स्टेज चाहिन्थ्यो, न त पर्दा, न त अरु कुनै भौतिक सामग्री । ओममणिलाई लाग्यो उनले आफ्नो आत्माले खोजेको साथी भेटेका छन्, अशेषकारुपमा । त्यसैले पनि उनले अशेषलाई कहिल्यै छोडेनन् । 

उनी भन्छन्, “आज पनि म अशेषसँगै छु । सर्वनाममै छु ।”
०००

सर्वनाम नाट्य संस्थाबाट उनले धेरै नाटकमा अभिनय गरे । देश विदेश गए । एकपटक मध्यपश्चिमका केही गाउँमा परिवार नियोजनका विषयमा तयार पारिएको नाटक लिएर गएका थिए उनीहरूले । त्योबेला प्लेनबाट गएका थिए उनीहरू भैरहवा । कपिलवस्तुको केही गाउँमा नाटक मञ्चन गर्नु थियो । 
त्यसबेला पहिलो पटक नाटक खेलेर थोरैथोरै भए पनि पैसा आएको आज पनि उनको सम्झनामा ताजा छ । 

अशेष मल्लले कहिले काहीँ ओममणिकै लागि भनेर पनि नाटक लेखेका छन् । ‘शकुनी पाशाहरू’ लाई आज पनि उनी सम्झिन्छन् । 

भिमफेदीबाट नाटक गर्न सुरु गरेका ओममणि शर्माले भिमफेदीमा गएर पनि नाटक मञ्चन गरे । उनले आफँैले लेखेको नाटक ‘घर भित्रको आकाश’ आफ्नै थलोमा मञ्चन गरेका थिए । 

त्यसबाहेक बाराकै डुमरवानामा पनि उनले नाटक मञ्चन गरेका छन् । 

पञ्चायतकालमा नाटक गर्न कठिन थियो । पुलीसहरू नाटकको हलमा पनि आइरहन्थे । सडक नाटक मञ्चनका बेला हुने नै भए । ओममणि र अरु कलाकारहरू पनि ठाउँमा पुग्थे । नाटक गर्थे । अनि हिँडिहाल्थे । अर्थात्, फटाफट नाटक गर्‍यो । अनि हिँडिहाल्यो । 

नाटक गरेर पक्राउ परेको भने उनलाई थाहा छैन । तर एउटा रोचक प्रसँग उनी आज पनि सम्झिन्छन् । 

त्योबेला मेची अञ्चलको अञ्चलाधीश लक्ष्यबहादुर गुरुङ थिए । भद्रपुरमा उनीहरूले नाटक देखाए । भोलीपल्ट त कस्ले के कुरा लगायो, अञ्चलाधीशले बोलाएर ‘तिमीहरू आज दिनभरिमा मेची अञ्चल काटेर जाउ’ भनेछन् । 

ओममणि हाँस्दै भन्छन्, “हामी पनि कम थिएनौं । हामीले पनि तीन चार दिन लगाएर नाटक गर्दै मेची छिचोल्यौँ ।” 

त्यसको चार वर्षपछि ओममणिहरू नाटक लिँदै बाग्लुङ पुगे । त्यसबेला धवलागिरीमा अञ्चलाधीश लक्ष्यबहादुर नै रहेछन् । त्यस दिन उनीहरूले नाटक देखाए । अलिक फरक किसिमको नाटक थियो । नाटकको चर्चा स्वभाविक थियो । तर अञ्चलाधीश लक्ष्यबहादुरले  बिहानै बोलाए । 

शर्मा भन्छन्, “हामीलाई देखेपछि त गुरुङ फेरि सन्किए । ‘मैले मेचीबाट लखेटेका तिमीहरू यहाँ आइपुग्यौ ?’भने । अनि त पुलीस लगाएर हामीलाई लखेटेर पोखरा पठाए ।” 

एकपटक एउटा नाटकलाई लिएर अञ्चलाधीशले कलाकारहरूलाई गाली नै गरेछन् । ओममणिले पनि लिखित बयान लेख्दा ‘यी अञ्चलाधीश हुन योग्य छैनन् । यत्रो पदमा बसेका मानिसले पनि ‘आमा चकारी’ गाली गर्ने हो ?’ भनेरै लेखे र सहायक अञ्चलाधीशलाई बुझाएछन् । 
सहायक अञ्चलाधीशले ‘अलि कडा भयो’ भने । भोलीपल्टदेखि उनी अञ्चलाधीश अफिस जानै छोडे । पछि त्यहाँबाट खबर पनि आएन ।

०००
प्रजातान्त्रिक विचारधाराबाट बोकेर हिँडेका थिए रंगकर्मी तथा कथाकार ओममणि शर्मा । उनिसँगै कलेज पढ्ने साथी हुन पुरुषोत्तम बस्नेत । 

त्यसबेला आन्दोलनमा खुबै उत्रिएका उनी बीपीको विचारबाट अत्यन्त प्रभावित थिए । उनले बीपी कोइरालालाई पनि भेटेका छन् । उनका पिताजी कांग्रेसको स्थानीय राजनीतिमा सक्रिय थिए । त्यसैले एकपटक उनी पिताजीसँग काठमाडौं आउँदा त्रिपुरेश्वरस्थित प्रधानमन्त्री निवासमा बीपीसँग भेट भएको थियो ।

ओममणि भन्छन्, “मलाई त्यसबेला राजनीतिका बारेमा थाहा थिएन । बीपीले भनेको एउटा कुरा मलाई अहिलेसम्म याद छ । बीपीले भनेका थिए ‘एमए पास गर्नु । अनि मात्रै राजनीतिमा लाग्नु । म आज पनि बीपीको यो भनाई र उनको अनुहारको तेजको सम्झना हुन्छ । उनको अनुहारको तेज र बोलीले नै बीपीप्रति मलाई आकर्षित गरेको थियो ।” 

ओममणि शर्माले २०३२ सालमा नेपाल बैंक लिमिटेडमा जागिर खाए । त्यही वर्ष बिहे भएकोले उनका लागि जागिर जरुरी थियो । र, लामो समय जागिरमा बिताए । 

उनले नाटक मात्रै गरेनन् । जागिर मात्रै खाएनन् । कथा र कविता पनि लेखे । कतिवटा लेखे, उनले गनेका छैनन् । उनको रेकर्ड राख्ने बानी छैन । एउटा कथा संग्रह प्रकाशित छ । अर्को संग्रह निस्किएको छैन । 

उनले कथा लेख्न सुरु गरिसकेका थिए । उनले एउटा कथा लेखे र मधुपर्कमा प्रकाशनका लागि दिए । तर कथा छापिएन । उनले आफ्नो कथा मागेर ल्याए । 

केही महिनापछि साहित्यिक पत्रकार संघले एउटा कवि गोष्ठीको आयोजना गरेको थियो । कार्यक्रममा केशवराज पिँडाली प्रमुख अतिथिकारुपमा थिए । 

ओममणि हाँसे । भने, “पिँडालीले मलाई मधुपर्कका लागि कुनै रचना छ भने दिनुस् न’ भने । मैले पनि फिर्ता ल्याएको कथा लगेर दिएँ । त्यो कथा मधुपर्कमै छापियो ।”

अचेल कथा लेखनमा उनको कलम चलिरहेको छैन । एक वर्ष जति भयो नाटकमा अभिनय पनि गरेका छैनन् । तर अहिले पनि नाटक गर्ने उत्साह उनमा छ । मौका मिले नाटक गर्ने मनस्थितिमा छन्, ओममणि । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  ०७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC