नयाँ दिल्ली । पाकिस्तानमा कथित भारतीय गुप्तचर कुलभूषण जाधवका बारेमा हेगस्थित अन्तर्राष्ट्रिय अदालतले फैसला सुनाउन सक्ने बीबीसीले जनाएको छ । पाकिस्तानको अदालतले २०१७ मा उनलाई जासुसी गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।
उनी पाकिस्तानमा जासुसी गरेको आरोपमा सजाय सुनाइएका पहिलो भारतीय नागरिक हुन् । साथै उनी सम्भवतः जासुसी गरेको आरोपमा पक्राउ पर्ने पहिलो भारतीय सेनाका अधिकारी पनि हुन् ।
पाकिस्तानमा विगत चार दशकमा १२ जनाभन्दा बढी मानिसहरुलाई भारतीय गुप्तचर भएको ठहर गर्दै सजाय सुनाइएको छ । जसमध्ये केहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । तर, उनीहरुलाई सुनाइएको सजायलाई कहिल्यै अगाडि बढाइएन भने केहीलाई जेलमै ‘मारिएको’ छ ।
कुलभूषण जाधव
पाकिस्तानले मार्च, २०१६ मा कुलभूषण जाधवको गिरप्mतारीको खबरसँगै भारतका लागि जासुसी गरेको स्वीकारोक्तिसहितको बयानयुक्त भिडियो जारी गरेको थियो । भिडियोमा कुलभूषणले आफू भारतीय नौसेनाको सेवारत अधिकारी भएको र बलूच विखण्डनकारीलाई भारतको सहयोग पुर्याउन बलूचिस्तान आएको स्वीकार गरेका थिए ।
कुलभूषण जाधवले पाकिस्तानमा आफ्नो नाम हुसैन मुबारक पटेल राखेको र बलूचिस्तानमा ईरानको सीमाबाट प्रवेश गरेको समाचारहरुमा जनाइएको थियो । कुलभूषण जाधवको गिरप्mतारीपछि पाकिस्तानले ईरानी भूमि आफ्नो मुलुकविरुद्ध प्रयोग हुन नदिन ईरान सरकारसँग माग गरेको थियो ।
सरबजीत सिंह
सरबजीत सिंहलाई पाकिस्तानको गुप्तचर एजेन्सीले अगस्ट १९९० मा गिरफ्तार गरेको थियो । भारतले नशामा लट्ठिएको एक पञ्जाबी किसान खेत जोत्दै गर्दा गल्तीले सीमा पार गरेर पाकिस्तानी भूभागमा प्रवेश गरेको भन्दै उनको बचाउ गरेको थियो । पाकिस्तानले सरबजीत सिंहविरुद्ध फैसलाबाद, मुल्तान र लाहौरमा विष्फोट गरेको आरोप लगाएर मुद्दा चलाएको थियो । अदालतले उनलाई पनि मृत्युदण्डको सजाय सुनाएको थियो ।
सैन्य शासक परवेज मुशर्रफको कार्यकालमा भारत–पाकिस्तानबीचको वार्ताका दौरान भारतमा केही गैर–सरकारी संस्थाहरुले सरबजीत सिंहको रिहाईको अभियान चलाएका थिए । पाकिस्तान सरकार उनलाई रिहा गर्न सकारात्मक देखिए पनि वार्ता विफल भएपछि सरबजीत सिंह रिहा हुन सकेनन् ।
सरबजीत २०१३ मा कोट लखपत जेलमा कैदीबाट गरिएको आक्रमणमा घाइते भएका थिए । घाइते सरबजीतको उपचारका क्रममा मृत्यु भएको थियो ।
पाकिस्तानले सरबजीतको शव सुम्पिएपछि भारत सरकारले उनको पार्थिव शरीरलाई राजकीय सम्मानका साथ अन्तिम संस्कार गरेको थियो ।
कश्मीर सिंह
कश्मीर सिंह १९७३ मा पाकिस्तानमा जासुसी गरेको आरोपमा पक्राउ परेका थिए । पाकिस्तानको जेलमा ३५ वर्ष बिताएपछि उनी रिहा भएका थिए । २००८ मा रिहा भएका कश्मीर सिंहलाई भारतमा भव्य स्वागत गरिएको थियो । उनको रिहाईमा मानवाधिकारवादी अंसार बर्नीको ठूलो भूमिका थियो । पाकिस्तानमा रहँदा कश्मीर सिंह सधै आफू निर्दोष भएको बताउने गर्दथे । तर, भारतीय भूमीमा पुगेपछि उनले आफू जासुसीकै लागि पाकिस्तान गएको स्वीकार गरेका थिए ।
रविन्द्र कौशिक
रविन्द्र कौशिक एक यस्ता भारतीय नागरिक हुन् जो २५ वर्षसम्म पाकिस्तानमा बसे । रविन्द्र कौशिक राजस्थानमा जन्मिएका थिए ।ें भारतीय कम्पनीमा भर्ती हुँदा उनी थिएटर कलाकार थिए । उर्दू भाषा र इस्लाम धर्मका बारेमा विशेष शिक्षापछि उनलाई नबी अहमद शाकिर नाम दिएर आप्mनो मुलुकमा पठाइएको पाकिस्तानले दाबी गरेको थियो । पाकिस्तान पुगेर उनी कराची यूनिभर्सिटीमा भर्ना हुन सफल भएका थिए ।
रविन्द्र कौशिकको गिरफ्तारीपछि पाकिस्तानका विभिन्न जेलहरुमा १६ वर्षसम्म राखिएको थियो । २००१ मा उनको जेलमै मृत्यु भयो ।
रामराज्य
२००४ मा लाहौरमा पक्राउ परेका रामराज्य सायद पहिलो भारतीय हुन जो पाकिस्तान पुग्ने वित्तिकै गिरफ्तार भएका थिए । उनी छ वर्ष कैद सजाय भुक्तान गरेर स्वदेश फर्किएका थिए । भारत फर्किएपछि रामराज्यलाई भारतीय संस्थाहरुले पहिचान गर्न अस्वीकार गरेका थिए ।
सुरजीत सिंह
सुरजीत सिंहले ३० वर्ष पाकिस्तानी जेलमा जीवनयापन गरेका थिए । सुरजीत सिंहलाई २०१२ मा लाहौरको कोट लखपत जेलबाट रिहा गरिएको थियो । भारत पुगेपछि कश्मीर सिंहको विपरीत उनलाई कसैले पनि स्वागत गरेन । सुरजीत सिंह आफू ‘र’ को एजेन्ट बनेर पाकिस्तान गएको दाबी गरेका थिए । तर, उनको दाबीलाई कसैले विश्वास गरेनन् ।
सुरजीत सिंहले रिहाईपछि बीबीसीसँगको कुराकानीमा भारत सरकारको व्यवहारप्रति दुःख र आक्रोश व्यक्त गरेका थिए ।
गरबखश राम
गरबखश राम २००६ मा १९ अन्य भारतीय कैदीहरुसँगै कोट लखपत जेलबाट रिहा भएका थिए । गरबखश राम पाकिस्तानमा शौकत अलीका नामले बस्दै आएका थिए । उनी १८ वर्षसम्म पाकिस्तानी जेलमा बसेका थिए । उनी कयौं वर्षसम्म पाकिस्तानमा बसेर भारत फर्किने क्रममा १९९० मा पाकिस्तानको गुप्तचर एजेन्सीको गिरफतारीमा परेका थिए ।
विनोद सानखी
विनोद सानखी १९७७ मा पाकिस्तानमा पक्राउ परेका थिए । ११ वर्ष सजाय भुक्तान गरेर उनी १९८८ मा रिहा भएका थिए । विनोद सानखीले भारतमा पूर्वगुप्तचरहरुको भलाईका लागि एक संगठन बनाएका थिए । उनले ट्याक्सी चलाउने क्रममा एक भारतीय गुप्तचरसँग भेट भएको र उसैले सरकारी नौकरीका लागि ‘अफर’ गरेको बताएका थिए ।
त्यसपछि विनोद सानखीलाई पाकिस्तान पठाइएको थियो । तर, पाकिस्तानी जेलबाट रिहा भएर भारत पुग्दा उनले गरेको दाबी अनुसार सरकारले कुनै पनि सहयोग गरेन ।
बीबीसीबाट