site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कूटनीतिको रस
Sarbottam CementSarbottam Cement

— अक्षर काका


२०६६ जेठ ९ गते माधवकुमार नेपाल प्रधानमन्त्री निर्वाचित हुँदा देशको राजनीति पूरै ध्रुवीकृत थियो । शान्ति–प्रक्रियाका हस्ताक्षरकारी दलहरू नै दुई ध्रुवमा बाँडिएपछि एकातिर शान्ति–प्रक्रिया के हुन्छ भन्ने शंका उत्पन्न भएको थियो भने अर्कातिर शान्ति–प्रक्रियाकै लागि भनेर नेपाल भित्रिएका विदेशी शक्तिहरूले दबाब र प्रभाव बढाउँदै लगेका थिए । यसको सबैभन्दा ठूलो भार स्वतः मुलुकको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री र उनको टिममा पर्ने नै भयो ।

यही जटिल अवस्थामा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रका विविध सरोकारलाई नजिकबाट देख्ने, बुझ्ने र कतिपय अवस्थामा ‘डिल’ गर्ने ठाउँमा पुगेका थिए, विष्णु रिजाल ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्रीको प्रेस सल्लाहकारको भूमिकामा भएकाले उनको भूमिका सञ्चारसँग जोडिन्थ्यो । तर, प्रधानमन्त्रीको मनले खाएका सल्लाहकार भएकाले उनको भूमिका त्यत्तिमै सीमित रहेन । कूटनीति र परराष्ट्र मामिलामा पनि स्वाभाविक रूपले उनी प्रधानमन्त्रीसँग गाँसिए ।

९ कक्षामा पढ्दै गर्दा अनेरास्ववियूको दैलेख जिल्ला अध्यक्ष बनेकाले कलिलै उमेरदेखि राजनीति नै मूलबाटो भए पनि विष्णुको यात्रामा पत्रकारिता र स्तम्भ लेखनका शाखा बाटाहरू पनि थपिएका थिए । यसक्रममा पनि उनी कूटनीतिक मामिलामा विशेष चासो प्रकट गर्थे ।

Global Ime bank

“विद्यार्थी राजनीति गर्ने बेलादेखि नै म अन्तर्राष्ट्रिय मामिलामा चासो राख्थें,” उनी सम्झिन्छन्, ‘पाएसम्मका पत्रपत्रिकामा अन्तर्राष्ट्रिय घटनाहरू नछुटाई पढ्थें ।”

राजनीति र पत्रकारितामा समानान्तर रूपमा सक्रिय विष्णु ‘बुधबार’ साप्ताहिकमा आठ वर्ष सम्पादकको भूमिकामा रहे । त्यसबेला पनि घरेलु मामिलाभन्दा उनको चासो अन्तर्राष्ट्रिय राजनीतिमा बढ्ता केन्द्रित रह्यो ।

विश्व राजनीतिमा देखिएको ध्रुवीकरण, शीतयुद्ध, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको आरोह–अवरोह, गठन–विघटन, निर्माण, विनिर्माण, ठुल्ठूला राजनीतिज्ञहरूको चिन्तन र प्रेरणालाई विष्णुले लेखनको मूल स्रोत, सन्दर्भ र उपजीव्य बनाउँथे ।

प्रेस सल्लाहकारको भूमिकामा प्रधानमन्त्रीको टिममा रहँदा कूटनीतिसम्बन्धी व्यवहारिक र वस्तुगत ज्ञान त आर्जन भयो तर त्यत्तिले मात्र उनको कूटनीतिक तिर्खा मेटिएन । सत्ताभित्र रहँदामात्र होइन, बाहिर हुँदा पनि उनले कूटनीतिज्ञहरूको अनुभूति समेटिएको कृति खोजीखोजी पढ्थे, प्रायः छिमेकी (भारतीय) कुटनीतिज्ञहरूको ।

भारतीय कूटनीतिज्ञ स्व. जेएन दीक्षित (भारतीय प्रधानमन्त्री मनमोहन सिंहको पहिलो कार्यकालमा दुई वर्ष राष्ट्रिय सुरक्षा सल्लाहकार)को सन् १९९६ मा प्रकाशित अनुभूतिपरक कृति ‘माई साउथ ब्लक इयर्सः मेम्वायर अफ अ फरेन सेक्रेटरी’ पुस्तक कूटनीतिक क्षेत्रमा चासो राख्नेहरूका लागि उपयोगी कृति मान्छन् विष्णु । अर्का भारतीय विदेश–सचिव जगत मेहताको पुस्तक ‘द ट्रिस्ट बिट्रेयड’’ले आफूलाई ०४६ सालको नाकाबन्दीका बारेमा भारतीय धारणा बुझ्नमा सघाएको बताउँछन् उनी ।

महाराज कृष्ण रसगोत्राको ‘अ लाइफ इन डिप्लोमेसी’, श्यामशरणको ‘हाउ इन्डिया सिज द वल्र्डः कौटिल्य टू द ट्वेन्टी फस्र्ट सेन्च्युरी’, शिवशंकर मेननको ‘च्वाइसेस’ आदि किताबले विष्णुलाई कूटनीति र परराष्ट्र सम्बन्धका समकालीन अन्तर्राष्ट्रिय र क्षेत्रीय आयामका बारेमा बुझ्नमा मद्दत पुर्‍यायो ।

अझ नेपालमा राजदूतको भूमिका निर्वाह गरिसकेका भारतीय कूटनीतिज्ञ केभी राजनले सम्पादन गरेको ‘द एम्बासडर्स क्लबः द इन्डियन डिप्लोम्याट्स एट लार्ज’ पुस्तकमा संगृहीत १६ भारतीय कुटनीतिज्ञका अनुभव पढ्दा त उनको ज्ञानको क्षितिज झनै उघारियो ।

कुटनीतिसम्बन्धी अनुभूतिका यत्रा ठेली पढिसकेपछि उनलाई खड्कियो– हामीसँग पनि कूटनीतिज्ञहरू छन्, उनीहरूका अनुभूतिहरूलाई संगृहीत गर्न सके गजबको सँगालो हुन्थ्यो !

हामीकहाँ गहन कूटनीतिज्ञ नभएका होइनन् । भारत, अमेरिका र चीनमा राजदूत हुने यदुनाथ खनाल, सैनिक सेवाबाट निजामतीमा प्रवेश गरेर तीन देशको राजदूत हुनुका साथै परराष्ट्र–सचिव र मन्त्री भएका जनरल पदमबहादुर खत्री, चार देशमा राजदूत हुने एक्ला व्यक्ति झरेन्द्रनारायण सिंह आदिका बारेमा प्रशस्त सुने पनि उनीहरूका अनुभवबारे कुनै कुरा थाहा नपाउँदा छट्पटिएका विष्णुले अठोट गरे— जतिको सम्भव हुन्छ, त्यतिको अनुभव समेटेर पुस्तक किन ननिकाल्ने ?

खनाल र खत्री बितेको धेरै भइसक्यो तर आफू सम्पर्कमा पुगेका सिंहले पनि कुरा गर्न झिँझो मानेको तीतो अनुभूति विष्णुसँग छ ।

यस्ता दुःखद् प्रसंग र घटनाले घच्घच्याएपछि उनले कूटनीतिसम्बन्धी कृतिको सम्पादन नगरी धरै पाएनन् ।

० ० ०

सन् २०१३ को कुरा हुनुपर्छ— विष्णुले नेपालका लागि भारतीय राजदूत केभी राजनले सम्पादन गरेको ‘द एम्बास्डर्स क्लबः द इन्डियन डिप्लोम्याट्स एट लार्ज’ पढ्ने मौका पाए । त्यसमा युगान्डाबाट भारतीय राजदूत देशनिकाला भएको प्रसंग, दुरूह अवस्थामा पनि जगत मेहेताले चीनमा रहँदा निर्वाह गरेको भूमिका, पाकिस्तानी प्रधानमन्त्री जुल्फिकार अली भुट्टो र भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीबीचको सन् १९७२ को बहुचर्चित शिमला अकर्ड (शिमला अग्रिमेन्ट, जुन भारत–पाक टुक्रिएपछिको ठूलो शान्ति–सम्झौता मानिन्छ), युद्धग्रस्त इरानमा राजदूत भएर काम गर्दाको अनुभूति, स्वयं राजनले नेपालमा राजदूत हुँदा खेलेको भूमिकालगायत रोचक प्रसंगहरू छन् ।

“नेपालको कूटनीतिक अभ्यासहरूको सँगालो जन्माउनुमा यही किताबको देन छ, कयौं दिन मैले त्यो किताब बोकेर हिँडें,” विष्णु सम्झिन्छन् ।

तर, उनको सपनाले सार्थकता पाउन झन्डै ६ वर्ष कुर्नु पर्‍यो । 

०७४ को प्रतिनिधि र प्रदेशको सभाको निर्वाचनपछि उनले अनभूतिहरू संगृहीत गर्ने जमर्को थाले । प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री नियुक्त भइसकेपछि उनले प्रस्ताव गरे, “देशका कूटनीतिज्ञहरूको अनुभूतिपरक कृति निकाल्न लागेको, कसो होला ?”

