site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जवानीमै लिङ्ग काटिदिएपछि...
Sarbottam CementSarbottam Cement

गृष्मको एक उदास महिना । शान्त हरिद्वार इन्द्रेणी प्रकाशको उज्यालोमा निन्द्राको शरण पर्ने बेला भइसकेको थियो । परपर कुकुर भुकेजस्तो, बालबच्चा रोएजस्तो आवाजले रातको निस्तब्धता निल्न खोज्थे । प्रचण्ड धूपका अघिल्तिर निरीह सावित हुन्थे ती । 

सामसून्न हुन्थ्यो आवाज ।

ढक्... ढक्... ढक्...

Prabhu Bank
Agni Group
NIC Asia

अचानक कसैले ढोका ढक्ढक्यायो । रातको सन्नाटा बिथोलियो । हिउँवत् भयो कञ्चनपुरका सुरेन्द्र मालको मन । “बुवा पो आउनु भएको हो कि,” अताल्लिएको मनले सोच्दै थियो । जोडसँग आएको ढक्... ढक्.. आवाजले त्यो सम्भावना खारेज गरिदियो । सास कण्ठमै अड्याएर उनले मसिनो आवाजमा सोधे– “को हो यत्ति राति.... ?”

आवाजले संकेत दिइहाल्यो । ढोका ढक्ढक्याउने अरू कोही थिएनन्, किन्नर अर्थात् तेस्रो लिङ्गी थिए, जुन नर्कको सँघार उनले केही महिनाअघि मात्रै नाघेका थिए । सुरेन्द्रले थाप्लामाथि बज्रनै आँटेको विपत्तिको बज्रबारे लख काटे । हिन्दूहरूको आराध्यभूमि भएर के गर्नु, उत्तराखण्डको हरिद्वार उनका लागि निर्जन भूमि थियो । विलकुल ‘बञ्जर’ । दया–माया अङ्कुराउने कुनै सम्भावना थिएन ।

Global Ime bank

निरूपाय हुँदै उनले ढोका खोले । निर्निमेष भयको आँधी चलेकाले मस्तिष्क कुँजो भइसकेको थियो । हातगोडा फत्र्याकफुत्रुक गलिसकेका थिए । शरीर निरीह र कमजोर प्रतीत भयो । 

‘आफूलाई बचाउने तागत पनि कति छिट्टै क्षीण बन्दो रहेछ !’ उनलाई कोक्किई कोक्किई रुन मन लाग्यो । किन्नरहरूले रुन पनि दिएनन् । हातखुट्टा चौखुर्‍याएर गाडीमा जाकिहाले । कहाँ लगिँदैछु, शरीरमा कुन विपत्तिले घनछिनो चलाउँदैछ, आपराधिक प्रवृत्तिले आफूमाथि कस्तो घटना घटाउँदैछ भनेर उनले केही सोच्न सकेनन् । 

आँखा खुलै त थिए तर अँध्यारो बाधक भइदियो । सडक बत्तीबाट चुहिएको दूधिलो प्रकाशका सहायताले उनले ठाउँ पहिचान गरे । उनलाई चण्डीगढ लगिँदै रहेछ ।

रुड्कीमा पुगेपछि गाडीको गति मन्द भयो । मौका छोपेर उनले बुवालाई फोन डायल गर्न थाले । फोन पूरा डायल भएको थिएन, उनलाई अपहरण गर्नेमध्येका एकजनाले चाल पाइहाले । फोन सडकमा हुर्‍याइदिए । सम्पर्क विच्छेदित भए सुरेन्द्र । बाबुसँग सम्पर्क गर्ने एकमात्र माध्यम मोबाइल पनि एकलास सडकमा अलपत्र पर्‍यो ।

चण्डीगढ पुगेर गाडी के रोकिएको थियो, सुरेन्द्रमाथि यातनाको वर्षा शुरू भइहाल्यो । त्यसअघि नै उनी एउटा कालबाट उम्किएर आइसकेका थिए । फेरि अर्को काल आँखा अघिल्तिर ठिङ्ग उभिएको थियो । “किन भागिस्, हामीलाई नसोधी ?,” यातना दिनेमध्येको एकले बेस्सरी हकार्‍यो । धाराप्रवाह हात छोड्यो ।

यातनाले शरीर थिल्थिलिइसकेको थियो । जवाफ दिने तागत उनीसँग थिएन । आँखाबाट बलिन्द्र धारा आँसु बगाउँदै उनले यातना सहिरहे । “किन्नरहरूको यातना मेरो पूर्वजन्मको भाग थियो होला,” नियतिवादी सुरेन्द्रले बेलाबेला आफ्नै भाग्यलाई धारेहात लगाउँथे ।

कालकोठरीभित्र बित्न लागे दिनहरू । अँध्यारो र यातनाबाहेक आँखाले अरू देख्न पाएनन् । रुँदारुँदा आँसु रितिन्थ्यो । तर, ताडनाको उपक्रम थामिदैनथ्यो ।

एक महिनापछि उनलाई पुनः गाडी चढाइयो । गाडी चढ्नुपूर्व उनले पुनः भगवानसँग अनुनय गरे– “यातनाभन्दा मृत्यु नै प्रिय छ मलाई !”  त्यत्तिमै नियतिको यात्रा कहाँ टुंगिन्छ र ! उनको आँसुको यात्रा जम्मुतिर सोझियो । एकमनले सोचे– “यिनीहरूले मलाई मार्छन् होला !” अर्को मनले नकार्‍यो– “मार्नकै लागि त चण्डीगढ छँदैथ्यो नि, पक्कै यिनीहरूले मलाई आफूजस्तै (किन्नर) बनाउँछन् !”

पुरुषबाट किन्नर कसरी बन्नू ! सुरेन्द्रलाई त्योभन्दा मृत्यु नै निको लाग्यो लाग्न थाल्यो ।

जम्बु पुगेका दिन उनलाई खुवै केरकार गरियो– “किन भागिस् ?” मृत्यु समीप आउँदै छ भन्ने थाहा पाएपछि उनको मन अताल्लिइरहेको थियो । मुख मौन राखे सुरेन्द्रले । दोस्रो दिनबाट यातना बन्द भयो । बरु मीठा–मीठा परिकार पो पस्कन लागे । “पहिला त यसरी खुवाउँदैनथ्यौ ? अहिले किन खुवाउँछौँ ?” आफूभित्र साहसको थोपाछिटा बटुलेर उनले प्रश्न गरे । “ज्यादा प्रश्न किन गर्छस्, तँलाई खानासँगको मतलव छ, अह्राएको काम खुरुखुरु गर्,” खाना खुवाउनेले यसो भन्यो ।

सुरेन्द्रको मुटु पुनः डरले कुँजो भयो । उनले प्रतिवाद गर्न उचित ठानेनन् । जम्मु लगेपछि उनको दिनचर्यामा व्यापक बदलाव आयो । अपराधी ओसार्नेजस्तो जालीवाला गाडी थियो । उनलाई बीचमा राख्थे । चार–पाँचजना किन्नरहरूले पालैपालो पहरा दिन्थे । सरकारी अड्डाजस्तो ठाउँमा पुर्‍याइन्थ्यो र कीर्ते कागजमा सहीछाप गर्न लगाइन्थ्यो ।

उनी सोच्थे– “मलाई बेच्न लागेका होलान् । नत्र कागजमा कालोमसीको दाग किन लगाउनू !” एकदिन त्यसको खुलासा गरे । कागजमा लेखिएको रहेछ– “म आफ्नै स्वेच्छाले लिङ्ग परिवर्तन गराउँदैछु । यसमा कसैको करकाप छैन ।” उनको मुटु थुरुर्र काम्यो । निधारमा चिटचिट पसिना देखा पर्‍यो । आकाशले अचानक फन्का मार्न लाग्यो । मुटु अचाल बनेजस्तो भयो । 

