नेपाली मनमा भारु पीडा      

  चेतना शर्मा

 नेपाली मनमा भारु पीडा      

बैशाखको अन्तिम साता, सुदूर पश्चिमको पहाडी जिल्ला डँडलधुरादेखि दार्चुलासम्मका सडकमा बेच्नका लागि हातमा काफल लिएर ठाउँ ठाउँमा उभिइरहेका हुन्छन् । अहिले खेतीकिसानीको याम सुरु भइसकेको छैन । यसपाली पहाडतिर निकै भयो वर्षा नभएको । तर पनि गर्मी याममा मन्द मन्द चलिरहेको हावाले मौसम मिजासिलो लागिरहेको छ । रसिला काफल देखेर लोभिएकी म पनि एउटा स्थानमा रोकिन पुग्छु । 

यत्तिकैमा, सत्र स्थानमा फाटेको धोतीमाथि झुत्रा लुगाहरुको पहिरन, घाँस र दाउराका लागि डोको भिरेर तल डाँडाका मुन्तिरबाट चढिरहेका पाइलाहरु देखिन्छन् । त्यो हुलियातर्फ अनायासै मेरो ध्यान मोडिन्छ । मोबाइलमा बजेको घन्टीले ती हिँड्दै गरेकी महिलाका पाइला म उभिए भन्दा अलि पर टक्क अडिन्छन् । उनको वार्तालापमा ध्यान केन्द्रित गर्न म उनकै नजिक अलि अलमल गरेजस्तो गर्छु । कहिले काहीँमात्र बज्ने हुने हुनाले हुनसक्छ  मोबाइलको घन्टीले तिनलाई माइतबाट कसैले कोसेली बोकेर ल्याएको जत्तिकै आनन्द दिइरहे जस्तो लाग्थ्यो । खिइएर नेपालको नक्सा बनेका नङहरुले लगभग मेटिइसकेको मोबाइलको हरियो रङलाई बेस्सरी थिच्यो ।

फोनबाट आइरहेको आवाजले उनमा खुसी र दुःख मिश्रित भावहरु अनुहारमा तैरिरहे । हाम्रो मुलुकको विकासमा सञ्चार क्षेत्रले मारेको फड्कोका कारण टाढारहेका आफन्तजनको आवाज फोनबाट सुन्न पाउँदा विकटतम भेगमा बसोबास गर्नेहरुको अनुहारमा प्रायः यस्ता तरंगहरु स्पष्टै देख्न पाइनन्छ अचेल । 

हलो के छ  तम निका छौ ? 

यहाँ सब ठीऽऽऽऽऽकै छ । भारतमी काम मिल्लला छ त? 

यत्तिकैमा टुंगिन्छ वार्तालाप ।

ती महिलाको अवस्था र हाउभाउ हेरेर मलाई ठम्याउन गारो परेन कि ती दलित समुदायकी महिला हुन जसका पति अर्थोपार्जनका निम्ति ‘भारतिए’का छन् । नेपालको सुदूर पहाडबाट धेरै संख्यामा पुरुषहरु प्रायः भारतमा काम गर्न जानु विगतदेखि निरन्तर नियति हो ।  वरपरका गाउँहरुमा रोजगारीका लागि “भारत देश” एउटा विकल्प बनेको छ । सदियांैदेखि समाज र राज्यबाट अपहेलित यस क्षेत्रका दलित समुदायका मानिस भारतका विभिन्न स्थानमा न्यून आय हुने तर आङ सिरिङ्ग हुने अथक परिश्रमका काम गरिरहेका भेट्टाउन सकिन्छ ।

त्यहाँ उभिदै गर्दा भारतमा अशिक्षित कैयौं नेपालीले गरिरहेका कामहरु आँखा अगाडि आउन थाले र अनुमान लागाउन खोजेँ को होलान् यिनका पति र के होला तिनले गरिहेको काम ?

केहीदिन अघि हरिद्वारबाट नेपाल फर्कँदै गर्दा त्यँहाको बसपार्कमा २ घन्टाजति बस कुर्नु परेको थियो । रातिको  आठ बजेपश्चात एकपछि अर्को गर्दै बसपार्कको भुइँ  कुल्लीहरुले भरिँदै गइरहेको दृश्य आँखा अगााडि आउन थाले । फाटेका पातला बोरीलाई ओच्छ्यान बनाउँदै कागजका खेस्रामेस्राको आडमा टाउकोलाई विश्राम दिएर लम्पसार हुन खोज्दा रहेछन् त्यँहा सबैजसो । भिडभाडमा सजिलोसँग लम्पसार हुन सक्ने अवस्था पनि हुदैनथ्यो होला । बेलाबेलामा ओहोर दोहोर गर्ने यात्रुका खुट्टाले तिनको निद्रा बिच्काइरहन्थ्योे । लवजका कारण भिडमा नेपाली दाजुभाइका अनुहार ठम्याउन मलाई गारो परेन । “अरे चल उधर ! पता नहीं कहाँ कहाँ पडे रहते है साले” ।  

मैले ठम्याएको कुल्ली काम गर्ने नेपालीको शरीरको कुनै भागमा  हिँडिरहेको यात्रु ओहोरदोहोरका क्रममा ठोक्किदा आएको प्रतिक्रिया थियो त्यो । दिनभर एकहोरो काम गरेर थाकेको शरीरलाई  मुस्किलले उठाइरहेको हुन्छ ऊ । त्यसपछि आफ्ना श्रीसम्पत्तिलाई एकहातले सर्लक्कै तान्छ र पहिलेभन्दा बढी कुचुक्क परेर सुत्छ । रातभर चलिरहने हल्लाले त्यँहाँ सुत्ने सबैको निद्रामा खासै खलल पार्दैन भन्ने अनुमान लगाउन सजिलो थियोे । सँधैका एकसमान दैनिकीका कारण थपिने तर नरित्तिने पीडाहरुको बोध गर्न सकिन्थ्यो । वरपर हिँडिरहने “चायवालाहरु” सँग पाँच रुपैयाको चिया र केही पाउरोटी किन्दै दिनभरको भोको पेटसम्म पुर्याएर दिनको बिट मारिरहेको देखिन्थे । मैले देखेकी ती महिलाका पति त्यही भिडको कुनै एकजना पो हुन् कि ! 

“साला बहादुर तेरे बापका है क्या !” भन्दै दिल्लीको एउटा होटलको मालिकले  आफ्नो होटलमा काम गर्ने नेपाली युवकलाई सामान्य कुनै काम बिगारेको झोँकमा उसको कठालो समातेर  बाहिर हुत्याउँदै आगो भइरहेको दृश्यको साक्षी हुनु पनि कम पीडादायक थिएन । यस्ता होटलहरुबाट बेलाबेलामा हुत्तिरहने कुनै नेपाली हुनसक्छन् ती महिलाका पति । वा हातमा सामान बोक्न प्रयोग हुने रस्सीहरु समातेर गल्ली गल्ली भौतारिरहेका भरियाहरुमध्ये कुनै एक ? त्यहाँका सस्ता कोठीहरुमा राति कहिले काहीँ १ ÷२ घन्टा असुरक्षित यौन सम्पर्कबाट नेपाल भित्र्याउन तयार रहेको यौन रोगको भारी बोकिरहेका नेपालीहरुमध्ये नै कोही एक पो हो कि !
बेलाबेलामा विभिन्न तथ्यांकले नेपालको सुदूरपश्चिमका पहाडी जिल्लामा एड्सका रोगी यत्तिले बढेका छन् भनेर तथ्यांकहरु प्रकाशमा आइरहेकै हुन्छन् । ती नेपालीलाई देख्दा समाचारका पन्ना पल्टाए सरह मन पल्टाउन नसकिने रहेछ । ती महिलाका घरमूली चाहे जो सुकै भए पनि मलाई तिनको स्थिति हेरेर उनका पतिले भारतमा काम गरेको र भोगिरहेको अवस्था ठम्याउन गारो भएन । 

हो, यस्तै यस्तै अनेक अवस्थामा भेटिन्छन् भारतमा धेरै नेपाली दाजुभाइ । सस्तो रक्सीको सहारामा कोही अर्धहोस भएर नांगा खुट्टाले हिँडिरहेको नेपाली कामदार यात्रुहरुको पछि लागि उनीहरुको मालसामान गन्तव्यमा पुरयाई केही उपार्जन गर्न खोजिरहेका हुन्छन् । नेपाली यात्रु÷ पर्यटकहरु नठगिउन् भनेर उनीहरुलाई आफूले थाहा पाएको सल्लाह पनि दिन हिचकिचाइरहेका देखिँदैन थिए ती । लाग्यो, त्यो उनीहरुको नेपालप्रति प्रेमका कारणले नै हुनसक्छ । 

भारतमा काम गर्ने दाजु भाइहरुको दुःख भरिएको “पेन्डोराज बक्स” खुलेपछि बन्द नै हुँदैन । अर्थात दुःखका सिलसिला जारी रहन्छन् । भारतबाट कमाइ गरेर १÷ २ वर्षको अन्तरालमा भेटघाटका लागि स्वदेश फर्कदा गड्डाचौकी र गौरीफन्टाका सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलबाट यातना र शोषण पनि कम दुःख लाग्ने खालका हुँदैनन् । “चेकिङके लिए” भन्दै नेपाल भारत सीमा क्ष्ोत्रमा सीमा सुरक्षा बलले घर फर्किने नेपालीलाई अपराधीजसरी उभ्याई अनावश्यक दुःख दिनेमात्र होईन वर्ष दिन कमाएको धेरथोर पैसा पनि लुटिने घटना सुदूर पश्चिमका सीमा क्षेत्रहरुमा बारम्बार सुनिइन्छ । ताँगावालाहरुलेसमेत सय रुपैयाँ भाडा लाग्ने स्थानमा “हजार किराया लगेगा ” भन्दै सोझासाझा नेपाली दाजुभाइको गोजी रित्तो हुनेगरी तिनका टिनका बाकस टाँगामा राख्न बाध्य पार्ने दृश्यको त लस्कर नै लागेको देखिन्छ । 

ती फोनमा कुरा गर्ने महिलाको पति त्यसरी नै लुटिएर घर फकिए भने उनको फाटेका सारी चोलो सिउने आशाले पनि बिटमार्छ होला । दसैं वा बिसु संक्रान्तिमा  भारतबाट बुवा आउँदा सेता गट्टाहरु (मिश्री ) खान पाउने सूचना छोराले वरपर फैलाइसकेको होला । तर, तिनलाई के थाहा तिनका पति वा बाबुले घरमा थोरबहुत खुसी ल्याउन पनि सास्ती र दुःखको महासागर नै तरेर आउनुपर्छ भनेर । सुदूरका पहाडहरुमा  गरिबीको चरमले अत्तालिँदा  भारत पस्ने सबै दाजुभाइको व्यथा समान हुने गर्छ । 

नेपालका दुर्गम पहाडी जिल्लामा  विशेषगरी दलित समुदायमा चरम गरिबीका कारण रोजगारीका लागि भौँतारिनु नौलो होइन । आफ्ना आधारभूत आवश्यकता पूरा गर्नमात्र पनि कैयांै नेपालीले गरिरहेका संघर्ष, मुलुकका नेताहरुको मुख मुखमा झुन्डिरहने अग्रगामी विकासका अवधारणासँग समानान्तररुपमा गइरहेको नेपालको पछौटेपनाका साथै राज्य व्यवस्थाले सबै नागरिकलाई प्रत्याभूत गर्न नसकेको न्यायको नराम्रो प्रतिविम्ब पनि हो । जसले बारम्बार नेपालको शाासन प्रणालीको अर्कमण्यताका दृश्यहरु पस्किरहेको हुन्छ । देशमा शाासन व्यवस्थाका कतिपय प्रयोगहरु भइसके पनि उनीहरुलाई त्यसले कुनै प्रभाव पारेको छैन । यो पनि नेपालको एउटा स्वरुप हो जसले फेरिने जुक्ति अहिलेसम्मै पाएको छैन ।  
 

प्रतिकृया दिनुहोस
ad