“मन्त्रालयले नै प्रकाशित गर्छ, तपाईं यो काम गर्नुस्,” सिर्जनशील चेतका धनी प्रदीपले विष्णुलाई उत्प्रेरित गरिहाले ।

एक वर्षको अन्तरालमा विष्णुको सपना अहिले पुस्तकाकारको रूपमा अनावरण भएको छ । कूटनीतिक क्षेत्रमा चासो राख्नेका लागि कृति गतिलो ‘पोषण’ बनेको छ– ‘नेपालको कूटनीतिक अभ्यासः राजदूतहरूको अनुभव’ ।

० ० ०

अनुभूति संगृहीत त गर्ने तर पात्रहरूको खोजी कसरी गर्ने ? खुब पापड बेल्नु पर्‍यो उनले । त्यसका लागि परराष्ट्र–सचिव शंकरदास बैरागीसँग मिलेर विष्णुले दुइटा आधार तयार पारे । पहिलो– कुनै पनि पुराना र प्रमुख मित्रराष्ट्र नछुटून् । दोस्रो– बढी उमेरका, पाका व्यक्तित्वले प्राथमिकता पाऊन् ।

कृतिमा नेपालको पहिलो कूटनीतिक सम्बन्ध स्थापित भएको मुलुक बेलायतका साथै अमेरिका, जापान, बेल्जियम, सार्क मुलुक, बर्मा, खाडी क्षेत्रमा पुरानो कूटनीतिक सम्बन्ध भएको साउदी अरब आदि देशमा राजदूत भएर काम गर्दाको कूटनीतिक अनुभूति छुट्न पाएनन् ।

तर, अनुभूतिहरूको सँगालो प्रकाशन गर्ने भनेपछि केही पाका कूटनीतिज्ञसँग सम्पर्क नै गर्न कठिन भयो । रोग र विस्मृति बाधक भयो । पञ्चायतकालमा नियुक्त भएका राजदूतहरू शंका व्यक्त गर्थे । आश्चर्यजनक ढंगले उनीहरूको आँखीभौं जुरुक्क उचालिन्थ्यो । कसैको अनुहारको भावभंगिमा नै अर्कै हुन्थ्यो । शंकालु नजरले हेर्थे ।

“उहाँहरूसँग ‘कसले गर्‍यो ? किन गर्‍यो ? यसको के उद्देश्य होला ?’ आदि प्रश्न हुन्थ्यो । बोल्दा नेपालको कूटनीतिक क्षेत्रमै असर पर्ने, कूटनीतिको मर्यादाप्रतिकूल हुने हो कि भनेर असाध्यै संवेदनशील हुनुहुन्थ्यो । आश्वस्त तुल्याउन किताब तयार पार्नभन्दा गाह्रो भयो,” विष्णु भन्छन् ।

उनले अनुभूति उधिनेका कूटनीतिज्ञहरू अधिकांश पञ्चायतकालीन छन् । आजको पुस्ताका लागि पञ्चायत झन्डै ‘मिथ’ बनिसक्यो । राजतन्त्रको जरोकिलो उखेलिएर गणतन्त्र आएकै डेढ दशक नाघिसक्यो । यिनताका किताब लेख्नुको पछाडि राजाहरू गलत थिए भनेर प्रमाणित गराउन पो खोजेका हुन् कि भनेर केही कूटनीतिज्ञको मनमा चिसो पनि पस्थ्यो । विष्णुले सामीप्यता, अन्तरघुलन र संवादबाटै चिरफार गर्दै गए, शंका–उपशंका ।

“केही कूटनीतिज्ञसँग कुराकानी र प्रसंग उक्काउनै गाह्रो भयो । कतिलाई पाण्डुलिपि तयार पारेपछि चित्त बुझाउन हम्मे–हम्मे पर्‍यो । चित्त नबुझेपछि घण्टौं उहाँहरूसँग बसेर सम्पादन गर्थें । उहाँहरू रातो लगाउँदै जानुहुन्थ्यो, म सच्याउँदै जान्थें,” किताब लेखनको दौरानका अनुभूति बाँड्छन् विष्णु ।

पुस्तकमा महिला राजदूतका अनुभूति समेटिएका छैनन् । किन ? भन्ने प्रश्न उब्जिन सक्छ ।

अप्रिल १९८८ मा भारतका लागि राजदूत नियुक्त भएकी विन्देश्वरी शाह (नेपालकी पहिलो महिला राजदूत हुन्)सँग विष्णुले सम्पर्क गर्न खोजेका थिए । तर, छोरा अनिलकेशरी शाह (बैंकर)ले आमाको स्वास्थ्य अवस्थाले साथ नदिने बताएपछि उनको अनुभूति पुस्तकमा समेटिन सकेन । अर्की महिला राजदूतसँग विष्णुले कुराकानी गरेका थिए । “उहाँको सम्पादन गरेर छाप्नयोग्य बनाउन सकिएन,” विष्णु भन्छन् ।

२५ कूटनीतिज्ञका विचार, भावना संगृहीत गर्ने काम झन्झटिलो नै हो । सेवाबाट निवृत्त भएर ओझेलमा बाँचिरहेका कूटनीतिज्ञहरूलाई कतिपय सन्दर्भ त याद हुन्छ तर तिथिमिथि विस्मृतिमा धकेलिइसकेको हुन्छ । कतिलाई तिथिमिति हेक्का हुन्छ तर सन्दर्भ झ्वाट्ट स्मरणमा आइहाल्दैन । यसका लागि ‘बुधबार’ साप्ताहिकका सम्पादक उज्ज्वल पहाडी दाहिने हात सावित भए ।

उज्ज्वल झन्झट नमानी कुराकानी उतार्थे, विष्णु आलेखको आकारमा ढाल्थे ।

“सामग्री संकलनमा उज्ज्वलको योगदान मुख्य छ, उहाँले झन्झट नमानेर फटाफट काम गरेका कारण समयमा काम सकियो,” आफ्ना सहकर्मीप्रति अनुगृहीत देखिन्छन्, विष्णु ।

० ० ०

भूखण्डका हिसाबले नेपाल दुई ठूला देशको चेपुवामा परे पनि नेपालको कूटनीतिक सम्बन्ध भारतको भन्दा निकै पुरानो छ । भारत लामो कालखण्ड बेलायती उपनिवेशको ओतमुनि बाँच्यो । बेलायती साम्राज्यले पूर्वदेखि पश्चिमसम्मै पञ्जा नफैलाएको होइन तर नेपाललाई अग्रज, बहादुर पुस्ताले स्वतन्त्र, अखण्ड, अविभाज्य राख्न सक्यो । यसर्थ नेपालको स्वतन्त्र विदेश नीति भारतको भन्दा पुरानो छ । एसियाका अन्य देशभन्दा नेपालको कूटनीतिक सम्बन्ध पुरानो छ । इतिहास त्यसका प्रमाण हो ।

भनिन्छ– विदेश नीति घरेलु नीतिकै विस्तारित रूप हो । पछिल्लो समय भारत क्षेत्रीय शक्तिको रूपमा स्थापित छ । विश्व शक्तिका रूपमा स्थापित हुने ‘लिगलिगे दौडमा छ । त्यसको तुलनामा हामी सानो छौं । पछौटे छौं । गरिब छौं । त्यसको सोझो प्रभाव कूटनीतिमा पर्छ । भारत र नेपालले सोच्ने दायरामा अन्तर अवश्य पर्छ नै ।

तथापि कूटनीतिमा नेपालका सुन्दर पक्ष पनि छन् । नेपालले परराष्ट्र नीतिलाई स्वतन्त्र र असंलग्न राख्न सक्यो । अन्तर्राष्ट्रिय कूटनीतिको क्षेत्रमा नेपाल विश्वसनीय र आफ्नै बुतामा उभिएको मुलुक हो भन्ने छाप छाड्न सक्यो ।

अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको दर्बिलो, गर्विलो उपस्थिति, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्यमा दुईपटक निर्वाचित, असंलग्न शिखर सम्मेलनको संस्थापक, सार्कको संस्थापक, अतिकम विकसित मुलुक र भूपरिवेष्ठित मुलुक आदिमा नेतृत्वदायी भूमिका यसैका उपज हुन् ।

“अन्तर्राष्ट्रिय कूटनीतिको कुरा गर्दा हामी मरिचझैं चाउरिनुपर्ने र लजाउनुपर्ने ठाउँमा छैनौं,” विष्णु भन्छन् ।

० ० ०

राजदूत सिफारिस/नियुक्ति पछिल्लो समय कूटनीतिक भन्दा पनि राजनीतिक नियुक्तिमा बदलिएको छ । विष्णुको नजरमा यो अभ्यासको सूत्रपात आज आएर भएको होइन । राणाकालदेखि पञ्चायतकाल हुँदै अहिले विरासतमा आएको हो ।

त्यतिबेला त्यसो हुँदा पनि योग्य र क्षमता भएका नै रोजाइमा पर्थे । नातेदार र कर्मचारीबाट छान्दा पनि योग्यता र विज्ञता नै त्यसको शर्त हुन्थ्यो । अहिलेको नियुक्ति/सिफारिस पार्टी र नेतृत्वसँगको सम्बन्धका आधारमा हुन्छ । यसका अनेक दृष्टान्त छन् ।
 
परराष्ट्र मामिलाको ‘कखरा’समेत थाहा नभएको मानिस कूटनीतिक क्षेत्रमा योग्य ठहर्‍याइँदा देशको क्षमतामा ह्रास आइरहेको छ । देशहितका लागि देखाउनुपर्ने सीपमा त्यसले कमी ल्याइरहेको छ । कूटनीतिक क्षेत्रमा देखा पर्ने छिद्रहरू त्यसैका उपज हुन् ।

पछिल्लो समय भूराजनीतिक दृष्टि, भूगोल र सामरिक हिसाबले नेपाल रणनीतिक ठाउँमा छ । नेपालसँग सहकार्य गर्नुपर्ने बाध्यता विश्वका महाशक्ति भनिएका राष्ट्रलाई छ । नेपाल कुनै सैन्य गठबन्धनमा छैन । शीतयुद्ध र त्यसपूर्व खडा भएका ध्रुव, गठबन्धन अदिमा नेपाल सरिक छैन । भविष्यमा पनि हुँदैन । यसर्थ अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अलग्गै पहिचान छ । यसलाई पुँजीकृत गर्दै नेपालले कूटनीतिक आयामबाट पनि लाभ उठाउन सक्छ ।

तथापि कूटनीति क्षेत्रमा हाम्रो लघुताभास छ । विश्वका कुनै मञ्चमा प्रस्तुत हुँदा हामी गरिब छौं, पछौटे छौं, दरिद्र छौं भनेर देशलाई अभावको आँखाबाट मात्रै चिनाउने चलन छ । राजनीतिज्ञमा नै यस्तो लघुताभास भएपछि त्यसको छाया–प्रतिछाया कूटनीतिज्ञमा स्वतः पर्ने नै भयो ।

अर्को— नेपालको आन्तरिक मामिलामा बाह्य शक्तिले दखल दिने गरेका छन् । विभिन्न क्षेत्रमा उनीहरूको हस्तक्षेप मुखर हुन्छ । तर, नेपालका राजनीतिक दलहरू एक ठाउँमा उभिँदा हस्तक्षेप परास्त भएको उदाहरण हाम्रै सामु छ । ०७२ सालको संविधान जारी गर्नुपूर्व छिमेकका दूत नै आएका थिए । तर, त्यतिबेलाका राजनीतिक दलहरू लकपकाएनन् ।

“हामीले आफ्नो गाँठो बलियो बनाउने हो भने अरूलाई चोर भनेर औंल्याउनु पर्दैन,” विष्णु भन्छन्, “कम्तीमा विदेश नीतिका मामिलामा दलहरूबीच एकमत भइदिने हो भने अरूले खेल्ने ठाउँ नै पाउँदैनन् ।”

यसका लागि पनि विगतमा कस्तो नीति रहेछ भनेर अनुभव बुझ्न ‘नेपालको कूटनीतिक अभ्यासः राजदूतहरूको अनुभव’ उपयोगी हुन सक्ने उनको विश्वास छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २८, २०७६  ०८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC