काठमाडौं । सर्वोच्च अदालतले बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई तत्काल विशेषज्ञ चिकित्सा शिक्षा अध्ययनको भर्ना सम्बन्धी कुनै काम नगराउन अन्तरिम आदेश दिएको छ ।
गत बिहीबार अधिवक्ता जयलाल भण्डारी र डा. पुष्पमणी खरालले प्रतिष्ठानमा विशेषज्ञ चिकित्सक अध्ययनको लागि यस वर्ष निकालेको शैक्षिक सूचना कानुन विपरित भएकाले रोक्न माग गदै रिट दायर गरेका थिए ।
सोही रिटमाथि शुक्रबार सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश टंक बहादुर मोक्तानको एकल इजलासले तत्काल विशेषज्ञ चिकित्सक अध्ययनको भर्ना सम्बन्धी कुनै काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो ।
दुई साता पहिले प्रतिष्ठानले यस वर्षकोलागि विशेषज्ञ चिकित्सा अध्ययनको लागि कोटा निर्धारण गरेको सूचना प्रकाशित गरेको थियो । तर उक्त सुचना चिकित्सा शिक्षा ऐनको दफा १७ को उपदफा ५ विपरीत भएको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो ।
त्यसैगरी, प्रतिष्ठानले जारी गरेको सूचना ऐन विपरित भएको भन्दै गत शुक्रबार डा. गोविन्द केसीलेसमेत प्रेस विज्ञप्ति जारी गरेका थिए ।