site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 कताबाट चल्दैछ  देश  ? बढ्दो छक्याइने शृंखला !
Sarbottam CementSarbottam Cement

काठमाडौं । देश अहिले बाढी पहिरोको चपेटामा छ । तर, यहाँ अघिल्लो साताको एउटा चर्चित प्रसंगका बारेमा केही कुरा उल्लेख गर्नु सान्दर्भिक ठानियो । प्रसंग एउटा गम्भीर सूचना देशका कार्यकारी प्रमुखबाट छिपेको विषयको हो ।  यो मामिलामा एकथरी कमजोरी लुकाउन ‘मैले होइन’ भन्ने शैलीमा प्रस्तुत भइरहेका छन् भने प्रधानमन्त्रीको तहबाट मिहीन ढंगले बुझ्ने काम भइरहेको सुन्नमा आएको छ । त्यो गल्ती अहिलेको बाढीसँगै नबगोस् भनेर यहाँ सम्झाउन खोजिएको हो । 

मुलुकको कार्यकारी प्रमुखलाई यस्ता कुराहरु लुकाइँदैनन्, विदेश मामिला सम्बन्धी कुरा त झनै लुकाइँदैनन् । तर, हामीकहाँ लुकाइयो, किन ? गम्भीर प्रश्न उब्जेको छ । जबाफ आइसकेको छैन । हेर्दा सामान्य लागेपनि देशको कार्यकारी प्रमुखलाई साता दिनभन्दा बढी सूचना लुकाउने भन्ने कुरा विश्वमै यदाकदा मात्रै हुने अवस्था हो । छिमेकी भारतले सीमामा तरकारी परीक्षणको मामिलामा पठाएको पत्र पाउन प्रधानमन्त्रीलाई ९ दिन  लाग्यो । 

यसमा केही घटना क्रमबद्ध रूपमा शंकास्पद देखिन्छन् । सुरुमा सरकार विषादी परीक्षण गरेरमात्रै तरकारी ल्याउने भन्छ । त्यसपछि भारतीय तरकारी रोकिन्छ । रोकिएपछि भारतले पत्राचार गरेर खुला गरिदिन भन्छ । सरकारले सीमामा परीक्षण गर्ने यन्त्र र आवश्यक जनशक्ति नभएको कारण देखाएर परीक्षण गर्ने निर्णय तत्कालका लागि स्थगित गर्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अब कुरा आउँछ, परीक्षण नगर्नु नै थियो भने सबैभन्दा पहिला यो कुरा अघि सारेर कोकोहोलो मच्चाउनु किन  ? पहिला त्यसका लागि आवश्यक प्रक्रिया पूरा गर्ने कि हल्ला गर्दै रमाउने ? अन्तर्राष्ट्रिय हिसाबले हेर्दा जुनसुकै देशमा पनि एक अर्का देशमा सामान जाँदा परीक्षण गरेरै पठाइन्छ, ल्याइन्छ । 

हालै छिमेकी चीनले क्यानडाबाट आउने सुँगुरको मासु आफूले तोकेको गुणस्तरसँग मेल नखाएपछि रोकेको थियो । अब क्यानडाले कि चीनले भनेअनुसारको सामान पठाउनुपर्‍यो होइन भने उसले चीनको बजार नपाउने भयो । विश्वव्यापी रूपमा चलेको प्रचलन नै यही हो । 

Global Ime bank

भारतले हामीलाई सडेगलेका सामान पठाउन पाउँदैन र हामीले पनि उता त्यस्तो सामान पठाउन मिल्दैन । यो सर्वमान्य विषयमा कसैले अस्वीकार गर्ने वा कोही रिसाउने भन्ने कुरै आउँदैन । तर, आफू तयार नभइ बीचमा यो कुरा किन निकालियो र फेरि किन हुन्न भनियो ? यसको तार प्रधानमन्त्रीलाई छक्याउने मामिलामा समेत कतै न कतै जोडिएको आभास हुन्छ । जे होस् यो राम्रो भएन । केही न केही गडबडी प्रष्टै देखियो । 

कुनैपनि देश देशबीचको सम्बन्ध सबैभन्दा पहिला थाहा हुने भनेको सम्बद्ध देशको राजदूत, परराष्ट्र सचिव, परराष्ट्र मन्त्री र कार्यकारी प्रमुखको हिसाबले प्रधानमन्त्रीले नै हो । तर, पछिल्लो प्रकरणमा कतै केही नमिलेको जस्तो देखियो । त्यसैले प्रधानमन्त्रीले नै माफी माग्नुपर्ने अवस्था उत्पन्न भयो । देशको कार्यकारी प्रमुखलाई छक्याउने विषय सामान्य हुँदै होइन । १४ गते आएको पत्र प्रधानमन्त्रीको हातमा पुग्न २३ गते सम्म लागेछ ।  यो अवस्थामा  स्वाभाविक  प्रश्न उठ्न थालेको छ – ‘‘देश कसले चलाई रहेको छ ? कताबाट चलिरहेको छ ?’’
 
यहाँ मान्छे मर्‍यो भन्ने भन्दा पनि काल पल्केको विषय डरलाग्दो हो । भोलि चीन र भारतको रेल वा पानी जहाजकै कुरा पनि ‘छक्याइएछ’ भन्ने अवस्था आयो भने के गर्ने ? राज्यको विश्वसनीयताको कुरा कहाँ पुग्ला ? त्यसैले यो मामिलालाई गम्भीरतापूर्वक लिऊँं । आगामी दिनमा नदोहोरिने सुनिश्चितता खोजौँ ।  अझ नदेखिएका कति कुरा लुकाइएका वा यसैगरी छक्याइएको होला ? प्रश्न धेरै कोणबाट उठ्ने अवस्था उत्पन्न भएको छ । राज्यका अवयवहरुबीच गम्भीरता नदेखिएको प्रमाणका रूपमा यस प्रकरणलाई लिन सकिन्छ ।

हुनत  परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले यो पंक्तिकारसँग केही दिनअघि भनेका थिए–‘‘हामीलाई पत्र आएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको हो । सरोकारवाला विभिन्न निकायमा भारतीय दूतावासले पनि पहिला नै पत्र पठाएको रहेछ । प्रधानमन्त्रीसम्म कुरा पुर्याउनुपर्ने तर उहाँ सूचनाबाटै बञ्चित हुनुपरेको जस्तो देखियो । वास्तवमा त्यो राम्रो भएन ।’’

अन्तको मात्रै देख्ने ?

हामी अनावश्यक कुरामा चाहिँ बेलाबेलामा दौडधूप गर्छौँ । जस्तो दक्षिण अमेरिकी देश भेनेजुएलाको विषयलाई लिएर हामी केहीअघि कुस्ती खेलौंला झैँ गर्यौँ । मानिलिऊँ, त्यहाँका शासक मादुरोले हामीलाई नाकाबन्दीका समयमा ड्रमका ड्रम पेट्रोल पठाएका थिए  र उनलाई कसरी गुन तिर्ने भन्ने लिगलिगकोटे दौड हामी कहाँ भइरहेको थियो । 

आफ्नै घरभित्रको मामिलामा भने हामीले पत्तै नपाएको देखियो ।  सरकारका संयन्त्रले सामाजिक सञ्जालमा गाउँखाने कथा लेखेर बस्नुभन्दा यस्ता कुरामा चाहिँ ध्यान दिएको भए सायद प्रधानमन्त्रीले यसरी लज्जित हुनुपर्ने थिएन । तर, हाम्रोमा अलि अनौठो छ । हामी कागज बञ्चरोले काट्न खोज्छौँ र रुख कैँचीले काटन् तम्सिन्छौँ । त्यसैले कहिलेकाहीँ अप्ठेरो पर्ने गर्छ । 

बाहिरको प्रसंग
अमेरिकाको सत्तारुढ रिपब्लिकन पार्टीका अध्यक्षमा रोना म्याकडेनियल छन् । उनले विदेश मामिलामा बोल्दै हिँडेको कतै सुनिँदैन । जे बेोल्नुपर्ने हो राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पम्पेओले बोल्छन् । अमेरिकी राष्ट्रपतिले पहिलाभन्दा फरक के गरेका छन् भने सबैकुरा ट्विटबाटै बोल्दिन्छन् । त्यसका सकारात्मक र नकारात्मक परिणाम देखिइरहेका छन् । त्यो फरक पाटोमा अहिले चर्चा नगरौँ । 

चीनमा राष्ट्रपति सी जिनपिङ खुद्रा मसिना कुरामा बोल्दैनन् । ठूलै कुरामा बोल्छन् । बुझेर मात्रै बोल्छन् ।  प्रधानमन्त्री र  विदेशमन्त्रीले अलि कम महत्त्वका विषय वस्तुका आधारमा क्रमैसँग बोल्छन् । 

चीनको विदेशमन्त्रालयका दुईजना प्रवक्ता (एक महिला र एक पुरुष)ले पालैपालो पत्रकार सम्मेलन गरेर भन्नुपर्ने कुरा विस्तृत रूपमा भन्छन् । भारतमा भाजपाका अध्यक्ष अमित शाह विदेश मामिलामा बोल्दै हिँड्दैनथे, हिँड्दैनन् । अहिले गृहमन्त्री छन् बरु अहिले चाहिँ उनको मन्त्रालयपनि सुरक्षा मामिलालाई लिएर विदेशीसँग जोडिन सक्छ । र, पनि बोलेको सुनिएको छैन । हुनत, विदेश मामिलामा जथाभावी बोल्ने कि नबोल्ने भन्ने प्रसंग गीता वा बाइबलका श्लोक पक्कै होइनन् । तर, राम्रा कुरा सिक्दा नराम्रो हुँदैन ।

आफैँबाट खतरा ?

देशको अहिलेको अवस्था हेर्ने हो भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को झन्डै दुई तिहाइयुक्त सरकारलाई बाहिरी कसैबाट पनि खतरा देखिँदैन । खतरा छ भने नेकपा भित्रैबाट देखिन्छ ।  पछिल्लो पत्र प्रकरणले झ्न यो कुरा प्रष्ट पारेको छ । त्यसैले विपक्षी दल वा अरु पेसा वा व्यवसायका मान्छे वा सर्वसाधारण जनतालाई गाली गर्दै हिँड्नुको साटो सरकारभित्रै र सत्तारुढ पार्टीभित्रै सुधारको जरुरत देखियो । 

नेपालमा धेरैपछि बनेको दुई तिहाइको सरकार भएकाले यसले देशमा केही न केही सकारात्मक काम गरोस् भन्ने नै सबैको चाहना देखिन्छ । 

त्यसैले पनि थुप्रै त्रुटि गर्दागर्दै पनि सरकारले शंकाको सुविधा पाएको हो । सबैले  ‘पर्ख र हेर’कै नीति  लिएको देखिन्छ  । किनभने यसको विकल्प न त्यति सहज छ न त अहिलेको भन्दा राम्रो हुन्छ भन्ने ग्यारेन्टी नै ।  विडम्बना सरकारमा रहनेहरुले जनताको यो सदाशयलाई बुझेको देखिएको छैन । 

सार्वजनिक मञ्च र सामाजिक सञ्जालबाट गाली गलोज गरेको सुन्दा सत्तामा रहनेहरूको चिडचिडाहट प्रष्टै देखिन्छ । कसैले भलो होस् भनेर सुझाव नै दियो भने पनि सत्तामा रहनेलाई असह्य भइरहेको पाइनु शुभ संकेत होइन । 

यही कार्यशैली र संयन्त्रलाई निरन्तरता दिइयो भने सरकार त बदनाम हुन्छ नै त्यसबाट देशलाई पनि फाइदा हुँदैन । सरकार सही बाटोमा हिँडिदिए न देश सही  ‘ट्रयाक’मा आउने हो । तर, धेरै कुरा  मिलिरहेको देखिँदैन । त्यो कुरा भारतको पत्र काण्डले सतहमा ल्याइदिएको मात्रै हो । खासमा विरोध गर्नु वा सुझाव दिनु भनेको सरकारले राम्रो गरोस् भनेर नै हो । तर, सत्तामा रहनेहरूले कीर्तनमात्रै सुन्न रहर गरेको देखिन थालेको छ । 

अहिले नै पनि यावत् समस्या हुँदाहुँदै देशवासीको मानसिकता यही सरकार ५ वर्षसम्म चल्नु पर्छ भन्ने नै देखिन्छ  । 

देश हितको दृष्टिले त्यही कुरा जायज पनि हो । नेकपा पनि विवादमा आएर फुट्नु हुन्न भन्ने नै हो । नेकपा फुट्यो र जोडघटाउ गरेर सरकार बन्ने अवस्था आयो भने एकाध परिवारका मान्छेलाई सुखद् होला तर देशलाई सुखद् हुन सक्तैन । किनभने त्यसपछिको सरकार कसैको इसारामा चल्नेछ । 

इसारामा चल्ने सरकारले भित्र्याउने विकृति अहिलेको भन्दा कैयौँ गुणा बढी हुन सक्छ । अहिले तलमाथि गरियो भने सिंहदरबारको भित्तामा अर्को एउटा नयाँ फोटो झुन्ड्याउन त सकिएला । 

तर, सरकार कमजोर हुन्छ र त्यो बेलामा सरकार टिकाउने नाममा बग्रेल्ती विकृति उत्पन्न हुनेछन् । त्यसैले पनि अप्ठेरो बाटो रोज्नु अघि यही सरकारलाई सुधार्नु राम्रो हो । तर, त्यो बुझ्ने अरूले होइन नेकपा र सरकारले नै हो । 

गल्ती दोहोर्‍याउने प्रतिस्पर्धा हो र ? 
अहिले कुनै विवादास्पद मुद्दा उठे भने कांग्रेस नेता शेरबहादुर देउवाले पनि यसै गरेका थिए भनेर उनको कुण्डली उतार्ने चलन बढ्दै गएको देखिन्छ । हरेक शैली देउवाकै पछ्याउने हो भने किन चाहियो दुई तिहाइको सरकार ? विकृतिहरुलाई सच्याउन र मुलुकलाई अघि बढाउन नेपाली जनतालाई शक्तिशाली सरकार चाहिएको हो । खराब कुरामा प्रतिस्पर्धा गर्न अहिलेको सरकार चाहिएको होइन । तर, यही कुरा नै बुझ्न सत्तामा रहनेहरुलाई गाह्रो परेको जस्ता आभास भइरहेको छ ।

झर्ला र खाउँला भन्ने नसोचौं

अनि  प्रमुख विपक्षी नेपाली कांग्रेस पनि अझ सशक्त प्रतिपक्षीको रुपमा अगाडि बढ्नु  अहिले देशहितको पक्षमा  हुन्छ । उसले अहिले नै  ‘झर्ला र खाउँला’को शैलीमा मुख मिठ्याउन खोज्यो भने त्यो उसकै लागि प्रत्युत्पादक हुनेछ । अहिले अलिअलि देखिने कांग्रेस, अर्को चुनावमा झनै दूरबिन लाएर खोज्नुपर्ने अवस्था आउन सक्छ । किनभने कांग्रेससँग अहिले जनताले खोजेको भनेको सशक्त प्रतिपक्षीको भूमिका हो । कहिँ गल्ती हुन लाग्यो भने उसले सशक्त ढंगले प्रतिवाद गर्नुपर्छ । अहिले नै कसैलाई फुटाउन पाए मिलिजुली सरकार बनाउन पाइन्थ्यो कि भनेर मुख मिठ्याउनु उसकै लागि घातक हुन्छ । 
 
गाली देखाउने कि काम ?

अहिले संसद्मा कांग्रेसका सांसदहरु डा. मिनेन्द्र रिजाल, गगन थापा, बालकृष्ण खाँड, डा. डिला पन्त संग्रौला, पुष्पा भूषाललगायतले राम्ररी भूमिका खेलेको बाहिरबाट देखिन्छ  । तर, सत्तामा रहनेहरु उनीहरुलाई नै खुइल्याउन लागेको कतिपय घटनाक्रमले देखाइरहेका छन् । विपक्षीको सकारात्मक प्रस्तुतीले  सरकारलाई नै सही बाटोमा हिँड्न प्रेरित गरिरहेको हुन्छ  । सरकारले त धन्यवाद भन्नुपर्ने हो । तर, हामी कहाँ उल्टो अवस्था छ  । 

जुनसुकै पार्टीको प्रतिनिधित्व गरेको भए पनि राष्ट्रपति, प्रधानमन्त्री वा मन्त्री भनेका २ करोड ९७ लाख नेपालीका साझा हुन्  । सरकार भनेको जनताको अभिभावक हो । कतिलाई के मन पर्छ कतिलाई मन पर्दैन सामञ्जस्य मिलाउँदै अभिभावकले सम्बोधन गर्ने हो ।  आस्था जता भए पनि ऊ नेपाली जनता हो । देशको  जनता । सांसद्को त कुरै छोडौँ जोसुकैले बोल्ने अधिकार छ, सुझाव दिने अधिकार छ । त्यसैले सुझाव दिनेलाई गाली होइन, ताली बजाउँदै उनीहरुले उठाएका सरोकारका विषयलाई देश हित र जनहितका कामले जवाफ दिन सक्नुपर्‍यो । 
 
आइफा अवार्डको कोकोहोलो 

आइफा अवार्डको कार्यक्रम रोक लगाउनै पर्ने थिएन । अर्ब लगानी गर्दा खर्ब राज्यलाई फाइदा हुने ग्यारेन्टी हो  भने त्यसमा कोकोहोलो मच्चाउनुपर्ने कुरा देखिँदैन । तर, एउटा संसदीय समितिले रोक्नु भनेर निर्देशन दियो । 

समितिको यो निर्देशन देश हित वा अहितको प्रसंगभन्दा पनि नेकपाभित्रैको रिसारिसको परिणती हो भन्दा फरक पर्दैन । नेकपाकै एक नेताले यो पंक्तिकारलाई भनेअनुसार समितिका तर्फबाट प्रधानमन्त्रीलाई भेटेर यो विषयमा कुरा गर्न खोजिएको रहेछ । समय मिलेनछ । त्यसपछि सचिवालयलाई जानकारी गराइएको रहेछ । एक जना प्रधानमन्त्री निकटस्थले भन्दिएछन् –“खाना खाने बेलामा भन्नुभएको रहेछ । बिर्सिएछ  ।” हेरौँ त ताल !  

सोसम्बन्धी कम्पनी विजक्राफ्ट इन्टरनेसनल इन्टरटेनमेन्ट प्रालि  र नेपाल सरकारलाई समकक्षीको रुपमा राखेर हस्ताक्षरको लिखत बनाइएको रहेछ । बाह्र पेजको त्यो डकुमेन्ट हेर्दा सच्याउनुपर्ने थुप्रै कुरा देखिए पनि  कार्यक्रम नै रोक्नुपर्ने अवस्था भने पाइएन । 

नेपाल सरकार र एउटा कम्पनीलाई समकक्षी बनाउने काम चाहिँ नगरेको भए हुने । हुनत हस्ताक्षर भइनसकेकोले अझै सच्याउने चरणमै रहेछ । त्यसैले सरकार आफैँ नलागी कुनै निजी क्षेत्र वा सरकारी नै भए पनि सो सम्बन्धी मामिला हेर्ने निकायबीच सहमति गरेर देशलाई फाइदा हुने गरी कार्यक्रम गर्दा आपत्तिजनक हुने अवस्था देखिएन ।

यसले ‘नेपाल अन्तर्राष्ट्रिय कार्यक्रम गर्न पनि सक्षम छ है’ भन्ने राम्रो सन्देश नै जान्छ । तर, सत्तारुढ दलभित्रैको जसअपजसको होडबाजीमा यो कार्यक्रम विवादमा आएको प्रष्टै देखियो । अरु कुरा भनेका तपसिलका रहेछन् । 

यसरी सोचेको भए के बिग्रन्थ्यो ?

सत्तामा बस्ने मानिसहरु आलोचना सुन्नै नसक्ने चर्चा अहिले देशमा भइरहेको छ । यसबारेमा कुरा गर्दा अलि अघिको एउटा कुरामा जाऔं । गायक पशुपति शर्माले एउटा गीत गाएका थिए – ‘लुट्न सके लुट’ भन्ने । उनको गीतमा रहेका केही शब्दप्रति पंक्तिकारको पनि सहमति छैन । गीत, संगीत भनेका यस्तै विम्बमा आउने भएकोले धेरै आपत्तिजनक पनि मानिएन । त्यसमा कसैलाई नामै तोकेर भनिएको छैन ।

उनले पनि अहिलेकै सरकारलाई त्यसो नभनी विम्बका रुपमा नेपालमा बनेका सबै सरकारलाई संकेत गरेको हुनुपर्छ । त्यो गीतलाई लिएर नेकपाका केही व्यक्तिहरु यति धेरै आक्रामक भएर उत्रिए कि त्यो विषयले अन्तर्राष्ट्रिय मिडियामा सरकारले नेपालमा गीत गाउन पनि दिएन भनेर छ्याप्छ्याप्ती समाचार आए । तर, अलिकति ढंग पुर्याएको भए त्यो वातावरणलाई पूरै सरकारको पक्षमा र देश हितको पक्षमा पार्न सकिने अवस्था थियो । 

जस्तो भोलिपल्टै प्रधानमन्त्री वा उनको सचिवालयले बोलाएर एक कप चिया खुवाउँदै ‘‘कस्तो गजब गीत गाउनुभएछ ।  तपाईँका केही शब्दमा चाहिँ हाम्रो असहमति छ ।  हामी अहिले समृद्धिको पक्षमा लागेका छौँ । तपाई हामी सबै मिलेर देश बनाउने हो । अब समृद्धिमा लागौँ । सबैलाई उत्प्रेरित गर्ने खालको गीत गाइदिएर तपाईले देशलाई सहयोग गर्नुप¥यो” भन्दिएको भए  ती  ऊर्जावान् गायकले प्रधानमन्त्रीको भनाइमा ‘नो’ भन्थे होलान् त ? पक्कै भन्दैनथे । बरु “हुन्छ” भनेर  उनले समृद्धिको पक्षमा अरू केही थान गीत गाइसक्थे । सायद ती गीत अहिले सम्ममा हिट पनि  भइसक्थे ।  

त्यतिबेला समाचारको हेडलाइन यस्तो आउँथ्यो होला सायद–‘पशुपतिको  गीतको प्रधानमन्त्रीद्वारा सराहना, केही शब्द सच्याउन सुझाव ।’ 
अनि अलि सानो हेडलाइन– ‘प्रधानमन्त्रीको सल्लाहमा पशुपतिले समृद्धिको गीत गाउने’ भन्ने आउँथ्यो होला । त्यसले प्रधानमन्त्रीको, सरकारको अनि नेकपाको उचाई घटाउँदैनथ्यो बरु बढाउँथ्यो ।  जनताले भन्थे होलान्, “वाह देशको अभिभावक प्रधानमन्त्री त यस्तो पो हुनुपर्छ ।” कति राम्रो  सन्देश जान्थ्यो । 

प्रधानमन्त्रीको सचिवालयले सायद ढंग पुर्याउने यस्तै विषयमा हो । यहाँहरुको पार्टीको भजन गाउन मन नपराउने थुप्रै छन् । तर देशको प्रगतिको, गौरवको भजन गाउने अधिकांश छन् । त्यतिबेला त्यसो गरिदिएको भए ती गायकले अहिलेसम्म कतिवटा समृद्धिका गीत गाइसक्थे होलान् । त्यो अवसर गुमेको देखेर यो पंक्तिकारलाई भने थकथकी लागेको छ । 

नेपाल उदाहरण बने हुन्न ?

नेकपालाई सरकार बनाउने जनताले दिएको म्यान्डेट ५ वर्षको हो । सानातिना हुरी बतासमा सरकार हल्लिनुपर्ने अवस्था नै होइन  । मिडियालाई अंकुश लाउने वा मानवअधिकार आयोगमा अंकुश लाउने कानुन किन ल्याउनुप¥यो ? किन जनताले आलोचना गर्ने वातावरण बनाउनुपर्यो ? जनताले वाहवाही नै गर्ने अवस्था बनाए भो नि !  शक्तिमा छु भन्ने देखाउन जनता र विभिन्न पेसाका मान्छेलाई पेलपाल गर्न खोजेको जस्तो बाहिर देखिइरहेको छ । 

गलत नै भएको छ भने विद्यमान कानुनले कारवाही गर्न सक्ने अवस्था छँदैछ । तर, अनावश्यक विवाद किन ल्याउनुपर्ने ? अहिलेका प्रधानमन्त्री दुई पटक प्रधानमन्त्री भइसकेका छन्, पार्टी अध्यक्ष पनि भइसकेका छन् अब के लाई दायाँ बायाँ गर्नुप¥यो । बरु ‘स्वतन्त्रता र लोकतन्त्रका पक्षमा सिक्ने हो भने नेपालका प्रधानमन्त्रीसँग सिक’ भनेर अरुले उदाहरण दिने अवस्था आओस् न । अहिले लोकतान्त्रिक भनेका मुलुकमा पनि कतिपय हिसाबले असहष्णिुता देखिन्छ । भारत, अमेरिका वा बेलायतको नेतृत्वसँग तुलना गर्दा परिपक्वता र अनुभवको हिसाबले हाम्रो देशका नेताहरु पनि कम होइनन्  । देश झनै चानचुने होइन । हाम्रो देश स्वतन्त्र अस्तित्वमा रहँदा अहिलेका चल्तापुर्जा कतिपय देशको जन्मै भएको थिएन । तर, खोई आफ्नै महत्त्व बुझेको  ? 

देश र जनताको हितमा फटाफट काम गरेर देखाइदिए कोही विरोधमा उत्रिने कुरै आउँदैन । गाली गराउन वा प्रतिवाद गराउन कार्यकर्ता खटाउनै पर्दैन । एकातिर काम, अर्कोतिर मानवअधिकार र लोकतान्त्रिक चरित्र देखाइदिने हो भने कसले आलोचना गर्छ ? स्वतन्त्र हिसाबले सोच्ने विज्ञले विश्वमै उदाहरण दिएर भन्न सक्छन् –“हेर कम्युनिस्ट नेताको नेतृत्वमा यस्तो राम्रो छ नेपालमा । तिमीहरु के लोकतन्त्र र मानवअधिकारका कुरा गर्छौ ?” 

तर , यी सबै कतै कोरा कल्पना मात्रै त हुँदैनन् भन्ने डर अहिले उत्पन्न भइरहेको छ ।  अहिले त कतिपय घटनाक्रमले देश नै कताबाट चलेको छ भन्ने जस्तो देखियो । ढिलो हुन लाग्यो, अब शैली फेरौँ । कामना गरौँ–अब चाहिँ यस्तो नहोस् !  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३०, २०७६  ०९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC