विराटनगर । प्रदेश १ सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई नगद दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।
मुख्यमन्त्री शेरधन राई अमेरिका भ्रमण सकेर प्रदेश राजधानी विराटनगर आए लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहत दिनेलगायत निर्णय गरेको हो ।
प्रदेश मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेशभर अविरल वर्षाको कारण गएको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति पनि दुःख व्यक्त गरेको छ । सरकारले बाढी तथा पहिरोमा परी घाइते भएकाहरुको सरकारी अस्पतालमा उपचार गर्ने र त्यसको सम्पूर्ण खर्च व्यहोर्ने, निजी अस्पतालमा उपचार गराउनेलाई बढीमा ५० हजार रुपैयाँसम्मको बिल भुक्तानी गरिदिने भएको छ ।
प्रदेश सरकारले बाढी पीडितका लागि राहत, उद्धार, पुनःस्थापना तथा बेपत्ताहरुको खोजीकालागि सबैसंग अपिल समेत गरेको छ ।
यसैबीच, प्रदेश १ मा आइतबारसम्म बाढीपहिरोमा परी मुत्यु हुनेको संख्यामा १९ पुगेको छ । १६ जना घाइते भएका छन् । ८ जना वेपत्ता छन् ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी किशोर कुमार दाहालले भोजपुरमा ५, खोटाङमा ३, झापामा २, ओलढुंगामा ४, इलाममा १, सुनसरीमा १, उदयपुरमा २ र पाँचथरमा १ जना गरि १९ जनाको मृत्यु भएको जानकारी दिए ।