कति चाँडै बदलिएछ समय ! 

देवेन्द्र सुवेदी

कति चाँडै बदलिएछ समय ! 

आईफा अवार्डको आयोजना गर्न राज्यले करिब एक अर्ब रुपैयाँ खर्च गर्ने योजनाको समाचार पढ्दै गर्दा २० वर्ष पुरानो सन्दर्भ उप्काउन मन लाग्यो । व्यावहारिक विश्वमा वर्तमानलाई सधैँ इतिहासका सन्दर्भमा हेरिन्छ । नत्र इतिहासका कथा किन बारम्बार प्रकाशित हुने र पढिने थिए र ?

– ‘‘एक छिन यौटा ‘हाई प्रोफाईल’ भेटमा बोलाएको छ, डबलीमा निस्कनुस् न डीएसपी सा’ब’’ 
काठमाडाैं एसपी भरत जीसीले भर्खरै नेपालमा सुरु भएको मोबाइल फोनमा मलाई बोलाउनुभयो । म हनुमान ढोका जिल्ला प्रहरी कार्यालयमा काममा व्यस्त थिए । उहाँले बोलाएपछि म बाहिर निस्किएँ । कालभैरव अगाडिको डबलीमा जीसी साब मलाई नै पर्खेर उभिरहनु भएको रहेछ । 

नेपाल आयोजक भएको सन् १९९९ को दक्षिण एसियाली खेलकुद प्रतियोगिता भर्खरै समाप्त भएको थियो । मूल समारोह तथा खेल स्थल दशरथ रङ्गशालाको सुरक्षा जिम्मेवारी मेरो थियो । आन्तरिक विद्रोहको हिंसाले सुरक्षा चुनौती बढ्दै गएको समयमा अन्तर्राष्ट्रिय खेलकुदको सुरक्षा व्यवस्थापन राष्ट्रिय इज्जतको विषय थियो ।

करिब दुई महिनाको रातदिनको व्यस्तता समाप्त भएको भए पनि माओवादी हिंसा राजधानी उन्मुख भएको र विस्फोटका घटनाले ज्यान र धनको भौतिक क्षतिका साथै डर, त्रास र आतंकको मनोवैज्ञानिक दबाब परेको थियो । जबर्जस्ती असुलीको आर्थिक दबाब भित्रभित्रै बढिरहेको अबस्थाले समग्र सुरक्षा चुनौती जटील र संवेदनशील बन्दै गएको थियो । निरन्तर जस्तो आह्वान गरिने तीन दिने, पाँच दिने माओवादी बन्दका दिनहरू विस्फोट र आगजनीले भरिएका हुने गर्थे । दूरदराजमा हुने जघन्य आक्रमणप्रत्याक्रमणका सिलसिलाले राजधानीको जनसमाजलाई समाचार महत्त्व, सिद्धान्तको बौद्धिक विलास र जोखिमपूर्ण कार्यको रोमाञ्चक विषय प्रदान गर्ने गरे पनि राजधानीमै हुने घटनाले भने हरेकको रोमाञ्चकता आफ्नो ज्यान र मालको चिन्तामा परिणत हुन पुग्थ्यो । नेपाल प्रहरीको राजधानी एकाइहरु सरकार, दरबार र समाजलाई आश्वश्त पार्नुपर्ने जवाफदेहीको दबाबले निर्माण गरेको अति प्रतिक्रियात्मक गतिशीलतामा परिचालित हुनुपर्ने निरन्तरतामा थियो ।

माओवादीले सशस्त्र विद्रोह सुरु गर्ने आधार बनाएर सरकार समक्ष पेश गरेको ४० बुँदे मागमध्येमै नेपालभित्र भारतीय नम्बरप्लेटका गाडी चलाउन निषेध गर्ने, हिन्दी फिल्मको सांस्कृतिक उपनिवेशवाद रोक्ने, विदेशी पुँजी लगानी, एकाधिकार र उद्योग रोक्ने र विदेशी कामदारलाई वर्क परमिट लागुगर्नेजस्ता माग पनि थिए। आफनो मागको औचित्य साबित गर्न उनीहरुको सांकेतिक या आर्थिक असुली लक्षित प्रायोजित हिंसाका लक्ष्यहरू त्यस्ता संस्थापना सम्बद्धहरु हुने गरेकाले र घृणाको खेती पनि भइरहेकाले हुनसक्ने खतराको आकलनमा प्रहरीको सुरक्षा सक्रियता हुने गथ्र्याे । विद्रोहको दीर्घकालीन अन्तर्य र रणनीतिक स्वार्थका गुह्य साँठगाँठका अज्ञात तथ्यहरुसँग बेखबर सतहको हिँसामै परिणाम प्राप्तिका लागि ज्यान फ्याल्न तयार लडाकु र प्रहरी दुवैको मनोदशाको उग्रता पनि समान रहेको थियो ।

‘‘जाऊँ’’ जि सी साबले भन्नुभयो । हाम्रो पुलिस गाडी हनुमान ढोका दरबार स्क्वाएर हुदैँ नयाँ सडकतर्फ लाग्यो । मैले भेटको सँग, कहाँ र किन भन्ने सोध्न पनि आवश्यक ठानिन । प्रहरी कार्यको सिलसिलामा यस्ता प्रकारका बिनापूर्व तयारीका आकस्मिक मिटिङ, भेट वाता ‘इम्प्रोम्टु’भई नै राख्ने विषय थिए र यसका लागि हामी खासै होमवर्क पनि गर्दैनथियौँ । पेसागत ज्ञान, अनुभव, ‘प्रोफेसनालिस्टिक एप्रोच’को आधारमा तत्काल कानुन, नीति तथा परिस्थितिको विश्लेषण र सम्भाव्य परिणामको प्रभाव या दुष्प्रभावको ‘क्विक’ मूल्यांकन नै तत्काल उठेका एजेन्डामाथि प्रतिक्रिया दिन वा प्रहरी जिम्मेवारी र जवाफदेही स्वीकार गर्न पर्याप्त रहने गर्थे । 

इन्द्रचोकतर्फ मोडिदाँ मोडनेरको क्रिस्टल होटेलअगाडि रोकेपछि गाडीबाट ओर्लँदै गर्दा एसपी सा’बले भन्नुभयो – ‘‘निराजन सरकारले भेट्न बोलाएको ।’’

तत्कालीन श्री ५ वीरेन्द्रका कान्छा छोरा, तत्कालीन अधिराजकुमार ।

‘‘हामीसँग केही कुरा गर्नु छ रे ’’ उहाँले थप्नु भयो ।

एक जना युवाले हामीलाई रिसिभ गरे र लिफ्टबाट होटेलको रुफ टप मा पुर्याए ।

रेस्टुराँ थियो क्या रे’ खाली खाली थियो । बीचमा खिरिलो ज्यानका भर्खर जुँगाको रेखी बसेका अधिराजकुमार निराजन कुर्सीमा बसेका रहेछन् २ – ३ जना युवा साथीहरुसँगै ।

हाम्रो अभिवादन स्वीकार्दै उनले  ‘‘बसौँ न’’ भन्दै कुर्चीहरुतर्फ देखाए । भरत सा’ब र म बस्यौँ ।

 ‘‘के लिने’’  लजालुजस्तो देखिने उनले आफैँले भने – ‘‘कोक हुन्छ ?’’  हाम्रो अगाडि कोक आइपुगेपछि भरत जीसीले –सरकारबाट हुकुम भएको रहेछ, ऊहाँ हनुमान ढोका डीएसपी सा’ब समेत लिएर आएको छु । एजेन्डा के होला? भन्ने आशयमा बोल्नुभयो ।

‘‘यी साथीहरुले बलिउडको यौटा ठूलै कार्यक्रम दशरथ स्टेडिएममा ल्याउने भएका छन् । सबै तयारी पूरा गरेकाछन्, डेट पनि फिक्स भै सक्यो क्या रे ! अब सुरक्षाको कुराका लागि बोलाएको ।’’ अधिराजकुमारले भेटको कारण खुलाए । बलिउडका स्टार, कलाकार आउँछन्, फिल्मि नाचहरुको टिकट सो तीन दिन चलाउँछन २–३ लाख दर्शकले हेर्न पाऊने गरेर । फिल्मी पुरस्कार वितरण पनि छ क्या रे ।’’ अनि थपे – ‘‘टुरिजम पनि प्रोमोट हुने कुरा छ । त्यसैले सुरक्षा बन्दोबस्त राम्रो मिलाउनु पर्यो ।’’

एसपी भरत जीसी र मैले एकआपसमा हेराहेर गर्र्यौँ । उहाँले सोध्नुभयो – ‘‘कहिलेको लागि होला ?’’ अधिराजकुमार सँगै रहेका उनका साथीले ३ दिनको मिति सुनाए । माओवादीले हिंसात्मक तीन दिने बन्द आह्वान गरेकै समय रहेछ ।

 ‘‘स्थिति अलि मनोरञ्जनमा लाग्ने बेलाको छैन । सुरक्षा गर्न दिन नसकिने भन्दा यो बेला यस्तो प्रोग्रामले के असर गर्छ, त्यो हेर्नु पर्छ । ’’ मैले मिति बताउने आयोजकलाई लक्षित गर्दै भने ।  ‘‘समय, काल, बेलाले त यो सान्दर्भिक हुँदैन सरकार । मैले दिएको प्रतिक्रियामा भरत जीसीले थप जोड दिनुभयो ।
हिन्दी फिल्म र सांस्कृतिक अतिक्रमणको विवाद उठाइरहेका विद्रोहीलाई राजधानीमा हिंसा गर्ने थप बहाना दिनुसरह थियो यो आयोजना भन्ने हाम्रो तत्कालको विश्लेषणको प्रतिक्रिया थियो त्यो ।

‘‘होईन, प्राइभेट सेक्युरिटीका मान्छे पनि राख्छन्, धेरै काम ऊनीहरुले पनि गरिहाल्लान्, पुलिसले ओभर अल हेरिदिने मात्र हो ।’’ निराजनले झन् जोड गर्न थाले । युवा राजकुमारको कलिलो दिमागले सुरक्षाका अन्तर्भूत रणनीतिक उद्देश्य बुझ्न नसक्नु अस्वाभाविक पनि थिएन ।

भर्खरै साउथ एसिएन गेम हामीले रङ्गशालामै गराउँदा पनि खेलकुद परिषद्ले प्राइभेट सेक्युरिटीलाई हाएर गरेको थियो तर उनीहरुबाट उभिनेभन्दा अरू काम भएन । करिब २ हजार ५०० प्रहरी तैनाथ गरेर प्रतियोगिता सम्पन्न गर्नुपर्यो । मैले साग आयोजनाको ‘ग्राउन्ड रियालिटी’ बोलेपछि भरत जि सी ले ‘‘बाहिरको समग्र परिस्थिति विस्फोटक छ, गर्नै पर्ने खण्डमा यो प्रोग्रामको लागिमात्रै पनि प्रहरीको ठूलो तैनाथी र परिचालन चाहिन्छ, समग्र स्थिति सामान्य बनाइराख्नकै लागि आवश्यक व्यापक परिचालनमै प्रहरी अभाव छ । यो उत्तेजक समयमा यो नाटकको भद्दा मजाकका लागि ऊहाँहरुले जोड गर्नु राम्रो होइन, सरकार ! भरत जीसीले निष्कर्ष दिनुभयो ।

अनपेक्षित जबाफले होला अधिराजकुमार अल्लि असमञ्जसमा परेको देखिए । उनका ‘हाई प्रोफाइल’ साथीहरु पनि नर्भस भएजस्तो लाग्यो ।

‘‘कोक खाउन’’ निराजनले प्रसंग मोडे ।

‘‘यो नाचगानको सो र माओवादीको हिंसात्मक बन्दको दिनहरु एउटै परेछ’’ भरत जीसीले बताइदिएको सन्दर्भले अधिराजकुमार केही सहज देखिए ।

अयोजकहरुले प्रोग्राम ‘फाइनलाइज’ गर्नुअघि हामीसँग सल्लाह मागेको भए राम्रो हुन्थ्यो । अवस्थाको, स्थितिको मूल्यांकन हामी गर्छौँ । कार्यक्रम तय गरेर अधिराजकुमारको स्तरलाई एक्कैपटक ‘इन्भल्भ’ गराइदिने, यस्ले त गलत ‘मेसेज क्यारी’ गर्छ ।’’ मैले आयोजकहरुलाई सचेत गराएँ ।
‘‘त्यसो भए मिल्दैन हैन ?’’ मायालु स्वरमा निराजनले फेरि सोधे ।

’’सरकार ! अहिले सन्दर्भ उपयुक्त छैन । र, पनि हामी भ्याली डीआईजीसा’बलाई रिपोर्ट गरेर यस विषयलाई ‘रिभिजिट’ गरेर हेर्छौँ ।’’ काठमाडांै एसपीले कुरालाई कूटनीतिक मोड दिनुभयो ता कि प्रहरीले सुरक्षा दिनै चाहेन वा दिनै सकेनजस्ता ‘एअर कन्डिसन्ड रुम’मा निर्मित हुने विषालु प्रतिक्रियको खेती नहोस् !  
‘‘हुन्छ, थ्याक्ंयु’’ , अधिराजकुमार निराजन फेरि बिस्तारै बोले –  ‘‘मैले गरेको यो कुरा दिपेन्द्र दाइलाई थाहा नहोस है ।’’ यो विषयको गाम्भीरताको छनक उनले यतिबेला अलि बुझेजस्तो जताए ।

दरबारभित्र यो विषयको ‘डाइनामिक्स’ के थियो ? हामीले थाहा पाउने कुरा भएन । हामी युवराजलाई भन्न जाने कुरा पनि भएन । हामी केही बोलेनौ ।

हामी लिफ्टबाट ओर्लँदै गर्दा हामीलाई बिदा गर्न आएका आयोजक युवालाई मैले भने – ‘‘मुलुक कुन परिस्थितिबाट गुज्रिरहेको छ भन्ने बुझ्ने कोसिस गरेरमात्र नचनिया नचाउने कार्यक्रम बनाउनू । तिमीहरु बलिउड नचाऊ कि हलिउड, यो विषम स्थितिमा पुलिस तिम्रो सोमा सुरक्षा दिन आउने बेला छैन । रोल्पा, रुकुममा के भै रा’छ, थाहा छैन ? ’’ 

मेरो व्यावसायिक उत्तेजनाको पारो थामिएको थिएन । विद्रोहीको बन्दुकको निसानामा प्रहरी र उदार खुला प्रणालीका सामान्य समर्थकहरुमात्र पर्ने गरेका थिए ।

हामी हनुमान ढोका पुग्दा नपुग्दै भोटेबहाल, सुन्धारातिर ठूलो विस्फोटको आवाज सुनियो ।

पछि भ्याली डीआईजी अनन्तराम भट्टराईले काठमाडांै जिल्ला प्रहरीको नेतृत्व समूहको स्पष्ट रायलाई बिनाकुनै ‘रिजर्भेसन’ अनुमोदन गरेपछि त्यो ‘हाई प्रोफाइल’को ‘काठमाडांैमा बलिउड नचाउने’ मेलाको आयोजना त्यत्तिकै हरायो ।

राजनीतिमा उफारिने माग र नाराहरूको उत्तेजना र स्खलनको सामयिक चरणहरुको मूसाक्षी बन्दै गर्दा जनताले विभिन्न नाममा विभिन्न तह र निकायलाई तिरेको करको थैलीले बन्ने ढुकुटीबाट १ अर्ब खर्चने गरी हिजो सांस्कृतिक उपनिवेशवाद र अतिक्रमण भन्दै निषेध र हिंसाको लक्ष्य बनाइएको त्यही विषय मुलुकको आर्थिकक समृद्धिको मानकमा रुपान्तरित हुन २० वर्षमात्र लाग्ने रहेछ ।

समय परिवर्तनशील छ ।

विचार परिवर्तनशील छ ।

लेखक पूर्वप्रहरी नायब महानिरीक्षक हुन् 

 


  

                
 

प्रतिकृया दिनुहोस
ad