संक्रमणकालीन न्यायः सिफारिस समितिको बैठकले टुंग्याउला पदाधिकारी ?

संक्रमणकालीन न्यायः सिफारिस समितिको बैठकले टुंग्याउला पदाधिकारी ?

काठमाडौं । विगतको द्वन्द्वका घटना हेर्ने गरी  बनाइएका सत्य र बेपत्ता सम्बन्धी आयोगमा पदाधिकारी सिफारिस गर्न सरकारले गठन गरेको सिफारिस समितिको बैठक भोलि बल्ल बस्ने भएको छ । सिफारिस समितिको बैठक पटक पटक सर्दै यही असार १५ गते पछिल्लो पटक बसेको थियो । 

सो बैठकले दुई आयोगमा जान इच्छुकहरुसँग आवेदन मागेकोमा ५७ जनाले आवेदन दिएका थिए । तर, आवेदन दिने भन्दा बाहिरबाट पनि पदाधिकारी छनौट गर्नुपर्ने अवस्था आएको भनेर सो सम्बन्धी मापदण्ड बनाउने निर्णय समेत पछिल्लो बैठकले गरेको थियो । 

सिफारिस समितिका एक सदस्यका अनुसार सम्भवतः भोलिको बैठकमा त्यसबारेमा पनि छलफल हुनेछ ।  गएको मार्च २१ को मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश  ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गरेको थियो । सो समितिमा राष्ट्रिय मानवअधिकार आयोगका एक सदस्य सहित रामनाथ मैनाली, प्रेमबहादुर खड्का र शर्मिला कार्की  सदस्य रहेका छन् । 

नेकपा र कांग्रेसबीच सत्य र बेपत्ता आयोगमा ६०–४० का दरले प्रतिनिधि राख्ने कुरा भएपनि अझै कुरा मिलेको छैन । दुवै आयोगमा जानका लागि ५७ जनाले आवेदन दिएपनि एकजनाको शैक्षिक योग्यता तोकिए अनुसार नभएकोले उनी बाहिरिने अवस्थामा पुगेको र अर्का एक जनाले अध्यक्षका लागि दाबी गरेकोमा अध्यक्ष हुनका लागि उनको योग्यता नपुगेकोले दुई जना बाहिरिने अवस्था रहेको छ । 

सिफारिस समितिको सचिवालयका अनुसार दुई जनालाई हटाएर अन्य आवश्यक व्यक्ति थपेर बाँकीको नाम बैठकपछि गोरखापत्रमा सार्वजनिक गरिने यसअघिको कार्यसूची रहेकोमा सो कार्य ढिला हुँदै गइरहेको छ ।  त्यसपछि उजुरी लिने लगायतका कार्यका अतिरिक्त दाबी गर्नेसँग सिफारिस समितिका पदाधिकारीहरुसँग छलफल गरेर मात्रै अन्तिम नाम टुंगो लगाइने जनाइएको छ ।
 
 

प्रतिकृया दिनुहोस
ad