उनले त आफ्नै मृत्युपत्रमा हस्ताक्षर गरेर पो आएका रहेछन् ! कागजमा हस्ताक्षर गरेका थिए । जनेन्द्रीय काटिइसकेको थिएन । ढुक्क हुने ठाउँ रित्तिइसकेको थिएन । “पाकिस्तानले सीमावर्ती इलाकामा विष छाडेको छ, बच्ने हो भने सिरिन्ज लगाउनुपर्छ । नत्र मृत्युको मुखमा पर्नुको विकल्प रहँदैन,” झण्डै एक सातापछि किन्नरमध्येका एकजनाले उनलाई सुनाए ।

सुई लगाउने कुराले उनको मनमा झस्का पस्यो । एक त किन्नरले कागजमा दस्तखत गराइसकेका छन् । अर्को उनले बारबार लिङ्ग परिवर्तन गर भनेर खप्की खाइ नै रहेका छन् । अबचाहिँ किन्नर नबनाई नछाड्ने भए भनेर उनी अलल्लिएर रुन लागे । तर, पाषाण हृदयमा त्यसले कुनै प्रभाव पारेन ।

बरु एउटा किन्नरले भन्यो, “गुरुले लाठी लिएर आउँदैछन् । चरम यातना सहनुपूर्व नै ज्यान थाप, नत्र मृत्युको मुखमा धकेलिएलास् !”

बरु मार पनि भन्न भ्याएनन् । किन्नरहरूले उनलाई सिरिन्ज लगाइदिए । सिरिन्जभित्रको रसायनले उनको चेत गुमनाम भयो ।

पाँच दिनपछि होस आउँदा सुरेन्द्र अस्पतालमा थिए । वरिपरि चिकित्सक थिए । शरीरमा अप्रोन थियो । हातमा स्लाइन चढाइराखिएको थियो । कम्मरमुनि सेतो पाइपबाट पहेँलो पिसाब तप्पतप्प चुहिरहेको थियो । शैय्याको खुट्टा नजिकै झुण्ड्याइएको थियो, पिसाबको थैलो । सिरानीको समीपको ट्रेमा नानारङ्गका औषधि थुपारिएका थिए ।

“बिरामी त म होइन तर पनि किन अस्पतालमा ?,” उनको दिमाग झण्डै अचेत भयो । आफ्नो हालत देखेर उनलाई डाको छाड्न मन लाग्यो । उनी ग्वाँ..ग्वाँ रोए । उनको हविगत देखेर चिकित्सक पनि आश्चर्यचकित भए । सम्झाउन लागे– “केही पनि हुँदैन ! नरोऊ !

हुन बाँकी के नै थियो र ! 

उनको शरीरबाट पुरुष जनेन्द्रीय गायब भइसकेको थियो । त्यसको ठाउँ ब्याण्डेजले ओगटेको थियो । अघि त औषधिले बेहोस बनाएको थियो, अहिले आफूमाथिको बज्रपातले हृदयघात होलाजस्तो भयो । वरिपरिवका सेता अप्रोन लगाएका मानिस राक्षसका अवतार लाग्न थाले । नर्सहरू उसैका सहयोगी ।

“धन कमाएर परिवार पाल्ने सपना हुर्काएर हिँडेको मान्छे अचानक लिङ्ग काटिएर अस्पतालमा फालिएको अवस्थामा फेला पर्दा कस्तो होला ?,” सुरेन्द्र आफ्नो पीडा शब्दमा अभिव्यक्त गर्न समेत सक्दैनन् । सपनामा पनि विरलै देखिने दृष्यको भोक्ता आफैँ हुनुपर्‍यो सुरेन्द्र ।

उनीसँग निःसार प्राण बाँकी थियो । अधमरो शरीर आफूसँगै थियो । जे–जे विपत्ति आइलाग्छ चुपचाप सहनुसिवाय उनीसँग कुनै उपाय थिएन ।

मुढोवत् शैय्यामा पल्टिए । उनको दुःख–पीडा बुझ्ने केवल आँसु भयो । आँसुले सिमसार बनेको सिरानी साथी । १७ दिन अस्पताल, १७ महिना कोठाको बास भयो । १७ महिनामा आँखाबाट कति आँसु बगे, त्यसको कुनै हिसाब छैन । “पैसाको सपनाले आँसुको आहालमा पुर्‍याउला भनेर कसरी चिताउनु ?,” भावविह्वल हुन्छन् अहिले पनि सुरेन्द्र ।

