विराटनगर । घटना १ : विराटनगरको सहिद रंगशाला पानीको आहालमा डुबेपछि मुख्यमन्त्री कपको फाइनल चरणका सबै खेलहरु धरान सारिए ।
घटना २ : ढल, हिलोमैलो र फोहोर पानी कोशी अञ्चल अस्पतालको गेटबाट सोझै इमरजेन्सी वार्डतर्फ बग्यो । अस्पताल परिसर डुबानमा पर्यो ।
घटना ३ : निर्माणाधीन देवकोटा चौक सडक बर्खे भेल उर्लिएपछि एकैक्षणमा पोखरी बन्यो । मिनरलवाटर र बियरका बोतल अनि प्लाष्टिकजन्य फोहोर आगँन-आगँनमा पुग्यो । घटना निरीक्षण गर्न पुगेका जनप्रतिनिधिसँगै स्थानीय आक्रोशित भएपछि उनीहरुले सम्झाइ-बुझाइ गर्नै सकेनन् ।
घटना ४ : एक झमट पानी पर्दा नपर्दै ट्राफिक चौक र हिमालय रोड गन्धे पानीले डुब्यो । एकैछिनमा पािर्कङ गरिएका मोटराइकल डुबाउने भएपछि भागदौड नै मच्चियो ।
विराटनगरमा पछिल्लो तीन दिन लगातार परेको पानीका कारण उत्पन्न भएको परिस्थितिको केही उदाहरण यस्ता छन् । डुबानले हरेक वर्ष प्रदेश १ को राजधानी विराटनगरलाई अस्तव्यस्त बनाइरहन्छन् । तर, यसलाई डुबानमुक्त बनाउन गरिएका प्रयासहरु भने असफल सिद्ध भइरहेका छन् । ‘‘हरेक वर्ष डुबानमा पर्नु, नोक्सानी हुनु र नगरबासीले सास्ती पाउनु नियति जस्तै भएको छ’’, विराटनगर ७ की नितु बस्नेत भन्छिन्, ‘‘ठोस र दीर्घकालीन रुपमा डुबानको समस्या समाधान गर्ने उपाय नखोजिँदा बर्खामा डुब्नु विराटनगरवासीको नियति नै भइसक्यो ।’’
दुई वर्षअघि लगातारको वर्षापछि विराटनगर महानगर छेउका सिंघिया र केशलिया उर्लिएर महानगरकै वस्तीमा पसेका थिए । त्यसले ८० प्रतिशत नगर डुबानमा परेको थियो । विराटनगर एयरपोर्टमा तीन फिटसम्म पानी जेमेको थियो । खोला छेउका वस्तीलाई बाढीले आफूसँगै बगाएर लगेको थियो । यो पटक पनि डुबानको उही समस्या दोहोरिएको छ ।
आखिर महानगरले के गर्दैछ त ? भन्ने प्रश्नमा महानगरका प्रमुख भीम पराजुली भन्छन्, ‘‘यो पटक कतिपय निर्माणाधिन सडकको काम जारी रहेकोले समस्या भएको हो । नाली थुनिनु र निकास नहुनुले केही भागमा डुबान भएको हो तर हामीले खुलाउने कामलाई गति दिएका छौं ।’’ पराजुलीले एसियाली विकास बैंकको सहयोगमा जारी सहरी विकास कार्यक्रम पूरा हुनसाथ डुबानको समस्या हट्ने दाबी गरे । महानगरले ‘ब्लकेज’ भएका ठाउँहरुमा स्काभेटर लगाएर खुलाउने काम गरिरहेको छ ।
परियोजनाअन्तर्गत हाल ४६ किलोमिटर भन्दा बढी सडक कालोपत्रे गर्ने र नाला निर्माणको क्रम जारी रहेको महानगरले जनाएको छ । विगत तीन वर्षदेखि नै जारी कामलाई गति दिएर पूरा गर्ने लक्ष्य रहेको र सबै नालाको निकास खुलेपछि डुबान नहुने प्रमुख पराजुलीले बताए । उनले बुधबार सामाजिक संजालमार्फत डुबानबाट समस्यामा परेका महानगरवासीसंग क्षमायाचनासमेत गरेका छन् । पराजुली भन्छन्,‘‘अब निर्माणको काम मुख्य सहरको भित्री भागतर्फ केन्द्रित छ । यो काम पूरा भएपछि सहरी क्षेत्रको पानी केसलिया र सिंघिया खोलामा झार्ने योजनाले मूर्त रुप लिन्छ ।’’
हाल निर्माणकै क्रममा रहेको सडक तथा ढलको काम पूरा भएपछि नालामार्फत एकत्रित रुपमा विभिन्न ठाउँबाट बर्खाको पानी सिंघिया र केसलियामा झारिने महानगरले जनाएको छ । यसैगरी घरबाट निस्कने दिसापिसाब पनि पाइपमार्फत जतुवामा निर्माण गरिएको ट्रिटमेन्ट प्लान्टका पोखरीमा झर्नेछ । त्यसलाई प्रशोधन गरेर मल र उर्जा उत्पादन गर्ने महानगरको लक्ष्य छ । खासगरी होचो भूवनोट भएको विराटनगरको दक्षिणी क्षेत्रबाट पानीको निकास नहुँदा डुबानमा पर्ने गरेको स्थानीयवासी बताउँछन् ।
कोशी अञ्चल अस्पताल परिसरमा पसेको पानी विहीबार अपरान्ह सशस्त्र प्रहरीले पम्पसेट चलाएर बाहिर निकालेको छ । पानी अस्पताल परिसरमा पसेपछि बिरामी भित्र लैजान र तिनका आफन्तलाई निकै कठिनाइ भएको थियो । अस्पतालमा मेसु डा. रोशन पोखरेलले पानी निकालिएपछि भने केही राहत भएको बताए । सडकको पानी जम्मा भइ अस्पताल परिसरतर्फ पसेको हो ।