काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेतृत्वमा सरकार गठन भएयता प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारको बाक्लै आउजाउ हुन्छ । पार्टी कमिटीको बैठक अझ विशेषगरी सचिवालयको बैठक भएका बेला त पत्रकारको झनै बाक्लो उपस्थिति हुन्छ । भीडभाड नै पैदा हुन्छ । तथापि, पत्रकारले चाहेजस्तो सूचना पाउँदैनन् ।
पार्टीका आधिकारिक निर्णय सूचना सार्वजनिक गर्न नेकपाले पार्टी प्रवक्तामा नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी त दिएको छ । तर, श्रेष्ठबाट पत्रकारले खोजे र चाहेजस्तो सूचना पाउँदैनन् । सही, सत्य र वास्तविक सूचना पाउन नसकेपछि त्यसको ठाउँ गलत, तथ्यहीन र भ्रमपूर्ण समाचारले ओगट्नु स्वभाविकै भइहाल्यो ।
पार्टी प्रवक्ता र सूचना वितरणका लागि जिम्मेवारी तोकिएका नेताहरूमाथि विकर्षण पैदा भइरहेका बेला विभाग प्रमुख हत्याउन नेकपाभित्र हानथाप देखिएको छ ।
किन त ?
नेकपाका केन्द्रीय सदस्य एवम् पूर्वप्रचार विभाग सचिव विष्णु रिजाल यसलाई ‘प्रतिष्ठा’को विषय बनाइएको तर्क गर्न रुचाउँछन् । कार्यविभाजन नहुँदा केन्द्रीय सदस्यमात्र नभई स्थायी कमिटी र सचिवालय तहका नेता नै जिम्मेवारीविहीन छन् । पार्टी प्रमुख, मुलुकको कार्यकारी प्रमुखसमेत भइसकेका नेताहरूले पनि विदेश मामला, अर्थ तथा योजना विभागको मुख ताकेर बसेका छन् ।
“उपयुक्त ढंगले जिम्मेवारी विनियोजन नहुँदा कतिपय नेताले यसलाई प्रतिष्ठाको विषय बनाएको हुन सक्छ । तर, विभाग गठनमा बाहिर चर्चा भएजस्तो विवाद छैन । मसिनो ढंगले छलफल नभएकालेचाहिँ समस्या भएको छ,” उनको तर्क छ ।
घट्दो चार्म
संगठनलाई कम्युनिष्ट पार्टीको स्नायु मानिन्छ भने विभागहरूलाई शरीरका अङ्गप्रत्यङ्ग । रिजालको अनुभवमा कुनै समय पार्टीका विभाग मन्त्रालयजत्तिकै महत्वपूर्ण मानिन्थे । नेता–कार्यकता, पार्टी–जनताबीच पुलको काम गर्थे विभागहरूले । संगठन, प्रचार, पार्टी स्कुल विभाग ज्यादै नै महत्त्वपूर्ण मानिन्थे । त्यसमध्ये पनि संगठन विभागको महत्त्व अझै थियो ।
सदस्यताको लगत राख्नेमात्र नभइ, सदस्यता वितरणदेखि अद्यावधिक गर्नेसम्मको काम संगठन विभागले नै गर्ने हुँदा उक्त विभाग प्रमुखलाई भावी नेतृत्वकै रूपमा चर्चा गरिन्थ्यो । अद्यपि हेरिन्छ । त्यसैले संगठन विभागमा आकर्षण पैदा गरेका रिजालको बुझाइ छ ।
अर्को महत्त्वपूर्ण विभागका रूपमा प्रचारलाई लिइन्छ ।
पार्टीको नीति, निर्णय र धारणा सार्वजनिक गर्ने थलो मानिएको प्रचार विभागको सीधा सम्पर्क सञ्चारसँग हुने भएकाले व्यक्तित्व र नेतृत्व निर्माणका लागि पनि यो विभाग सहयोगी हुने गरेको रिजाल बताउँछन् । पार्टी स्कूलको भूमिका पनि उत्तिकै महत्त्वको हुने गरेको छ । कार्यकर्ता प्रशिक्षित तुल्याउने र पार्टीको विद्यालय नै मानिएको स्कुल विभागसँग कार्यकर्ताको सीधा सम्पर्क हुन्छ ।
देशैभरका कार्यकर्तासँग सम्पर्क सम्बन्ध हुने र त्यसैका आडमा नेतृत्वमा पुग्न सजिलो हुनेहुँदा प्रशिक्षण विभाग प्रमुख बन्न प्रतिष्पर्धा हुने गरेको रिजाल बताउँछन् । तर, अहिले विभागको चार्म ह्वात्तै घटेको छ । “प्रचार विभागले के भन्ला भनेर अहिले कुन मिडियाले कुरेर बस्छ र ?,” उनी तर्क गर्छन्, “बैठकबाट आउनेबित्तिकै जो उपलब्ध हुन्छ उसैले निर्णयको जानकारी दिन्छ ।”
त्यस्तै अहिले विभागीय जिम्मेवारी पनि नाममात्रको हुने गरेको उनको भनाइ छ ।
नियुक्तिसहित तल्ला तहका कमिटीमा जिम्मेवारी बाँडफाँटजस्ता विषयमा त पहिला नेतृत्वबीच छलफल र भागवण्डा भएर निर्णय हुन थालेको उदाहरण दिँदै उनी भन्छन्, “सदस्यताजस्तो विषय टुंग्याउने जिम्मा विभागको हातमा मात्रै कसले छाड्छ र ?”
त्रिशंकु पार्टी समीकरणमा विभाग सर्वेसर्वा नहुने उनको बुझाइ छ । सबै विभागमा सबै (गुट ) को प्रतिनिधित्व हुने भएकाले सम्बन्धित विभागीय प्रमुखले मात्रै केही गर्न नसक्ने उनको ठहर छ ।
अर्को, विभाग, पार्टीका ढड्डामा देखिएको प्रस्तुतिले नेताको मूल्याङ्कन नहुने उनको दाबी छ । “सार्वजनिक रूपमा नेताको अभिव्यक्ति कस्तो छ ? व्यवहार कस्तो छ ? जनतासँगको घुलमिल कस्तो छ ? विषयवस्तुमा पकड कस्तो छ भन्ने आधारमा न मानिसले मूल्याङ्कन गर्छन्,” उनी भन्छन् । विभागको महत्त्वलेभन्दा पनि पार्टीभित्रको शक्ति सन्तुलनले यसलाई पेचिलो बनाएको उनको बुझाइ छ ।