१७ महिनापछि फर्काएर जम्मु नै पुर्‍याइए सुरेन्द्र । जम्मु पुगेपछि किन्नरहरू पुलकित देखिए । आफ्नो समूहमा नयाँ सदस्य थपिएझैँ जाज्वल्यमान थियो उनीहरूको अनुहार । तर, सुरेन्द्र आफूलाई प्राणविहीन लाग्थ्यो । आफूभित्र मानिस जीवित छ भन्ने बोध पनि हुन छाडिसकेको थियो उनलाई । किन्नरहरूको यन्त्रमानव लाग्थ्यो उनलाई ।

र त, उनी किन्नरहरूले जसोजसो भन्छन्, त्यसैत्यसै गर्न लागे । “तँ नयाँ अवतारमा प्रकट भइसकिस्, हिजोसम्म केटा थिइस्, आजबाट तेरो शरीर बदलिइसक्यो, केटी भइसकिस् तँ,” हरबखत किन्नरहरू यसो भन्थे । तर, सुरेन्द्रको आत्माले कसैगरी स्वीकार गरेन । लिङ्ग न काटेर फ्यालिएको थियो । पुरुष कहाँ फालिएको थियो र । त्यत्ति हो, नियतिको पहाडले थिचिएका सुरेन्द्रले प्रतिवाद गर्न सकेनन् ।

किन्नरको जुनी वरणपछि उनलाई ताली पड्काउन सिकाइयो । सामान्य ताली पड्काइसँग चिनापर्ची थियो । तर किन्नर समुदायको ताली पड्काउने तौरतरिका अलग्गै थियो । अभ्यस्त हुन निक्कै पापड बेल्नुपर्‍यो ।

ताली बजाउन पारङ्गत भएपछि नाच्न गाउन थाल्नुपर्‍यो । बल्ल उनी किन्नर समुदायमा सुहाउँदो भए । आवरण किन्नरको रूपमा वरण भयो ।

शरीर पुरुषको छ, पहिरन नारीको लगाउनुपरेको छ । स्वीकार्न बडो कठिन हुन्थ्यो । तर, नियति पन्छाउने सामर्थ्य उनीसँग थिएन । मन मसक्क बाँधेर किन्नरहरूको समूहमा मिसिएर नाचगानका सरिक हुन लागे ।

“नाच्दानाच्दै पुरुषको भीडतिर पैसा माग्न पठाउँथे, त्यतिबेला किन मरिनँ भनेर ग्लानी हुन्थ्यो,” सम्झिँदा अहिले पनि उनको मन भक्कानिन्छ ।

शरीर पुरुष छ, पहिरन स्त्रीको देखेर लोग्नेमान्छेहरू हावामा पैसा उडउँथे । विरोधाभाष र विभ्रमको संसारको पाहुनाझैँ प्रतीत हुन्थ्यो सुरेन्द्रलाई ।

नियतिका पाइला

सुदूरपश्चिमको युवा भारत नगई शायदै जवान हुन्छ । सुदूरपश्चिमका युवाहरूको साझा नियति सुरेन्द्रको थाप्लोमा पनि पर्‍यो ।

उच्च शिक्षाको खुट्किलो पार हुँदा नहुँदै उनले सीमाको गौँडा काटे । १६–१७ वर्षको किशोर कलकलाउँदो उमेरमा । सुरेन्द्रसँग भारतको साइने विकटको होइन, निकटकै हो । बाबु देहरादुनमा गाडी चलाउँथे । त्यसैबाट आएको आम्दानीले घरको चुल्हो बल्थ्यो । बाबुलाई सहयोग गर्न लाउँलाउँ खाउँखाउँकै उमेरमा देहरादुन पुगेका सुरेन्द्रले कुल्ली बन्नु परेन । न कालापहाड नै चढ्नुपर्‍यो । सावाँ अक्षर चिनेकाले केही समय पसलमा काम गरे ।

फराकिलो लक्ष्य तय गरेका सुरेन्द्रलाई पसलको कमाइले चित्त बुझेन । देहरादुनमै कम्प्युटर सिके र गेष्टहाउसमा काम गर्न थाले । सुरेन्द्रले गुरु भनाउँदालाई त्यहीँ भेटेका हुन् ।

उज्यालो चेहरा । चहकिला आँखा । खाइलाग्दा थिए सुरेन्द्र । सुरेन्द्रको रूप–यौवनमा गुरुको आँखा लागिहाल्यो । गेष्टहाउस आएपिच्छे सुरेन्द्रलाई यहाँभन्दा दोब्बर वेतन दिने ठाउँमा लगिदिन्छु भन्न थाले । अभावले थिल्थिलिएका सुरेन्द्र पनि गुरुको प्रस्तावमा लठ्ठिए । तिनै गुरुको पछि लागेर उत्तरप्रदेश, मेरठ पुगे । मेरठमा इलियास नाम गरेका घरधनीकहाँ काम गर्थे ।

काम गर्ने दौरानमा भेद खुल्यो– गुरु भनिएका व्यक्ति त तेस्रो लिङ्गी पो रहेछन् ! सुरेन्द्रलाई गुरु पनि नेपाली लाग्छ । सुरेन्द्रसँग प्रायः नेपालीमै वातचित गर्थे । “अब तँ पनि किन्नर बन्नुपर्छ” त्यसबेलादेखि नै हो उनले यातना पाउन थालेको ।  पैसा कमाउने लोभले हरिद्वार आउँदा लाभै भएथ्यो । त्यो भन्दा बढ्ता लाभ खोज्दा विलाप गर्नुपर्ने अवस्थामा पुगे । जिन्दगी नर्क प्रतीत हुन लाग्यो ।

जसोतसो भागेर हरिद्वार नै पुगे । “यतिञ्जेल कहाँ थिइस् ?” बाबुले पनि हप्कीदप्की गरे । केही समय बाबुको समीप रहे । त्यसपछि नेपाल फर्किए । घरले गरिबीबाट पार पाएको थिएन । सहजै पार पाउने अवस्था पनि थिएन । दुःखले पिरोल्न लागेपछि उनी पुनः भारत पुगेका थिए । र, आइलागेको थियो– विपत्तिको यत्रो महाभारत ।

नर्कबाट मुक्ति

‘ऐश्वर्य’ कमाउन गएका सुरेन्द्र अन्ततः सर्वश्व गुमाएर फर्किएका छन् । नाचगानका लागि जम्मु क्षेत्रमा लगिएको बेला इलियासका छोरा नइमले आफूलाई नर्कबाट मुक्ति दिएको सुरेन्द्र बताउँछन् ।

गुरुको कर्तुतले सुरेद्र स्त्री रूप धारण गर्न विवश बनेको भेद खुलेपछि नइमले ज्यानको बाजी लगाए नेपाल फर्कन सघाएका थिए । झण्डै दुई वर्षका नारकीय जीवनपछि सुरेन्द्र गृहथलो त आइपुगेका छन् । तर, उनको थाप्लामा झमेलाको पहाड छ । सुरेन्द्र भाग्दै नेपाल आएको थाहा पाएपछि उनलाई पछ्याउँदै रिजवान खान, मोहम्मद रफी र सुहेल खान नेपाल आए । तीन जना भारतीय नागरिक कञ्चनपुर प्रहरीको नियन्त्रणमा छन् ।

उता आफ्नो छोरा नइमलाई अपहरण गरी नेपाल  पुर्‍याएको भन्दै इलियासले पनि सुरेन्द्रविरुद्ध किटानी जाहेरी दिएका छन्, भारतमै । “आफू दोषमुक्त भएको प्रमाणित त होला तर जनेन्द्रीय गुमाएर यौवनमै ‘सिँगारू’ बन्नुपरेको क्षतिपूर्ति के होला ?,” प्रश्न गरिरहेका आँखा अझै ओभाएका छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १८, २०७६  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC